काठमाडौँ । अस्ट्रेलियाविरुद्धको जारी टेस्ट खेलमा बंगलादेशले १५३ रनको अग्रता बनाएको छ ।
डर्विनमा जारी खेलको दोस्रो दिनको खेल सकिदा बंगलादेशले पहिलो इनिंगमा ६ विकेट गुमाएर ३५१ रन बनाएको छ । बंगलादेशका लागि तान्जिद हसनले १०१ रनको शतकीय पारी खेलेका थिए भने कप्तान नजमुल होसैन शान्तोले ८४ रन बनाएका थिए । त्यस्तै मोमिनुल हकले ४९ र मुशफिकुर रहमानले ३६ रन बनाएका थिए । दोस्रो दिनको खेल सकिदा मेहिदी हसन मिराज ३२ र हसन महमुद १३ रन बनाएर खेलिरहेका छन् ।
त्यस्तै अस्ट्रेलियाका लागि मिचेल स्ट्राक र जोस हजेलवूडले २-२ विकेट लिए भने पाट कमिन्स र नाथन लिओनले एक एक विकेट लिएका थिए । यसअघि टेस्टको पहिलो दिन अस्ट्रेलिया १९८ रनमा अलआउट भएको थियो ।
काठमाडौँ । दुई पटकको विश्वविजेता वेस्टइन्डिज फेरि एकपटक एकदिवसीय विश्वकपमा सिधै छनोट हुन असफल हुने अवस्थामा पुगेको छ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन वेस्टइन्डिजले अब छनोट प्रतियोगिताको बाटो समाउनुपर्ने सम्भावना बलियो बनेको छ ।
५० ओभरको क्रिकेटमा लगातार कमजोर प्रदर्शन गरिरहेको वेस्टइन्डिजका लागि यो लगातार तेस्रो विश्वकप चक्र हो, जहाँ टोली सिधा छनोटको दौडबाट बाहिरिने अवस्थामा पुगेको छ ।
अफगानिस्तानले आयरल्यान्डविरुद्ध जारी पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा जित हात पारेपछि वेस्टइन्डिजको अवस्था थप कठिन बनेको हो । अफगानिस्तानको जितले सिधा छनोटको दौडमा उसको स्थान बलियो बनाएको छ भने वेस्टइन्डिजका लागि शीर्ष आठमा पुग्ने बाँकी सम्भावना पनि लगभग समाप्त भएको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन् । आयोजकका रूपमा दक्षिण अफ्रिका र जिम्बाब्वेले सिधै विश्वकपमा स्थान बनाउनेछन् । त्यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एकदिवसीय वरीयताका आधारमा थप आठ टोलीले सिधै विश्वकप खेल्नेछन् । सिधा छनोटका लागि वरीयताको अन्तिम मिति सन् २०२६ सेप्टेम्बर ३० तोकिएको छ ।
न्युजील्यान्डविरुद्धको एकदिवसीय सिरिजपछि वेस्टइन्डिज ७३ अंकसहित १०औँ स्थानमा झरेको थियो । बंगलादेश ८३ अंकसहित नवौँ तथा अफगानिस्तान ९० अंकसहित सातौँ स्थानमा रहेको थियो ।
वेस्टइन्डिजका लागि यस्तो अवस्था नयाँ भने होइन । सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि टोली सिधै छनोट हुन सकेको थिएन । छनोट प्रतियोगिता खेलेर उसले मुख्य प्रतियोगितामा स्थान बनाएको थियो ।
तर सन् २०२३ को विश्वकपमा वेस्टइन्डिजले अझ ठूलो धक्का बेहोरेको थियो । छनोट प्रतियोगितामै बाहिरिएपछि टोलीले मुख्य विश्वकप खेल्न पाएन । जिम्बाब्वेमा भएको छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा जिम्बाब्वे र नेदरल्यान्ड्ससँग पराजित भएपछि वेस्टइन्डिजको विश्वकप यात्रा कठिन बनेको थियो । त्यसपछि स्कटल्यान्डसँगको हारले पहिलोपटक वेस्टइन्डिज विश्वकपबाट बाहिरिने अवस्था बनेको थियो ।
अब सन् २०२७ को विश्वकपअघि पनि टोलीले छनोट प्रतियोगिताबाटै मुख्य प्रतियोगितामा पुग्नुपर्ने अवस्था देखिएको छ ।
अफगानिस्तान र आयरल्यान्डबीचको सिरिज वेस्टइन्डिजका लागि निकै महत्वपूर्ण थियो । आयरल्यान्डलाई सिधा छनोटको दौडमा रहन पाँच खेलको सिरिज ५-० ले जित्नुपर्ने जस्तो कठिन अवस्था थियो । तर पहिलो खेल वर्षाका कारण रद्द भएपछि आयरल्यान्डको सम्भावना निकै कमजोर बनेको थियो । त्यसपछि दोस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डलाई ९२ रनले पराजित गर्यो । यो जितसँगै अफगानिस्तानको स्थिति थप बलियो बनेको छ भने वेस्टइन्डिजको सिधा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ ।
वेस्टइन्डिजले सेप्टेम्बरको अन्त्यमा भारतविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । पहिलो खेल सेप्टेम्बर २७, दोस्रो सेप्टेम्बर ३० र तेस्रो खेल अक्टोबर ३ मा हुनेछ । वेस्टइन्डिजले भारतविरुद्धको सिरिज ३-० ले नै जिते पनि सिधा छनोटको समीकरण उसको पक्षमा फर्किने अवस्था छैन । सेप्टेम्बर ३० को अन्तिम मितिसम्म टोलीको वरीयता निकै कमजोर भइसकेकाले अब सन् २०२७ को विश्वकपमा पुग्न छनोट प्रतियोगितामै निर्भर हुनुपर्ने सम्भावना देखिएको छ ।
