आरके श्रीवास्तव,राैतहट,०५ गते साउन ।
रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ मा सडक पक्कीकरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । वडाध्यक्ष सर्फलाल गुप्ताको पहलमा गल्ली गल्लीका कच्ची सडकहरू अहिले ढलान भई व्यवस्थित बन्दै गएका छन् ।

वडाका विभिन्न टोलहरूमा ढलानको काम धमाधम भइरहेको छ । स्थानीयवासीहरू भन्छन्, “पहिला वर्षाैँसम्म हिलो र धुलोमा हिँड्नुपर्थ्याे, अहिले भने ढलान भएका सडकमा सजिलै हिँडडुल गर्न पाएका छाैं।”

वडाध्यक्ष गुप्ताले आफ्नो नेतृत्वमा ‘विकास र सुविधा जनताकाे घर आँगनमै’ भन्ने नारालाई सार्थक बनाउँदै आएको जनगुनासो छ । पहिलो कार्यकालमै वडाको आधारभूत पूर्वाधारमा व्यापक सुधार ल्याएपछि जनताले उनलाई दोस्रो कार्यकालका लागि पनि मौका दिएका थिए ।

“जनताले दिएको विश्वास र जिम्मेवारीप्रति म गम्भीर छु। वडामा हरेक टोलसम्म सडक, नाला, विजुली, खानेपानीजस्ता सेवाहरू पुर्याउन लागिपरेका छौं,” वडाध्यक्ष गुप्ताले बताए ।
हाल ढलान भएका सडकहरूलाई दिगो बनाउने र नियमित मर्मतकाे योजना पनि वडा कार्यालयले अघि सारेकाे छ । स्थानीय तह, प्रदेश सरकारकाे बजेट सदुपयोग गर्दै वडाध्यक्ष गुप्ताले कटहरिया–५ लाई विकासको नमुना वडा बनाउने दाबी गरेका छन् ।
कामरेन्द्र वर्मा,काठमाडौं,०५ गते साउन ।
भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गरिने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच उक्त समझदारी सम्पन्न भएको हो ।

यी परियोजनाहरुको कुल अनुमानित लागत करिब ३९ करोड नेपाली रुपैयाँ रहेको छ । शिक्षा तथा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएका यी पाँच परियोजनामा चारवटा विद्यालय भवन तथा एकवटा अस्पताल भवन निर्माण हुने छन् ।
परियोजनाहरुमा धनुषा, बटेश्वर–३ मा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयको भवन निर्माण,पर्सा, पोखरियामा रहेको श्री महोवनी पद्म माध्यमिक विद्यालयको भवन निर्माण,अछाम, मेल्लेखमा रहेको श्री बासुकी माध्यमिक विद्यालयको भवन निर्माण,बारा, प्रसौनी–२ मा रहेको बेंगा साह माध्यमिक विद्यालय भवन, छात्रावास र पुस्तकालय निर्माण,मनाङ, नासोँ–५ मा रहेको पाँच शैयाको अस्पताल भवन निर्माण रहेको छ ।
यी परियोजनाहरु सम्बन्धित नगरपालिका, गाउँपालिका तथा नेपाल सरकारका स्थानीय निकायहरूमार्फत कार्यान्वयन गरिनेछ ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी संरचनाहरुको निर्माणले स्थानीय जनतालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।”

सन् २००३ यता भारतले नेपालभरि ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । जसमध्ये ४९६ परियोजना सफलतापूर्वक सम्पन्न भइसकेका छन् । बाँकी परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।

भारत र नेपालबीचको ऐतिहासिक, भौगोलिक तथा साँस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रयासस्वरूप यस्ता परियोजनाहरु कार्यान्वयनमा ल्याइएका हुन् । भारतीय सहयोगले नेपाली जनताको सशक्तिकरण र पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ ।
राजिव राय,महोत्तरी,०४ गते साउन ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता माननीय शरतसिंह भण्डारी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११, कालिपुरमा अवस्थित ऐतिहासिक शनिदेव मन्दिरमा आयोजित भव्य कलशयात्रामा सहभागी हुनुभयो।

कार्यक्रमका अवसरमा मन्त्री भण्डारीले मन्दिरका पुजारी मोहन महतोबाट वैदिक विधिपूर्वक शनिदेवको पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्नुभयो।
उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग महोत्तरीका जिल्ला अध्यक्ष तथा लोसपा नेपालका केन्द्रीय सदस्य पिताम्वर महतो,केन्द्रीय सदस्य देव नारायण महतो, नगर अध्यक्ष उपेन्द्र महतो, नगर उपाध्यक्ष दिप नारायण राय पटेल, युवा नेता प्रमोद महतो गौशाला नगरपालिकाका वडा अध्यक्ष रामपृत महतो लगायत हजारौं श्रद्धालु भक्तजन र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कलशयात्रामा सहभागी महिलाहरू परम्परागत भेषभूषामा कलश बोकी आकर्षक झाँकीमा देखिन्थे भने युवाहरूको सांगीतिक टोलीले वातावरण झनै भक्ति र उल्लासमय बनाएको थियो। कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश समेत प्रवाह भएको जनाइएको छ।
बज्जिकाञ्चल संवाददाता,धनुषा,०४ गते साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, धनुषा जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता लोसपा नेपाल धनुषा जिल्ला अध्यक्ष जिबेन्द्र झाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष बनायो ।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थिति रहेको थियो । साथै पार्टीका महासचिव परमेश्वर साह,संसदीय दलका नेता जयनुल राईन, सचिवद्वय सदाशिव मिश्र र ज्ञानेन्द्र झा, प्रदेश समिति उपाध्यक्षद्वय राम ज्ञान मण्डल र अरुण पाठक, लगायत अन्य थुप्रै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन विस्तार, कार्यकर्ता सुदृढीकरण तथा भावी रणनीति सम्बन्धमा गहन छलफल र मार्गनिर्देशन गरिएको थियो । नेताहरूले जनतामाझ पार्टीको विश्वसनीयता र सशक्त उपस्थिति निर्माण गर्न सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
उक्त कार्यकर्ता भेटघाट कार्यक्रमले पार्टीभित्र एकता, सहकार्य र नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।

