काठमाडौं, १८ फागुन ।
रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको आरोप लगाएका हुन् ।
सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा अहिले दैनिक करिब डेढ करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उनलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ।
‘हामीले हत्यारा पत्ता लगाइसकेका छौं, पक्राउ पर्न मात्रै बाँकी हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भने।
पाठकका अनुसार ढकालको हत्यामा हालसम्म तिनै व्यक्ति संलग्न देखिन्छन्, जुन दिन ढकालसँग उनी मात्रै अन्तिम समयसम्म थिए।
सूर्यविनायक नगरपालिका-८ भक्तपुर सिपाडोलको एउटा गोठमा ढकालको शव हत्या गरेको अवस्थामा गत फागुन ११ गते फेला परेको थियो। उनी फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्केका थिए।
उक्त घटना अनुसन्धानको क्रममा अन्य दुई जना (एक जना केटा र केटी) पक्राउ परेका थिए।
‘घटनाको अन्तिम सिनमा ती दुई व्यक्ति देखिँदैनन्, त्यसकारण हत्या गर्ने व्यक्ति ढकालसँग गोठतिर हिँडेका व्यक्ति मात्रै हुन् भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष हो,’ पाठकलले भने।
९ गते राति निस्किएपछि ढकाल ती व्यक्तिसँग सिपाडोलको एउटा पसलमा छिरेका थिए। उक्त पसलमा सडकमा मागेर हिँड्ने एक जना केटा र एक केटी पनि छिरेका थिए। पछि ती दुई जना पसलबाट बाहिर निस्केको देखिन्छ।
‘त्यहाँको सिसिटिभी फुटेज हेर्दा ढकाल र फरार व्यक्ति गोठतिर उकालो लागेको देखिन्छ,’ पाठकले भने।
‘ढकालको हत्या भएको कुरामा दुविधा छैन। गोठमा छिरेपछि ती व्यक्तिले इँटा-ढुंगा जे-जे भेटे, त्यसैले टाउकोमा हिर्काएर हत्या गरेका हुन्,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले हत्या भएको देखाइसकेको छ।’
के एकै जना व्यक्तिले नै ढकालको हत्या गरेको हो? भन्ने प्रश्नमा डिएसपी पाठक घटनाको अनुसन्धानले त्यही अवस्था देखिएको बताउँछन्।
ती व्यक्तिसँग ढकालको के ‘रिसिइबी’ थियो भन्ने अनुसन्धानकै पाटो छ। जबसम्म फरार व्यक्ति पक्राउ पर्दैनन्, तबसम्म घटनाको पर्दा नउघ्रिने डिएसपी पाठकले बताए।
‘हामी फरार व्यक्तिलाई खोजी गरिरहेका छौं, हाम्रो अनुसन्धान टोलीले चाँडै पक्राउ गर्छ भन्ने आशा राखौं,’ उनले भने।
ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो भन्ने खुलेको छैन। ‘उनीहरूबीच के कस्तो सम्बन्ध थियो भन्ने अभियुक्त पक्राउपछि खुल्छ,’ उनले भने।
यसरी भएको थियो हत्या
तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए। उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।
प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन्। ढकालकी एक जना छोरी थिइन्। यही फागुन ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किएका थिए। उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो। उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन।
डिएसपी पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन्।
त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट हुन्छ।
अनुसन्धानका सिलसिलामा वृत्त जगातीले त्यहाँ भेट भएका अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। ती दुई जनामध्ये एक जना केटा र अर्की केटी थिए।
‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन्,’ पाठकले भने।
उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ। त्यसपछि ती दुई व्यक्ति (केटा-केटी) छुट्टिन्छन्।
‘गोठ भएतिर ढकाल र अहिले हामीले पत्ता लगाएर खोजी गरिरहेका व्यक्ति मात्रै गएका देखिन्छन्,’ पाठकले भने।
ती दुबै (केटा-केटी)ले मोबाइल फोन बोक्दैनन्। हत्या गर्ने व्यक्तिसँग मोबाइल नभएको देखिएको पाठकले बताए।
हत्या आकस्मिक हो वा पहिलेदेखि बनाइएको योजनाअनुसार हो भन्ने खुलेको छैन।
जब तीन जना छुट्टिन्छन्, त्यसपछि हत्या गर्नेले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए।
‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने।
त्यसलगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको थियो।
गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए।
मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए। खोजीका लागि वृत्त जगातीमा निवेदन दिए।
रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्यो। अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो।
फरार भएका व्यक्तिले अफ गरेर ढकालको मोबाइलसमेत लगेका छन्। ‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिन सरकारले आनाकानी गरेकाले यथास्थितिमा बैठक अघि बढ्न नसक्ने बताए । यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।
उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ ।
बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।
उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए ।
सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।
बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।
उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन् । न्युज कारखाना
सर्लाही, १८ फागुन।
पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताएका छन्।
