२०८२ चैत्र २५
२०८२ चैत्र २५

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ । 

राैतहट । निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र रहेको कटहरियामा आज सर्वदलीय बैठक सम्पन्न भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते हुने उम्मेदवारहरूको मनोनयन दर्ता सम्बन्धमा केन्द्रित रही बैठक आयोजना गरिएको हो ।

बैठकमा मनोनयन दर्ताको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहने, उम्मेदवारले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने तथा मनोनयन दर्ताका क्रममा कार्यालयभित्र ५ जनाभन्दा बढी प्रवेश गर्न नपाइने विषयमा विस्तृत छलफल भएको निर्वाचन अधिकृत उपसचिव अवधकिशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा उपस्थित सबै दलका प्रतिनिधिहरूले ती विषयमा सहमति जनाएका छन् ।

 

बैठकमा सहभागी जसपा नेपालका नेता विजय चौधरीले दलहरूले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने, मनोनयन दर्ताका क्रममा भिडभाड गर्न नपाइने तथा शान्तिपूर्ण वातावरण कायम गर्नुपर्ने विषयमा समेत छलफल भएको जानकारी गराउनुभयो ।

 

सो अवसरमा सहायक निर्वाचन अधिकृत जोखिम ठाडा मगर, निर्वाचनमा खटिएका कर्मचारीहरू,ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरिक्षक धर्मेन्द्र पाैडेल,सशस्त्र प्रहरी बलका रामबहादुर अयर तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले यस्ता सर्वदलीय बैठकहरू उपयोगी हुने सहभागीहरूको भनाइ रहेको छ ।

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ ।

रौतहट ।  जसपा नेपाल पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधान सभा सदस्य गोविन्द चौधरी रौतहट निर्वाचन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिने निश्चित भएका छन् ।

रौतहट क्षेत्र नं. ३ मधेस आन्दोलनको राजनीतिक चेतना, संघर्ष र पहिचानको प्रतीक क्षेत्र मानिन्छ। यहाँका आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, महिला, युवा लगायतका समूहका अधिकार, संघीयता, समावेशिता, सुशासन तथा सामाजिक न्यायका लागि निरन्तर उठाउँदै आएका नेता गोविन्द चौधरी स्वच्छ छविका, राजनीतिक रूपमा अनुभवी र संघर्षशील नेता हुन् ।

पूर्व केन्द्रिय उपाध्यक्ष चौधरीले राजनीतिक जीवनभर कुनै पनि प्रकारको बदनामी वा विवादबाट टाढा रहँदै जनताको विश्वास जित्दै आएका छन् । उनका अनुभव र संघर्षले रौतहट क्षेत्र नं. ३ का जनता, कार्यकर्ता र समर्थकहरूबीच ठूलो उत्साह र समर्थन सिर्जना गरेको बताइएको छ ।

उम्मेदवार चौधरीको उम्मेदवारी घोषणासँगै क्षेत्र नं. ३ का सम्पूर्ण नेता, कार्यकर्ता र क्षेत्रबासीहरुलाई सचेत रहन र सक्रिय सहभागी हुन आह्वान गरिएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ । 

रौतहट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पुनम यादवलाई उम्मेदवारका रूपमा अघि सारेसँगै यस क्षेत्रमा चुनावी माहोल थप तातिएको छ । पार्टीबाट औपचारिक रूपमा टिकट पाएपछि क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा झनै रोचक र कडा हुने देखिएको छ । पुनम यादव सम्भवतः यस क्षेत्रमा पहिलोपटक सशक्त महिला उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिन लागेकी हुन् ।

 

पुनम यादव अभिनेता तथा विभिन्न सन्त–महात्मासँगको निकट सम्बन्धका कारण चर्चामा रहँदै आएकी छन् । कलाकार र धार्मिक व्यक्तित्वहरूसँगको लगावकै कारण उनी सर्वसाधारण माझ लोकप्रिय रहेको बताइन्छ । यही सामाजिक पहिचान र लोकप्रियताले उनलाई उम्मेदवार बनाइएको भन्ने चर्चा स्थानीय स्तरमा चलिरहेको छ ।

 

यद्यपि, टिकट वितरणसँगै नेकपा रौतहट क्षेत्र नम्बर ३ भित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ । नेकपाका नेता रामाकान्त चौरसियाले सामाजिक सञ्जालमार्फत खुला असन्तुष्टि व्यक्त गरेका छन् । उनले क्षेत्रीय भेलाको निर्णयलाई बेवास्ता गर्दै केन्द्रबाट उम्मेदवार थोपरिएको आरोप लगाएका छन् ।

 

चाैरसियाका अनुसार क्षेत्रीय भेलाले प्रतिनिधि सभाका लागि धिरज पटेल, बिन्देश्वर यादव र रामभरोस यादवलाई सिफारिस गरेको थियो । तर ती सिफारिसलाई लत्याउँदै पुनम यादवलाई टिकट दिइएको भन्दै उनले प्रश्न उठाएका छन् ।

 

उनलाई कुन प्रक्रिया र कुन आधारमा टिकट दिइयो भन्ने विषय अहिले रौतहट क्षेत्र नम्बर ३ मा मात्र होइन, समग्र राजनीतिक वृत्तमै व्यापक चर्चाको विषय बनेको छ । पार्टी नेतृत्वको निर्णयले आगामी दिनमा नेकपाभित्रको आन्तरिक समीकरण र चुनावी रणनीतिमा कस्तो असर पार्ला भन्ने चासोसमेत बढेको छ ।

 

टिकट वितरणपछि देखिएको असन्तुष्टि व्यवस्थापन गर्न नसके नेकपाका लागि यो क्षेत्र चुनौतीपूर्ण बन्न सक्ने विश्लेषकहरूको भनाइ छ । यद्यपि, सशक्त महिला उम्मेदवारको आगमनले भने यस क्षेत्रको चुनावी बहसलाई नयाँ मोड दिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ । 

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले औपचारिक रूपमा आफ्नो उम्मेदवारीबारे जानकारी गराउनु भएको छ ।

कुशवाहाका अनुसार आगामी फाल्गुन २१ मा हुुने निर्वाचनमा  नेकपा एमालेको पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार रौतहट क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको टिकट सुनिश्चित भइसकेको छ । “पार्टीको निर्णयअनुसार मलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ। पार्टी र जनताको विश्वासलाई जितमा बदल्न म पूर्ण रूपमा प्रतिबद्ध छु,” उहाँले बताउनु भयो ।

उहाँ २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । विगतको राजनीतिक अनुभव र संगठनात्मक सक्रियताका कारण यस क्षेत्रका कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन् ।

कुशवाहाले मनोनयन दर्ताका लागि आफू पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पार्नु भएको छ । “आगामी निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको विजय सुनिश्चित गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्नेछु,” उहाँको भनाइ छ ।

यसैबीच, नेकपा एमाले रौतहट क्षेत्र नम्बर ३ ले पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार कमरेड कुन्दन कुशवाहालाई प्रत्यक्षतर्फ टिकट सुनिश्चित भएकोमा अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेको छ । पार्टीले आगामी निर्वाचनमा कुशवाहाको नेतृत्वमा सशक्त प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,०४ गते माघ । 

जेनजी २.० का राैतहट अध्यक्ष सोनु कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । केही दिनअघि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए ।

 

जेनजी २.० का अध्यक्षका रूपमा कुशवाहाले केवल विरोधमा सीमित नभई विभिन्न सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सकारात्मक अभियान सञ्चालन गरेका थिए । उनको पहलमा परोहा नगरपालिकाका विद्यालय तथा अस्पतालहरूमा उल्लेखनीय सुधार आएको बताइन्छ । यस्तै, बौधीमाई नगरपालिकामा पनि उनले सुधारमुखी अभियान चलाएका थिए ।

 

पार्टी प्रवेशपछि ईशनाथ नगरपालिकाको औरैया क्षेत्रमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कुशवाहालाई स्वागत तथा सम्मान थिए । आईटी इन्जिनियर, समाजसेवी एवम् गायकसमेत रहेका कुशवाहा आगामी राैतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बन्ने तयारीमा छन् । उनी जनमत पार्टीकै तर्फबाट निर्वाचन लड्ने मुडमा रहेको बुझिएको छ ।

 

हाल कुशवाहाले गाउँ–गाउँमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाटलाई तीव्र बनाएका छन् । सोही क्रममा बन्जारहा गाउँमा स्थानीय जनतासँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना धारणा राखेका थिए ।

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म सक्रिय भूमिका खेल्दै आएका कुशवाहाको जनमत पार्टी प्रवेशलाई राैतहटको राजनीतिक परिवेशमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०४ गते माघ । 

रौतहट । आज आइतवार र भोलि सोमबार रौतहटको राजनीतिक वातावरण निकै रोचक बनेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले टिकट वितरण प्रक्रिया सुरु गरेसँगै जिल्लाको चुनावी माहोल अर्को चरणमा प्रवेश गरेको छ ।

 

निर्वाचन आयोगले माघ ०६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गराउने कार्यतालिका सार्वजनिक गरेसँगै दलहरू थप दबाबमा परेका छन् । तोकिएको समयभित्र उम्मेदवारको टुंगो लगाउनुपर्ने भएकाले राजनीतिक गतिविधि झनै तीव्र बनेको हो ।

 

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । कार्यालय सञ्चालनमा आएसँगै राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू थप सक्रिय देखिएका छन् । चिया पसलदेखि टोल–टोलसम्म चुनावी चर्चा चर्किएको छ ।

 

नेकपा एमालेले रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेको छ । एमालेका तर्फबाट उम्मेदवारहरू यस प्रकार रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ : अजय गुप्ता,क्षेत्र नम्बर २ : शैलेन्द्र साह,क्षेत्र नम्बर ३ : कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ : रामजी शाह रहेका छन् ।

एमालेले उम्मेदवार घोषणा गरेसँगै चुनावी प्रचार–प्रसारको तयारीलाई तीव्र बनाउने संकेत दिएको छ ।

 

उता नेपाली काँग्रेसमा भने पार्टीको केन्द्रीय तहमा देखिएको विवादको असर रौतहटमा स्पष्ट देखिएको छ । कसले टिकट पाउने भन्ने विषयमा अझै टुंगो नलाग्दा काँग्रेसका कार्यकर्ता अन्योलमा परेका छन् । सम्भावित उम्मेदवार र समर्थकहरू केन्द्रको निर्णयको प्रतिक्षामा छन् ।

 

अन्य राजनीतिक दलहरू पनि मनोनयन दर्ताको मिति नजिकिँदै जाँदा आफ्ना उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् । केही नयाँ दलहरूले भने यसपटक नयाँ अनुहार खोजी गर्दै स्थानीयस्तरमै छलफल र परामर्श गरिरहेका छन् ।

 

माघ ०६ गतेको मनोनयन दर्तापछि रौतहटमा उम्मेदवारहरूको औपचारिक तस्वीर स्पष्ट हुने र चुनावी प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते माघ । 

रौतहट । नेकपा एमालेले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशैभरिका उम्मेदवार टुंगो लगाउने क्रममा रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टी स्राेतका अनुसार क्षेत्र नम्बर १ मा अजय गुप्ता, क्षेत्र नम्बर २ मा शैलेन्द्र साह, क्षेत्र नम्बर ३ मा कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ मा रामजी शाह उम्मेदवार रहेका छन् ।

क्षेत्र नम्बर १ का उम्मेदवार अजय गुप्ता यसअघि २०७९ मा  सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग केही मतान्तरले पराजित भएका थिए। यसपटक गुप्ताले पुनः चुनावी प्रतिस्पर्धामा उत्रँदै क्षेत्रको विकास र जनसमस्यालाई प्रमुख एजेन्डा बनाउने बताएका छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका कुन्दन कुशवाहा २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । प्रदेशस्तरको अनुभव बोकेका कुशवाहाले संघीय संसदमा पुगेर मधेसका मुद्दालाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्षेत्र नम्बर २ का शैलेन्द्र साह र क्षेत्र नम्बर ४ का रामजी शाहलाई पनि पार्टीले संगठन मजबुत बनाउने र स्थानीय जनताको विश्वास जित्न सक्ने उम्मेदवारको रूपमा अघि सारेको जनाएको छ ।

नेकपा एमालेले रौतहटमा यसपटक चारै क्षेत्रमा जित हासिल गर्ने लक्ष्यसहित चुनावी तयारी तीव्र बनाएको छ । पार्टी नेताहरूका अनुसार संगठन परिचालन, जनसम्पर्क र विकासमुखी एजेन्डामार्फत मतदाताको समर्थन जुटाइनेछ ।

 

आरके श्रीवास्तव,राैतहट,०३ गते माघ । 

रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि रौतहट जिल्लामा कायम मतदाता, मतदान स्थल र मतदान केन्द्रसम्बन्धी विवरण सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाभर कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् ।

 

रौतहट जिल्लामा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रमा जम्मा १५७ वडा, २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएका छन् ।

 

निर्वाचन क्षेत्रगत रूपमा हेर्दा निर्वाचन क्षेत्र नं. ४ मा सबैभन्दा बढी १ लाख १० हजार ३१४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३० वडा, ६१ मतदान स्थल र १३४ मतदान केन्द्र छन् । यसपछि निर्वाचन क्षेत्र नं. २ मा १ लाख ८ हजार ८७२, निर्वाचन क्षेत्र नं. १ मा १ लाख ८ हजार ७२६ र निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ८ हजार ६९९ मतदाता रहेका छन् ।

लैंगिक आधारमा हेर्दा रौतहट जिल्लामा पुरुष मतदाता २ लाख ४० हजार २६७ र महिला मतदाता १ लाख ९६ हजार ३४३ रहेका छन् । अन्य लिङ्गका मतदाता १ जना मात्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

निर्वाचन क्षेत्र नं. १ मा ६० हजार २६९ पुरुष र ४८ हजार ५९७ महिला मतदाता छन् । निर्वाचन क्षेत्र नं. २ मा ६१ हजार १९४ पुरुष र ४७ हजार ६७८ महिला, निर्वाचन क्षेत्र नं. ३ मा ५९ हजार ९६८ पुरुष र ४८ हजार ७३० महिला तथा निर्वाचन क्षेत्र नं. ४ मा ५८ हजार ८३६ पुरुष र ५१ हजार ४७८ महिला मतदाता रहेका छन् ।

 

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार तोकिएका मतदान स्थल र केन्द्रमा आवश्यक पूर्वतयारी समयमै पूरा गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गरिनेछ ।

काठमाडौं,२०८२ माघ ०३ गते  । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच भएको एकीकरणपछि आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि संयुक्त समन्वयका साथ निर्वाचन परिचालन गर्न परिपत्र जारी गरिएको छ ।

 

जसपाको केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार २०८२ पौष १३ गते दुई पार्टीबीच एकीकरण भएको र पौष २७ गते १२ बुँदे एकीकरण सम्झौता सार्वजनिक भइसकेको जनाइएको छ । सम्झौता पत्रको बुँदा नं. ८ अनुसार दुवै पार्टीका केन्द्रीय कार्यकारिणी समिति, पदाधिकारी समिति, केन्द्रीय समिति, भ्रातृ संगठन, विभाग तथा पार्टीप्रति आवद्ध संगठनहरूको समायोजन नहुँदासम्म निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिमा आ–आफ्नो तहबाट सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको छ ।

परिपत्रमा संगठन निर्माण, चुनावी प्रचार–प्रसार, संगठन परिचालन तथा दुवै पार्टीका सबै तहबीच समन्वय गरी आम मतदातालाई पार्टीको पक्षमा मतदान गर्न अभिप्रेरित गर्न आग्रह गरिएको छ । साथै, जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवारी दिने सबै उम्मेदवारको विजयको शुभकामना व्यक्त गरिएको छ ।

 

परिपत्रमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते माघ । 

रौतहट । कानु हलवाई समाज महासंघ नेपाल तथा कानु समाज कल्याण समिति जिल्ला रौतहटको आयोजनामा जागरण सभा एवं सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ । रौतहटको मौलापुरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा राजकुमार साहको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको अध्यक्षता कानु समाज कल्याण समिति जिल्ला रौतहटका अध्यक्ष सर्फलाल गुप्ताले गर्नुभएको थियो । कार्यक्रममा पूर्व मन्त्री ज्वाला साह, बाबुलाल साहलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा भारत छापरा विधानसभाकी नव निर्वाचित विधायक छोटी कुमारी साह कानुको विशेष उपस्थिति रहेको थियो । हालै सम्पन्न निर्वाचनमा भोजपुरीका चर्चित गायक कलाकार खेसारीलाल यादवलाई पराजित गर्दै विजयी भएकी विधायक साहलाई कार्यक्रममा भव्य स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उनले कानु समुदायले शिक्षामा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याइन् ।

 

कार्यक्रममा देशभरबाट कानु समुदायका प्रतिनिधि तथा सदस्यहरूको सहभागिता रहेको थियो । साथै छिमेकी राष्ट्र भारतबाट समेत कानु समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । कार्यक्रममा कानु समुदायका जनप्रतिनिधि, विभिन्न सामाजिक व्यक्तित्व तथा पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो ।

 

कानु समुदायको एकता, जागरण र शैक्षिक तथा सामाजिक विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले समुदायभित्र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।