कामरेन्द्र वर्मा,काठमाडौं,३२ गते असार ।
भोजपुर जिल्लाको अरुण गाउँपालिकामा आज एक विशेष कार्यक्रमबीच ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’ को शिलान्यास गरिएको छ। सो भवनको निर्माण भारत सरकारको आर्थिक सहयोगमा हुन लागेको हो । शिलान्यास कार्यक्रम भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंह र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरूपमा सम्पन्न गर्नुभयो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीहरू तथा स्थानीय समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

भारत-नेपाल विकास सहकार्य अन्तर्गत नेरु. ३.१८८ करोड लागतमा निर्माण हुन लागेको यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ। तीन तल्ले भवनमा कक्षा कोठाहरू, शिक्षक कक्ष, बैठक कोठा, कार्यक्रम हल, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय लगायतका सहयोगी संरचनाहरू समावेश हुनेछन् । परियोजनाको कार्यान्वयन अरुण गाउँपालिकामार्फत गरिनेछ ।

शिलान्यास समारोहमा बोल्दै अध्यक्ष खत्रीले भारत सरकारबाट नेपालका ग्रामीण क्षेत्रहरूमा भइरहेको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यो परियोजनाले स्थानिय शिक्षा तथा सांस्कृतिक गतिविधिमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सन् २००३ यता भारत सरकारले नेपालभर ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू कार्यान्वयन गरिसकेको छ, जसमा ९३ वटा कोशी प्रदेशमा रहेका छन् । यस्तै, भारत सरकारले नेपालका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेकोमा भोजपुर जिल्लालाई ७ वटा एम्बुलेन्स र १ वटा स्कुल बस प्राप्त भइसकेको छ ।

भारत र नेपालबीचको मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै जान उच्च प्रभाव विकास परियोजनाहरूले दुवै देशबीचको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाएको जनाइएको छ । भारत सरकारले नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रमा साथ दिन सदा तत्पर रहेको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,३२ गते असार ।
राैतहटकाे बौधीमाई नगरपालिका वडा नं. ४ निवासी रामअज्ञा यादव क्यान्सर रोगबाट पीडित भई हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
निजको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज वडा नं. ४ का वडाध्यक्ष तुरन्तनारायण यादव अस्पताल पुग्नु भएको छ । उहाँले यादवसँग भेट गरी सम्पूर्ण अवस्थाको बारेमा जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
वडाध्यक्ष यादवले भन्नुभयो, “रामअज्ञा यादवको उपचार सफल होस् भन्ने हाम्रो शुभेच्छा छ। उहाँ चाँडै निको भएर घर फर्कुन् भन्ने कामना गर्दै हामी सबैले पशुपतिनाथ भगवानसँग प्रार्थना गरौं।”
उनले भने,”आफनाे तर्फबाट हुने सक्दाे सहयोगका लागि नगरपालिकामा पहल गर्ने प्रतिबद्धता जनाए । ” सम्पूर्ण सहयोगका लागि आफू प्रतिबद्ध रहेको उनकाे भनाइ छ ।
समाजका पाको व्यक्तित्व समेत रहनुभएका रामअज्ञा यादवको स्वास्थ्यमा सुधार आओस् भन्ने शुभेच्छा स्थानीयवासी र शुभचिन्तकहरूले पनि व्यक्त गरेका छन् ।
काठमाडौं, ३२ गते असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिले दिएको हावापानीको वितरणमा पनि विभेद गरेको बताएका छन् ।
काठमाडौंको सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंग कुराकानी गर्दै साहले आफै विदेशबाट मिनिरल वाटर मगाएर पिउँने गरेका प्रधानमन्त्री ओलीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी आपराध गरेको टिप्पणी गरे ।
‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ । त्यसमा सबैको बराबर हक लाग्छ । तर आफै विदेशबाट मिनिर वाटर मगाएर पिउँने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी आपराध गर्दैहुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजीले आफु जनताले तिरेको करबाट बिदेसी पानी पिउँनुहुन्छ । तर सर्वसधारणलाई नर्मल पानी पनि नदिएर के गर्न खोज्नुभएको हो ? के जनतालाई खानेपानी दिन न सक्ने प्रधानमन्त्री ओलीलाई कुर्सीमा बस्ने हक छ ?’
