२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौँ । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन् । ‘यसमा धेरै काम गरिसकेका छौं । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ’ मन्त्री रावलले भनिन् । समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ ।

समितिले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ ।

समितिका अनुसार, नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारेको छ ।

समितिका सदस्य सचिव रविन ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अबलम्बन गर्ने जानकारी दिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

यसअघि  बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित गरिएको थियो ।

सरकारले संसद अधिवेशन स्थगित गरेर विभिन्न कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि पुन: संसद अधिवेशन बोलाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमणप्रति भारतले असन्तुष्टि जनाएको छ ।

भारत सरकारले उक्त घटनामा तीन जना भारतीय घाइते हुनु दुःखद रहेको भन्दै यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।

भारतले सबै पक्षलाई तत्काल हिंसा रोक्न र सर्वसाधारणलाई निशाना नबनाउन आग्रह गरेको छ । साथै पश्चिम एसियामा शान्ति र स्थायित्व कायम राख्न वार्ता र कूटनीतिक माध्यम नै उचित उपाय हुने बताएको छ । भारतले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज क्षेत्रमा जहाजहरूको आवागमन अवरोधबिना जारी रहनुपर्नेमा जोड दिएको छ ।

यसअघि युएईले उक्त आक्रमण इरानतर्फबाट भएको दाबी गरेको थियो । उसले १२ बैलिस्टिक क्षेप्यास्त्र, ३ क्रुज क्षेप्यास्त्र र ४ ड्रोनलाई अवरोध गर्न सफल भएको जनाएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सर्वसाधारण र महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने कार्य अस्वीकार्य हुने बताएका छन् ।

अर्कोतर्फ इरानले फुजैराहस्थित तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक सैन्य अधिकारीले उक्त क्षेत्रमा आक्रमण गर्ने कुनै योजना नभएको बताएका छन् । ती अधिकारीका अनुसार अमेरिकाले होर्मुज क्षेत्रमा जबर्जस्ती मार्ग खोल्ने प्रयास गरेपछि अवस्था बिग्रिएको हो । यस घटनाले क्षेत्रीय स्थायित्वमा खतरा उत्पन्न गरेको इरानको आरोप छ ।

उक्त घटना अमेरिकाले होर्मुज क्षेत्रमा ‘प्रोजेक्ट फ्रिडम’ नामक अभियान सुरु गरेलगत्तै भएको बताइएको छ, जसको उद्देश्य जहाजहरूको आवागमन पुनः सुचारु गराउने रहेको छ । यसको प्रतिक्रियास्वरूप इस्लामिक रिभोलुसनरी गार्डले अनुमति बिना कुनै पनि सैन्य वा व्यापारिक जहाजलाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ ।

इरानले होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आफ्नो नियम पालना गर्ने जहाजहरूलाई मात्र आवागमन गर्न दिइने जनाएको छ । यसअघि पनि इरानी नौसेनाले चेतावनीका रूपमा अमेरिकी युद्धपोततर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका ७७ लाख ३४ हजार १२ कित्ता शेयर ३ अर्ब ४३ करोड ९० लाख ६८  हजार ३९२ मा कारोबार भएको थियो ।  आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा ११.१६ प्रतिशतले बढेको छ सोलु हाइड्रोको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर ९.३१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २३ करोड ५७ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

आज टिममा दुई परिवर्तन गरिएको छ । आज भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ सेख र करण केसीलाई खेलाइएको छ ।

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल खेल्दैछन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टीले शानदार जित हासिल गरेको छ ।  २०११ देखि राज्यमा सत्ता रहेको ममता बेनर्जी नेतृत्वको तृष्णमूल काँग्रेसलाई पराजित गर्दै भाजपाले शानदार बहुमत हासिल गरेको हो ।

२९४ सदस्यीय पश्चिम बङ्गालको विधानसभामा भाजपाले २०६ सिट जितेको छ । अघिल्लो निर्वाचनमा भाजपाले केवल ७७ सिट जितेको थियो ।  त्यस्तै अघिल्लो निर्वाचनमा २१५ सिट जितेको तृष्णमूल काँग्रेस भने यस पटक ८१ सिटमा खुम्चिएको छ तृष्णमूल काँग्रेस

त्यस्तै प्रदेशमा भारतीय नेशनल काँग्रेसले केवल २ सिटमा जित हासिल गरेको छ । अघिल्लो चुनावमा नेशनल काँग्रेसको कुनै सिट थिएन ।  त्यस्तै कम्युनिष्ट पार्टीले २ सिट जितेका छन् भने अन्यले २ सिट जितेका छन् ।

पश्चिम बङ्गालमा पहिलो पटक भारतीय जनता पार्टी सत्तामा आएको छ । यस निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं राज्यमा प्रचारमा उत्रिएका थिए ।

पश्चिम बङ्गालमा २०११ देखि ममता बेनर्जी सत्तामा रहेकी थिइन् । उनले १९७७ देखि सत्तामा रहेको कम्युनिष्ट पार्टीलाई हराउदै सत्तामा आएकी थिइन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली काँग्रेसले लिपुलेक र कालापानी नेपालको भूमि रहेको स्पष्ट पार्दै सरकारले भारत र चीनलाई पठाएको कुटनीतिक नोटलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिइएको ग्रहण गरेको बताएको छ ।

काँग्रेसले २०७२ सालमा तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत महाकाली नदीपूर्वका सबै भू-भाग नेपालको अविभाज्य हिस्सा भएको स्पष्ट गर्दै भारत र चीनलाई कूटनीतिक नोट पठाएको तथ्य पनि स्मरण गराएको छ ।

त्यसैगरी, सन् १८१६ को सुगौली सन्धि, ऐतिहासिक नक्सा, अभिलेख र प्रमाणका आधारमा ती भू–भाग नेपालको भएको आधिकारिक दृष्टिकोण काँग्रेसले पुनः दोहोराएको छ । साथै भारत र चीनले नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुने विश्वास पनि व्यक्त गरेको छ ।

२०७७ सालमा संसदबाट सर्वसम्मत रूपमा पारित लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा संविधानको अंग भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई विशेष आग्रह गरिएको र सीमा सम्बन्धी संवेदनशील विषयमा दलगत मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ ।

काँग्रेसले भारत र चीनसँग नेपालको ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय कूटनीतिक वार्ता र संवादमार्फत समस्या समाधान गर्न र नेपालको भौगोलिक अखण्डता तथा सार्वभौमिकताको सम्मान गर्न दुवै देशलाई आग्रह गरेको छ ।

लिपुलेक बारे काँग्रेसको निर्णय: 

नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत र चीन बीच भएको सहमतिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगतदेखि नै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट ढङ्गले राख्दै आएको छ।

१.   नेपाली कांग्रेस लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा ग्रहण गर्दछ।

२.   वि. स. २०७२ मा नेपाली कांग्रेसका तत्कालीन सभापति श्री सुशील कोइराला नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत महाकाली नदी पूर्वका सवै भु-भाग नेपालको अविभाज्य भूमि भएकोले नेपाली भूमिको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपालको सहमति र जानकारी विना दुई देशबीच भएको सहमतिले ऐतिहासिक यथार्थतालाई बदल्न सक्दैन, त्यसैले त्यसलाई तत्काल सच्याउन आग्रहसहित भारत र चीन दुवै सरकारलाई कूटनीतिक नोट पठाएको ऐतिहासिक वास्तविकता र कूटनीतिक पहल स्मरण गर्न चाहन्छ।

३.   सन् १८१६ को सुगौली सन्धि, नेपालको ऐतिहासिक नक्सा, अभिलेख, दस्तावेज र प्रमाणको आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत नेपालको भूमि भएको आधिकारिक दृष्टिकोण नेपाली कांग्रेसले राख्दै आएको छ। नेपाली कांग्रेस यो दृष्टिकोण र अडानमा स्पष्ट छ । भारत र चीन दुवै देशले नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुनेछन् भनी नेपाली कांग्रेसले विश्वास लिएको छ।

४.   वि.सं. २०७७ मा नेपालको संसदले सर्वसम्मत रूपमा ग्रहण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा नेपालको संविधानको अंग हो। यसलाई कार्यान्वयन गरी स्वीकार्य बनाउन कुटनीतिक पहल गर्नु नेपाल सरकारको प्रमुख जिम्मेवारी भएकाले ऐतिहासिक तथ्य, नक्सा, अभिलेख, दस्तावेज र प्रमाणको आधारमा थप प्रभावकारी कूटनीतिक भूमिका निर्वाह गर्न नेपाली कांग्रेस सरकारलाई विशेष अपिल गर्दछ। सीमा सम्बन्धी अत्यन्त संवेदनशील विषयमा दलगत दृष्टिकोण र राजनीतिक मतभेद भन्दा माथी उठेर राष्ट्रिय सहमति र एकता कायम गरी साझा धारणा हुनुपर्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण छ ।

५.   भारत र चीन दुवै छिमेकीसँग नेपालको ऐतिहासिक, बहुआयामिक र आत्मीय सम्बन्ध भएको वास्तविकतालाई आत्मसात गर्दै उच्चस्तरीय कूटनीतिक वार्ता र संवादमार्फत यो विषय समाधान गरी नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको सम्मान गर्न भारत र चीन दुवै सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । यो यस सिरिजको अन्तिम खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल देशभर पूर्णतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धैरे स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ बैशाख २२ गते मंगलबार ईस २०२६ मे ५ नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा बृश्विक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा बृश्विक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज कामकाजमा प्रगति हुने संकेत छ। रोकिएका कामहरू अघि बढ्न सक्छन् र सहकर्मीबाट सहयोग मिल्नेछ। नयाँ जिम्मेवारी आउन सक्ने भएकाले तयारीका साथ अघि बढ्नु राम्रो हुनेछ। आर्थिक पक्ष सामान्य रहे पनि खर्च बढ्न सक्छ, त्यसैले बचततर्फ ध्यान दिनु आवश्यक छ। परिवारमा सानो मतभेद हुन सक्छ, तर धैर्य राखे समाधान हुनेछ। प्रेम सम्बन्धमा खुला संवादले सम्बन्ध अझ राम्रो बनाउनेछ। सामाजिक भेटघाटले मन हल्का बनाउनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आराम आवश्यक छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज काममा व्यस्तता बढ्न सक्छ। मेहनत अनुसार नतिजा ढिलो आउन सक्छ, त्यसैले हतार नगर्नु राम्रो हुन्छ। आर्थिक पक्षमा खर्च बढ्ने देखिन्छ, विशेष गरी घरायसी आवश्यकतामा। परिवारबाट साथ मिल्नेछ, जसले मनोबल बढाउनेछ। प्रेम सम्बन्धमा समझदारी राख्नु राम्रो हुनेछ। साथीभाइसँग भेटघाटको अवसर मिल्न सक्छ। स्वास्थ्यमा कमजोरी वा पाचनसम्बन्धी समस्या देखिन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ। काममा प्रगति हुनेछ र साथीभाइबाट सहयोग मिल्नेछ। व्यापार वा नयाँ योजना सुरु गर्ने सोच सफल हुन सक्छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। परिवारमा खुसीको वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा नजिकिन मौका मिल्नेछ। यात्रा गर्ने अवसर पनि आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु राम्रो हुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारमा ध्यान दिनुपर्ने दिन छ। काममा सामान्य प्रगति हुनेछ, तर मन अलि संवेदनशील रहन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। परिवारसँग सानो मतभेद हुन सक्छ, त्यसैले संयम अपनाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा धैर्य आवश्यक छ। पुराना साथीहरूसँग भेट हुन सक्छ। स्वास्थ्यमा थकान वा टाउको दुखाइ देखिन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास बढ्नेछ र काममा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ, जसले भविष्यका लागि राम्रो आधार तयार गर्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। परिवारसँग समय बिताउन सकिनेछ, जसले सम्बन्ध बलियो बनाउनेछ। प्रेम सम्बन्धमा सकारात्मकता रहनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ, ऊर्जा कायम रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –

आज काममा ध्यान दिनुपर्ने दिन छ। मेहनत अनुसार नतिजा मिल्नेछ, तर धैर्य आवश्यक छ। आर्थिक पक्षमा खर्च बढ्न सक्छ, त्यसैले योजनाबद्ध खर्च गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। स्वास्थ्यमा सानो समस्या, विशेष गरी पाचनसम्बन्धी, देखिन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज योजना सफल हुने संकेत छ। काममा प्रगति हुनेछ र नयाँ अवसर मिल्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम सम्बन्धमा नजिकिन मौका मिल्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मन अलि अस्थिर रहन सक्छ। काममा ध्यान दिनुपर्नेछ, नत्र अवसर गुम्न सक्छ। आर्थिक पक्षमा खर्च बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनु आवश्यक छ। परिवारसँग सानो विवाद हुन सक्छ, संयम अपनाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ। एक्लोपन महसुस हुन सक्छ, साथीभाइसँग कुरा गर्दा राहत मिल्नेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) –

आज नयाँ अवसर आउने सम्भावना छ। काममा प्रगति हुनेछ र साथीभाइबाट सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ। यात्रा गर्ने अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा सकारात्मकता रहनेछ। नयाँ योजना सुरु गर्न उपयुक्त दिन हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढ्न सक्छ। काममा ध्यान दिनुपर्नेछ र मेहनत आवश्यक छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर बचतमा ध्यान दिनु राम्रो हुन्छ। परिवारबाट साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा स्थिरता रहनेछ। कार्यक्षेत्रमा सम्मान बढ्न सक्छ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आराम आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –

आज नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। काममा प्रगति हुनेछ र नयाँ सोच आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारसँग समय बिताउन सकिनेछ। प्रेम सम्बन्धमा सहजता रहनेछ। यात्रा गर्ने सम्भावना देखिन्छ। सामाजिक सम्बन्ध बलियो बन्नेछन्। स्वास्थ्य राम्रो रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –

आज सावधानी अपनाउनु पर्ने दिन छ। काममा ध्यान दिनुपर्नेछ, नत्र ढिलाइ हुन सक्छ। आर्थिक पक्षमा खर्च बढ्न सक्छ, त्यसैले सोचेर खर्च गर्नु राम्रो हुन्छ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहनेछ। पुराना काम पूरा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा कमजोरी वा थकान देखिन सक्छ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।