सन् १९७५ र १९७९ मा लगातार दुई पटक एकदिवसीय विश्वकप जितेको वेस्टइन्डिज अहिले लगातार छनोटको संघर्षमा फस्नु टोलीको खस्किँदो प्रदर्शनको स्पष्ट संकेत हो । सन् २०२३ को विश्वकप गुमाएको वेस्टइन्डिजले सन् २०२७ को विश्वकपमा स्थान बनाउन पनि अब लामो बाटो तय गर्नुपर्ने देखिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ ।
२७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गर्दा प्रतिरोध गरेपछि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणकारीहरूले ढुंगाले प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि अस्पताल लगिए पनि बुधबार उनको मृत्यु भएको हो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ओवोरी युगान्डाको सबैभन्दा सफल क्लबमध्ये एक स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए । उनले सन् २०२४ मा क्लबलाई २० वर्षपछि लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका थिए ।
उनको हत्यापछि युगान्डाभर शोक छाएको छ । फुटबल समर्थक, खेलकर्मी तथा राजनीतिक नेताहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको मिति तय भए पनि आयोजना हुने स्थान भने अझै टुङ्गो लागेको छैन ।
आईसीसीले यस वर्ष सार्वजनिक गरेको नयाँ विश्वकप संरचनाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने विश्वकपको मुख्य चरणमा सिधै स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछ । विश्वकप भने अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ मैदानमा आयोजना हुनेछ।
छनोट प्रतियोगितामा सेप्टेम्बर ३०, २०२६ सम्मको एकदिवसीय वरीयताअनुसार आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक सबैभन्दा पुछारमा रहेका दुई पूर्ण सदस्य राष्ट्र, विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले सहभागिता जनाउनेछन् । प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन् । प्लेअफको ढाँचा भने अझै सार्वजनिक गरिएको छैन ।
यसबीच दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पुनः छनोट खेल्नुपर्ने जोखिममा परेको छ । हाल एकदिवसीय वरीयताको १०औँ स्थानमा रहेको वेस्ट इन्डिजले कटअफअघि भारतसँग दुई एकदिवसीय खेल मात्रै खेल्नेछ । अफगानिस्तान र आयरल्यान्डबीच हुने शृंखलाको नतिजाले पनि उसको वरीयतामा प्रभाव पार्नेछ । आयरल्यान्डले अफगानिस्तानलाई ४-१ वा ५-० ले पराजित गरे र वेस्ट इन्डिजले भारतविरुद्ध दुवै खेल जिते शीर्ष आठमा पुग्ने सम्भावना रहनेछ । तर अफगानिस्तानले सिरिज जिते वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन फेरि छनोट प्रतियोगिता खेल्नुपर्ने लगभग निश्चित हुनेछ ।
वेस्ट इन्डिजले यसअघि पनि सन् २०२३ को एकदिवसीय विश्वकप गुमाएको थियो । हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग ‘सुपर ओभर’मा पराजित भएपछि वेस्ट इन्डिज विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।
हाल विश्वकप लिग- २ खेलिरहेको नेपाल भने शिर्ष चारमा परेर विश्वकपको छनौट खेल्ने अवसर गुमाएको छ भने अब प्लेअफ खेल्दै छनौटको अवसर भने बाँकी रहेको छ । लिग- २ मा नेपालले अब चार खेल खेल्न बाँकी रहेको अवस्थामा ३२ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भ्रष्टाचारसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई आठ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ ।
परिषद्को भ्रष्टाचारसम्बन्धी न्यायाधिकरणले २६ वर्षीय रेड्डीलाई आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । उनीविरुद्ध सन् २०२५ मा संयुक्त अरब इमिरेट्समा भएको आबुधाबी टी-१० प्रतियोगितासँग सम्बन्धित आरोप लागेका थिए । उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई भ्रष्टाचारसम्बन्धी तोकिएको निकायको जिम्मेवारी दिएको थियो ।
रेड्डीमाथिको प्रतिबन्ध २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । सोही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए ।