धनुषाको राजनीतिक वातावरणमा लोसपाको सशक्त उपस्थिति पुनः पुष्टि गर्नेगरी यो कार्यक्रम सफल र उत्साहजनक भएको आयोजकले जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०४ गते साउन ।
कटहरिया म्युजिकल एफ.एम.का समाचार वाचक तथा कटहरिया मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र प्रजापतिको असामयिक निधनप्रति लोकतान्त्रिक पत्रकार संघ रौतहटले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
कटहरिया नगरपालिका–५ निवासी युवा तथा होनहार सञ्चारकर्मी प्रजापतिको ३० वर्षको उमेरमै असामयिक निधन भएको खबरले सम्पूर्ण पत्रकारिता क्षेत्र शोकाकुल बनेको संघले जनाएको छ ।
स्व. प्रजापति कर्मनिष्ठ, प्रतिभाशाली र समर्पित सञ्चारकर्मीका रूपमा चिनिन्थे । उनले स्थानीय सञ्चार माध्यममा उल्लेखनीय योगदान पुर्याएका थिए ।
संघका अध्यक्ष आरके श्रीवास्तवले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गरेका छन् । साथै, संघले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै भगवानले परिवारलाई यो दुःखद घडी सामना गर्ने शक्ति प्रदान गरून भन्ने कामना गरेको छ ।
शनिबार साँझ प्रजापति झुण्डिएर आत्महत्या गरेका थिए । ३० वर्षीय पत्रकार प्रजापति शनिबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए । उनको बुवा हरी पण्डित लगायत परिवारको मानिसले तत्कालै पासो काटेर उपचारको लागि ग्रान्डी अस्पताल गरुडामा लागेका थिए । तर अस्पतालका डाक्टरले प्रजापती लाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक पत्रकार प्रजापतिको शव पोष्टमार्टम पछि दाहसंस्कारका लागि परिवारजनकाे जिम्मा लगाएकाे हाे । आज साँझ उनकाे दाहसंस्कार पनि गरिएको
पारिवारिक स्राेतले जनाएको छ ।
काठमाडौँ, १ साउन :
खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।
विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको स्पष्ट निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।
विभागको अद्यावधिक विवरणअनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेले ९७ दशमलब ८३, रामेछापले ९६ दशमलब ९१ प्रतिशत, रपन्देहीले ९५ दशमलब ९४, म्याग्दीले ९५ दशमलब ६२ तथा कास्कीलेले ९५ दशमलब ४२ प्रतिशत प्रगति हासिल गरी उत्कृष्ट परेका छन् ।
समयमै योजना कार्यान्वयन, अनुगमन तथा अन्तरसंस्थागत समन्वयले गर्दा विभागले उल्लेख्य सफलता हात पार्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विभागको वित्तीय प्रगती ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत सबैमा विभाग अनुग्रहित छ ।”
उहाँले आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनका लागि विभाग प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आम उपभोक्ता समिति, निर्माण व्यवसायीलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।
विभागले मुलुकभरका खानेपानी तथा ढल व्यवस्थापन परियोजनाहरूमा देखाएको तीव्रता र परिणाममुखी कार्यप्रगति यो उपलब्धिको मुख्य कारण भएको मन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो । हामी परिणाम देखिने गरी काम गर्छौं, प्रगति अङ्कमा मात्र होइन, जनताको जीवनस्तरमा देखिनुपर्छ । आज जुन कुरा विभागले दोखाएको छ ।”
खानेपानीका क्षेत्रमा विशेषगरी ग्रामीण भेगमा पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तारमा गरिएको प्रयास र काम पनि प्रशङसनीय रहेका उहाँको भनाई छ । यो उपलब्धिले अबको आर्थिक वर्षमा अझ बढी प्रतिबद्धता र पारदर्शिताका साथ विकास निर्माण कार्य अघि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विगतका वर्षहरूमा तुलनात्मक रूपमा कम प्रगति हुँदै आएकोमा यस वर्ष विभागको वित्तिय प्रगतीमा उल्लेखनीय सुधार देखिएपछि सिङ्गो मन्त्रालय नै खुशी भएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रीज्यूको स्पष्ट निर्देशन, मार्गदर्शन तथा विभागको सक्रियता र प्रतिबद्धताका कारण यो आर्थिक प्रगति सम्भव भएको हो । जुन सबैका लागि सकारात्मक र खुशीको कुरो हो ।”
खानेपानी तथा ढल व्यवस्थापन विभागले अघिल्ला वर्षहरुको तुलनामा चालु आर्थिक वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रले आशातित सफलता एवं उत्कृष्ट कार्य हासिल गर्न सकेको मन्त्रालयमा प्रवक्ता ई मीना श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा जस्तो रकमान्तर, भेरिएसन, म्याद थप जस्ता कामको लागि असार महिनामा अर्थमन्त्रालय धाइरहन नपरेकाले विभागले आशातित सफलता हासिल गर्न सकेको छ ।”
देशको सार्वजनिक सेवा क्षेत्रमै एक उल्लेखनीय सफलता हासिल गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभाग हालसम्मकै उच्चतम तथा ऐतिहासिक मानिएको विभागका प्रवक्ता राजेन्द्र सापकटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्षको तीव्र सुधारले विभागको कार्यदक्षता प्रमाणित सहित सार्वजनिक सेवा प्रणालीमै परिवर्तन सम्भव रहेको सङ्केत पनि दिएको छ ।”
यसै वर्ष विभाग अन्तर्गतका १५ वटा कार्यालयहरु स्थायी भएको र रु ११ अर्ब ६३ करोड बराबरको ८१ वटा योजनाहरुको स्रोत सहमति प्राप्त भएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार विश्व बैंकको सहयोगमा भेरी पम्पिङ योजनाको सम्झौता यही आर्थिक वर्षमा सम्पन्न भएको, एसियाली विकास बैंकको एकीकृत परियोजनाको मिसन चलिरहेको र आउँदो दुई महिनाभित्र योजनाहरुको ठेक्का आह्वान हुने तयारीमा रहेको छ ।
काठमाडौं ।
नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । प्रकाशित सूचना अनुसार कलेजले इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट समेत माग गरेको छ ।
इटहरी (सुनसरी), ३ साउन
: संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनु भएको छ ।
आज यहाँ स्थित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने दिशामा केन्द्रित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष हो ।”
यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउनु हुँदै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताउनुभयो ।
खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकता पूरा गर्ने सेवा–उन्मुख सामाजिक मन्त्रालय रहेकाले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो सक्रियता र स्पष्ट परिकल्पना अनुरूप खानेपानी विभागको वित्तीय प्रगतिले ९० प्रतिसत उपलब्धि हासिल गरेको छ । जुन हाम्रो कार्यसम्पादन क्षमताको दिगो सुधारको स्पष्ट प्रमाण हो ।”
आज उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाबाट रामधुनी नगरपालिका झुम्का क्षेत्रका वडा नं. १, २, ३, र ५ का करिब २२ हजार ७८७ नागरिक र ४ हजार ३१ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो खानेपानी आयोजनाले स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चिततामार्फत नागरिकहरूको स्वास्थ्य र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पुर्व सघीय सांसद नवदिता चौधरी, नगर प्रमुख शंकर लाल चौधरी, झुम्का खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरी, नगर उप–प्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, खानेपानी तथा ढल व्यवस्थान विभागका उप महानिर्देशक राजेन्द्र सापकोटा, एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरत बम, उप–निर्देशक महेश न्यौपाने, खानोनी तथा ढल निकास विराटनगर प्रमुख सुरतलाल चौधरी लगायतको सहभागीता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०३ गते साउन ।
महोत्तरी जिल्लाको बलवा नगरपालिका–८ मा निर्माण हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्र भवनको भूमि पूजन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
उक्त भूमि पूजन कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा सम्माननीय नेता महन्थ ठाकुर र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपा नेपालका वरिष्ठ नेता माननीय शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो ।

समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै लाेसपा नेताहरूले युवालाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित स्थापना हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्रले रोजगारीको अवसर सिर्जना गर्ने र स्थानीय विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उक्त भवन निर्माणपछि सिलाइ, बुनाइ, इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर तथा अन्य सीपमूलक तालिम सञ्चालन गरिने योजना रहेको जनाइएको छ ।
कार्यक्रमको सफल आयोजनाका लागि सहयोग गर्ने सबैलाई आयोजक समितिले आभार व्यक्त गरेको छ । साथै, भवन निर्माण कार्य छिट्टै प्रारम्भ भई गुणस्तरीय ढंगले सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०२ गते साउन ।
मटिहानी नगरपालिकाको आयोजना तथा प्राविधिक शिक्षा प्रवर्द्धनको उद्देश्यले श्री राम माध्यमिक विद्यालय, मटिहानीका कक्षा ११ मा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सम्मानित नेता महन्त ठाकुर तथा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हातबाट ल्यापटप वितरण सम्पन्न भएको हो ।

उक्त अवसरमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, लाेसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता जयनुल राइन,नगरप्रमुख हरिप्रसाद मण्डल, नगर उपप्रमुख, नगर शिक्षा शाखा प्रमुख, विद्यालयका प्राचार्य, शिक्षकगण, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरू पनि उपस्थिति रहेका थिए ।
कार्यक्रममा मन्तव्य दिंदै नेता ठाकुरले आधुनिक शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस्तो पहलले विद्यार्थीको सिकाइ क्षमतामा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले भने सरकारले प्राविधिक शिक्षामा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख मण्डलले मटिहानी नगरपालिकाले प्रविधि र शिक्षाको संयोजनमार्फत समावेशी तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनहरूमा थप शिक्षामैत्री कार्यक्रमहरू ल्याइने जानकारी दिनुभयो ।

कार्यक्रमको समापनमा विद्यालयका प्राचार्यले नगरपालिकाप्रति आभार व्यक्त गर्दै, ल्यापटप वितरणले विद्यार्थीहरूको डिजिटल दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।