काठमाडौँ । ७८औँ एमी अवार्डको मुख्य विधाका विजेताहरू घोषणा भएका छन् । अमेरिकाको लस एन्जलसमा सम्पन्न समारोहमा ‘वाइडोज बे’ उत्कृष्ट हास्य शृंखलाका रूपमा चुनिँदा ‘द पिट’ले लगातार दोस्रो वर्ष उत्कृष्ट नाटक शृंखलाको पुरस्कार जितेको छ ।
‘वाइडोज बे’ले उत्कृष्ट हास्य शृंखलासहित अभिनयतर्फ पनि महत्वपूर्ण सफलता हात पारेको छ । यसका लागि म्याथ्यु राइसले उत्कृष्ट हास्य शृंखला अभिनेताको पुरस्कार जितेका छन् भने केट ओ’फ्लिनले उत्कृष्ट सहअभिनेत्री र स्टिफन रुटले उत्कृष्ट सहअभिनेता पुरस्कार जितेका छन् । यस शृंखलाले यस वर्ष कुल १४ एमी पुरस्कार जित्दै हास्य शृंखलातर्फ नयाँ कीर्तिमानसमेत बनाएको छ ।
‘द पिट’का नोह वाइलले उत्कृष्ट ड्रामा शृंखला अभिनेताको पुरस्कार जितेका छन्। उनले लगातार दोस्रो वर्ष यो पुरस्कार प्राप्त गरेका हुन् भने ड्रामातर्फ उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘प्लुरिबस’की रिया सिहोर्नले जितेकी छन् ।
‘ह्याक्स’की जाँ स्मार्टले उत्कृष्ट हास्य शृंखला अभिनेत्रीको पुरस्कार जित्दै लगातार पाँचौँ पटक एमी हात पारेकी छन् । यो उनको अभिनय करियरको आठौँ एमी पुरस्कार हो । उनी एउटै शृंखलाको हरेक सत्रमा उत्कृष्ट हास्य अभिनेत्रीको पुरस्कार जित्ने पहिलो अभिनेत्री बनेकी छन् ।
सीमित वा सङ्ग्रह शृंखला अथवा चलचित्र विधामा ‘डिटिएफ सेन्ट लुइस’ उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट अभिनेता म्याथ्यु राइसले ‘द बिस्ट इन मी’का लागि पुरस्कार जितेका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘रिमार्केबल ब्राइट क्रिएचर्स’का लागि स्याली फिल्डले प्राप्त गरेकी छन् ।
ड्रामा शृंखलातर्फ उत्कृष्ट सहअभिनेताको पुरस्कार ‘टास्क’का टम पेल्फ्रेले तथा उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार ‘द डिप्लोम्याट’की एलिसन जेनीले जितेका छन् । ‘द ट्रेटर्स’ उत्कृष्ट वास्तविकता प्रतिस्पर्धात्मक कार्यक्रम घोषित भएको छ भने ‘द लेट शो विथ स्टिफन कोलबर्ट’ले उत्कृष्ट विविधता कार्यक्रमको पुरस्कार जितेको छ ।
लेखनतर्फ नाटक शृंखलाको पुरस्कार ‘प्लुरिबस’का लागि भिन्स गिलिगनले र हास्य शृंखलाको पुरस्कार ‘वाइडोज बे’का लागि केटी डिपोल्डले जितेका छन्। निर्देशनतर्फ नाटक शृंखलामा ‘स्लो हर्सेस’का लागि साउल मेट्जस्टाइन तथा हास्य शृंखलामा ‘वाइडोज बे’का लागि हिरो मुराई विजेता बनेका छन् ।
यस वर्षको समारोहको सञ्चालन मारिस्का हार्गिटेले गरेकी थिइन् । अभिनेता माइकल जे फक्सलाई मानवीय सेवाका लागि प्रदान गरिने बब होप मानवीय पुरस्कार प्रदान गरिएको छ ।
७८औँ एमी अवार्डको मुख्य समारोह सेप्टेम्बर १४ मा लस एन्जलसको पिकक थिएटरमा आयोजना गरिएको थियो । यसअघि सेप्टेम्बर ५ र ६ मा सिर्जनात्मक तथा प्राविधिक विधाका केही पुरस्कार घोषणा गरिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा-तास खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा जाँच गरेको थियो ।
जाँचका क्रममा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद साटेर हारजित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ लेखिएका ८ थान क्वाइन, १० हजार रुपैयाँ लेखिएका १९ थान क्वाइन, १ हजार रुपैयाँ लेखिएका ८८ थान क्वाइन, १ सय रुपैयाँ लेखिएका ५ थान क्वाइन र नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको भदौ ३० गतेको निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
