२०८३ बैशाख २२
२०८३ बैशाख २२

आरके श्रीवास्तव,रौतहट,भदौ ०४ गते ।
मधेश प्रदेशमा पछिल्लो समय पत्रकारहरु माथि लगातार आक्रमणको घटनाहरु घटन थालेका छन् । यस्ता घटनाहरुले पत्रकारहरु असुरक्षित छन् भने पुष्टी हुन थालेको छ । सोमबार पनि रौतहटमा यस्तै घटना घटेको छ ।
जिल्लाको बृन्दावनमा रहेको एक अबैध क्रसर उद्योग संचालकले पत्रकार कुटपिट तथा दुर्ववहार गरेका छन् । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको शिवम् क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका एक जना पत्रकार माथि आक्रमण भएको छ ।
हिमालय टिभीका रौतहट संवाददाता राकेश यादव माथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरा समेत तोडफोड गरेको खबर छ । बागमती खोला किनारामा अबैध रूपमा क्रसर उधोग संचालन भएको बिषयमा पत्रकार यादव समाचार संकलनका लागि त्यहाँ पुगेका थिए ।


पत्रकार यादव माथि हातपात गर्ने क्रसरका कर्मचारी राजदेव ठाकुर ,मशेस चौधरी र राधेश्याम ठाकुरलाई पक्राउ गरि थप अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडा डिएसप ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।
यस विषयमा नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले वृन्दावन नगरपालिकामा संचालित शिवम् क्रशर उद्योगको रिपोर्टिङ गर्ने क्रममा नेपाल पत्रकार महासंघ रौतहटका जिल्ला कार्य समिति सदस्य यादव माथि क्रसर संचालकले गरेको कुटपिट तथा दुर्ववहार गरेको र क्यामरामा पनि क्षती पुर्याएको घटना प्रति गम्भीर आपत्ति जनाउनु भएको छ । साथै उनले पत्रकार कुट्नेलाई हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनसंग अनुरोध गर्नु भएको छ । यदि दोषीलाई उन्मुक्ति दिन खोजेमा कडा आन्दोलनमा उत्रिन वाध्य हुने उनको भनाइ छ ।
यता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य शिव पुरीले क्रसर माफियाको कुटपिट बाट घाइते पत्रकार राकेश भाइको शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ । साथै सप्तरीमा सौरभ यादव, महोतरीमा विजय कुमार सिंह गरि ३ जना पत्रकार पछिल्लो एक सातामा दुर्ववहारमा परे, कुटिए, क्यमरा फुटाइएको छ । मधेश प्रदेशमा फेरि पत्रकार असुरक्षित भएको उनको भनाइ छ । यसप्रति नेपाल पत्रकार महासंघ लाइ गम्भीर रुपमा ध्यानकर्षण गराएका छन् ।

 

काठमाडौं, ४ भदौं ।

आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।

 

कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै अाएका छन् । उपसभामुख दनुवारले सभाकाे अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ अाएकाे छ ।

सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

 

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका काेशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हाे । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