न्यायाधिकरणले उनलाई खेलको नतिजा वा गतिविधिलाई अनुचित रूपमा प्रभावित पार्ने प्रयास गरेको, अन्य खेलाडीलाई त्यसमा संलग्न गराउन प्रयास गरेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट प्रमाण हुन सक्ने सन्देश र विवरण मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गरेको छ ।
रेड्डीले अमेरिकाको राष्ट्रिय टोलीबाट चार वटा अन्तर्राष्ट्रिय टी-२० खेल खेलेका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत उत्तर अमेरिका टी-२० प्रतियोगितामा केम्यान टापुविरुद्धको खेलबाट गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । बंगलादेशले आगामी अगस्टमा अष्ट्रेलियासँग हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
टोलीको कप्तानी नजमुल हुसेन शान्तोले गर्नेछन् । बंगलादेशले सन् २००३ पछि पहिलो पटक अष्ट्रेलियाको भूमिमा टेस्ट क्रिकेट खेल्न लागेको हो । यो सिरिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ अन्तर्गत हुनेछ ।
सन् २०२१ पछि पहिलो पटक टेस्ट टोलीमा फर्किएका सौम्य सरकार पनि टोलीमा समावेश भएका छन् । ब्याटिङतर्फ शान्तो, सौम्य सरकार, मुश्फिकुर रहिम, मोमिनुल हक र शादमान इस्लामजस्ता अनुभवी खेलाडी रहेका छन् ।
चोटका कारण प्रभावित भएको तीव्र गतिका बलर विभागको जिम्मेवारी तास्किन अहमद, हसन महमुद, खालिद अहमद र एबादोत हुसेनले सम्हाल्नेछन्। पहिलो पटक मुस्फिक हसनलाई पनि टोलीमा स्थान दिइएको छ । स्पिन आक्रमणको नेतृत्व मेहदी हसन मिराज र ताइजुल इस्लामले गर्नेछन् ।
बंगलादेशका टिम: नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, शादमान इस्लाम, तन्जिद हसन, मोमिनुल हक, मुश्फिकुर रहिम, अमित हसन, जाकेर अली अनिक, मेहदी हसन मिराज (उपकप्तान), ताइजुल इस्लाम, तास्किन अहमद, हसन महमुद, सैयद खालिद अहमद, एबादोत हुसेन चौधरी र मुस्फिक हसन।
हाल विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अष्ट्रेलिया ८७.५० प्रतिशत अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ५८.३३ प्रतिशत अंकसहित चौथो स्थानमा रहेको छ ।
दुई टोलीबीचको पहिलो टेस्ट अगस्ट १३ देखि १७ सम्म डार्विनमा तथा दोस्रो टेस्ट अगस्ट २२ देखि २६ सम्म म्याकेमा खेलिनेछ ।
अर्कोतर्फ अष्ट्रेलियाले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई खेलको सिरिजका लागि १३ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी प्याट कमिन्सले गर्नेछन्। टोलीमा स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्ग्लिस, मार्नस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क, जेक वेदराल्ड र बो वेब्स्टर समावेश छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतले जिम्बाब्वेलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९० रनले हराउँदै तीन खेलको सिरिज २-० को अपराजित अग्रता बनाएको छ । शनिबार साँझ सम्पन्न खेलमा लगातार दोस्रो जितसँगै भारतले एक खेल बाँकी रहँदै सिरिज आफ्नो पक्षमा पारेको हो ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा जिम्बाब्वेको टोली १७ दशमलव ५ ओभरमा १२९ रनमै समेटियो ।
२२० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले सुरुदेखि नै कमजोर प्रदर्शन गर्यो । पावरप्लेभित्रै तीन विकेट गुमाएको टोली त्यसपछि खेलमा फर्किन सकेन । जिम्बाब्वेका लागि ब्रायन बेनेटले सर्वाधिक ३२ रन बनाए । तदिवानाशे मारुमानीले २४, रेयान बर्लले २० तथा ब्राड इभान्सले १९ रन जोडे ।
भारतका अभिषेक शर्माले सर्वाधिक तीन विकेट लिए । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका यश ठाकुर र प्रिन्स यादवले समान दुई-दुई विकेट हात पारे । रवि बिश्नोई, शिवम दुबे र तिलक वर्माले एक–एक विकेट लिए ।
