२०८३ भाद्र २
२०८३ भाद्र २

 

रन्धिर साह, रौतहट, साउन २ गते ।

रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच गाउँमा एकैदिन तीन वटा घरमा चोरी भएको छ । गएको सोमबार राती करिब ०१ः०० बजेको समयमा ती घरहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाशंकर यादवले बताएका छन् ।

उनका अनुसार एइनुल मिया, रामअन्नदी महतो र जदुन्द दासको घरमा एकै रात र एउटै तरिकाले चोरी भएको हो । प्रहरीका अनुसार रामअन्नदी महतो र जदुन्द दासको घरमा सामान्य चोरी भएको छ भने मियाको घरमा करिब ५ लाख मुल्उ बराबरको चोरी भएको हो ।

चोरी गृहहरुले सुरक्षाकर्मीहरुलाई ठाडो चुनौती दिदै गरेको घटनाबाट स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । क रहनु होला । देवाही देवाहिगोनाही नगरपालिका वडा नम्बर ६ कर्कच गाउँमा चोर गृह प्रवेश गरेकोछ । आज मंगलबार एकै दिनमा तीन जनाको घरमा चोरी ।

 

आरके श्रीवास्तव,रौतहट,साउन ०२ गते

रौतहट जिल्लाकमा अनुमती नै नलिइ सञ्चालनमा रहेका अस्पतालहरु धमाधम बन्द हुन थालेका छन् । अबैध रुपमा सञ्चालित नेपाल लाईफ हस्पिटलको चरम लापरवाही एवं बदमासीका कारण केही दिन अघि मात्र एक जना सुत्केरीको ज्यान गएपछि उनीहरु अस्पताल बन्द गरेर नै फरार भएका छन् । जिल्लाको देवाहिगोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा सञ्चालनमा रहेको उक्त हस्पिटलका सञ्चालक अहिले फरार छन् ।

त्यसै सँग रहेको रौतहट कान्ति बाल मेमोरीयल हस्पिटल प्रा.लि. गरुडा न.पा. १ जयनगरमा रहेको हस्पिटललाइ पनि सञ्चालकले बन्द गरेर फरार छन् । यसरी अनुमति नै नलिई विगत केही वर्षदेखी गौरकानुनी तरिकाले सो हस्पिटलहरु सञ्चालनमा रहेको भेटिएको हो । त्यस्ता ज्यान मारा अस्पतालहरुले उपचार नै सम्भव हुन नसकेको अवस्थामा अन्यत्र रेफर गर्नुको सट्टा सो अस्पतालले पैसाको लोभमा बलजबरजस्ती राखेर विरामीलाइ मार्ने गरेको श्रोतको दावी छ । बिना अनुमतीका अस्पतालले मानवको स्वास्थ्य जिवनसंग यसरी दिनदहाडै खेलवाड गरिरहँदा समेत नियमनकारी निकायले कुनै ध्यान दिन सकेको छैन् ।

यी अस्पतालहरु उदाहरणमात्र हुन जिल्लामा यस्ता कैयौं अस्पतालहरु छन् । जुन बिना अनुमतीको नै सञ्चालनमा छन् । मानवको स्वास्थ्य जिवनसंग खेलवाड गर्ने त्यस्ता सञ्चालकहरुलाई पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा विरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कार्यवाही गर्न सम्बन्धीत निकायसंग जोडदार माग गरेका छन् ।

यता यस विषयमा सामाजिक विकास मन्त्रालय मधेश प्रदेश सरकारका वरिष्ठ जनस्वास्थ्य प्रशासक(प्रवक्ता) डा.मुक्ति नारायण साह सँग बुझदा मधेश प्रदेश भरीको सबै पालिकाहरुमा कती अस्पतालहरु दर्ता गरेको र कतिले नगरेको,नविकरण गरेको या नगरेको यी सबै तथ्यांकहरु मंगाउँदै छौं । यदि कोइ पनि कानुन विपरीत सञ्चालन भएको पाइएमा कार्यवाही गरिने बताए ।

सुरेशचन्द्र रिजाल,काठमाडाै‌ं, २ साउन ।

सामान्यतया प्रत्येक वर्षमा १२ महिना हुन्छन्, तर पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय चन्द्रपञ्चाङ्गअनुसार तीन वर्षमा एकपटक थप महिना आउँछ । जसलाई अधिकमास, मलमास वा पुरुषोत्तममास भनिन्छ । २०८० सालको साउन २ गतेबाट अधिकमास छ । यसकारण २०८० सालको साउन महिना ५९ दिनको अर्थात् दुई महिनाको छ । प्रत्येक तीन वर्षमा एकपटक एउटा अतिरिक्त महिना आउँछ । अधिकमासमा गरिने पूजा, व्रत र ध्यानको महत्त्व अद्वितीय छ । के तपाईलाई थाहा छ, प्रत्येक तीन वर्षमा एकपटक मलमास किन र के कारणले हुन्छ ?  यसको पौराणिक आधार के छ ? यसको महत्व के छ ? यसमा के गर्नु पर्दछ ? र के गर्न हुँदैन ?

