२०८३ जेष्ठ १३
२०८३ जेष्ठ १३

 

काठमाडौँ मङ्गलबार, १९।

नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि सुरु हुने एसिसि यु–१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका छन् । आगामी शुक्रवारदेखि सुरु हुने एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए । उनले सिनियर टोलीले पनि राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताए ।

यु–१९ एसिया कपमा मंसिर २२ देखि पुस एक गतेसम्म संयुक्त अरब इमिरेट्स(युएई) मा सुरु हुँदैछ । यो एसिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएई छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो । यु–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतीपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ एसिया कपको यात्रा थाल्दै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखे । उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताए । यो यात्रा अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेलले पनि युवा टोलीले राम्रो एक्सपोजर पाएको उनको विश्वास छ ।

यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ । यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटाले बताए । युद्धमा जाँदै सबै जित्नकै लागि जाने उल्लेख गर्दैै प्रशिक्षक टमटाले राम्रो क्रिकेट खेल्दै जित निकाल्ने विश्वास व्यक्त गरे । युवा टोलीका विदाईको क्रममा क्यानका सचिव पारस खड्काले सिनियर टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए ।

 

राधा लुइटेलफिदिम, मङ्सिर १७ गते ।

रेडहर्स क्लब इलामलाई हराँउदै झापाको युनाइटेड फुटबल क्लब पाँचथरको फिदिममा जारी प्रथम वाइवाई किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

शनिबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको छ । मङ्सिर २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दूई हजार दूई सय २२ रुपियाँ पुरस्कार पाउनेछन् ।

यसैबीच  मितेरी फुटबल क्लवबाट शनिवार आयोजक पाँचथर फुटबल क्लवसँग प्रतिश्पर्धा गरेका विदेशी खेलाडी पेपेलाई पाँचथर जिल्लामा आयोजना हुने कुनैपनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी कारवाही गर्न सिफारिस गरिएको छ । खेलमा पराजित भएपछि आयोजक र रेफ्रलाई गाली गलौज गरेको भन्दै उहाँलाई प्रतिवन्ध गर्न सिफारिस गरेको हो ।

 

काठमाडाैं  मंसिर १७,/

भारत र अस्ट्रेलियाबीच जारी टी-२० सिरिजको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । दुई देशबीचको खेल बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयानुसार साँझ सवा ७ बजे शुरू हुनेछ ।

यसअघि नै सिरिजमा कब्जा जमाइसकेको भारतसँग अस्ट्रेलियाविरुद्ध पहिलोपटक एकै टी-२० सिरिजमा चार जीत खेल जित्ने मौका छ । भारतले यसअघि अस्ट्रेलियाविरुद्ध एकै सिरिजमा तीनभन्दा बढी खेल जितेको छैन ।

तर, एम चिन्नास्वामी स्टेडियममा खेलिएका टी-२० खेलमध्ये अस्ट्रेलियाले एक खेल पनि हारेको छैन ।

 

राधा लुइटेल,फिदिम, मङ्सिर १६ गते ।      

प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई  हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारबाट सुरु भएको गोल्डकपको उद्घाटन खेलमा पाँचथरले तेह्रथुमलाई २–० गोलले हरायो । आयोजक पाँचथरको जितमा शुक्रराज राईले र विशाल भण्डारीले गोल गर्नुभयो ।

मध्यान्तरअघि गोल रहित बराबरी खेलेपनि दोस्रो हाफमा पाँचथरले बाजी मारेको हो । विशाल म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । आइतबार डिएफसी मोरङ र रेडहर्स इलामबिच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका सचिव राजु राईले बताउनुभयो ।

प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठ टिमले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपियाँ पाउनेछन् । फाइनल खेल मङ्सिर २३ गते हुनेछ ।

 

काठमाडौं ।

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको मृत्यु भएको छ ।

थापाको शुक्रबार राति हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

उनले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा  नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए ।

उनले घरेलु फुटबलमा न्युरोड टिम (एनआरटी), ठमेल र महावीर क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले २०७० सालमा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

 

 

काठमाडौँ मंसिर १६,       

— रिंकु सिंहको आक्रामक ४६ रन र अक्षर पटेलको स्पिन आक्रमणको मदतले भारतले शुक्रबार अस्ट्रेलियालाई चौथो ट्वान्टी-२० मा २० रनले हराउँदै पाँच खेलको सिरिज जितेको छ । यस जितसँगै भारत सिरिजमा ३–१ ले अगाडि रह्यो ।

पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । त्यसमा रिन्कुले २९ बलको मात्र सामना गरेका थिए । जवाफमा अस्ट्रेलियाले सात विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

अक्षरले १६ रन खर्चेर तीन विकेट लिए । यस्तै लेग स्पिनर रवि विश्नोइले आफ्नो पहिलो बलमै विकेट लिए । उनले त्यही विकेटसँगै १७ रन मात्र खर्चे । अब सिरिजको अन्तिम खेल आइतबार बेंगलुरुमा हुनेछ ।