अहिले तराई मधेसमा पानीको हाहाकार छ । इनार सुकेको, चापाकलबाट पानी आउँन छोडेको बताउदै उनले यथासिघ्र खानेपानीको व्यवस्था गर्नुपर्ने बताए । साथै काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी सरकारले नदिएपछि आन्दोलन गरिरहेका आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघको माग यथासिघ्र सम्बोधन गर्नुपर्ने उनले बताए ।
सुकुम्बासी संघले खानेपानीको माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडी दिनहुँ धर्ना दिदै आएका छन् । सुुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरुको जायज माग समेत सम्बोधन नगरेर प्रधानमन्त्री आफू नागै रहेको प्रमाण दिएको टिप्पणी उनले गरे ।
‘काठमाडौंको बिभिन्न सुकुम्बासी बस्तीमा खानेपानी सरकारले रोकेको छ । २१औँ शताब्दीमा खानेपानी रोकेर सरकारले मानवता विरोध आपराध गरिरहेको छ । सरकार नागै रहेको प्रमाण दिइरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘उता तराई मधेसमा पानीको हाहाकार छ तर सरकार यहाँ छ भन्ने अनुभुति सर्वसधारणले गर्न पाएनन् । खानेपानी मन्त्रीलाई मतदान गर्ने पर्साका मतदाताले पानी मागिरहेका छन् । तर प्रधानमन्त्रीदेखी लिएर खानेपानी मन्त्रीलाई समेत कुनै चासो र चिन्ता छैन् ।’
यस्तै, आजपा अध्यक्ष साहले एउटै घटनामा जोडिएका निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामा गराए । तर सोही मुद्धामा संलग्न रहेका सहकारी मन्त्री बलराम अधिकारीलाई संरक्षण गरिरहेको उनले बताए । ‘प्रधानमन्त्रीले एउटै घटनामा जोडिएक एक मन्त्रीलाई राजीनामा गराउँनुभयो, तर अर्को मन्त्रीलाई संरक्षण गर्नुभइरहेको छ । कारवाहीमा पनि विभेदन किन ?’ उनले प्रश्न गरे ।
अभिमनु कुमार पटेल,रौतहट, ३२ गते असार ।
नेपालमा लोकतान्त्रिक संविधान आएको वर्षौं बितिसक्दा पनि दलित महिला, गरिब, असहाय र अल्पसंख्यक समुदायमाथि भइरहेको अत्याचार, बलात्कार र दमनका घटनाले मुलुकको न्यायिक र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
पछिल्लो उदाहरण रौतहटको राजपुर नगरपालिका ३ बलुवा गाउँकी ३० वर्षीया दलित महिला (उपनाम) शरना देवी राम चमारमाथि भएको बलात्कारको घटना हो, जसमा आरोपी खुलेआम समाजमा घुमिरहेछन्, तर पीडित न्यायको खोजीमा दरबारदेखि चौकीसम्म धाइरहेकी छन्।
पीडित शरना देवी रामले पारिवारिक सम्पत्तिको विवादमा गाउँका भलाद्मीहरूसँग मिलेर आपसी छलफलको पहल गरेकी थिइन्। त्यही सिलसिलामा गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले आफ्नो हैसियत, धन र प्रभावको दुरुपयोग गर्दै महिलाको नम्बर लिएर निरन्तर यौन प्रस्ताव, धम्की र प्रलोभन दिन थाले। अन्ततः २०८१ जेठ २५ गते उनले घर नजिकैको बाँसघारीमा महिलामाथि जबर्जस्ती बलात्कार गरे। हातमुख बाँधेर गरिएको सो जघन्य अपराधपछि पीडितले आफन्तको सहयोगमा खोजिन् तर सबै ठाउँबाट निराशा बेहोर्न पुगिन्।
शुरुआती प्रयासमा इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले चासो नदेखाएपछि पीडित जिल्ला प्रहरी कार्यालय गौर पुगिन्। त्यहाँ तत्कालीन प्रहरी उपरीक्षक दिलीप घिमिरेको निर्देशनमा मुद्दा दर्ता त भयो, तर आरोपी खुर्सैद खाँ पैठान एक वर्षसम्म फरार रहे। त्यो अवधिमा पीडितको घरमा आरोपीका मान्छेहरू ६ देखि ८ लाख रुपैयाँ लिएर पुगेर दबाब दिने काम गर्दै आएका थिए। तर पीडित र उनका परिवारले “पैसा होइन, न्याय चाहिन्छ” भन्ने अडानमा कायम रहे।
यस्तो अवस्थामा पनि आरोपी खुला समाजमा घुम्दै, सरकारी निकायको संरक्षणमा प्रहरी कार्यालयमै पुगेको समाचारले पीडित परिवार झनै त्रसित भएको छ। पीडित महिला भन्छिन्, “उसको पैसा र पहुँचका अगाडि मेरो इज्जत, पीडा र प्रमाण केही पनि भएन। अब अदालतबाट न्याय नपाए मैले विष खाएर आत्महत्या गर्छु।”
स्रोतका अनुसार आरोपी खुर्सैद खाँ पहिले नेकपा माओवादी केन्द्रमा आबद्ध थिए, तर यो घटना सार्वजनिक भएपछि उनी नेपाली काँग्रेसको शरणमा पुगेका छन्। काँग्रेसका केही स्थानीय नेताहरूले उनीमाथि लागेको बलात्कार मुद्दालाई राजनीतिक दबाब र सत्ताको पहुँचमार्फत कमजोर पार्न खोजिरहेको गम्भीर आरोप पीडित पक्षले लगाएका छन्। “यदि उनले यो घटनाबाट पनि सजायबाट उन्मुक्ति पाए भने यो देशको कानुन दलित, गरीब र महिलाका लागि होइन, धनी र पहुँचवालाका लागि मात्रै हो भन्ने पुष्टि हुन्छ,” पीडितका श्रीमानको भनाइ छ।
शरना देवी रामको घटनामात्र होइन, गाउँका अन्य महिलाहरूले पनि खुर्सैद खाँबाट यस्तै उत्पीडन भोगेको आरोप छ। तर डर र असहायताका कारण कोही अघि आउन सकेका छैनन्। यसले देखाउँछ कि नेपालमा अझै पनि दलित महिला दुई तहको उत्पीडनको शिकार छन् जातीय भेदभाव र लैंगिक हिंसा।
मुद्दा दर्ता भएर वर्षौं बित्दा पनि पीडकको गिरफ्तारी नहुनु, प्रहरी प्रशासनको निष्क्रियता, राजनीतिक संरक्षणको आरोप, र आर्थिक प्रलोभनको प्रयास यी सबैले नेपालको न्याय प्रणालीप्रति गहिरो प्रश्न उठाउँछ। यो घटना कुनै एक व्यक्तिको पीडासँग मात्र सम्बन्धित छैन, यो समग्र समाजमा गरिब, दलित र महिलामाथि भइरहेको अन्यायको प्रतिनिधि कथा हो।
यदि न्याय प्रणाली मौन रहन्छ भने यो घटनाले सन्देश दिन्छ “शक्ति र पैसावालाहरूका लागि अपराध छुट छ, पीडित भने अदालतको ढोकामा कराउँदै आत्महत्याको धम्की दिन बाध्य हुन्छ।”
आरके श्रीवास्तव,राैतहट,३२ गते असार ।
लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय समितिको बैठक काठमाडौंस्थित पार्टी कार्यालय बबरमहलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कामरेन्द्र वर्माको अध्यक्षतामा बसेको उक्त बैठकमा संघको संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।
बैठकले संघको विधान पुनरावलोकन तथा सशक्तीकरणका लागि विधान अध्ययन समिति गठन गरेको छ । उक्त समितिमा केन्द्रीय सदस्य विजेता चौधरी, रानी पाल, र काठमाडौं जिल्ला अध्यक्ष प्रिन्सचन्द्र पाल रहेका छन् ।

बैठकमा आगामी साउन महिनामा आयोजना गरिने संघको पहिलो कार्यक्रमबारे पनि गम्भीर छलफल गरिएको बताइएको छ ।
बैठकपछि संघका पदाधिकारीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका थिए । भेटका क्रममा अध्यक्ष ठाकुरले संघलाई अगाडि बढाउन आफूहरूबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाएका थिए । उनले भने, “संघलाई अघि बढाउनुहोस्, हामीबाट हुने सहयोग अवश्य हुनेछ।”
त्यस अवसरमा लोसपाका महासचिव तथा प्रवक्ता मनिष मिश्रले संघको कामलाई सकारात्मक रूपमा अगाडि बढाउन आग्रह गर्दै भने, “संघ राम्रोसँग अगाडि बढाउनुहोस्, हामी सधैं साथमा छौं।”
साथै लाेसपा केन्द्रीय सचिव अजय झाले पनि संघका पदाधिकारीकाे हाैसला बढाएका थिए ।
भेटमा संघका केन्द्रीय सदस्यहरू सुशमिता लाल, इन्जिनियर सतीश कुमार र सुरेन्द्र कुमार सिंहको समेत उपस्थिति थियो ।

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । सभार बाह्रखरी
कामरेन्द्र वर्मा,काठमाडौं,३० गते असार ।
सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) र सामाजिक सुरक्षा कोष (SSF) बीच समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानका कार्यकारी निर्देशक सीए बिमल डंगोल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक सीए कबिराज अधिकारीले आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानका अध्यक्ष प्रवीण कुमार झाको उपस्थितिमा सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान र सामाजिक सुरक्षा कोषका अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

समझदारीपत्र अनुसार दुवै संस्थाले आपसी सहकार्यमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूको प्रवर्द्धन, वित्तीय व्यवस्थापनमा पारदर्शिता, दक्ष जनशक्ति विकास, तालिम तथा जनचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्नेछन् ।

कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान अध्यक्ष झाले नेपालमा सामाजिक सुरक्षाको दायरा विस्तार गर्न पेशागत संस्थाको भूमिकालाई प्रभावकारी बनाउन यो समझदारी महत्वपूर्ण कडी हुने बताए । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक अधिकारीले चार्टर्ड एकाउन्टेन्ट्स समुदायको प्राविधिक योगदान सामाजिक सुरक्षा प्रणालीको मजबुतीका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
यस सहकार्यले सामाजिक सुरक्षाको पहुँचलाई अझ सुदृढ गर्दै श्रमिकहरूको हितमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रिमेश सिवाकोटी,चन्द्रपुर ,२९ गते असार ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेलाका स्थानीय बासिन्दा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण त्रसित बनेका छन् । शनिबार राति पाँचवटा हात्तीको समूह गाउँमा पसेर चार वटा घर भत्काएपछि आक्रोशित स्थानीयले आइतबार डिभिजन वन कार्यालय रौतहटमा धर्ना दिँदै हात्ती नियन्त्रण गर्न माग गरेका छन् ।
पीडित गाउँलेले वन कार्यालयले हात्ती नियन्त्रणका लागि कुनै ठोस पहल नगरेको आरोप लगाउँदै कार्यालयको घेराउ गरेका हुन्। उनीहरूले हात्तीलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा सार्न र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।
शनिबार रातिको घटनामा स्थानीय दिपा बल, दिलबहादुर राई, लाल बाबू मुक्तान र किरण बम्जनको घरमा हात्तीले क्षति पुर्याएको स्थानीय शंकर चौधरीले जानकारी दिए । उनका अनुसार हात्तीको समूह हरेक रात गाउँमा प्रवेश गरी घर र सम्पत्तिमा क्षति पुर्याउने गरेको छ ।

स्थानीय धनबहादुर पुलामीले भने, “रातभरि जाग्राम नगरेको भए मानवीय क्षति हुन सक्थ्यो। घर र बालबच्चा जोगाउन रातभर जाग्राम बस्न बाध्य छौं।”
अर्का स्थानीय राजु पाण्डेले वन कार्यालयको भूमिकालाई लक्षित गर्दै, “हात्ती नियन्त्रण गर्न नसक्नु वन प्रशासनको गैरजिम्मेवारीपनको पराकाष्ठा हो,” भन्दै आक्रोश व्यक्त गरे ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले भने, हात्ती नियन्त्रणका लागि निकुञ्ज तथा सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए ।
तर स्थानीयको माग अझ स्पष्ट छ— हात्ती नियन्त्रणका लागि तत्काल कदम चालियोस्, पीडितलाई राहत दिइयोस्, र दीर्घकालीन समाधानका लागि प्रभावकारी रणनीति निर्माण गरियोस् ।
जंगलसँग टाँसिएको जुडिबेलामा वर्षौंदेखि जङ्गली हात्तीको जोखिम रहँदै आए पनि पछिल्ला दिनहरूमा हात्तीको गतिविधि र आक्रमण बढ्दो क्रममा छ। यसले गाउँमा भयावह अवस्था सिर्जना गरेको छ ।
सुरक्षा चुनौती, वन प्रशासनको निष्क्रियता र प्रभावकारी समाधानको अभावबीच जुडिबेलावासीको आक्रोश र पीडा दिन प्रतिदिन चुलिँदै गएको छ ।
काठमाडौं, २९ गते असार ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेस सहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् । प्रधानमन्त्रीदेखी मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्धखानेपानी समेत नपाउँने दुखद बिषय भएको टिप्पणी उनले गरे ।
प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भिर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । साहले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’
दुई तिहाईको शक्तिशाली सरकार मानवता विरोधी र जवादेही सरकार नभएको टिप्पणी उनले गरे । संविधानमा खानेपानीलाई मौलिक हक भनिएको भए पनि सरकारले किन सुकुम्बासी बस्तीमा खानेपानी रोकेको भन्दै उनले यस बारेमा सरकारसंग जवाफ मागेका छन् ।
‘सभामुख महोदय, काठमाडौंको सुकुम्बासीहरु झण्डै एक सातादेखी खानेपानीका लागि आन्दोलित छन् । प्रत्येक दिन काठमाडौंको केयूकेएलको कार्यालय अगाडी खानेपानी माग्दै घेराउ र धर्ना उनीहरुले गरिरहेका छन् । म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासीलाई खानेपानी किन रोक्नुभयो ?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘तपाईहरु आफ्ना लागि विदेशबाट महंगा मिनिरल वाटर मगाएर खानुपर्ने तर नेपाली जनता नर्मल पानीका लागि पनि तडपिनुपर्ने ? म जान्न चाहन्छु नेपाल सरकारको सुकुम्बासीप्रति कस्तो धारणा हो ? के सुकुम्बासी मान्छे हो की होइन ? गरिबहरु मान्छे हो की होइन ? हो भने यही ठाउँको महलमा पानीको सप्लाई जाने र सुकुम्बासी बस्तीमा रोक्ने काम सरकारले किन गरेको हो ?’
सरकारले यथासिघ्र सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताउ । सरकार अलिकति पनि जवाफदेही र सम्बेदनशील छ भने सुकुम्बासी बस्तीमा तुरुन्त खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताए । खानेपानीका लागि आन्दोलन गरिरहेका सुकुम्बासीको आन्दोलन तुरुन्त सम्बोधन गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन् । साथै सुकुम्बासीप्रति विभेदन गर्न समेत उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरे । विभेद नगरी सुकुम्बासीलाई पनि खानेपानी उपलब्ध गराउँनुपर्ने उनले बताए ।
यस्तै उनले तराई मधेसमा खानेपानीको हाहाकार रहेको बताउदै सरकारले त्यसतर्फ तुरुन्त ध्यान दिनुपर्ने बताए । ‘इनार सुकेको छ, चापाकलमा पानी आउँदैन्, बोरिङहरुमा समेत पानी आउँन छोडेको छ । मान्छे पानीबिना तडपिरहेको छ, काकाकुलको अवस्था छ । यस्तो अवस्थामा यसबारेमा सरकारले के गरिरहेको छ ? सरकारले यसबारेमा जवाफ देओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
सरकारले कि संसदलाई गनिरहेको छैन वा सरकार बहिरो रहेको टिप्पणी उनले गरे । तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भएको भन्दै उलने जवाफ माग गरेका छन् । खानेपानीको अभाव बारेमा खानेपानी मन्त्री, सरकारले गरिमामय संसदमा जवाफ दिनुपर्ने र देखिएको समस्या तुरुन्त समाधान गर्नुपर्ने माग उनले गरे । यदी पानी जीवन हो भने सरकाले मान्छेको जीवनसंग खेलवाड गर्ने अधिकार नभएको उनले बताए ।