 

मलमास प्रत्येक तीनवर्षमा किन र के कारणले हुन्छ ? 

प्राचीन नेपाली समाजमा समय निर्धारणको एकमात्र आधार भनेको ज्योतिषीय गणनाबाट तयार पारिएको पात्रो थियो । जसलाई सूर्य पात्रो र चन्द्रपात्रो भनेर नामकरण गरिन्थ्यो । सूर्यको गतिलाई आधार मानेर समयको निर्धारण गरिने सूर्यपात्रो हो भने चन्द्रको गतिलाई आधार मानेर समयको निर्धारण गर्ने पात्रो चन्द्रपात्रो हो । सूर्यको गतिलाई  आधार मानेर गणना गर्दा वर्षमा ३६५ दिन हुन्छन् । चन्द्रको गतिलाई  आधार मानेर गणना गर्दा वर्षमा ३५४ दिन हुन्छन् । यसरी हेर्दा सूर्यलाई  आधार मानेर गणना गर्दाभन्दा चन्द्रमालाई आधार मानेर गणना गर्दा एक वर्षमा ११ दिनको कम हुन्छन् । यही क्रमले तीन वर्षमा ३३ दिन कम हुन्छन् । यी ३३ दिन तीन वर्षपछि थप महिना हुन्छ । यो थप ३३ दिन एक महिनामा थपिन्छ, जसलाई अधिकमास नाम दिइएको छ । चन्द्रमाका आधारमा गणना गरिने पात्रोमा ३२ महिना १६ दिन ८ घण्टाको गणना पश्चात् बन्ने वर्षको अतिरिक्त भाग नै अधिकामास हो । यसले खाडल पूरा गर्ने वा सूर्य र चन्द्र वर्षबीच सन्तुलन सिर्जना गर्न अधिकमासको भूमिका महत्त्वपूर्ण छ । यसो गर्नाले सूर्य पात्रो र चन्द्रपात्रोका आधारमा निर्धारण गरिने चाडपर्वको मितिहरूमा कुनै परिवर्तन हुँदैन र तिथिमितिमा एकरूपता रहन्छ, साथसाथै अधिकामाका कारणले समयावधिको गणनालाई व्यवस्थित बानाउन मद्दत गर्दछ ।

 

अधिकमासको पौराणिक आधार के छ ?

पुराणका आधारमा एकपटक दैत्यहरूका राजा हिरण्यकश्यपले अत्यन्तै कठोर तपस्या गरेर भगवान् ब्रह्मालाई प्रशन्न गरी अमरत्वको वरदान मागे । यो संसार ईश्वरको इच्छाले क्षणभरमा नै समाप्त हुने र म स्वयं पनि अमर छैन । त्यसैले तिमीलाई अमरत्त्वको वरदान प्रदान गर्दिनँ । यसको बदलामा अरु कुनै वरदान माग, तिमीलाई त्यो उपलब्ध गराउँला । ब्रह्माको यस्तो वचन सुनेपछि  हिरण्यकश्यपले ब्रह्माजीसँग तत्कालै संसारको कुनै पनि पुरुष, महिला, पशु, देवता वा राक्षसले मलाई मार्न नसकोस् र वर्षको १२ महिनामा पनि मेरो मृत्यु नहोस् । मेरो मृत्यु न दिउँसो न रातमा होस् । म न कुनै हतियारले मरौँ । मलाई न घरभित्र मार्न सकुन् न घरबाहिर मार्न सकुन् भनेर वरदान दिन आग्रह ग¥यो । ब्रह्माजीले पनि तथास्तु भनिदिनु भयो । वरदान पाउने बित्तिकै हिरण्यकश्यपले आफूलाई अमर तथा यस संसारमा भएका सबैभन्दा ठूलो मान्न थाल्यो । यसरी संसारलाई यस राक्षसले भयभित बनाएको हुँदा यसबाट छटकारा दिनका लागि  भगवान् विष्णुले नरसिंह(आधा मान्छे तथा आधा सिंह) अवतार धारण गरी अधिकामसमा प्रकट हुनुभयो । आफ्नो काखमा राखेर ब्रह्माजीबाट प्राप्त वरदानलाई कुनै पनि तरिकाले प्रभावित नपर्ने गरी तिखानङ्गका माध्यमले मृत्युको द्वारमा पठाउनुभयो। यसरी संसारलाई भयभीत पार्ने नकारात्मक प्रवृत्तिको अन्त्य गर्नका लागि भगवानको अवतार भएको महिनाका रूपमा अधिकमासको महत्त्व पुराणमा विशेषरूपमा चर्चा गरिएको छ ।

 

अधिकमासको महत्त्व

पूर्वीय खोज र अध्ययनले यो संसार पाँच तत्व (पृथ्वी, जल, अग्नी, वायु र आकाश ) मिलेर बनेको छ भन्ने कुरालाई प्रमाणित गर्छ । यस संसारमा रहेका प्रत्येक प्राणीहरू यिनै पाँच तत्त्वबाट बनेका हुन्छन् । धार्मिक कार्यका साथसाथै दान, ध्यान, योग आदिको माध्यमबाट आफ्नो शरीरमा रहेका यी पञ्चमहाभूतहरूको उजागर गर्नु मानवीय जीवनको वास्तविक उद्देश्य हो । सम्पूर्ण ग्रहरूको सम्यक् योग, प्रकृतिको तादात्म्य आदिलाई केन्द्रमा राखेर साधना गर्नाले मञ्चमहाभूतहरूको यथाशीग्र सन्तुलन कायम हुने हुँदा सूर्य र चन्द्रको गति व्यवस्थित गर्नका लागि निर्माण भएको अधिकमासमा गरिने साधनाले तुलनात्मकरूपामा छिटै ऊर्जा प्राप्त हुने प्रमाणहरू शास्त्रमा पाइन्छन् । यस महिनामा देवताहरू विशेष सक्रिय हुने र प्रार्थना स्वीकार गर्ने पौराणिक मान्यता छ । यस समयमा मानिसहरूले आध्यात्मिक मार्गदर्शन खोज्ने र धार्मिक अनुष्ठानहरू सञ्चालन गर्ने तथा सेवाका कार्यहरू गर्नु पर्दछ । यसरी सधना र सेवाका माध्यबाट सन्तुलित जीवनयापनको प्रयास गर्ने समयलाई अधिकमास भन्दा अत्युक्ति हुँदैन । प्रत्येक तीन वर्षमा आउने अधिकमासमा गरिने पवित्र कर्मले शारीरिक पवित्रता प्राप्त गरिन्छ यसकै माध्यमले मानिसमा नयाँ आध्यात्मिक ऊर्जा प्राप्त हुने महत्त्व ग्रन्थहरूमा बताइएको छ ।

 

अधिकमासमा के गर्नु पर्छ ?  

अधिकमासमा गरिने पुजाको आफ्नै महत्व छ । यस महिनामा ब्रह्मचर्य नियमलाई पूर्णतया पालना गर्नु पर्दछ । खाटमा नसुती भुइँमा विस्तारा लगाएर सुत्ने र एकछाकमात्र खाना खाने पुरुषोत्तम भगवानको महिमा बताइएका कथा पढ्ने, सुन्ने र सुनाउनाने कार्य गर्नाले धेरै आध्यात्मिक लाभ मिल्दछ । यसै महिनामा तुलसीको विशेष तरिकाबाट पूजा गर्नाले अनन्तकालसम्म वैकुण्ठमा बास हुने पौराणिक आधार पाइन्छ । श्रीकृष्ण चरित्र, श्रीमद्भागवद्गीता, श्रीरामकथाको श्रवण तथा भगवान् विष्णुको पूजा गरिनु अत्यन्तै फलदायी मानिन्छ । यस समायमा गरिएको जप, तपस्या र दानबाट असीम पुण्य प्राप्त हुन्छ । यो महिना दान गरेको एक रुपैयाँले पनि सयगुणा फल दिने शास्त्रीय प्रमाणका आधारमा पनि यो महिना दान, ध्यान र साधनाको सुन्दर समय हो । दीपदान गर्नाले ऐश्वर्य प्राप्त हुने, वस्त्र दान गर्नाले मोक्ष प्राप्त हुने तथा मालपूवा निर्माण गरेर उपयुक्त पात्रलाई दान गर्नाले चिन्तित् सम्पूर्ण मनोकामना प्राप्त हुनुका साथै भगवानको सायुज्य प्राप्त हुन्छ । त्यसैले अधिकमासमा सकेसम्म प्रत्येक दिन नभए पनि एकदिन मालपुवा निर्माण गरी चरेसको थालमा राखेर उपयुक्त पात्रलाई दान दिनुपर्दछ ।

 

के गर्न हुँदैन ?

पञ्चाङ्गअनुसार तिथी, योगकरण, नक्षत्रका अतिरिक्त सबै महिनाका कुनै न कुनै देवता हुन्छन् र त्यसमयमा गरिने शुभकार्यको फल तद्देवताले प्रदान गर्दछन् तर पुरुषोत्तम महिनाका कुनै पनि निश्चित स्वामी हुँदैनन् त्यसैले सबै शुभकार्य (विवाह,व्रतबन्ध आदि) र पितृकार्य( श्राद्ध आदि) यस महिनामा गरियो भने निष्फल हुन्छन् । अतः यस समयमा कुनै पनि शुभकार्य र पितृकार्य गरिनु शास्त्रीय मानिँदैन । नित्य गरिने पुजा महिनाको उपाशना,दैनिक पुजा, विशेष साधना गर्नका लागि यो समय उपयुक्त मानिन्छ । बिबाह गरेको पहिलो पटक मलमास परेमा श्रीमान् श्रीमती दुबैले नियम पूर्वक महिना दिन बार्नुपर्दछ ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।)
 

 

इन्दीप कोइराला,बारा, २ साउन । 

बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले  १ लाख रुपैया जरिवाना तिराएको छ ।

निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो ।

 

जेसिबी चालक अन्दाजी वर्ष ४७ का चीनिया नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ । फास्टट्याक निर्माणको ठेक्का लिएको चीनिया कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

 

चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउदै आएको छ ।

 

काठमाडौं, २ साउन । 

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

 

इन्दीप कोइराला,बारा, २ साउन।

पूर्वपश्चिम राजमार्गस्थित निजगढ–पथलैया सडकखण्डको दुधौरा पुल निर्माण सुुरू भएको चार वर्ष बितिसक्दा अहिलेसम्म  ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समयसीमाभित्र निर्माण नहँुदा राजमार्ग भएर गुड्ने सवारीसाधन र यात्रुहरूले जोखिम मोल्दै आइरहेका छन् । पुलको पिलर भासिएपछि सडक कार्यालयले ठेक्कामार्फत् नयाँ पुल निर्माण थालेको हो ।

 

महादेव÷खिम्ती÷हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्तपुलनिर्माण सम्पन्न गर्नको लागि १७ करोड २२ लाखमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ ।

साविक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकोले पुरानो पुललाई पूर्णरूपमा भत्काएर नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको महाशाखाले जनाएको छ ।

 

सो पुल निर्माण गर्ने ठेकेदार कम्पनीको आग्रहपछि २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी म्याद थप गरेपछि अहिले कामले केही गतिलिएको छ ।

तर, अहिलेसम्ममा ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सवारी साधन आवतजावतको लागि दुधौरा खोलामा बेलिब्रिज सञ्चालनमा छ । तर बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारका माल वाहक सवारी साधन ओहोरदोहोर गर्ने गरेकाले सो ब्रिज कमजोर बन्दै गइरहेको सवारी चालकहरूले बताएका छन ।

 

ठेकेदार कम्पनींका इन्जिनीयर अजयकुमार झाले अहिलेकै गतिमा काम हुनसके आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताउनुभयो । दुधौरा खोलाबाट नदीजन्य पदार्थको जथाभावी उत्खनन, दोहनले पुलको पिलर भासिएर नया निर्माण गर्नुपर्ने भएको हो ।

 

भक्तपुर, २ साउन ।

मध्यपुरठिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त  ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैंया र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

इन्दीप कोइराला,बारा, २ साउन ।

सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा  सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ ।

अस्पतालमा  कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा  तालाबन्दी गरी धर्नामा बसेका छन् ।

 

सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादव, श्यामसुन्दर कुशवाहा, रविन हुसेन, पवन पटेल, अयुब मिया अन्सारी, ललिता यादव, नितु गुप्ता, रन्जु कुशवाहा, सन्तोषकुमार कुशवाहा लगायतका २४ जना कर्मचारीहरुले सोमबार बिहान ११ः४५ बजे अस्पतालको मुल ढोकामा ताला लगाएका हुन् ।

 

तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् ।

 

आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् । यसअघि नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतबारबाट वडा कार्यालयमा तालाबन्दी गरेर सेवा ठप्प पार्दै आएका छन् ।

 

विशाल बस्नेत,महोत्तरी, २ साउन ।

बर्दिबास नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर, यसको कार्यान्वयनको पक्षलाई लिएर आशंका उब्जिएको थियो । नगपालिकाको उक्त नीतिले कोही रगतको अभावमा मर्ने त कोही रगत भए पनि पैसाको अभावमा मर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा बर्दिबास रेडक्रस सोसाईटीका पूर्वसभापति मुकुन्द पौडेलको छ । कार्यान्वयनको पक्षलाई लिएर भने उनी सशंकित थिए ।

 

गत सोमबार बेलुका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले  बर्दिबास–४ स्थित वरडाडा बस्ने बिरामी कृष्णबहादुर माझीलाई रेडक्रसमा पुगेर रगत हस्तान्तरण गरेपछि पौडेल ढुक्क भए कि अब पैसा नभएर कोही पनि नगरवासीहरु रगत नपाएर मर्नुपर्दैन ।

निःशुल्क रगत प्रदान गर्ने नगरको नीतिलाई औपचारिक रुपमा कार्यान्वयन गरेको नगरप्रमुख क्षेत्रीले बताए । रेडक्रस सोसाईटीका सभापति सुदिप कार्कीको अनुसार बर्दिबासमा मात्र अहिले मासिक दुई सयभन्दा बढी बिरामीहरुलाई रगतको अभाव हुने गरेको छ । ‘संस्थागत हो सहयोग गर्न पनि नसकिने रहेछ । व्यक्तिगत सहयोग त गर्छौं, तर त्यो पनि सधैभरि सम्भव नहुने रहेछ,’ उनले भने ।

 

रेडक्रस सोसाईटीका अर्का सदस्य गोपाल बरालले भन्छन्, ‘रगत सहज ढंगले पाए पनि पैसाको अभावमा रगत किन्न नसक्ने धेरै नगरवासीहरुको नगरप्रमुखले ज्यान बचाएका छन् ।’

कतिपय बिरामीलाइ महिनामा चारपटकसम्म रगत लिन रेडक्रस आउनुपर्ने हुन्छ । एक युनिट रगतको १४ सय रुपैयाँ तिर्नुपर्ने हुँदा विपन्न र गरिब समुदायको लागि मासिक ५ हजार रगतमा नै खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

 

यस्तै कठिन अवस्थाको अनुभव गरेकी छन बर्दिबास–८ खजुरियाकी अर्पणा लुङगेलीले । बर्दिबासस्थित डिएनवी अस्पतालका डा. प्रविन मिश्रसँग उपचार गराउँदा उनको आन्द्रा फुटेको र मुखवाट अत्याधिक रगत बगेको हुनाले पटक–पटक रगत चाहिराख्ने चिकित्सकले सुझाएका थिए ।

 

आर्थिक स्थिति कमजोर भएकी लुङ्गेलीले जेनतेन उपचार गराइरहे पनि रगत कसरी ल्याउने होला भन्ने पिरलो थियो । लुङ्गेलीले रेडक्रसवाट विपन्न राहत कोषका माध्यमबाट रगत दिइरहेको त थाहा पाइँन, तर प्रक्रियाको झन्झटिलोले उनलाई थप तनाव सृजना भयो ।

 

सम्बन्धित् वडावाट आर्थिक स्थिती कमजोर भएको प्रमाणित गराउनुदेखि रेडक्रसलाई रगत प्रदान गर्न दिने सिफारिस लिन नै उनले दिनहुँ समस्या झेलिन् । तर, नगरपालिकाले पास गरेको नीति तथा कार्यक्रमले भने अब त्यो झन्झटबाट मुक्त भएको महसुस गराएको छ ।

नगरवासी भएको प्रमाण मात्र पेस गरेपछि रगत पाउने नगरले नीति बनाएको सुनेपछी लुङ्गेली निकै खुसी भएकी छन्। ‘अब मजस्ता गरिब कागज बनाउन अल्मल्लिनुनपर्ने रहेछ खुसी लाग्यो,’ उनले भनिन् ।
 

 

सप्तरी, २ साउन ।

सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार  किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।