२०८० मंसिर १३,काठमाडौँ ।

भारतले तेस्रो टी–२० क्रिकेट श्रृंखलामा अष्ट्रेलियासँग हार बेहोरेको छ । अष्ट्रेलिया गुवाहाटीमा मंगलबार राति सम्पन्न खेलमा ५ विकेटले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ३ विकेटको क्षतिमा २२२ रन बनायो । ऋतुराज गाइकवाडले ५७ बलमा अविजित रहँदै १२३ रन बनाए । उनी अष्ट्रेलियाविरुद्ध टी–२० मा सर्वाधिक रन बनाउने पहिलो भारतीय हुन् ।

यसअघि सन् २०१६ मा विराट कोहलीले ५५ बलमा अविजित रहँदै ९० रन बनाएका थिए । सबै टिमविरुद्धको एकल सर्वाधिक स्कोर भने शुबमन गिलको नाममा रहेको छ । उनले सन् २०२३ मा न्यूजिल्याण्डविरुद्ध १२६ रन बनाएका थिए ।

यो मामलामा ऋतुराज दोस्रो खेलाडी भएका छन् । ऋतुराज टी–२० मा शतक बनाउने नवौँ भारतीय हुन् । यसअघि रोहित शर्माले ४, सूर्यकुमार यादवले ३ तथा केएल राहुलले २ शतक बनाइसकेका छन् । त्यस्तै सुरेश रैना, विराट कोहली, दीपक हुडा, यशस्वी जयसवाल र शुबमनले १–१ शतक बनाएका छन् ।

अष्ट्रेलियाका आरोन हार्डीले कीर्तिमानी ४ ओभरमा ६४ रन दिए । हार्डी भन्दा अगाडि भारतविरुद्ध यो रेकर्ड सिन एबटको नाममा रहेको थियो । पछिल्लो खेलमै उनले ३ ओभरमा ५६ रन दिएका थिए ।

जवाफमा अष्ट्रेलियाले २० ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित रहँदै १०४ रन बनाए । ट्राभिस हेडले १८ बलमा ३५ रन बनाए ।

म्याक्सवेलले भारतविरुद्ध सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले २१ खेलमा ५५४ रन बनाएका छन् । उनका नाममा दुई शतक र दुई अर्धशतक रहेको छ ।

यसअघि आरोन फिन्चले १८ खेलमा ५०० रन बनाएका थिए । टी–२० मा म्याक्सवेलले शतकमा रोहितको बराबरी गरेका छन् ।

रवि बिश्नोईले २ विकेट लिए ।

यो खेलपछि पाँच खेलको श्रृंखलामा २–१ को स्थितिमा पुगेको छ । भारतले यसअघि दुवै खेल जितेको थियो ।

तेस्रो खेलमा विजयी भएको भए भारतले टी–२० मा सर्वाधिक जित हासिल गर्ने रेकर्ड आफ्नो नाममा लेखाउने थियो ।

हाल भारत र पाकिस्तानले समान १३५ टी–२० जितेका छन् ।

चौथो खेल शुक्रबार रायपुरमा हुनेछ । हाम्रा कुरा

 

काठमाडौँ  मंसिर ९,    

— पोखरा थन्डर्सले शनिबार नेपाल सुपर लिग-२०२३ मा विजयी सुरुआत गरेको छ । मोसेस ग्याबाहको निर्णायक गोलको मद्दतले पोखराले चितवन एफसीलाई १–० ले हराएको हो ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा ग्याबाहले ७१ औं मिनेटमा गोल गरे । गोलरहित बराबरीपछि पेनाल्टी एरियामा पाएको सुन्दर पासको सदुपयोग गर्दै उनले निर्णायक गोल गरेका हुन् ।

यो जितपछि पोखराको पहिलो खेलबाट ३ अंक भएको छ । चितवन भने शून्य अंकमै रह्यो । शनिबारकै अर्को खेलमा ललितपुर सिटी एफसी र बुटवल–लुम्बिनी खेल्नेछन् ।

८ मंसिर

पोखरामा जारी केपी ओली कप टी–२० प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ ।

शुक्रबार भएको खेलमा एपिएफले दिएको १ सय २ रनको लक्ष्य गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मुस्कान थापा, दिनेश बुढामगरले २५/२५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए ।

एपिएफका अभिनाश बोहराले दुई, इर्शद अहमद, अमर रौटेला र अरुण ऐरीले एक/एक विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १८.४ ओभरमा १ सय १ रनमै अलआउट भयो ।

उसका लागि कप्तान प्रदीप ऐरीले २०, भुवन कार्की, सुमित महर्जनले १४/१४ आसिफ शेख र लोकेश बमले १२/१२ रन बनाए ।

 

८ मंसिर २०८०,काठमाडौं।

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा बागमतीले कर्णालीलाई ९० रनले पराजित गरेको हो।बागमती सेमिफाइनलमा यससँगै बागमती सेमिफाइनलमा पुगेको हो।

१९० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली १७.३ ओभरमा ९९ रनमा अलआउट भयो। कर्णालीको लागि अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन जोडे। बागमतीको लागि सन्दीप लामिछानेले ४, दिपेश श्रेष्ठले २ तथा प्रतिस जिसी, रिजन ढकाल, सुबास खत्री, ईशान पान्डेले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनायो। बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए। ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे। कर्णालीको लागि दिनेश अधिकारीले ३ तथा अनुज चनारा र दिवान पुनले १–१ विकेट लिए। नेपाल भ्युज

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।