काठमाडौं, १३ भदौं ।
आज देखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ ।
सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाैं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली विश्वकप क्रिकेट बिजेता टाेली हुन् ।

काठमाडौं, ११ भदौ ।
एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत सन्दीप पाकिस्तान प्रस्थान गरेका हुन् ।

एसिया कप–२०२३ का लागि पाकिस्थान प्रस्थान गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।
पाकिस्तानतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले लेखेका छन्, ‘पाकिस्तानतर्फ लागेँ । यसअघि पाकिस्तानमा हुँदाका अद्भुत सम्झना छन् । एसिया कपका लागि उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । शुभकामना दिनुहुने सम्पूर्णमा धेरै माया ।’

गत मंगलबार नै नेपाली टिमका अन्य खेलाडी एसिया कपका लागि पाकिस्तान गइसकेका छन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग १३ भदौ र भारतसँग १८ भदौमा खेल्ने तालिका छ ।
तस्बिर : सन्दीप लामिछानेकाे फेसबुकबाट

काठमाडौं, ३ भदौ ।
इंग्ल्याण्डलाई १-० ले पराजित गर्दै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि उचालेको छ।
पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
खेलको १६औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो। १७औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन्।
स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाइन्।
यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ।
काठमाडौं, ३ भदौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्।

विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए।
उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।

धनगढी, ३ भदौं ।
क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक कमिटीको अध्यक्षमा बासुदेव जोशी निर्वाचित भएका छन्।
शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारणसभाबाट डडेल्धुरा निवासी जोशीको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो।
प्रदेशका ८ वटा जिल्लाका क्रिकेट संघका प्रतिनिधिहरू सहभागी रहेको साधारणसभाबाट उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरूमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ), बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित भएका हुन्।
संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितमा प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले साधारणसभाको एक समारोहबीच उद्घाटन गरेका थिए।
धनगढी, ३२ साउन ।
जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट निर्वाचित भएका छन्। बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
कैलाली जिल्लामा रहेर लामो समयदेखि उनी क्रिकेटजन्य गतिविधिमा सक्रिय रहँदै आएका छन्। उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, कोषाध्यक्षमा विक्रम लामा निर्वाचित भएका छन् ।
सदस्यमा क्रमशः रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का (रबि), गोविन्दराज जोशी, पदमबहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला क्रिकेट संघ कैलालीको सातौं अधिवेशनमा ५ जना सम्मानित भएका छन्।
क्रिकेटमा लामो समयदेखि सक्रिय रहेर अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्याएको भन्दै क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मान गरिएको छ।
कैलाली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष धर्मबहादुर बोहरा, पूर्वसचिव गणेश नेपाली, पूर्व कोषाध्यक्ष मदनबहादुर कुँवर र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन्।
इन्दीप कोइराला,बारा, ३१ साउन ।
बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।
अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।
अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक कास्य पदक हासिल गरेकी छिन् । प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो ।
निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरत छिन् । सापकोटाले बाग्देव तेक्वान्दो डोजाङबाट तेक्वाण्डो खेल सुरु गरेकी हुन् ।
नयाँदिल्ली, २८ साउन ।
भारतीय क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जालबाट हुने कमाइको रिर्पोटलाई खण्डन गरेका छन् ।
हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्ने क्रममा एसियामा सबैभन्दा बढी इन्स्टाग्रामबाट कमाइ गर्ने कोहली भएको रिर्पोट सार्बजनिक भए पछि उनले त्यसको खण्डन गरेका हुन ।
उनले ट्वीटरमा लेखेका छन्– ‘जीवनमा जे पाएँ त्यसका लागि म कृतज्ञ छु, तर सामाजिक सञ्जालमा भइरहेका समाचार सत्य होइनन् ।’
हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्दै विराटले एउटा इन्स्टाग्राम पोस्टको लागि ११ करोड ४५ लाख भारु लिने गरेको बताएको थियो । जसअनुसार इन्स्टामा कमाइको हिसाबले उनी एसियाका नम्बर एक र तेस्रो नम्बरका खेलाडी हुन् ।
इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् ।
काठमाडौं, २१ साउन ।
नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार बिहान यसबारे जानकारी दिएको हो ।
सामाजिक सञ्जालमार्फत् क्यानले देविकाको नियुक्तिबारे जानकारी दिएका हो । पहिलो पटक नेपालले महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो ।
अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविका आवद्ध भएकी हुन् । उनी काठमाडौं आइसकेकी छन् ।
नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी दिएका हुन् । नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको लिएको उनले घोषणा गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास आफ्नो बिदाइ नभएर नयाँ यात्रा सुरुवात गरेको बताए । घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्। मल्लको सन् २००५ देखि यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।
उनको अन्तिम खेल २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आईसीसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल रह्यो।