बरामद रकमको पाख्रिनले स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।न्युज कारखाना
उर्लाबारी, फागुन १८ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताए ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।न्युज कारखाना

रौतहट,१८ फागुन ।
रौतहटका विभिन्न स्थानमा मापदण्डविपरीत संचालनमा रहेका निजी अस्पतमा नियमित अनुगमन नभएको गुनासो बढदै जान थालेको छ । यस्ता अस्पतालले सर्बसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका छन् ।
गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरु मापदण्डविपरीत रहेको र अनुगमन गर्नुपर्ने सर्बसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।
नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधारसहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै निजी क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर, रौतहटमा मापदण्डविपरीत नै दर्जनौँ अस्पताल संचालनमा रहेका छन् । त्यति मात्रै नभई बर्षभरिको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भए पनि बिनाइजाजत, इजाजत लिए पनि बर्षौंदेखि नवीकरण नगराएको, बेड राख्ने अनुमति नलिई बेड राखेको छ, बेड राख्न अनुमति लिए पनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय विरामीहरूसँग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ ।
यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा निजी अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजीविनीले १५ बेडको स्वीकृति लिएको भए पनि अन्य ११ वटा निजी अस्पतालको नविकरण भएको देखिँदैनन् ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर, आनन्द पोलिक्लिनिक एक्युपञ्चरको रेकर्डमा रहे पनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्रालि नाम राखेर संचालन गरेको पाइएकाे छ ।
बेड राख्ने प्रक्रिया पूरा नै नगरेर दर्जनौँ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईंमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएकाे छ । गाउँघरमा आफ्ना एजेन्टहरु मार्फत पक्षघात भएका बिरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्षदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत होस्पिटल संचालन गर्दै आए पनि सम्बन्धित् निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।न्युज कारखाना
बारा, १८ फागुन ।
बाराको पथलैया स्थित आन्तरिक राजस्व अनुसन्धान कार्यालयको राजस्व संकलनमा वृद्धि भएको छ ।
गत आर्थिक वर्षको ६ महिनामा संकलित राजस्वको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलनमा बृद्धि भएको हो।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ ।
सोही अवधिमा गत आर्थिक वर्षमा मात्र १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो । यस आवको ६ महिनामा गतको तुलनामा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको छ । चुहावट तर्फको राजस्व वृद्धि संगै भिसिटिएस जरिवाना तर्फ समेत वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको हिजो फागुन १७ गते सम्म ५४ लाख ९० हजार रुपैया भिसिटिएस जरिवाना तर्फ संकलन भएको छ । सोही अवधिमा गत आवमा भिसिटिएस जरिवाना तर्फ मात्र ४४ लाख ६० हजार रुपैया मात्र संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अधिकृत प्रेम प्रसाद देवकोटाले बिगतको तुलनामा राजस्व चुहावटमा क्रमसः नियन्त्रण हुँदै गएकाले राजस्व संकलनमा वृद्धि भएको दाबी गरेका छन।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्।
काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ ‘क’ प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्।
उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा जुटेको अवस्थामा कांग्रेसबाट रोकायाले दाबी गरिरहेका छन्।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका रोकायाले आफू अहिलेसम्म राजनीतिक लाभको पदमा नबसेकाले यस पटक आफ्नो दाबी स्वभाविक भएको बताएका छन्।
‘म पार्टी र संगठनको हितमा काम गर्ने एक इमान्दार सिपाहि हुँ। अहिलेसम्म मैले लाभको राजनीति गरिन। यतिबेला जिल्लामा मसँगै अन्य नेताहरू पनि आकांक्षा राखिरहनु भएको छ। लोकतान्त्रिक दलमा आकांक्षा राख्ने सबैको अधिकार छ। म सबै आकांक्षीको भावनाको उच्च कदर गर्दछु। तर, टिकट पाउनुपर्ने उपयुक्त पात्र म हुँ। त्यहाँका जनताको चाहना पनि त्यही रहेको छ,’ उनले भने। रोकायाले पार्टीको जिल्ला नेतृत्व, प्रदेश नेतृत्व र केन्द्रीय नेताहरूले पनि आफूलाई न्याय गर्ने विश्वास व्यक्त गरेका छन्।
रोकाया २०६२/०६३ सालको जनआन्दोलनमा दुई पटक जेल परेका थिए। उनले २६ दिन र सात दिन गरी दुई पटक कारावास विताएका छन्।
उनीसँगै कांग्रेसबाट जगतप्रसाद जोशी, अभिषेक सिंह, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, नन्दकृष्ण जोशी, विष्णु अएडीलगायतको नाम पनि चर्चामा छ।
नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो।न्युज कारखाना
मोरङ, १८ फागुन।
बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।
ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो ।
बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
न्युज कारखाना