२०८३ आश्विन २१
२०८३ आश्विन २१

विशाल बस्नेत,महोत्तरी, ८ साउन ।

महोत्तरीका पूवशिक्षक केदार कोइराला रातु नदीको सभ्यता र यसका भित्री पाटाहरूका विषयमा गहन अनुसन्धान गरिरहेका थिए । उनले एक दिन आफुले रातु नदी सभ्यताको अध्ययन गरिरहेको जानकारी पूर्व शिक्षा, विज्ञान तथा  प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई गराए । यसबारे धेरै जानकारी जर्मनी नागरिकसँग भएको बताउँदै उनलाई भेट्न पूर्वमन्त्री पोखरेलले सुझाए । त्यसपछि कोइरालाले जर्मन अनुसन्धानकर्ता गुड्रन कार्विन्सले लेखेको  प्रिहिज्टोरिक कल्चर्स इन नेपाल’ किताब फेला पारे ।  जहाँ रातु नदीको मानव सभ्यता र जिल्लामा रहेको पाटु गाउँको भित्री रहस्य उल्लेख गरिएको थियो ।

 

अहिले कोइराला  कार्विन्सले अनुसन्धान गरेको ठाउँको थप अनुसन्धानमा जुटेका छन् । कार्विन्सले  उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरिन्  ।

 

मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १०  हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार पाटुको  १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ । पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् ।  कर्विन्स पाटुमा नै किन आइन् भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धानपछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन् ।

 

शिवालिक पहाडको फेदीमा रहेको पाटु हतियार कारखानाको अवशेष जनवरी १९८५ मा पत्ता लगाएको उनले आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपालझ भोलम १, पुष्ट २३९, सन २००७) मा उल्लेख गरेकी छन् ।लेखक कमल मादेनले पनि पाटुमा नै आएर यसको थप अनुसन्धान गरेको पाइएको छ । उनले एउटा लेखमा भनेका छन्, ‘महोत्तरीमा फेला परेको पाटु कारखाना, रातु खोलाको पाटु कारखाना भनिदो रहेछ ।’

 

कार्विन्सले किताबमा उल्लेख गरेअनुसार ढुंगा, हड्डी वा काठबाट एकातिरको भाग धारिलो बनाएर बनाइएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिए । अर्को रहस्य त के थियो भने हतियारहरुको स्वरूप भारतमा मध्य पाषण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरु भियतनाममा पाइएजस्ता भएको हुनाले महोत्तरीमा मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।

 

कर्विन्स सबैभन्दा पहिला १९८१ मा नेपाल आएकी थिइन् । त्यसयता नेपालको प्रागऐतिहासिक जानकारी शून्य भइरहेको बेला उनले नै खोजको सुरुवात गरेकी हुन् ।यसअघि पुरानो मानवसभ्यताको खोज अनुसन्धान गर्ने क्रममा अफ्रिकी मुलुकमा दशकौँ बिताएकी थिइन् । दाङ–देउखुरी उत्पत्यका र पाटुमा उनले १० वर्ष लगाएर उक्त मानवसभ्यताको विषयमा अनुसन्धान गरेकी हुन् । अहिले पनि पाटु र राइमण्डलका स्थानीयहरु पुराना ढुंगाका बन्चरा जस्ता आकार भएका बस्तु तथा मानव सभ्यताका अवशेष पाइने बताउँछन् ।

 

पाटुका स्थानीय शंकर खडका आफूहरु सानोमा गाईवस्तु चराउन जाँदा अनौठा –अनौठा आकारका बस्तुहरु फेला पार्ने गरेको वताए । ‘ती बस्तुहरु हामी केटाकेटी हुँदा खेल्थौँ अनि फ्याँकिदिन्थ्यौँ,’ उनले भने । अहिले पनि जंगलमा गयो भने प्रागऐतिहासिक कालका किताब पढेजस्ता विभिन्न बस्तुहरु देख्न सकिने थापाको भनाइ छ ।

 

पाटुको विषयमा विश्वविद्याललयका प्रध्यापकहरु समेत निकै चासो व्यक्त गर्छन् । केदार कोइरालाका अनुसार कतिपय प्रध्यापकहरुले विद्यार्थीहरु कार्विन्सले खोजी गरेको हतियार कारखाना देखाउन ल्याए पनि ठाउँ एकीन गर्न नसक्दा अन्य ठाउँहरु पुग्ने गरेका छन् ।

 

के भन्छ स्थानीय सरकार ?

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पनि यो महत्वपूर्ण विषयलाइ छिट्टै छलफल गरेर उचित योजना बनाएर अगाडि बढ्ने वताए । बर्दिबास पर्यटन बोर्डको बैठक राखेर यस विषयमा थप खोजी गर्ने र प्रागऐतिहासिक वस्तुहरुको संकलन गर्ने मेयरका सचिवालय सदस्य विनोद ढुंगेलले बताए । ‘यसको विषयमा हामी लागि परेका छौँ । थप आन्तरिक छलफल गरेर युद्धस्तरमा काम गर्छौँ,’ उनले भने ।

 

झापा, ८ साउन ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-१ बस्ने ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

 

भक्तपुर ।

भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन् । खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले भरमग्दुर प्रयास गरेको तर खेल मैदान नहुँंदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेको उनीहरुले बताए ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित गर्ने विषयमा भएको अन्तरक्रियामा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी वक्ता स्कुलका प्रतिनिधिहरुले यही कारण जिल्लामा खलकुद विकासले फड्को मार्न नसकेको बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेल मैदानको अभावमा जिल्लामा खेलकुद क्षेत्र पछाडि परेको स्वीकारे । ‘हामीसँंग एउटा पनि खेलकुद मैदान छ्रैनन्,’ उनले भने, ‘केही खेल मैदानहरु छन्, ती पनि स्थानीय निकायको नियन्त्रणमा छन् ।’

 

भक्तपुरमा सबैभन्दा ठूलो भक्तपुर नगरपालिका–७ मा  माहेश्वरी खेल मैदान छ । अहिले यस खेलकुद मैदान काम चलाउ मैदानको रुपमा प्रयोगमा छ । वर्षामा हिलाम्य भएर यसलाई प्रयोग गर्न सकिने अवस्था छैन । यसलाई फुटबल मैदानसहितको रंगशालाको रुपमा स्तरोन्नति गरिने योजना राखेको एक दशक भए पनि अहिलेसम्म यसले मूर्तरुप लिन सकेको छैन ।

 

‘अव्यवस्थित हुँदै रहेको उक्त मैदानलाई बाह्रै महिना फुटबल खेल्न मिल्ने गरी रंगशाला बनाउन लागिपरेका छौं,’ उनले भने । यसको लागि भक्तपुर नगरपालिकाले बजेट पनि विनियोजन गरेको छ । भक्तपुरकै एकमात्र उक्त मैदानमा पाँच हजारभन्दा बढी दर्शक अट्ने प्याराफिट निर्माण हुने जनाइएको छ । कृत्रिम घाँस बिछ्याएर उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको बताइएको छ । उक्त खेल मैदानको स्तरोन्नती गर्दै रंगशाला बनाउनको लागि भक्तपुर नगरपालिकाले डिजाइनसमेत तयार गरिसकेको जनाइएको छ । तर यसले मूर्तरुप भने अहिलेसम्म लिन पाएको छैन ।

 

प्याब्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास गर्न खेलमैदानको अभावसहित अन्य विविध समस्याहरु रहेको सुनाए । उनले एउटै स्कुलमा धेरै खेलमा विद्यार्थीहरुले रुचि राख्ने, तर त्यसअनुसार प्रशिक्षक राख्न नसकिने अवस्था रहेको बताए । आर्थिकभार पर्ने भएकाले धेरै जना प्रशिक्षक राख्न नसकिने साथै खेलकुदको क्रममा घाइते भई उपचार गर्नुपर्नेलगायतका आर्थिक भार रहेको उनले बताए ।

 

प्याब्सन मध्यपुर थिमिका अध्यक्ष नितेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने, तर त्यस अनुसारको मैदान, प्रशिक्षक राख्न नसकिने समस्या रहेको बताए ।

कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलहरुको प्रतिनिधित्व गरी सहभागी विद्यालय प्रिन्सिपल तथा प्रतिनिधिहरुले ‘एक विद्यार्थी ः एक खेलाडी’ आवश्यक रहेको तर पनि खासै उपलव्धी हासिल गर्न नसकेको बाध्यता सुनाए ।

 

बैतडी, ८ साउन ।

बैतडीमा पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको छ ।

 

सोमबार बिहान करिब २ बजे पहिरो खस्दा स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको हो । घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।

 

सोही पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । उनलाई उपचारका लागि दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ ।

 

काठमाडौं, ७ साउन ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ ।

 

तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन३ । प्रतिपक्षीको अनुपस्थितिमा भएको  यो निर्वाचनले मुलुकको लोकतन्त्रको खि
ल्ली उडाएको उनीहरुको भनाई छ ।

 

आइतवार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन।’ यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले ठूलो जित हासिल गरेको भने भन्न सक्ने बताएका छन् ।

 

एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् तर उनले यस पटकको चुनाव जितेर जेठा छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

 

उनका छोरा ४० वर्षीय हुन मानेट वेस्ट प्वाइन्टको युएस मिलिटरी एकेडेमीबाट स्नातक, न्यूयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट पीएचडी गरेका हुन्। उहाँ हाल कम्बोडियाको सेना प्रमुख छन् ।

 

विपक्षी र मानव अधिकार समूहहरूले चुनावको विश्वसनीय प्रतिस्पर्धाको अभाव र हुन सेनको बलियो रणनीतिको लागि आलोचना गरेका छन्। हुन सेनले कम्बोडियामा आफ्नो शासनको विरुद्धमा भएका सबै विरोध प्रदर्शनलाई दबाएका छन्।

 

काठमाडौं, ८ साउन ।

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका  एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ यसकारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको र हावा हुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

काठमाडौँ, ७ साउन ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।

 

तीन दिने नेपाल भ्रमणमा आउनुभएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन्।

 

भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए।

 

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

 

युआन श्रीलंका भ्रमण सकेर आइतवार नै काठमाडौं आइपुगेका हुन्। सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो।

 

काठमाडाैं, ७ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । धादिङकाे गल्छी गाउँपालिका-७ बुद्वपार्कस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १० केजीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका-१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

धादिङकै बेनिघाट गाउँपालिका-५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२० मालेपाटन बस्ने २० वर्षीय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका-६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन् । प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरीले ग.१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय वीरेन्द्र खड्कासमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

 

याँनदिल्ली, ७ साउन ।

चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ।

 

साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए। यद्यपी, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन ।

 

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैं तयार रहेको बताए पछि चीन सरकारले सम्पर्क गरेको बताईएको छ ।

 

दलाई लामाले भारतमै बसेर ‘तिब्बत सरकार’ चलाईरहेका छन । । यसलाई तिब्बतको निर्वासन सरकार पनि भनिन्छ। हालै यो सरकारकी मन्त्री नोर्गिन डोल्मा जापान भ्रमणमा गएकी छन् । त्यहाँ उनले चीनले दलाई लामासँग अनौपचारिक रूपमा ब्याकडोर वार्ता गरिरहेको र यो निकै महत्त्वपूर्ण रहेको पनि पुष्टि गरेका थिए । दलाई लामाले आफ्नो जीवनकालमा तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौं भन्ने सन्देश निरन्तर दिए पछि चीन सम्पर्कमा आएको हुन सक्ने जनाईएको छ ।

 

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए– ‘चीन अब परिवर्तन हुँदैछ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौं। धेरै वर्ष पहिले हामीले निर्णय गर्यौं कि हामी चीनको हिस्सा रहनेछौं।’

 

अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उनले जनाएका छन् । ‘त्यसैले अब तिनीहरू संबाद गर्नका लागि मसँग आउने छन भन्नेमा म बिश्वस्त छु ।’

 

मुम्बइ, ७ साउन ।

क्रिस्टोफर नोलनको फिल्म  ‘ओपेनहाइमर’ मा एक इन्टिमेट सीनमा भगवद् गीता देखाएको भन्दै विवाद सुरु भएको छ ।

वास्तवमा फिल्मको एक अंतरंग दृश्यमा मुख्य अभिनेता सिलियन मर्फी भागवद् गीता पढिरहेको देखाए पछि बिबाद सुरू भएको हो ।

यो दृश्यप्रति दर्शकले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले यो दृश्य निकै आपत्तिजनक रहेको बताउँदै हटाउनु पर्ने माग गरेका छन् । ‘यो हाम्रो धार्मिक ग्रन्थको अपमान हो’ उनीहरूले भनेका छन ।

केही प्रयोगकर्ताहरूले भने यसको लागि भारतीय सेन्सर बोर्डलाई जिम्मेवार ठहराए। सेन्सर बोर्डले कसरी सिनेमा हलमा रिलिज गर्न अनुमति दिएको हो रु उनीहरूले प्रश्र गरेका छन्र । यस्तो दृश्य पास गर्ने बोर्डका सदस्यले लाज मान्नु पर्छ उनीहरूले भनेका छन ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो अन्तरंग दृश्यको के आवश्यकता थियो ? एक अद्भुत फिल्म हो तर म यो दृश्य देखेर धेरै निराश भएँ।

अर्का प्रयोगकर्ताले टिप्पणी गरे, ‘ओपेन हाइमरको एउटा दृश्यमा एक नग्न केटीले गीता ल्याउँछिन् र त्यसपछि ओपेनहाइमरले इन्टिमेट सीनको बेला पढ्छिन्। मेरो विचारमा यो धेरै अपमानजनक छ।’

यसअघि फिल्म समीक्षक सुचित्रा त्यागीलाई दिएको अन्तर्वार्तामा सिलियनले भगवद् गीताको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘यस चरित्रको तयारीका लागि मैले भगवद् गीता पढेको थिएँ । मलाई यो धेरै प्रेरणादायक लाग्यो।’

यो फिल्म वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित छ । ओपेनहाइमरलाई हिन्दू महाकाव्यमा ठूलो चासो थियो। यस्तो अवस्थामा रियल लाइफको सन्दर्भलाई लिएर निर्देशकले भागवत गीताका उद्धरणहरू पनि फिल्ममा समावेश गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।