काठमाडौँ । अमेरिकाले इरानका प्रतिआक्रमणमा आफ्ना करिब एक सय सैनिक घाइते भएको स्वीकार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सिन पार्नेलले जुलाई ७ यता भएका आक्रमणमा १०० जना सैनिक घाइते भएको जानकारी दिएका हुन् ।
पार्नेलका अनुसार घाइतेमध्ये करिब ९६ प्रतिशत सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेका छन् । अधिकांश सैनिकको टाउकोमा सामान्य चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।
उनको यो प्रतिक्रिया अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले रक्षा मन्त्रालयले इरानसँगको युद्धमा घाइते भएका सैनिकको विवरण सार्वजनिक नगरेको दाबी गरेपछि आएको हो । पार्नेलले सैनिकहरूको सुरक्षालाई ध्यानमा राखेर जानकारी सार्वजनिक गर्न ढिलाइ गरिएको स्वीकार गरेका छन् ।
यसैबीच अमेरिका र इरानबीच आक्रमण-प्रत्याक्रमण जारी छ । इरानले सोमबार अमेरिकी सैन्य अड्डा रहेका विभिन्न स्थानलाई निशाना बनाएपछि त्यसको जवाफस्वरूप अमेरिकाले मंगलबार बिहान इरानका नौ सहरमा हवाई आक्रमण गरेको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार अबदानान, बन्दर अब्बास, बन्दर लेंगेह, बुशेहर, चाबहार, केश्म टापु, सिरिक, शिराज र कोनारकमा अमेरिकी आक्रमण भएको छ ।
तनाव थप चुलिँदै गएपछि अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि विश्वव्यापी सुरक्षा सतर्कता जारी गरेको छ । मन्त्रालयले सुरक्षा अवस्था जुनसुकै बेला बिग्रन सक्ने भन्दै विशेष सावधानी अपनाउन र विशेषगरी मध्यपूर्वको यात्रा गर्नुअघि जोखिमको मूल्याङ्कन गर्न आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियो माथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले नयाँ दिल्लीस्थित रुसी राजदूतावासका कार्यवाहक प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको छ ।
भारतको विदेश मन्त्रालयले मंगलबार रुसी राजदूतावासका कार्यवाहक भ्लादिमिर लादानोभलाई मन्त्रालयमा बोलाएर जुलाई १९ मा भएको उक्त आक्रमणप्रति गम्भीर चिन्ता र कडा आपत्ति जनाएको हो । मन्त्रालयले आक्रमणमा चार भारतीय नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गरेको छ ।
विदेश मन्त्रालयले व्यावसायिक जहाजमाथि हुने यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थिरता र विश्वसनीयतालाई कमजोर बनाउने जनाएको छ। साथै कार्यवाहक प्रमुखमार्फत भारतको गम्भीर चिन्ता रुस सरकारसम्म पुर्याउन आग्रह गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार व्यावसायिक जहाजलाई निशाना बनाउने र निर्दोष नागरिकको ज्यान जाने घटना कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै यस्ता आक्रमण तत्काल रोक्नुपर्नेमा भारतले जोड दिएको छ ।
यसअघि सोमबार विदेश मन्त्रालयले ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियोमाथि आक्रमण भएको जानकारी दिएको थियो । उक्त घटनामा चार भारतीयको मृत्यु हुनुका साथै अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन् । भारत सरकारले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै दोषीमाथि आवश्यक कारबाहीको माग गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज (जुलाई २०) विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय चन्द्रमा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२१ मा पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्ष जुलाई २० मा यो दिवस मनाउने गरिएको हो ।
यो दिवस सन् १९६९ मा अपोलो- ११ अभियानमार्फत पहिलो पटक मानवले चन्द्रमामा सफलतापूर्वक पाइला टेकेको ऐतिहासिक उपलब्धिको सम्झनामा मनाइन्छ । उक्त अभियानले अन्तरिक्ष अनुसन्धानमा नयाँ युगको सुरुवात गरेको मानिन्छ ।
यस दिवसको उद्देश्य चन्द्रमाको अन्वेषणमा विभिन्न मुलुकले हासिल गरेका उपलब्धिको सम्मान गर्नुका साथै चन्द्रमाको दिगो, सुरक्षित र शान्तिपूर्ण उपयोगबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्नु हो । पछिल्ला वर्षहरूमा चन्द्रमासम्बन्धी अनुसन्धान र भावी अभियानहरू तीव्र रूपमा अघि बढिरहेका बेला यो दिवसले भविष्यका अन्तरिक्ष अभियानप्रति पनि ध्यानाकर्षण गराउने विश्वास गरिएको छ ।
संयुक्त राष्ट्रसंघले अन्तरिक्ष सम्पूर्ण मानव जातिको साझा सम्पत्ति भएकाले यसको उपयोग शान्तिपूर्ण र मानव कल्याणका लागि हुनुपर्नेमा जोड दिँदै आएको छ। अन्तरिक्षसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्न तथा अन्तरिक्षको जिम्मेवार प्रयोग सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघका निकायहरूले निरन्तर काम गरिरहेका छन् ।
हजारौँ वर्षदेखि चन्द्रमाले मानव सभ्यताको जिज्ञासा, अध्ययन र वैज्ञानिक अनुसन्धानको केन्द्रका रूपमा स्थान ओगट्दै आएको छ। आधुनिक अन्तरिक्ष प्रविधिको विकाससँगै चन्द्रमाको थप अध्ययन, स्रोतको सम्भावित उपयोग र भविष्यमा मानव बसोबासको सम्भावनासमेत खोजी भइरहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन् ।
उनले यस विषयमा सहरको कानुनी विभागसँग छलफल भइरहेको उल्लेख गर्दै कानुनले अनुमति दिएअनुसार नै आफूले निर्णय गर्ने बताएका छन् । ममदानीले नेतन्याहूको स्थान नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा हुनुपर्ने आफ्नो धारणा पनि दोहोर्याएका छन् ।
अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ नोभेम्बरमा गाजामा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
न्युयोर्क टाइम्सको एक अन्तर्वार्तामा ममदानीले नेतन्याहू युद्ध अपराधको आरोप खेपिरहेका व्यक्ति भएको र धेरै मानिसको धारणा पनि त्यही रहेको बताएका छन् ।
यता, संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डाननले ममदानीमाथि यहुदी समुदायविरुद्धको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । उनले ममदानीले बढ्दो यहुदीविरोधी गतिविधिको सामना गर्नुको सट्टा इजरायलविरुद्ध माहोल बनाइरहेको टिप्पणी गरेका छन् ।
डाननले नेतन्याहूले सेप्टेम्बर २२ देखि २८ सम्म हुने संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने पुष्टि गर्दै मेयरको अभिव्यक्तिले त्यसमा कुनै प्रभाव नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेतन्याहू होइन, बरु न्युयोर्कका मेयर ममदानी नै पक्राउ पर्नुपर्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।
यसअघि एक रेडियो अन्तर्वार्तामा नेतन्याहूले आफूलाई पक्राउ गर्ने धम्कीको कुनै चिन्ता नरहेको बताएका थिए । उनले ममदानीमाथि हमासको समर्थन गर्ने र अमेरिकाविरोधी सोच राखेको आरोप समेत लगाएका थिए ।
अमेरिका र इजरायल दुवै अन्तर्राष्ट्रिय अपराध अदालतका सदस्य राष्ट्र होइनन् । अमेरिकी संघीय कानुनले राज्य तथा स्थानीय प्रशासनलाई अन्तर्राष्ट्रिय अपराध अदालतका अनुरोध कार्यान्वयनमा सहयोग गर्न रोक लगाएको छ। गत वर्ष न्युयोर्ककी गभर्नर क्याथी होचुलले पनि मेयरसँग नेतन्याहूलाई पक्राउ गर्ने अधिकार नभएको बताएकी थिइन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र मानवविहीन हवाई आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो । उनीहरू उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा खटिएका छन् । मृत्यु हुने सैनिकको परिचय र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति लगातार आठौँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यावसायिक जलयातायातलाई लक्षित गर्न सक्ने इरानको क्षमता कमजोर बनाउने र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इरानी बललाई कारबाही गर्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ ।
पछिल्लो एक सातादेखि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेको थियो। प्रारम्भिक युद्धविराम लागू भएको एक महिनाभन्दा कम समयमै दुवै पक्षबीचको सहमति भंग भएपछि सैन्य गतिविधि तीव्र बनेको हो।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज जुलाई १८ का अवसरमा विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा घोषणा गरेको यो दिवस दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति तथा रंगभेदविरोधी आन्दोलनका अग्रणी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीको सम्झनामा प्रत्येक वर्ष मनाउने गरिन्छ ।
यस दिवसको उद्देश्य मण्डेलाले जीवनभर अघि सारेका मानव अधिकार, समानता, शान्ति, मेलमिलाप तथा सामाजिक न्यायका मूल्यलाई आत्मसात् गर्दै समाजसेवामा सहभागी हुन विश्व समुदायलाई प्रेरित गर्नु हो । दिवसको मुख्य सन्देशका रूपमा प्रत्येक व्यक्तिलाई कम्तीमा ६७ मिनेट समाजसेवामा समर्पित गर्न आग्रह गरिन्छ । यो समय मण्डेलाले सामाजिक न्याय र मानव अधिकारका लागि गरेको ६७ वर्षको संघर्षको प्रतीक मानिन्छ ।
नेल्सन मण्डेलाले सन् २००८ मा दिएको एक सम्बोधनमा विश्वका युवालाई अन्याय र विभेदविरुद्ध नेतृत्व लिन आह्वान गर्दै ‘अब जिम्मेवारी तपाईंहरूको हातमा छ’ भन्ने सन्देश दिएका थिए । त्यसैबाट प्रेरित हुँदै सन् २००९ मा नेल्सन मण्डेला प्रतिष्ठानले उनको जन्मदिनमा समुदाय सेवाको अभियान सुरु गरेको थियो । पछि सोही वर्ष संयुक्त राष्ट्रसंघको महासभाले जुलाई १८ लाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघको औपचारिक आयोजनासहित पहिलो पटक यो दिवस सन् २०१० मा मनाइएको थियो ।
यो दिवस सार्वजनिक बिदाको रूपमा नभई समाजका लागि सकारात्मक योगदान गर्ने कार्य दिवसका रूपमा मनाइन्छ । विश्वभर व्यक्ति, संस्था र समुदायले स्वयंसेवा, सहयोग तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरी मण्डेलाको आदर्शलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । इरानले अमेरिकाले शुक्रबार गरेको पछिल्लो आक्रमणमा मकरान क्षेत्रस्थित चाबहार बन्दरगाहको समुद्री यातायात नियन्त्रण टावर ध्वस्त भएको दाबी गरेको छ । इरानले यसलाई घृणित आक्रमणको संज्ञा दिँदै यसबाट माछा मार्ने समुदायको जीविकोपार्जन र सर्वसाधारणको समुद्री सुरक्षामाथि प्रहार भएको जनाएको छ ।
इरानी समाचार संस्था तस्निमका अनुसार अमेरिकाले तीनवटा क्षेप्यास्त्र प्रहार गरी पूर्ण रूपमा नागरिक प्रयोजनमा रहेको संरचना नष्ट गरेको इरानको दाबी छ । इरानले अत्यावश्यक पूर्वाधारमाथिको यो आक्रमणले पश्चिमी मुलुकको दोहोरो मापदण्ड र अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रतिको बेवास्ता उजागर गरेको आरोप लगाएको छ ।
यसैबीच, इरानले आफ्नो प्रतिआक्रमणको १५औँ चरणअन्तर्गत कतारस्थित अमेरिकी अल उदैद हवाई अड्डालाई लक्ष्य बनाएको दाबी गरेको छ । इरानी सरकारी प्रसारण संस्थाका अनुसार इस्लामिक रिभोलुसनरी गार्डले जारी गरेको वक्तव्यमा लामो दूरीको राडार प्रणाली तथा अमेरिकी सेनाका रणनीतिक इन्धन भर्ने केही विमानमा क्षति पुगेको उल्लेख गरिएको छ ।
गार्डले अमेरिकासहित आफ्नो क्षेत्रमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न दिने देशहरूले नागरिक र पूर्वाधारमाथि आक्रमणको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । यस्ता आक्रमण जारी रहे अझ कडा जवाफ दिइने पनि इरानले जनाएको छ ।
इरानी अधिकारीहरूका अनुसार अमेरिकाले दक्षिणी इरानका विभिन्न पुललाई पनि निशाना बनाएको छ । होर्मोजगान प्रान्तको प्रशासनलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले बन्दर अब्बासतर्फ जाने धेरै पुलमा आक्रमण भएको जनाएको छ। यसअघि बन्दर अब्बासस्थित रेल जङ्सनमा पनि आक्रमण भएको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज विश्व युवा सीप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । युवालाई रोजगारी, स्वरोजगार र उद्यमशीलताका लागि आवश्यक सीप विकासको महत्व उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा हरेक वर्ष जुलाई १५ लाई विश्व युवा सीप दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
यस वर्ष ‘साझा भविष्यका लागि सीप’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । कृत्रिम बुद्धिमत्ता, हरित अर्थतन्त्र, डिजिटल प्रविधि र बदलिँदो श्रम बजारका कारण रोजगारीको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेका बेला युवालाई प्राविधिक सीपसँगै डिजिटल, सामाजिक, नेतृत्व, वातावरणीय तथा समस्या समाधान गर्ने क्षमताले पनि सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा विश्व युवा बेरोजगारी दर १३ प्रतिशतमा झरेर पछिल्लो १५ वर्षयताकै न्यून स्तरमा पुगेको छ । तर, विश्वभर अझै ठूलो संख्यामा युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनै पनि क्षेत्रमा आबद्ध छैनन्। विशेषगरी युवतीहरू यस्तो अवस्थाबाट बढी प्रभावित छन् ।
संयुक्त राष्ट्रसंघले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम र नयाँ प्रविधिअनुकूल शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । यसबाट युवाले रोजगारीका अवसर मात्र होइन, स्वरोजगार र उद्यमशीलतामार्फत दिगो आर्थिक विकासमा समेत योगदान पुर्याउन सक्ने विश्वास गरिएको छ ।
विश्व युवा सीप दिवसका अवसरमा विश्वभर विभिन्न देशमा सीप विकास, रोजगारी प्रवर्द्धन, उद्यमशीलता तथा युवा सशक्तीकरणसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । गुगल र यसको मातृ कम्पनी अल्फाबेटले युरोपमा अहिलेसम्मकै ठूलो कानुनी झट्का बेहोरेका छन् । बिहीबार युरोपेली सङ्घको सर्वोच्च अदालतले कम्पनीले दायर गरेको अन्तिम पुनरावेदनसमेत खारेज गरेपछि अर्बौं युरोको जरिवानामा अन्तिम निर्णय भएको छ ।
युरोपेली सङ्घको सर्वोच्च अदालतले यसअघि तल्लो अदालतले दिएको फैसला सदर गर्दै गुगलमाथि लगाइएको ४.१ अर्ब युरो जरिवाना कायम राखेको हो । अदालतले एन्ड्रोइड सञ्चालन प्रणालीमा रहेको आफ्नो बलियो बजार हैसियतको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
यो विवाद सन् २०१८ मा सुरु भएको थियो । त्यसबेला युरोपेली आयोगले गुगलले एन्ड्रोइड सञ्चालन प्रणालीको प्रयोग गरेर आफ्नै खोज सेवा र क्रोम ब्राउजरलाई अनुचित रूपमा प्राथमिकता दिएको तथा बजार प्रतिस्पर्धामा असर पुर्याएको आरोप लगाउँदै रेकर्ड जरिवाना गरेको थियो ।
आयोगको अनुसन्धानमा गुगलविरुद्ध तीन मुख्य आरोप पुष्टि भएका थिए । पहिलो, मोबाइल उत्पादक कम्पनीहरूले गुगलको अनुप्रयोग बजार प्रयोग गर्न चाहेको अवस्थामा गुगलको खोज सेवा र क्रोम ब्राउजर अनिवार्य रूपमा पहिल्यै जडान गर्नुपर्ने सर्त राखिएको थियो । दोस्रो, केही मोबाइल उत्पादक र दूरसञ्चार सेवा प्रदायकलाई आफ्ना उपकरणमा गुगलको खोज सेवामात्र पूर्वनिर्धारित रूपमा राख्ने सर्तमा गोप्य आर्थिक सुविधा उपलब्ध गराइएको आरोप लागेको थियो ।
तेस्रो, उत्पादक कम्पनीहरूलाई गुगलबाट आधिकारिक स्वीकृति नपाएका एन्ड्रोइडका वैकल्पिक संस्करणमा चल्ने उपकरण बजारमा ल्याउन प्रतिबन्ध लगाइएको आयोगको निष्कर्ष थियो ।
यो मुद्दा गुगलविरुद्ध युरोपेली आयोगले सञ्चालन गरेका सबैभन्दा ठूला प्रतिस्पर्धासम्बन्धी अनुसन्धानमध्ये एक मानिन्छ । विज्ञहरूका अनुसार अदालतको पछिल्लो निर्णयले ठूला प्रविधि कम्पनीहरूले आफ्नो बजार प्रभुत्वको दुरुपयोग गरेमा युरोपेली नियामक निकायले कडा कदम चाल्ने नीति आगामी दिनमा पनि कायम रहने स्पष्ट संकेत दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज जुन ३० अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने सम्भावित जोखिमबारे जनचेतना फैलाउने, वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सम्भावित विपद्का लागि अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन ३० लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसका रूपमा मनाउन थालिएको हो । यो मिति सन् १९०८ मा रुसको साइबेरियास्थित तुङ्गुस्का क्षेत्रमा भएको इतिहासकै सबैभन्दा ठूलो क्षुद्रग्रह विस्फोटको सम्झनामा तय गरिएको हो । उक्त घटनाले करिब दुई हजार वर्ग किलोमिटर वन क्षेत्र ध्वस्त बनाएको थियो ।
वैज्ञानिकहरूका अनुसार पृथ्वी नजिक परिक्रमा गर्ने ३६ हजारभन्दा बढी क्षुद्रग्रह पत्ता लागिसकेका छन् । तीमध्ये केही क्षुद्रग्रह भविष्यमा पृथ्वीको नजिक आउन सक्ने भएकाले तिनको निरन्तर निगरानी गरिँदै आएको छ । पृथ्वीको कक्षाको धेरै नजिक आउने र ठूलो आकारका क्षुद्रग्रहलाई सम्भावित जोखिमयुक्त मानिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२९ लाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह सचेतना तथा ग्रह सुरक्षा वर्ष घोषणा गरेको छ । सोही वर्ष ‘अपोफिस’ नामक विशाल क्षुद्रग्रह पृथ्वीबाट करिब ३२ हजार किलोमिटरको दूरीबाट सुरक्षित रूपमा गुज्रिनेछ । यसले पृथ्वीलाई कुनै खतरा नपुग्ने भए पनि यो घटना दुर्लभ मानिएको छ र संसारका धेरै स्थानबाट खुला आकाशमा नाङ्गो आँखाले समेत देख्न सकिने अपेक्षा गरिएको छ ।
क्षुद्रग्रहसम्बन्धी सम्भावित जोखिमको पहिचान, निगरानी र आवश्यक परे त्यसको प्रभाव कम गर्ने उपायबारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य भइरहेको छ । यसका लागि संयुक्त राष्ट्रसंघको पहलमा विभिन्न अन्तरिक्ष निकाय र वैज्ञानिक संस्थाहरूले सम्भावित जोखिमको मूल्याङ्कन तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी