आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
रौतहटकाे परोहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आफ्नो ९ औं नगरसभा भव्यरूपमा सम्पन्न गरेको छ । मंगलबार नगरपालिकाको प्रशासकीय भवनमा आयोजित सभामा नगरप्रमुख शेख वकिलले ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख वकिलले परोहालाई राज्यमै एक उदाहरणीय नगरपालिका बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक विकास जस्ता प्राथमिक क्षेत्रमा विशेष जोड दिइएको बताएका छन् । “नगरवासीको साथ र सक्रिय सहभागिताका कारण नै परोहा आज यो स्थानमा आइपुगेको हो,” उनले भने ।
उक्त बजेटमा संघीय, प्रदेश तथा आन्तरिक स्रोतबाट प्राप्त रकम समावेश गरिएको छ । नगरप्रमुखका अनुसार बजेटको ठुलो अंश पूर्वाधार सुधार, आधारभूत सेवा प्रवाह तथा समावेशी विकासमा केन्द्रित हुने छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहामा शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै स्थानीय सरकारको सेवा प्रवाहप्रति नागरिक सन्तुष्ट रहेको बताए ।
सभामा उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्षहरू तथा वडा सचिवहरू समेत उपस्थित थिए । उनीहरूले नगरपालिकाले स्थापना कालदेखि नै विकास निर्माणका क्षेत्रमा देखाउँदै आएको अग्रणी भूमिका र सफलताहरूको प्रशंसा गरेका छन् ।
नगरसभाको समापनसँगै आगामी वर्षको योजनाहरू कार्यान्वयन चरणतर्फ उन्मुख हुने संकेत दिइएको छ । अब स्थानीय नागरिक र सरोकारवालाहरूको चासो, प्रस्तुत योजनाहरूको व्यवहारिक कार्यान्वयनमा केन्द्रित रहने देखिन्छ ।
मुकेश कुमार साह, चपुर,०९ गते असार ।
चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १५ औँ अधिवेशनमार्फत सार्वजनिक गरिएको उक्त बजेटमा अधुरा योजना सम्पन्न गर्ने र सामाजिक रूपान्तरणमा जोड दिइएको छ ।
उपप्रमुख जयमाला चौधरीले बजेट प्रस्तुत गर्दै नगरभित्र अलपत्र रहेका योजनाहरूलाई प्राथमिकता दिने स्पष्ट पारिन् । उनले करिब ६ करोड रुपैयाँ लागतमा निर्माणाधीन रहेको शीतभण्डारको काम आगामी वर्षभित्रै सम्पन्न गरिने बताइन् । साथै, बालश्रम र बालविवाहमुक्त वडा घोषणालाई पनि नगरको प्राथमिक एजेन्डा बनाइने जनाइन् ।
नगरप्रमुख संजय कुमार काफ्लेले चालू बजेटलाई नागरिकको आवश्यकता, माग र समग्र विकासका क्षेत्रमा सन्तुलितरूपमा विनियोजन गरिएको उल्लेख गरे। “यो बजेट जनताको आवाजलाई प्रतिनिधित्व गर्छ,” उनले भने, “हामी समावेशी र दिगो विकासप्रति प्रतिबद्ध छौं ।”
अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटकको बजेटमा झण्डै २५ करोड ७७ लाख रुपैयाँको कटौती गरिएको छ। विगत वर्ष चन्द्रपुरले १ अर्ब ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको थियो।
प्रदेशसभा सदस्य युवराज भट्टराईले नगरको समृद्धिका लागि सबै जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारको सहयोग निरन्तर रहने आश्वासन दिए ।
यसैबीच, रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १० नगरपालिकाले आगामी वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन्। चन्द्रपुरसँगै गौर, राजदेबी, इशनाथ, गढीमाइ, माधवनारायण, बौधीमाइ, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका छन् । गुजरा नगरपालिकाले असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ भने बाँकी पालिकाले अझै बजेट सार्वजनिक गरेका छैनन् । आज पराेहा र माैलापुर नगरपालिकाले बजेट सार्वजनिक गर्दैछन् ।
चन्द्रपुर नगरपालिकाको यसपटकको बजेटले अधुरा योजना पूरा गर्दै सामाजिक परिवर्तन र जनउत्तरदायी विकासतर्फ दृढ पाइला चाल्ने संकेत दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०९ गते असार ।
रौतहटको गुजरा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उप सचिव उदय प्रसाद देवकोटाले पदभार ग्रहण गर्नुभएको छ । उहाँको आगमनप्रति नगरपालिकाले हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
नगरप्रमुख सन्तलाल चौधरी र उपप्रमुख रत्न लामाले नगरपालिकाको तर्फबाट देवकोटा ज्यूलाई स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले भने, “नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले नगरको विकास तथा सेवा प्रवाहमा गति आउने विश्वास लिएको छु ।”
उपप्रमुख लालमाले पनि शुभकामना व्यक्त गर्दै उहाँको अनुभव र दक्षताले गुजरा नगरलाई संस्थागत रूपमा सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गत असार ०१ गते डा. श्रवणकुमार साह गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर हुनुभएको थियो । तर, पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई सरुवा गरेको थियो । त्यसपछि पालिकामा केही समयसम्म कार्यकारी नेतृत्वको अभाव रहँदा दैनिक कामकाज प्रभावित भएको थियो ।
गुजरा नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिकामा सरुवा गरेपछि महिनाैं दिन नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।
अब उदय प्रसाद देवकोटाको आगमनसँगै नगरपालिकाको प्रशासनिक काम पुनः नियमित हुने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०९ गते असार ।
रौतहट जिल्लाको गौर नगरपालिकाले सोमबार एक भव्य समारोहका साथ १६ औं नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा नगर प्रमुख शम्भु साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ६१ करोड १५ लाख ९७ हजार २ सय ६१ को बजेट सार्वजनिक गरेका छन् । सो बजेटलाई नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ ।

नगर प्रमुख साहले “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरपालिका श्रेष्ठ पहिचान” भन्ने मूल नारासहित नगरपालिकाको आगामी योजना र प्राथमिकता सार्वजनिक गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला र बाल विकासका क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै विकास योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाको बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, ससर्त चालू तथा पुँजीगत अनुदान, विशेष र समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटका रकमहरू समेटेर तयार गरिएको हो ।
नगरसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, उप–नगर प्रमुख शैलदेवी साह, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
गौर नगरपालिकाले आगामी वर्षमा जनतालाई केन्द्रमा राखेर समावेशी र दिगो विकासका कार्यहरू अघि बढाउने स्पष्ट संकेत दिएको छ ।
सागर ठाकुर,देवाहीगाेनाही,०९ गते असार ।
रौतहटकाे देवाही गोनाही नगरपालिका–९ धरहरीमा जनप्रतिनिधिहरूको सक्रियतामा स्थानीय पूर्वाधार विकासका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।

सोही क्रममा स्थानीय स्तरमा लोकप्रियता कमाएका वडा अध्यक्ष वीर बहादुर साहको पहलमा वडा नम्बर ९ का विभिन्न टोलहरूमा नाला निर्माण तथा सडक ढलानको काम सुरु गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत कुल २४ लाख रुपैयाँको लागतमा सम्पन्न हुने यी योजनाहरू हाल कार्यान्वयनको चरणमा छन् । वडा अध्यक्ष साहका अनुसार श्री जय किसान नमुना माध्यमिक विद्यालय धरहरीको उत्तर र पूर्व साइडमा रहेको सडकमा नाला निर्माण र ढलानको काम सुरु गरिएको छ ।
त्यसैगरी, जगरनाथ साहको घरदेखि मुख्य सडकसम्म जोडिएको सडकमा नाला निर्माण कार्य भइरहेको छ भने नन्दकिशोर दासको घरदेखि बिशुनदेव यादवको घरसम्म र रामनारायण ठाकुरको घरदेखि मुख्य सडकसम्म पनि नाला निर्माण कार्य जारी छ ।

वडा अध्यक्ष साहले स्थानीय पूर्वाधार सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राख्दै जनतासँग सिधा संवाद र सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका कार्यहरूलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयवासीहरूले पनि यस्ता जनहितका कार्यहरूप्रति खुसी व्यक्त गर्दै वडा अध्यक्ष साहप्रति आभार प्रकट गरेका छन् ।
चन्दन यादव, रौतहट, १९ गते पुस ।
फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो ।

प्र.अ. अनिल कुमार यादवको विशेष पहलमा यो पनि चार कोठ्ठे भवनको आज शिलान्यास सम्पन्न भएको हो । फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातूनको प्रमुख आतिथ्यतामा नगर प्रमुख खातून र वडा अध्यक्ष यादवको संयुक्तामा उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त चार कोठ्ठे विद्यालय भवन कुल ५५ लाखको लगानिमा निर्माण हुने विद्यालयका प्र. अ. अनिल कुमार यादवले बताएका छन ।

प्र.अ. भए देखी नै स्कुलको शैक्षिक अवस्थामा सुधार, चार कोठ्ठे भवन निर्माण र व्यवस्थित शौचालयको पनि निर्माण गराएका हुन् । ग्रामीण भेगमा भए पनि पढाईको गुणस्तर पनि पहिलाको तुलनामा अहिले राम्रो भएको त्यहाँको स्थानियहरुले बताउँ छन् ।

शिलान्यास कार्यक्रममा उक्त पालिकाको वडा नं ४ का स्थानियहरुको धेरै संख्यामा उपस्थिती रहेका थिए । साथै उक्त विधालयका शिक्षकहरुको, सुरक्षाकर्मी, भद्रभलादमी र पत्रकारहरुको विशेषउपस्थितिमा उक्त विधालयमा नयाँ चार कोठ्ठे भवनको शिलान्यास भएको थियो ।
आरके श्रीवास्तव,रौतहट,१९ गते जेठ ।रौतहटको मौलापुर नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा पछिल्लो समय उल्लेखनीय प्रगति भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवको नेतृत्वमा विद्यालयले एकपछि अर्को सुधार र विकासका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै गएको छ ।
विगत तीन वर्षदेखि स्थगित रहेको विद्यालयको नाममा रहेको ८ बिगाहा १५ कठ्ठा क्षेत्रफलको महाकार पोखरीलाई ८७ लाख रुपैयाँमा ५ वर्षको लागि ठेक्का पट्टामा लगाइएको छ, जसले विद्यालयको आन्तरिक आम्दानी सुदृढ पार्ने अपेक्षा गरिएको छ ।
शैक्षिक पक्षमा समेत महत्वपूर्ण सुधार देखिएको छ । नयाँ शैक्षिक सत्रमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत ३ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा पाठ्यपुस्तक वितरण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थीको सङ्ख्या बढेसँगै कक्षा ८, ९ र १० मा सेक्सन प्रणाली लागू गरिएको छ, जसले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको छ ।
नव निर्माण भएको चार कोठे प्रशासनिक भवनको हालै उद्घाटन गरिएको छ र अहिले सञ्चालनमा आएको छ । यसका साथै विद्यालयमा बालमैत्री बालविकास कक्षा स्थापना गरिएको छ भने सबै कक्षा कोठामा सिसीटिभी क्यामेरा जडान गरिएको छ, जसले पठनपाठन वातावरण सुरक्षित र अनुशासित बनाएको छ ।
बिधालयको नाउँमा रहेको पोखरिमा पानीको अभाव नहोस् भनेर डिप ट्युबवेल जडान गरिएको छ, जसले पोखरिमा सधैंभरि पानी बरकरार राख्नमा मद्दत पुर्याइरहेको छ ।
विद्यालयको समग्र प्रगतिले स्थानीय बासिन्दा र अभिभावकमाझ उत्साह थपेको छ । अध्यक्ष यादवले आगामी दिनहरूमा अझै बढी शैक्षिक तथा भौतिक सुधार गर्दै विद्यालयलाई जिल्लामै नमूना बनाउने लक्ष्य लिएको बताएका छन् । यसमा प्रधानाध्यापक राजेश सिंहको पनि उतिकै महत्त्वपूर्ण योगदान रहेको छ ।
सागर ठाकुर,देवाहीगाेनाही,०८ असार ।
रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा अवस्थित श्री जय किसान नमुना माध्यमिक विद्यालयमा कक्षा ९ र १२ मा अध्ययनरत प्राविधिक धारका विद्यार्थीहरूलाई स्कुल पोसाक टी–सर्ट वितरण गरिएको छ ।

आईतवार विद्यालय परिसरमै आयोजित एक कार्यक्रमका बीच वडा नम्बर ९ का वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यतामा विद्यालयका १ सय २० जना विद्यार्थीलाई स्कुल पोसाक वितरण गरिएको हो । विद्यालयको आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०८१/८२ काे बजेट अन्तर्गत टी–सर्ट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहज वातावरण सृजना गराउने उद्देश्यले पोसाक वितरण गरिएको हो । प्रधानाध्यापक गुप्ताले पोसाक शिक्षामा समानता र अनुशासनको माध्यम बन्ने विश्वास व्यक्त गरेका छन् ।
वडा अध्यक्ष साहले विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका सम्पूर्ण प्राविधिक धारतर्फका विद्यार्थीलाई पोसाक वितरण गर्नु विद्यालयको शैक्षिक सुधार प्रयासको एक महत्वपूर्ण पाटो भएको बताए । उनले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह सदैव अग्रसर रहने प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्दन साह, विद्यालयका शिक्षक/शिक्षिकाहरू, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक विकास र आवश्यकताका लागि विविध कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ ।
काठमाडौं, ८ असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् । उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गदिँनँ, गर्न पनि दिन्नँ । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभागलगायतका विभागहरुले अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुलाई तर्साउने, धम्काउने र असुली गर्ने काममा लागेको हामी हेर्छौं ।
प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्यसचिवकै नेतृत्वमा सचिवहरु आफ्नो स्वार्थअनुसारको कानून बनाउनको लागि नेताहरुकोमा धाईरहेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ नेपाललाई समृद्ध बनाउँछु, तर नेपाल ग्रे–लिष्टमा पर्छ । नेपालको पुँजी विदेश लैजाने खेलमा लाग्नुहुन्छ ।
सरकार नै लागेको हामी हेर्छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोलेपनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनताप्रति उत्तरदायी छु भनेर भनेको भएपनि आजको संसद्मा प्रधानमन्त्रीको कार्यालयमाथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए ।
प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे । उनले भने,‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदापनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो ?
संसदलाई जवाफ नदिने जनउत्तरदायी ? उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ । एकातिर भन्नुहुन्छ म लोकतन्त्रको लागि लडेको छु, तर जनादेशविपरित सरकार बनाउनुहुन्छ । एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान ल्याउनुहुन्छ । यो जो तमाशा भैरहेको छ, भन्ने एउटा अनि गर्ने अर्को । बोली एउटा अनि व्यवहार अर्को यो छद्यमभेषी माहोलले देशलाई कहाँ लैजान्छ भन्ने प्रश्न आउँछ ।’
उनले अहिले देशमा उद्योगहरु बन्द भैरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज विक्रि वितरण घटिरहेको र सटरहरु बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए । यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ । उनले भने,‘अहिले सरकारपिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो ।
नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरुलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौं । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौं । अर्थमन्त्रीलाई भन्न चाहन्छु–तपाईंले टार्गेट गरेको राजश्व उठेको छैन । यही असारको पहिलो सातासम्मको रेकर्ड लिनुहुन्छ भने ७२ प्रतिशत राजश्व उठेको छ । पुँजीगत खर्च जम्मा ४२ प्रतिशत भएको छ । कुनैबेला ७.७ प्रतिशतसम्म कायम रहेको आर्थिक वृद्धिदर अहिले ४.६ प्रतिशतमा झरेको छ ।
तपाईंले टार्गेट गरेको ऋण अनुदान आधा पनि आएको छैन् । अनि यो अवस्थाबाट तपाईंले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ भएका योजनाहरु पूरा नहुँदै काटिएकोमा पनि साहले आक्रोश पोखे । भएका योजना काटेर नभएका नभएका योजना खडा गरेर यो सरकारले समृद्धिको आधार कसरी खडा गर्छ भनेर साहले प्रश्न सोधे । उनले सरकारले अहिलेको अवस्थालाई इमानदारितापूर्वक स्विकार गर्न नसकेकोमा पनि आलोचना गरे । उनले भने,‘उहाँहरु (सरकार) ले गरेको कमिटप्रति इमानदार हुनुहुन्न । उहाँहरुले अहिले जे योजना ल्याईरहनुभएको छ, त्यसले नेपालको भविष्य निर्धारण गर्न सक्दैन ।
त्यसअर्थमा पनि यसमा गम्भीर हुन आग्रह गर्दछु ।’ उनले सहकारी विकास मन्त्रालयको नाम र गरिमा ठूलो भएपनि काम भने केही नगरेकोमा बजेटप्रति असन्तुष्टि पोखे । उनले भने,‘जहाँसम्म सहकारी विकास मन्त्रालयको कुरा छ, भोजपुरीमा एउटा कहावत छ–नाम उँच, काम बुँच । एउटा सम्मानित व्यक्तित्व गणेशमानजीको हामी सम्मान गर्छौं । उहाँको सुपुत्र प्रकाशमानजी, जो आँफैमा एउटा व्यक्तित्व हुनुहुन्छ । गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । यसो के न केही ल्याउनुहोला भनेको हात्ति आयो हात्ति, फुस्स भयो । अरु दल त छोडिदिनुहोस, अरु ठाउँ त छोडिदिनुहोस उहाँको आफ्नै पार्टी पनि सन्तुष्ट हुन सकेन ।
उहाँले आफ्नै स्वर्गीय पिताजीको सम्मान गर्नुको साटो अपमान गरिरहनुभएको छ । म भएको भए त यहाँ सदनमा आउँदा मुख छोपेर आउँथे । जुन ढंगको उहाँले काम गर्नुभयो । म पनि सहरी विकासमन्त्री भएँ । जुनबेला ३९ अर्बको बजेट थियो, र ७४ अर्बको ठेक्का गरेको थिएँ । १० अर्बको संघीय सघन सहरी पूर्वाधार थियो त्यसको ५४ अर्ब २ अर्बभन्दा नघटाईकन ठेक्का गर्न भनेका थियौं । खुद्रा योजना ५० लाखभन्दा तल एउटा पनि नलिने भनेका थियौं । तर, आज एक लाखको योजना र दुई लाखको योजना राखिराख्दा, असमान ढंगले राख्दा सहरी विकास हुन्छ यसरी ? खुद्रे योजनाले सहकारी विकास हुन्छ ?’ उनले प्रकाशमान सिंहले आफ्नो व्यक्तित्वअनुसार सहरी विकासको मोडेल देखाउनेगरि काम गर्नुपर्नेमा आज गरेको कामले जनता निराश रहेको आरोप लगाए । उनले भने,‘तपाईंजस्तो व्यक्तित्वको बारेमा केही बोलौं भन्ने मनमा थिएन, तर विवश छु ।
तर, नबोली हुँदैन भन्ने लागेर बोल्ने कोशिस गरें ।’ उनले युवाहरुजति सबै विदेश पठाएर युवा मन्त्रालय चलाउनुभन्दा मन्त्रालयको नाम नै परिवर्तन गरी बुढाबुढीहरुको मन्त्रालय राख्न सुझाव दिए । उनले भने,‘यहाँका राष्ट्रिय खेलाडीहरु त यहाँ भविष्य नदेखेर विदेश पलायन भएका छन् । खेलकुद प्रतियोगिता नै हुँदैन अनि यो मन्त्रालयको नाम खेलकुद मन्त्रालय राखेर हुन्छ त? क्रिकेटमा अलिकति प्रगति गरिरहेको छ, तर देशमा एउटापनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम छैन । भएको पनि एउटै प्रदेशमा बजेट खन्याउनुहुन्छ । मधेश प्रदेशले क्रिकेटमा प्रगति गरिरहेको छ, तर मधेशमा क्रिकेट स्टेडियम नै छैन ।
मधेशकै मन्त्री खेलकुद मन्त्री भएर पनि केही गर्न सक्नुभएन ।’ उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि केही काम गर्न नसकेको भन्दै खारेजीको माग गरे । उनले संविधानले नै ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित्ता गरेको भएपनि दुई तिहाईको सरकारमा जम्मा दुई जना मन्त्री (एक मन्त्री र एक राज्यमन्त्री) बनाएको भन्दै आलोचना गरे । दुई तिहाईको बलियो सरकारले आफनै मूल्यांकनमा फेल हुन्छ । काम गर्न नसकेको र जे काम गरेको हो त्योमात्रै बोल्न पनि उनले सरकारलाई सुझाव दिए ।