यसअघि टस जितेको जिम्बाब्वेले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। भारतका इशान किशन र तिलक वर्माको अर्धशतकीय इनिङ्सको मद्दतमा भारतले प्रतिस्पर्धात्मकभन्दा पनि बलियो योगफल खडा गर्यो । भारतले २९ रनमै दुई विकेट गुमाए पनि कप्तान श्रेयस अय्यर र इशान किशनले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । त्यसपछि इशान र तिलकले चौथो विकेटका लागि ९४ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरतर्फ डोर्याए । इशानले ४४ बलमा नौ चौका र दुई छक्कासहित सर्वाधिक ८१ रन बनाए । तिलक वर्मा २९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६० रनमा अविजित रहे। कप्तान श्रेयस अय्यरले २५, वैभव सूर्यवंशीले २०, रिंकु सिंहले १२, अभिषेक शर्माले आठ तथा शिवम दुबेले अविजित छ रन जोडे । जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानी, रिचार्ड नगरावा, ब्राड इभान्स, न्युम्यान न्यामाहुरी र ब्रायन बेनेटले समान एक–एक विकेट लिए।
यो जितसँगै भारतका कप्तान श्रेयस अय्यरले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएका छन् । सूर्यकुमार यादवपछि टोलीको नेतृत्व सम्हालेका श्रेयसको सुरुआत सुखद थिएन । उनको कप्तानीमा भारतले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध सिरिज गुमाएको थियो भने सुरुआती सात खेलमा जित निकाल्न सकेको थिएन । तर जिम्बाब्वे भ्रमणमा उनले पहिलो शृंखला जित्ने सफलता हात पारे ।
भारतले यस खेलसँगै एकै पात्रो वर्षमा नवौँ पटक टी- २० क्रिकेटमा २०० भन्दा बढी रन बनाउने उपलब्धि पनि दोहोर्याएको छ । यससँगै भारतले सन् २०२४ मा बनाएको एक पात्रो वर्षमा नौ पटक २०० भन्दा बढी रन बनाउने आफ्नै कीर्तिमानको बराबरी गरेको छ। सन् २०२३ मा भारतले सात पटक यस्तो उपलब्धि हासिल गरेको थियो । तीन खेलको सिरिजको तेस्रो तथा अन्तिम टी-२० आज हुदै छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार १२: १५ बजेदेखि शुरु हुदैछ ।
नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको छ । नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो ।
नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपालले विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । विहिबार सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ४४.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेदरल्याण्डसका लागि स्कट एडवार्डसले ६१ र नोआह कोरेजले ३४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
यसअघि नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै ४४.४ ओभरमा अल आउट भएर १५७ रन बनाएको थियो ।
नेपालका लागि आरिफ सेखले सर्बाधिक ४१ रन बनाए भने गुलशन झाले २९ र दिपेन्द्र सिंह ऐरीले २१ रन बनाएका थिए । त्यस्तै आसिफ शेखले १४ र करण केसीले १३ रन बनाएका थिए । त्यसैगरी नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले ३-३ विकेट लिए भने लोहान भन बीकले २ विकेट लिएका थिए ।
लिग-२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।
लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २९ खेलमा ३४ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल ३० खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २९ खेलमा २४ कसहित छैटौं स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ ।
सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दैछ ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ ।
पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो ।
यस सिरिज खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टिम नेदरल्याण्डस पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
लिग-२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा जुलाई २५ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने छ भने जुलाई २७ मा नेपाल र नामिबिया, जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् ।
लिग-२ को अहिलेसम्मको अंक तालिकामा नेदरल्याण्डस २८ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २९ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ । त्यस्तै नामिबिया २९ खेलमा २६ अंकसहित छैटौं स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी