युवराज झा,असार १२ गते ।
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ।
गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा फेला पारिएको हो। प्रहरीको विशेष निगरानी र अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए।
मधेश प्रदेशको रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ निवासी जैसवालविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति काठमाडौं जिल्ला अदालतबाट जारी भएको थियो। फरार रहेकाले उनले विदेश भाग्न सक्ने सम्भावना रहेको भन्दै गौशाला प्रहरी वृत्त अन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विवरण माग गर्दै राहदानी विभागमा पत्राचारसमेत गरेको थियो।
हाल जैसवाललाई आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी खनालले बताए।
काठमाडौँ, १२ असार :
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।
आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले प्रत्याभूत गरी मौलिक अधिकारको रूपमा राखेको खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभयो हो ।
सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ उपलब्ध गराउन व्यवधानका रूपमा रहेका कानुनी व्यवस्थालाई मन्त्रालयले समयानुकूल पुनरावलोकन गरिरहेको समेत मन्त्री यादवले सदनलाई जानकारी गराउनुभएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सार्वजनिक निजी साझेदारीको अवधारणमा स्थापित कम्पनी भएकाले यसमा खानेपानी मन्त्रालय, स्थानीय तहहरु तथा निजी क्षेत्र समेतको शेयर लगानी रहेको उल्लेख गर्दै कम्पनी मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा नरहेको उहाँको भनाइ थियो ।
उहाँले खानेपानीमा राजस्व, आयकर÷भ्याटलगायत सम्पूर्ण कर छुट हुनुपर्ने र यस विषयमा खानेपानी मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । यस विषयमा मन्त्रालयको धारणासहित गत पुस १२ गतेको अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ थियो । “यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइ सकिएको छ, मन्त्रालय तहबाट गरिनुपर्ने कार्यहरू सम्पन्न गरी अर्थ मन्त्रालयलाई यस सम्बन्धमा ताकेता भइरहेको छ”, उहाँले भन्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नाफारहित सामुदायिक संस्था रहेको उल्लेख गर्दै उहाँले सबै किसिमको पम्पिङ प्रणालीका खानेपानी तथा सरसफाई आयोजनाहरू संचालन गर्दा खपत हुने विद्युत् महसुलको दर सिँचाइको विद्युत् महसुलको दर सरह कायम गर्नका लागि पनि प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षमा पनि विद्युत् महसुलमा अनुदान उपलब्ध गराउने विषय बजेट वक्तव्यमा उल्लेख रहेकाले यससम्बन्धी आवश्यक निर्देशिका तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्युत नियमन आयोगको प्रतिनिधिको समेत उपस्थितिमा छलफल गरी उक्त आयोगको नियमावलीमा खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत् महसुल नुदानको विषयलाई सम्बोधन गर्न गत जेठ २५ मा विद्युत् नियमन आयोगमा पनि पत्राचार गरिएको जानकारी गराउन चाहन्छु ।”
यसैगरी नगर विकास कोष खानेपानी मन्त्रालय मातहत नभए पनि यस विषय सम्बन्धमा गत माघ १२ गते सचिवस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयलाई सहमतिको लागि पत्राचार गरिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “विभिन्न खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिहरूले नगर विकास कोषको विद्यमान पाँच प्रतिशत ब्याजदरलाई तीन प्रतिशतमा घटाउन मन्त्रालयलाई अनुरोध गरिरहेको र सोही अनुरूप मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।”
सहलगानी भएका आयोजनाको कूल लागतको कम्तीमा १५ प्रतिशत उपभोक्ता संस्था व स्थानीय तहले बेहोर्ने गरी सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यन्वयन निर्देशिका, २०८१ गत माघ २१ गते परिमार्जन भइ लागू भउको मन्त्री यादवले बताउनुभयो । अन्य खानेपानी तथा सरसफाई आयोजनाहरुको हकमा पनि एकीकृत निर्देशिका मस्यौदाको तयारीको क्रममा रहेको र छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
पानी शुद्धीकरणका लागि अत्यावश्यक रसायनका रूपमा रहेको ब्लिचिङ पाउडर नेपालमै सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने मन्त्रालयको धारणा रहेको उहाँको भनाइ थियो । उहाँले उद्योग स्थापनासम्बन्धी कार्य उद्योग मन्त्रालयको कार्यक्षेत्रमा रहे पनि मोडेलमा निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरी उद्योग सञ्चालन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।
वीरगंज ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् । युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु लावालस्कर सहित विदेश जानुको कुनै अर्थ नभएको उनले बताए ।
वीरंजमा आज (बिहीबार) आजपाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्रीदेखी र मन्त्रीहरुको विदेश भ्रमणको कुनै उपलब्धि नभएकाले लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म हुँदैछ भने अन्य बिभिन्न मन्त्रीहरुको समेत बिभिन्न देशको भ्रमण मन्त्रीपरिषद बैठकले स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीदेखी विभिन्न मन्त्रालयका मन्त्रीहरु विदेश भ्रमण गर्दा मुलुकको फजुल खर्चबाहेक अरु केही पनि नभएको उनले बताए ।
‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढी÷पहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणको कुनै उपलब्धि हुँदैन, लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग हो,’ आजपा अध्यक्ष साहले भने, ‘युद्धरत देशमा फसेका आफ्ना नागरिक उद्धार गर्न भारत गुहार्नुपरेको छ, अनि हाम्रा यी चोर नेतालाई किन विदेश जान दिने ?’
गत बर्ष बाढीपहिरो हँुदा प्रधानमन्त्री ओली बिदेश सयरमा रहेको र अहिले बाढिपहिरो सुरुहुँदै गर्दा नेपाली जनता पीडामा रहेको बेला पनि प्रधानमन्त्री बिदेश गायब हुने कार्यक्रम भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री ओलीलाई बालुवाटार, बालकोट र सिंहदरबारबाहेक केही थाहा नभएको बताउदै उनले बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा, नेपाली जनता घण्टौँ सडकमा सास्ती खेपिरहेको बेला सरकारले त्यसलाई सहज गर्ने काम गर्नुपर्ने उनले बताए ।
बजेटको चरम दुरूपयोग गरिएको र जनताको करलाई नेताको भुँडी भराउने काम गरिएको समेत उनले वताए । सरकारपिच्छेको मनोमानी कर आतंकले नेपाली जनता, उधोगी, व्यापारीको व्यापार व्यवसाय धरासायी बन्दै गईरहेको आजपा अध्यक्ष साहले बताए ।
कांग्रेस र एमालेको अहिलेको वर्तमान गठबन्धन अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रि भएको बताउदै उनले कोर्स करेक्सन गर्नुपर्ने बताए । ‘केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो । शेरबहादुर देउवाले तत्काल कोर्स करेक्सन गर्नुपर्छ । नेचुरल गठबन्धनमा जाँदा नै देशको हित हुन्छ । केपी ओली अहिलेपनि विरोधीलाई तर्साउने खेलमा छन् । सकेसम्म सानालाई निल्ने उनको प्लान हो,’ आजपा अध्यक्ष साहले भने ।
ओली नेतृत्वको सरकार नेपाली जनताका लागि बोझ भएको टिप्पणी उनले गरे । अहिले आएर कांग्रेस र एमालेकै नेताकार्यकर्ताका लागि सरकार बोझ भईसकेको टिप्पणी उनले गरे । स्वार्थको गठजोडले गर्दा अहिलेसम्म टिकेको गठबन्धन अब बिस्फोटन हुने बेला भईसकेको उनले बताए ।
‘यो सरकार नेपाली जनताको लागि बोझ भएको थियो । अहिले त कांग्रेस र एमालेकै कार्यकर्ताहरुको लागि पनि ठूलो बोझ भएको छ । स्वार्थहरुको गठजोडले गर्दा अहिलेसम्म टिकेको हो, अब विस्फोटन हुने बेला भैसकेको छ । यो सरकार कुनैपनि मोर्चामा सफल छैन । न राष्ट्रिय राजनीति संग्लो छ । न विदेश सम्बन्ध सन्तुलित छ । यो सरकारले जताततै भाँडभैलो र उपद्रो मच्चाएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले अर्थतन्त्र धाराशयी बनायो । देशभरि सडकहरुको कन्तबिजोग छ । तर, प्रधानमन्त्री वर्षौदेखि थालिएको कामको ग्वार्को ओभरपासलाई ‘फ्लाईओभर’ भनेर रिबन काट्न जानुहुन्छ । यो नाटक बन्द गर्नुहोस । राजमार्गमा दिउँसै बसहरु अलपत्र छन् । त्रिशुलीमा खसेका बस अहिलेसम्म अत्तोपत्तो छैन । दैनिक लाखौं जनता ओहोरदोहोर गर्ने राजमार्गहरुको हालत कस्तो छ ?’
यस्तै, आजपा अध्यक्ष साहले वीरगंजबाट तीन जना नेता संघीय सरकारमा भए पनि वजेटमा वीरगंजले न्याय नपाएको बताए । वीरगंजको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रंगशाला र वीरगंजलाई आर्थिक राजधानीको रुपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास भए पनि त्यसो नभएकोमा उनले दुख व्यक्त गरे ।
‘वीरगंजबाट तीनतीन जना संघीय सरकारमा मन्त्री हुनुहुन्छ । मलाई विश्वास थियो बजेटले वीरगंजलाई न्याय गर्छ । तर त्यसो भएन् । वीरगंजको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रंगशाला र वीरगंजलाई आर्थिक राजधानीको रुपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास मलाई थियो । किनभने, यहाँबाट (वीरगंज) तीन जनता संघीय सरकारमा मन्त्री हुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘तर कांग्रेसकै खेलकुद मन्त्री छ र कांग्रेसले यहाँ हस्ताक्षर अभियानको नाटक गरिरहेको छ । एकजना मन्त्रीले वीरगंजमा आउँदा अर्बौको बजेट ल्याएको भन्नुहुन्छ । तर जब काठमाडौं पुग्नुहुन्छ अनिभन्नु हुन्छ वीरगंजले बजेट नै पाएन् । यो नाटक बन्द गर्नुस् तपाईहरु ।’
यस्तै उनले मधेसमा विद्यार्थी अनुपातमा बिषयगत र तहगत शिक्षकको व्यवस्था हुनुपर्ने भए पनि सरकार मधेसका विद्यार्थीप्रति संवेदनशील नभएको बताए । विद्यार्थीको अनुपातमा शिक्षक नभएको बताउदै उनले सरकारले मधेसको शिक्षा प्रणाली नै ध्वस्त बनाउन खोजेको आरोप लगाए ।
चन्दन यादव,रौतहट १२ गते आसार ।
रौतहट जिल्लामा रहेको गुजरा नगरपालिकाको १ नम्बर वडा रङगपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा बाली,वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

बाली तथा वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरका प्रमुख डा। विशेश्वर यादव प्रमुख आतिथि तथा प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो ।

बैठकमा सहभागी भएका स्थानीय किसानहरूले मल अभाव, सिँचाइको कमी, बजार मूल्यमा अस्थिरता, बाली भण्डारणको सुविधा अभाव र बजारीकरणमा समन्वयको कमी जस्ता समस्याहरू प्रस्तुत गरेका थियो ।

डा. यादवले थपे, “कृषि अनुसन्धानसँगै किसानका व्यावहारिक समस्यामा ध्यान दिनु जरुरी छ । हामी समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढ्नेछौं ।”
बैठकले स्थानीय तह, प्राविधिक निकाय र किसानबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कृषि अधिकृत, कृषि सहकारी संस्था र कृषक समूहको समेत उपस्थिति रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड समितिको अध्यक्ष धर्मेन्द्र धामीले जानकारी गराएका थिए ।

डा. यादवले सबै समस्या गम्भीरतापूर्वक सुनी समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “कृषि विकासका लागि अनुसन्धान मात्र होइन, किसानको आवाज बुझ्नु अझ जरुरी छ। हामी प्रदेशस्तरबाट समस्या समाधान गर्न प्रयास गरिरहेकै छौं ।”

कार्यक्रमले किसान–कृषि अधिकृतसंग बीचको संवादमा नयाँ ऊर्जा दिएको स्थानीयको प्रतिक्रिया रहेको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा स्थानिय किसानहरु, साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा कर्मचारीहरु लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,११ गते असार ।
राैतहटकाे गुजरा-१, रंगपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.ले विउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत गोदाम घर निर्माण तथा विउ प्रशोधन मेशिन खरिद र जडानसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नवस्थापित विउ प्रशोधन केन्द्र परिसरमा आयोजना गरिएको थियो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय, नकटाझिज, धनुषा –मधेश प्रदेशको ५०% लागत साझेदारीमा भएको सहयोगप्रति सहकारीका पदाधिकारीहरूले आभार व्यक्त गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष धर्मेन्द्र धामीले भने, “हामी स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउने दिशामा एक ठूलाे कदम चालिरहेका छौं । यो गोदाम र प्रशोधन केन्द्रले किसानका बिउको गुणस्तर सुधार्नेछ र उत्पादन लागत घटाउनेछ ।” उहाँले किसानको जीवनस्तर उठाउन यस्ता योजनाहरू दीर्घकालीन फाइदाकाे आधार हुने विश्वास व्यक्त गरेका हुन् ।

त्यस्तै, मुख्य प्रबन्धक कपुरीलाल बण्ठाले परियोजनाको पारदर्शिता र समावेशीपनमा जोड दिँदै भन्नुभयो, “हामीले सार्वजनिक सुनुवाईमार्फत स्थानीय समुदायलाई सूचित र सहभागी गराउने प्रयास गरेका छौं । हरेक काममा स्थानीय किसानको प्रत्यक्ष सरोकार कायम राखेका छौं ।”
कार्यक्रममा स्थानीय कृषक, उपभोक्ता प्रतिनिधि, जनप्रतिनिधि तथा पत्रकारको उपस्थिति थियो । सहभागीहरूले परियोजनालाई सकारात्मक मूल्याङ्कन गर्दै सहकारी संस्था र निर्देशनालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रमले विउ प्रशोधन तथा भण्डारण क्षेत्रमा गाउँमै पूर्वाधार निर्माणमार्फत कृषिमा आत्मनिर्भरताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,धनुषा,११ गते असार ।
जनकपुरधाम — मधेस प्रदेशका दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूका लागि जनकपुरधाममा तीन दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा मिथिला बिहारी नगरपालिका २ मा सुरु भएको कार्यक्रममा संचार क्षेत्रका विविध पक्षमा छलफल भइरहेको छ ।

उद्घाटन सत्रपछि फोटो पत्रकार प्रकाश माथेमाले फोटो पत्रकारिता, अनलाइन मिडिया संघका अध्यक्ष शिवप्रसाद सत्यालले अनलाइन पत्रकारिता, र पत्रकार प्रकाश मैनालीले साइबर सुरक्षा विषयमा सहजीकरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूलाई मर्यादित, अनुशासित र उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । “सरकारको कमजोरी औँल्याउनुहोस्, सल्लाह दिनुहोस्, तर पूर्वाग्रही समाचार नगर्नुहोस्,” मन्त्री लेखीले भन्नुभयो ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष जितेन्द्र खड्का र प्रमुख प्रशासकीय अधिकृत प्रसन्न राज कर्णको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले डिजिटल युगमा अनलाइन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै तथ्य, सन्तुलन र विश्वसनीयतामा आधारित समाचार प्रकाशनमा जोड दिनुभयो । “पत्रकारिताको मूल धर्म भनेको सत्य खोज्नु र जनतालाई सही सूचना दिनु हो,” उहाँले भन्नुभयो, “सञ्चारमाध्यमको विश्वसनीयता सुरक्षित गर्न सम्पादकहरूको भूमिका निर्णायक हुन्छ ।”
त्यस्तै, प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत प्रसन्न राज कर्णले सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो । “सञ्चारमाध्यमहरू जनताको आवाज हो, तर त्यसलाई प्रभावकारी बनाउन सम्पादकहरूको अभिमुखिकरण अनिवार्य छ,” उहाँले भन्नुभयो, “प्राधिकरणले सूचना प्रवाहलाई मर्यादित, तथ्यपरक र उत्तरदायी बनाउने दिशामा सहकार्यलाई अझ सुदृढ बनाउने छ।”
कार्यक्रममा अनलाइन सञ्चारमाध्यमका सम्पादक, पत्रकारहरू तथा संचार क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
राैतहटकाे गुजरा नगरपालिका–४ स्थित कनकपुरमा करिब ४५ लाख रुपैयाँको लागतमा हुने सडक स्तरोन्नति तथा आर.सी.सी. ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश सरकारको विनियोजित बजेटमार्फत निर्माण हुन लागेको उक्त परियोजनाको शिलान्यास मधेश प्रदेशका पूर्व राज्यमन्त्री केशव राय चौधरीले गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले यस सडक परियोजनाले स्थानीय जनताको दैनिक आवतजावत सहज बनाउने तथा समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । “भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत विकासको गति बढाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको छ,” उहाँले भन्नुभयो ।

करिब ४५ लाखको लागतमा सम्पन्न हुने यस सडक स्तरोन्नति तथा ढलान परियोजनाले वर्षातको समयमा हुने कीचड र हिलाको समस्याबाट स्थानीयलाई मुक्ति दिलाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले सडक सुधारको लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । अलि ढिलै भएपनि निर्माण कार्य सुरु भई तोकिएको समयसीमा भित्र सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
रौतहटको गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १२ औं नगरसभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बजेट वक्तव्य पढेर सुनाएका थिए ।

बजेटमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार सिर्जना, पूर्वाधार तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा प्राथमिकता दिइएको जनाइएको छ । आगामी वर्षमा नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरसभामा सम्बाेधन गर्दै नगर प्रमुख चौधरीले जनताको आवश्यकता र सुझावका आधारमा योजनाहरू समेटिएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताए । उपप्रमुख लामाले नीति तथा कार्यक्रममा समावेश परियोजनाहरू समावेशी, दिगो र विकासमुखी हुने दाबी गरिन् ।
बज्जिकाञ्चल संवाददाता,देवाही गोनाही,असार १० गते ।
देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा सञ्चालित चार दिने साइबर अपराध सचेतना तालिम आज एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। तालिम समाजमा दिनप्रतिदिन बढ्दो साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।
तालिममा कक्षा ८ देखि १० सम्मका १५० भन्दा बढी विद्यार्थी, ५ जना शिक्षक, तथा ५ जना स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको शिक्षक विवेक शर्माले जानकारी गराउनु भएको हाे ।

प्रशिक्षकका रूपमा उपस्थित ईलाका प्रहरी कार्यालय, देवाही गोनाहीका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले सहभागीहरूलाई साइबर अपराधका विभिन्न स्वरूपहरू, यसबाट जोगिने उपाय, नेपालको साइबर कानुन तथा सुरक्षित इन्टरनेट प्रयोगबारे विस्तृत प्रशिक्षण दिनुभयो ।
उहाँले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, ह्याकिङजस्ता संवेदनशील विषयमा सचेत गराउँदै, डिजिटल दुनियाँमा सजग बन्न आग्रह गर्नुभयो ।

तालिमको समापन कार्यक्रममा सृजनात्मक समाज कल्याण केन्द्र नेपालका अध्यक्ष विवेक शर्माको सभापतित्व रहेको थियो भने देवाही गोनाही नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु कुमार दास प्रमुख अतिथि रहनुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दासले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहभागीहरूलाई तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न र प्रविधिको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विवेक शर्माले तालिमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारका सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा देवाही निवासी अमरेश पटेलको विशेष सहयोगप्रति पनि आभार प्रकट गरिएको थियो । सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी, जानकारीमूलक र समय सान्दर्भिक रहेको प्रतिक्रिया दिएका छन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, १० गते असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् ।
रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज (मंगलबार) उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । आजपा अध्यक्ष साहको गृहनगर समेत रहेका मौलापुरबाट मुलुकको विकास र समृद्धिका लागि दलहरु लोकतान्त्रिक मार्गमा हिड्नुपर्ने बताए ।
‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ । कांग्रेस र एमालेको गठबन्धन अलोकतान्त्रि, अप्राकृतिक र अनैतिक रहेकोले जनतामा निरासा छाएको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनमा मेयर रिनाकुमारी साह आ.ब.२०८२/०८३ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी छन् । उनले मौलापुर नगरपालिकाको आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
मौलापुर नगरपालिकाले हरेक बर्षझै यस बर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको छ । शिक्षा क्षेत्रमा मोडेल बन्दै गईरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत पोखरामा एक महिना अघि आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ । गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा मौलापुरले अत्याधिक बजेट खर्च गर्दै आएको छ ।

यस्तै मौलापुर नगरपालिकाले शुन्य कर नीतिलाई निरन्तरता दिएको छ । विगत ८ बर्षदेखी मौलापुरका मेयर रहेकी साहले यस बर्ष पनि शुन्य कर नीतिलाई निरन्तरता दिइएको फ्रि बिजुली, फ्रि पानी, यही आर्थिक बर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको जनाएकी छन् ।
‘हामी शासक होईन, सेवक हौँ, जनतासंग लिने होईन दिने हो । नगर प्रहरी होईन, नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढीभन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ मौलापुरका मेयर साहले भनेकी छन् ।
यस्तै मौलापुरका मेयर साहले छोरीसंग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएकी छन् । यो कार्यक्रम पनि उनी मेयर भएदेखी लागु भएको छ । यो कार्यक्रम अन्तरगत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दैआएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।
‘आगामी आ.व. २०८२/०८३ मा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगत देखी सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थागर्ने आयोजनाहरु र यस नगरपालिकाले सञ्चालन गर्दै आएको कच्ची सडक मुक्त नगर, हर हातमे हुनर, साक्षरता अभियान, निशुल्क बिजुली पानी र बेटीके साथ मेयर लगायतका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाको लागि विद्यालयहरुमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंशाधान थप व्यवस्था गर्ने,’ मेयर साहले भनेकी छन्, ‘वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा यस मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थि तगर्ने, वेरोजगारहरुलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको छ ।’