२०८३ आश्विन १७
२०८३ आश्विन १७

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या बढेर १४३० पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार ३ हजार २३८ जना घाइते भएका छन् भने ३ हजार १४२ परिवार घरविहीन बनेका छन् ।

अधिकारीहरूका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म ४३० भन्दा बढी पराकम्प गएको छ । लगातारका पराकम्पका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा त्रास अझै कायम छ ।

भूकम्प गएको ७२ घण्टा पूरा भएसँगै उद्धार अभियान सबैभन्दा संवेदनशील चरणमा पुगेको छ । विज्ञहरूका अनुसार भग्नावशेषमा फसेका व्यक्तिलाई जीवित भेट्ने सम्भावना समयसँगै घट्दै जान्छ । पानीबिना तीन दिन बितेपछि बाँच्ने सम्भावना निकै कम हुने भए पनि केही अध्ययनले पाँच वा छ दिनसम्म पनि जीवित उद्धार गर्न सकिने देखाएका छन् ।

मेक्सिकोको उद्धार टोली ‘लस टोपोस’ का सदस्य डेभिड इमानुएल भिल्ला तेजेडाले राजधानी काराकासमा धेरै अग्ला भवनहरू भत्किएकाले खोज तथा उद्धार कार्य निकै कठिन बनेको बताए ।

उनका अनुसार दुवै भूकम्प छोटो अन्तरालमा आएका र केन्द्रबिन्दु जमिनको सतह नजिक रहेकाले ठूलो संख्यामा भवनहरू भत्किएका हुन् । आफूले काम गरिरहेको क्षेत्रमा भवन भत्किएको अवस्थाले भग्नावशेषभित्र जीवित व्यक्ति फेला पार्न झन् कठिन बनाएको उनले बताए । यद्यपि उनले आशा नत्यागिएको पनि उल्लेख गरे । विगतमा आफ्नो टोलीले भूकम्पपछि १० दिनसम्म भग्नावशेषमा फसेका व्यक्तिलाई पनि जीवितै उद्धार गरेको अनुभव रहेको उनले सुनाए ।

अमेरिकाका लागि रेडक्रसकी क्षेत्रीय निर्देशक लोयस पेसले लगातारका पराकम्पले उद्धार अभियानमा ठूलो असर पारिरहेको बताइन्। उनका अनुसार उद्धारकर्मीले प्रत्येक क्षण नयाँ पराकम्पको जोखिम सामना गर्नुपरेकाले भग्नावशेषभित्र प्रवेश गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने अवस्था छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सीमित संस्करणको नयाँ स्मारक राहदानी (पासपोर्ट) सार्वजनिक गरेका छन् । उनले नयाँ पासपोर्टको नमुना सार्वजनिक गर्दै यसलाई विशेष सम्झना स्वरूप तयार गरिएको बताएका हुन् ।

सार्वजनिक गरिएको नमुनामा ट्रम्पको ठूलो तस्बिर राष्ट्रपति कार्यकक्षको प्रसिद्ध डेस्कमाथि देखाइएको छ । पृष्ठभूमिमा अमेरिकाको स्वतन्त्रता घोषणापत्रको मूल पाठ राखिएको छ भने तल उनको हस्ताक्षर समावेश गरिएको छ । अर्को पृष्ठमा चित्रकार जोन ट्रम्बुलले बनाएको ‘स्वतन्त्रता घोषणापत्र’ सम्बन्धी ऐतिहासिक चित्र राखिएको छ ।

यो राहदानीमा प्रयोग गरिएको ट्रम्पको तस्बिर वासिङ्टनस्थित राष्ट्रिय चित्र सङ्ग्रहालयमा रहेको उनको आधिकारिक चित्रका आधारमा तयार गरिएको देखिन्छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको नमुनाभन्दा यो डिजाइन फरक रहेको छ ।

ह्वाइट हाउसले पनि यही डिजाइन भएको तस्बिर सार्वजनिक गर्दै ‘अमेरिकाको २५०औँ वार्षिकोत्सवको सम्झनामा नयाँ अमेरिकी राहदानी’ भन्ने सन्देश राखेको थियो।

यस राहदानीको घोषणा पहिलो पटक गत अप्रिलमा अमेरिकाको २५०औँ वार्षिकोत्सव मनाउने कार्यक्रमअन्तर्गत गरिएको थियो । यसको बाहिरी तथा भित्री आवरणमा विशेष कलात्मक डिजाइन र ऐतिहासिक तस्बिरहरू समावेश गरिएको सरकारले जनाएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार यो सीमित संस्करणको राहदानी उपलब्ध भएपछि वासिङ्टनस्थित राहदानी कार्यालयबाट प्रत्यक्ष रूपमा राहदानी नवीकरण गर्ने सेवाग्राहीलाई प्राथमिक रूपमा उपलब्ध गराइनेछ । अन्य कार्यालय तथा अनलाइनमार्फत राहदानी नवीकरण गर्नेहरूका लागि भने हालकै डिजाइनको राहदानी कायम रहनेछ ।

हाल प्रयोगमा रहेको अमेरिकी राहदानीको भित्री आवरणमा चित्रकार पर्सी मोरानले बनाएको फ्रान्सिस स्कट कीको ऐतिहासिक चित्र रहेको छ । त्यही युद्धपछि उनले अमेरिकाको राष्ट्रिय गान बनेको गीत लेखेका थिए, जसका केही हरफहरू पनि राहदानीको भित्री भागमा छापिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भेनेजुएलामा आएको विनाशकारी भूकम्पले फुटबल जगतलाई पनि ठूलो क्षति पुगेको छ । भूकम्पमा परेर राष्ट्रिय टोलीका उदाउँदा खेलाडीसहित केही युवा फुटबलरको ज्यान गएको छ भने अन्य खेलाडीका परिवार पनि प्रभावित भएका छन् ।

भेनेजुएलाको राष्ट्रिय टोली र भेनेजुएला फुटबल महासंघका अनुसार १८ वर्षीय युवा खेलाडी यिमभेर्ट बेरोतेरानको भूकम्पमा मृत्यु भएको छ । उनले केही महिनाअघि दोहामा सम्पन्न १७ वर्षमुनिको विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए भने हालै २० वर्षमुनिको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।

यस्तै, युवा फुटबलर भिक्टर पालासियोस र रजान सिजाको पनि भूकम्पमा ज्यान गएको उनीहरूका क्लब र फुटबल महासंघले पुष्टि गरेका छन् ।

यसैबीच, जुलिया फुटबल क्लबका रक्षक हेक्टर बेलोले सामाजिक सञ्जालमार्फत भूकम्पका क्रममा आफ्नी जीवनसाथीको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार श्रीमतीले भूकम्पका बेला सानो छोरीलाई जोगाउने प्रयास गर्दा ज्यान गुमाएकी हुन् । बेलोकी छोरी र उनकी फुपू भने घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले दिएको जानकारीअनुसार ३ हजार ३६० जना घाइते भएका छन् भने १७२ जना अझै पनि भत्किएका भवनको भग्नावशेषमा फसिरहेका छन् । भूकम्पबाट हालसम्म ३८३ भवन, १३ अस्पताल, २५ वटा किनमेल केन्द्र र १ हजार २ अन्य संरचनामा क्षति पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा सेना परिचालन गरिएकाले त्यहाँ अनावश्यक यात्रा नगर्न सरकारको आग्रह छ ।

रोड्रिगेजले घाइतेको उद्धार र उपचारका लागि प्रयोग भइरहेका सडकमा अत्यधिक भीड बढेकाले सर्वसाधारणलाई सडक खाली राखेर उद्धार टोलीलाई सहयोग गर्न अपिल गरेका छन् ।

उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्यान्ड, कोलम्बियालगायत विभिन्न देशबाट ८६१ अन्तर्राष्ट्रिय स्वयंसेवक भेनेजुएला पुगेका छन् । आगामी दिनमा थप उद्धारकर्मी पनि आउने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका विभिन्न देशबाट करिब १ हजार आपत्कालीन उद्धारकर्मी २५ वटा खोज तथा उद्धार टोलीमार्फत प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन् । मुख्य राजमार्गबाट सेना, उद्धार टोली, डम्प ट्रक र भारी उपकरण प्रभावित क्षेत्रमा निरन्तर पठाइँदै छ।

सरकारले सबै आपत्कालीन सेवा सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा केन्द्रित गरेको जनाएको छ । ताचिरा राज्यबाट ४५ जना अग्निनियन्त्रक, एउटा तालिमप्राप्त खोजी कुकुर तथा आवश्यक उद्धार उपकरणसहितको टोली पनि परिचालन गरिएको छ ।

यसैबीच, अमेरिकी वित्त मन्त्रालयले राहत सामग्री र आर्थिक सहयोग सहज बनाउन केही प्रतिबन्धमा अस्थायी छुट दिएको छ । यद्यपि प्रभावित क्षेत्रमा ठूलो परिमाणमा रहेको भग्नावशेष र सीमित स्रोतसाधनका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ । घटनामा ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ भने एक हजार ५०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प लगभग एकै समयमा आएका थिए । भूकम्पका कारण राजधानी क्षेत्र ग्रेटर काराकास र ला गुआइरा राज्यमा सबैभन्दा बढी क्षति पुगेको छ । अरागुआ, काराबोबो तथा अन्य राज्यहरू पनि प्रभावित भएका छन् ।

भूकम्पपछि हराइरहेका आफन्तको खोजीमा भेनेजुएलाभर परिवारजनले तस्बिरसहितका पोस्टर टाँस्न थालेका छन् । धेरैले हातैले तयार पारेका सूचीमार्फत पनि बेपत्ता व्यक्तिको जानकारी संकलन गरिरहेका छन् भने विदेशमा रहेका भेनेजुएलावासी पनि आफ्ना आफन्तसँग सम्पर्क गर्ने प्रयासमा छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन् । उनले अस्पताल र भत्किएका घरहरूको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गरिने जानकारी दिइन् । साथै, उक्त कार्यको अनुगमन गर्न अर्थ तथा वित्त मन्त्रालयलाई निर्देशन दिइएको छ ।

भेनेजुएलाआमा राहत र उद्धारको लागि अमेरिकासहित युरोपका देशहरुले सहयोग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार राजीनामाको घोषणा गर्न सक्ने र पद त्याग्ने कार्ययोजनासमेत सार्वजनिक गर्न सक्ने दाबी गरिएको छ ।

बेलायती पत्रिका द अब्जर्भरको रिपोर्टअनुसार स्टार्मरले मन्त्रिपरिषद्का सदस्य, सल्लाहकार तथा ट्रेड युनियन नेताहरूसँगको छलफलपछि पदमा निरन्तर रहन कठिन भएको निष्कर्ष निकालेका छन् । यद्यपि, समाचार संस्था रोयटर्सका अनुसार सरकारी स्रोतहरूले उक्त दाबीलाई अस्वीकार गर्दै स्टार्मर अझै पनि प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न केन्द्रित रहेको बताएका छन् ।

रिपोर्टअनुसार स्टार्मरको लेबर पार्टीका एक सयभन्दा बढी सांसदले सार्वजनिक रूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने वा पद छोड्ने समयसीमा घोषणा गर्नुपर्ने बताएका छन् । स्टार्मरको विरोध गर्ने सांसदको संख्या तल्लो सदनमा रहेको पार्टीका कुल सांसदको करिब एक चौथाइ रहेको जनाइएको छ ।

यदि स्टार्मरले राजीनामा दिए भने पछिल्लो १० वर्षमा कार्यकाल पूरा गर्न नपाई पद छोड्ने उनी बेलायतका छैटौँ प्रधानमन्त्री बन्नेछन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनकले पनि कार्यकाल पूरा नहुँदै पद त्यागेका थिए ।

स्टार्मरले सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाएका थिए । तर त्यसपछि उनको लोकप्रियता निरन्तर घट्दै गएको छ। विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा जनजीवन सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ ।

उनको चुनौती अझ बढेको बेला विपक्षी धारका नेता एन्डी बर्नह्यामले शुक्रबार भएको उपनिर्वाचनमा विजय हासिल गरेका छन् । त्यसपछि उनले पार्टी नेतृत्वको दाबेदारी प्रस्तुत गर्न सक्ने चर्चा सुरु भएको छ । उपलब्धिपछि बर्नह्यामले देशलाई नयाँ दिशा दिन चाहेको बताएका छन्। उनका समर्थकहरूले स्टार्मरसँग राजीनामाको माग गरिरहेका छन् ।

विशेषज्ञहरूका अनुसार बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ ।

यदि सांसदहरूले कुनै नेताको घट्दो लोकप्रियताले आगामी निर्वाचनमा पार्टीलाई नोक्सान पुर्‍याउन सक्छ भन्ने ठाने भने आमनिर्वाचन नगरी नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु गर्न सक्छन् । यही कारण बेलायतमा पार्टीभित्रको समर्थन कमजोर हुनासाथ प्रधानमन्त्री परिवर्तनको सम्भावना बढ्ने गर्छ । त्यस्तै, बेलायतका प्रमुख राजनीतिक दलका आन्तरिक नियमले पनि नेतृत्व परिवर्तनलाई सहज बनाएका छन् । कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । मध्य अमेरिकी देश होन्डुरसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनामा १० मजदुर र ६ प्रहरीको ज्यान गएको हो ।

पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो नगरस्थित एक खेतीयोग्य क्षेत्रमा भएको थियो । राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार बन्दुकधारी समूहले त्यहाँ काम गरिरहेका मजदुरमाथि अन्धाधुन्ध गोली चलाएको थियो । घटनामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्र लामो समयदेखि जमिन र खेतीसम्बन्धी विवादका कारण तनावग्रस्त रहँदै आएको बताइएको छ ।

दोस्रो आक्रमण ग्वाटेमाला सीमाना नजिक पर्ने कोर्टेस क्षेत्रको ओमोआ नगरमा भएको थियो । त्यहाँ आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाउँदा ६ प्रहरीको मृत्यु भएको हो । ज्यान गुमाउनेमध्ये एक वरिष्ठ प्रहरी अधिकारी पनि रहेका छन् ।

प्रहरीका अनुसार ती अधिकारीहरू गिरोहविरुद्धको अभियानमा खटिएका थिए । उनीहरू राजधानी तेगुसिगाल्पाबाट ओमोआतर्फ जाँदै गर्दा आक्रमणमा परेका हुन् ।

होन्डुरसको सुरक्षा मन्त्रालयले दुवै घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञ र सरकारी अभियोजकसहितको टोली गठन गरिने जनाएको छ । प्रभावित क्षेत्रमा थप प्रहरी र सेना परिचालन गरिने पनि मन्त्रालयले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रूसस्थित भारतीय दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा भारतीय कामदारको ज्यान गएको जनाएको हो । दूतावासका अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेको पनि बताइएको छ ।

दूतावासले घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी व्यवस्थापन र स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ ।

यसअघि रूसी अधिकारीहरूले युक्रेनतर्फबाट मस्को क्षेत्रमा ठूलो स्तरको ड्रोन आक्रमण भएको दाबी गरेका थिए । रूसी प्रशासनका अनुसार आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानीको उत्तरस्थित खिम्की क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने पोगोरेल्की गाउँमा एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा १२ जना घाइते भएको बताएका छन् ।

रूसी सेनाले ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनका शहरमाथि रूसले गरिरहेको घातक आक्रमणको जवाफस्वरूप यी कारबाही ‘पूर्ण रूपमा जायज’ रहेको बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा जोगाउन नागरिकलाई सुन खरिद नगर्न आग्रह गरेपछि सोमबार भारतीय सेयर बजारमा गहना कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको छ ।

प्रमुख गहना कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । सबैभन्दा धेरै गिरावट स्काई गोल्डको सेयरमा देखिएको छ । कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले घटेर ४७५ भारतीय रुपैयाँमा पुगेको छ ।

त्यस्तै, सेनको कम्पनीको सेयर झण्डै ११ प्रतिशतले घटेर ३२५. ०५ रुपैयाँमा झरेको छ । यसअघि उक्त कम्पनीको सेयर मूल्य ३६५. ४० रुपैयाँ रहेको थियो । कल्याण ज्वेलर्सको सेयर पनि करिब १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ४२४. ५५ रुपैयाँबाट घटेर ३८२. १० रुपैयाँमा पुगेको छ ।

त्यस्तै टाइटन कम्पनीको सेयर प्रारम्भिक कारोबारमै करिब ८ प्रतिशतले घटेर ४१५०. १० रुपैयाँसम्म झरेको थियो ।

सोमबार बिहान १० बजेतिर सेन्सेक्स १. ३५ प्रतिशतले घटेर ७६२८२. २८ अंकमा कारोबार भइरहेको थियो भने निफ्टी १. २३ प्रतिशतले घटेर २३८७७. ८० अंकमा पुगेको थियो । क्षेत्रगत सूचकहरू पनि रातो चिन्हमा कारोबार भइरहेका थिए । विशेषगरी निफ्टी उपभोक्ता टिकाउ वस्तु समूह सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । उक्त क्षेत्रगत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको थियो । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू राजीनामा नदिने स्पष्ट पारेकी छन् ।

निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पत्रकारहरुले राजीनामाको लागि लोकभवन कति बेला जाने भन्ने प्रश्नको जवाफ दिदै आफुले राजीनामा नदिने बताएकी हुन् । उनले भनिन्- ‘म किन जाने ? हामीले हारेको भए पो जाने, यदि म जितेको भए, म शपथ ग्रहण अघि नै राजीनामा दिने थिए । लोकभवन जाने प्रश्न नै आउने थिएन । चोरी गरेर जितेपछि उनीहरुलाई लाग्छ, मैले राजीनामा दिनुपर्छ भने त्यो हुनेवाला छैन ।’

पश्चिम बंगालको निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक माहोल तातेको छ । तृणमूल कांग्रेसकी प्रमुख बनर्जीले निर्वाचन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै प्रशासनिक स्तरमै अनियमितता भएको आरोप लगाएकी छन् । उनले आफूहरू पराजित नभएको दाबी गर्दै जबर्जस्ती हराइएको बताइन् । उनले निर्वाचन आयोगसँग मिलेमतो गरेर विपक्षी दल विजयी भएको आरोपसमेत लगाइन् ।

तृणमूल कांग्रेसले निर्वाचन परिणामको समीक्षा गर्न १० सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले हारका कारण र भनिएका अनियमितताबारे छानबिन गर्ने जनाइएको छ । बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार आयोगले जनताको संवैधानिक अधिकार संरक्षण गर्न नसकेको आरोप छ । मतदानपछि मतदान मेसिनमा उच्च मात्रामा चार्ज रहनु शंकास्पद भएको उनले उल्लेख गरिन् ।

उनले निर्वाचनअघि आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको, विभिन्न स्थानमा छापा मारिएको र प्रशासनिक अधिकारीहरू परिवर्तन गरिएको आरोप लगाइन् । साथै सत्तापक्ष र निर्वाचन आयोगबीच मिलेमतो भएको दाबी गर्दै सम्पूर्ण राज्य संयन्त्र आफूहरूको विरुद्ध प्रयोग गरिएको बताइन् ।

मतगणनाका क्रममा पनि दुर्व्यवहार भएको आरोप लगाउँदै उनले आफ्ना प्रतिनिधिलाई गणना कक्षमा प्रवेश गर्न नदिइएको र कुटपिट गरिएको बताइन् । सुरक्षाकर्मी र बाहिरी व्यक्तिहरूले आक्रमण गरेको दाबी गर्दै आफूलाई समेत धक्का दिइएको र शारीरिक दुर्व्यवहार भएको उनले उल्लेख गरिन् । बनर्जीले यस्तो प्रकारको निर्वाचन जीवनमै पहिलोपटक देखेको बताउँदै आफ्नो पार्टीलाई योजनाबद्ध रूपमा पराजित गराइएको दोहोर्‍याइन् । साथै अब आफू साधारण नागरिकका रूपमा स्वतन्त्र रूपमा आवाज उठाउने उनले बताइन् ।

सोमबार सम्पन्न मतगणनामा २९४ सदस्यीय बिधान सभामा भाजपाले २०७ सिट जितेको छ भने तृणमूल कांग्रेसले केवल ८० सिट मात्र जितेको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।