प्रेमचन्द्र झा,भदौ ०३ गते
रौतहट । महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले मुदाको अनुसन्धान अभियोजन र न्याय निरुपण गर्दा कर्मकाण्डको रुपमा नलिन अनुरोघ गरेका छन। सरकारी वकिलको कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता पोखरेलले सहि ठाउमा न्याय परेको छ कि छैन पटक पटक हेर्न सरकारी वकिलहरुलाई सुझाव दिएका छन । प्रक्रिया पूरा भयो भने उदेश्यले कहिल्य पनि मुद्दालाई नहेर्न महान्यायाधिवक्ता पोखरेलले सचेत समेत गराए । विभिन्न मुद्दामा दसिको रुपमा पक्राउ परेका वा जपथ गर्ने अभियानको रुपमा रहेका गाडी ,माल समानहरुलाई सम्बन्धित व्यक्तिको अनुहार मात्र हेरेर होईन , राष्ट्रिय अर्थतन्त्रलाई ध्यानमा राखेर न्याय निरुपण गर्न सुझाव दिएका हुन ।
महान्यायाधिवक्ता पोखरेलले भने करोडौको गाडी जफत गर्ने प्रकृयामा सडाई रहेको हुन्छौं , दुई वर्ष पछाडी उसको कुनै पार्ट पुर्जा काम लाग्दैन । तस्कर , अपराधीको सम्पत्ति नष्ट भयो भनी हामी मख्ख हुन्छौं तर त्यहीँ गाडी उसैले किन्न जादा नेपाली रुपैयाँ कतिको बाहिरिएको हुन्छ त्यसमा हामीले कहिल्यै विचार गरेका छौ उनको प्रश्न थियो ।
नवनिर्मित भवनको उदघाटनसंगै अवसर र चुनौती थपिएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साधन स्रोतको उपलब्धता र कार्य सम्पादनको गुणस्तरीयता मापन गर्ने प्रकृया यसले संग सगै ल्याएको बताए।क्षमतावान र निश्पक्ष भई न्याय निरुपनको काम गर्नु नै ठुलो चुनौतिको विषय भएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साईबर अपराध र चेक अनादरको मुद्वा जिल्ला अदालतले हेर्ने सरकारले निर्णय गरि सकेपछि पनि चुनौति थपिएको बताए ।

महान्यायाधिवक्ताको कार्यालय काठमाडौका सह महान्यायाधिवक्ता सुर्य राज दाहालको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा उच्च सरकारी वकिलको कार्यालय बिरगंजकासह न्यायधिवक्ता राम कुमार थापा ,रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासिनी ,प्रमुख जिल्ला अधिकारीधर्मेन्द्र कुमार मिश्र ,नेपाल वार एसोसिएसन अध्यक्ष नन्दकिशोर साह र जिल्ला सरकारी वकिलकार्यालयका प्रमुख बद्री बहादुर कार्किले शुभकामना मन्तव्य राखेका थिए ।

रु ३ करोड ३३ लाखको लागतमा सिएम चन्डी मुन्ना जेवि काठमाडौले ठेक्का सकार गरि एक सय १४ दिन पहिले नै तीन तल्ले भवनको निर्माणकार्य पूरा गरेका छन । समय अगावै कार्य सम्पन्न गरे वापत निर्माण कम्पनीका प्रतिनिधि प्रमोद यादवलाई प्रमुख अतिथि महान्यायाधिवक्ता पोखरेलले दोसल्ला ओढाई सम्मान गरका छन् ।

रामप्रवेश बैठा,मौलापुर,भदौ ०३ गते ।
रौतहटको मौलापुर नगरपालिकामा “हाम्रो मौलापुर” पुस्तक बिधार्थीको हाथ हाथमा पुगेको छ । मौलापुर नगरपालिकाको स्थानीय पाठयपुस्तक “हाम्रो मौलापुर” प्रत्येक बिधालयमा वितरण कार्य शुरू गरिएको छ ।
मौलापुरको हरेक पक्ष समेटीएको उक्त पुस्तकले बिधार्थीहरु वृद्धि बिकासमा ठुलो सहयोग पुगने बिश्वास लिएको नगर प्रमुख रिना कुमारी साहले बताउनु भयो । उक्त पुस्तक कक्षा १ देखि कक्षा ८ सम्म पढ़ाई हुने उनले जानकारी गराइन् । सो पुस्तकको लेखनको काम हेम प्रसाद साहले गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०३ गते ।
रौतहटको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लाइ पुनः सञ्चालन गराउन संघर्ष समिति गठन गरिएको छ । शनिवारको बृहत् किसान आमसभापछि आज गरुडा नगर उधोग वाणिज्य संघको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक बाट उँखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा १०१ सदसीय संघर्ष समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा संतोष कुमार साह,ब्रिजकिशोर यादव,मो.कलिमुलाह,रामभरोस यादव,दिपक यादव,राजकुमार दास लगायतका व्यत्तीहरु रहेका छन् ।
बैठक बाट मिल सञ्चालनका लागि उधोग मन्त्रालय,अर्थ मन्त्रालय र प्रधामन्त्रीको कार्यालयमा डेलिगेशन लिएर जाने र पछि संघर्षको थप कार्यक्रम घोषणा गर्ने निर्णय भएको उँखु उत्पादन संघ रौतहटका अध्यक्ष यादवले बताए ।
शनिवार गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले बृहत् किसान आम भेला गरेको थियो ।
उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थियो । गरुडा बाट चिनी मिल हटाउन खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए ।

इन्दीप कोइराला,बारा, ३ भदाै ।

बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् ।

 

आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेका बेला पचरौता नगरपालिका-२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

 

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।

 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

 

प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिती अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।

हेमन्त केसी,सुर्खेत, ३ भदाै ।

नेकपा माओवादी केन्द्रकै नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको आफ्नै पार्टीभित्र व्यापक आलोचना सुरु भएको छ । तीन महिने अभियानलाई सफल बनाउन कर्णालीमा इन्चार्ज भएर आएका उपमहासचिव मात्रिका यादवले सुझाब माग्ने आयोजित कार्यक्रममा कर्णाली सरकारकै आलोचनाको मुख्य विषयले भारी समय खर्चियाे ।

अधिकांश बैठकमा सहभागीले मुख्यमन्त्री राजकुमार शर्मासँग सम्पर्क समेत गर्न मुस्किल भएको बताएका थिए । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसीले भनिन्, ‘मुख्यमन्त्रीज्यूलाई पार्टीले कुनै हस्तक्षेप नगर्ने निर्णय गरिसकेकाले हामी केही नभन्ने पक्षमा छौँ , उहाँलाई कसरी काम गर्दा सजिलो हुन्छ । त्यही गर्नुहुन्छ ।’

अर्का स्थायी सदस्य कालीबहादुर मल्लले आफ्नो पार्टीबाट गएका मन्त्रीहरुलाई एक जना स्वकीय राख्दा पार्टीका सिफारिसमा राख्नु, अरु इच्छा आएका व्यक्तिलाई राख्नु भनेपनि त्यो कुरा कार्यान्वन नभएको बताए । उनले भने ,‘ पटक , पटक मैले मुख्यमन्त्रीलाई ध्यानाक्रषण गराएको छु । बाँकी काम गर्ने उहाँले हो । ’

शनिबारदेखि सुर्खेतमा कर्णालीका १० जिल्लाबाट आएका पार्टीका नेता कार्यक्रतालाई प्रशिक्षण हुन लागेको छ । त्यहाँ समेत पार्टी र सरकारको बीचमा तालमेल नमिलेको आवाज चर्को रुपमा उठेको छ । अहिले सम्म व्यापारी , पत्रकार , तथा शुभचिन्तकसँग प्रदेश इन्चार्ज मात्रिका यादवको उपस्थितीमा अन्तरक्रिया हुँदै आएका छन् ।

सत्तामा पुग्न साथ पार्टीका कुरा नसुन्ने प्रवृतिले गर्दा आफूहरु हैरान भएको सहभागीले बताएका छन् । प्रदेश समितिका पदाधिकारी समेतले सरकारमा सहभागी साथीहरुले आफूहरुको कुरा नसुनेको गुनासो गर्न भ्याएका छन् । त्यस्तै केही सहभागीले तपाइहरु अहिले बाहिर हुनुहुन्छ, तपाइँहरु सरकारमा हुँदा कस्तो गर्नुभएको थियो, अहिले अर्काले कुरा नसुन्दा कस्तो अनुभूति हुदोरहेछ भन्दै ब्याङगे समेत गरेका थिए । सरकारका महत्वपुर्ण अंगमा राजनीतिक न्यूक्ति गर्नुपर्नेमा वर्ष दिन सम्म खाली राखेर के गर्न खोजेको भन्दै मुख्यमन्त्रीलाई सहभागीले प्रश्न समेत गरेका थिए ।

प्रेस सेन्टर निकट पत्रकारले सबै भन्दा बढी मुख्यमन्त्रीको आलाचेना गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिले समेत पार्टीका कुरा नसुनेर एकलौटी तरिकाले अगाडी बढेको समेत भारी आलोचना भएको छ । संघीय मन्त्री , प्रदेशका मुख्यमन्त्री ,मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधि सम्मको आलोचना भइरहेको छ । पार्टी भित्र आलोचना गरेमा मन नपरेकाले भित्तामा पुर्याउने गरेको समेत गुनासो गरिएको छ ।

उत्तर प्रदेश इन्चार्ज मात्रिका यादवले यो समस्य देशै भरी भएकाले नै यो तीन महिने अभियान सञ्चालन गरिएको बताए । अब गाउँ ,गाउँमा माओवादी, जनजनमा माओवादी भएमा मात्र यो पार्टी बन्ने उनले तर्क गरे । गुट, उपगुट सबैलाई पिसेर धुलो बनाइने समेत बताए । नेताहरु सुविधभोगी भएको तर जनताको कुरा सुन्न छोडेको भन्दै आलोचना भएपछि नेताहरूलाई जवाफ दिन मुस्किल हुँदै आएको छ ।

हेमन्त केसी ,सुर्खेत,  ३ भदाै ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरु मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।

वडा नं ६ बस्ने बालिकामाथि स्थानीय युवाहरुले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नौ जनामध्ये तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

 

पक्राउ परेका तीनमध्ये दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवा फरार छन् । फरार रहेकाहरुको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।

 

बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन् ।

 

प्रदीप कुमार दास, रौतहट भदौ ०२ गते,शनिबार ।

रौतहटको गढीमाई नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IFES सहकार्यमा ‘ शी लिड्स : महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको उदघाटन तथा समापन सत्रमा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो ।

२०२२ को जनवरी-फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ , यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताए ।

यस कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।

महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधिहरुले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै पत्रकार , माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले आज भदौ २ गते बृहत् किसान आम भेला गरेको छ ।
श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि आयोजना गरिएको बृहद किसान आम सभा कार्यक्रम शनिवार मिल्सको मैदानमा सम्पन्न भएको छ ।


उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको प्रमुख आतिथिको रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि संघिय सस्कारबाट रकम व्यवस्थापन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद किरण साहले बन्द रहेको चिनी उद्योगको लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनु पर्ने बताए। । यसको लागि सडक देखी सदन सम्म आवाज उठाउनु पर्ने जोड दिए ।
रौतहटको धरोहरको रूपमा रहेको चिनी मिलको जग्गा बिक्रि गर्न कसैले चाहे रौतहटका जनता त्यसको प्रतिकार्य गर्न पछि नहट्ने बताए ।


आम सभामा मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रि अब्बुल कलाम अजाद उर्फ फुलबाबुले प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नु पर्ने बताए ।

चिनी मिल संचालनको लागि पटक पटक आवाज र संघर्ष गर्दै आएका संघका अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न भएको आम सभामा पुर्ब संबिधान सभा सदस्य राम कुमार भट्टराई, पूर्व राजदुत डाक्टर बंशीधर मिश्र, पूर्व कृषि राज्य मन्त्रि योगेन्द्र यादव, प्रदेश सांसद कनिश पटेल, सुनिल यादव, गरुडा नगर पालिकाका मेयर कन्थ मुनि जयसवाल, बौद्धिमाई नगर पालिकाका मेयर प्रदिप यादव, बृन्दा बन नगर पालिकाका नगर प्रमुख बिनोद पटेल, पुर्ब मेयर राम स्नेही यादव नगर प्रत्यासी बृज किशोर यादव, अनिल यादव, दिपक यादव, सुनिल यादव, विजय यादव लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।

गरुडाको चिनी मिल बचाउन सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाइएको थियो ज्ञापनपत्र

गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको थियो । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।