त्यस्तै न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार बाबुराम दाहाललाई पनि सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।
आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका रिक्त पदमा योग्य कर्मचारीलाई बढुवा गरी सम्बन्धित पदमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको हो । एभरेष्ट न्यूज एजेन्सी
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए।
उद्धार गरी प्रदेश अस्पताल दमौली पुर्याइएका थिङलाई चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए । ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १५/१६ वर्षीया प्रेमकला पुन रहेका छन् ।
सानीभेरी–६ को कोटगाउँबाट सिम्ली जाँदै गरेको लु १ च ६०२९ नम्बरको जीप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ भने आठ जना मध्यमदेखि सामान्य घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमा सुर्खेत लागिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल चीनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलको भ्रमण असोज ३ गतेसम्म हुनेछ । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान मञ्चमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मानगारत अर्पण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले उनलाई बिदाइ गरेका थिए ।
नेपाली सेनाले भ्रमणबाट नेपाल–चीनबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालसम्म ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीले भदौ मसान्तभित्र बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अधिकारी, सोलुखुम्बुमा राजेन्द्र बस्नेत, ओखलढुंगामा पदमकुमारी गुरुङ, खोटाङमा ललित राई, संखुवासभामा दीपेन्द्र भण्डारी र उदयपुरमा ध्रुव रायमाझी रहेका छन् ।
त्यस्तै सप्तरीमा उम्देश्वरप्रसाद साह, सिराहामा शम्भुप्रसाद यादव, सर्लाहीमा विजय यादव, पर्सामा बिना जयसवाल कुर्मी, रामेछापमा भरत वाइवा, सिन्धुपाल्चोकमा निलध्वज थापा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, भक्तपुरमा अर्जुन कार्की, चितवनमा चेतनाथ वाग्ले र लमजुङमा क्या. केबिन्द्रजंग गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, मुस्ताङमा जेम्स हिराचन, गोरखामा रमेशरमण खनाल, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, पर्वतमा शेरबहादुर उचाइ ठकुरी, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी ‘केदार’, स्याङ्जामा ऋषिराम लामिछाने, नवलपुरमा विष्णुप्रसाद अधिकारी, कास्कीमा नारायण गुरुङ र नवलपरासी पश्चिममा रामभवन यादव निर्वाचित भएका छन् ।
यसैगरी, रोल्पामा अमरबहादुर थापा, गुल्मीमा त्रिविक्रम चन्द, पाल्पामा डुलबहादुर कुँवर, बर्दियामा हेमन्तप्रकाश गिरी, कपिलवस्तुमा नारायणबहादुर सिंह, दाङमा प्रेम शाह, रुपन्देहीमा सागरप्रताप राणा, मुगुमा वीरचन्द बुढा, हुम्लामा विकास महत र सल्यानमा प्रदीप थापा जिल्ला अध्यक्ष बनेका छन् ।
रुकुम पश्चिममा खम्बु खत्री, दैलेखमा सुरत केसी, डोटीमा खडकप्रसाद अग्रवाल, बैतडीमा इन्द्रदेवशरण भट्ट, कालिकोटमा मदन रोकाया, भोजपुरमा जनक नेपाल, बारामा विनोद भारती, दोलखामा गंगाबहादुर बस्नेत ‘रामहरी’ र महोत्तरीमा राजेश्वर राय यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।
पार्टीका अनुसार बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने गरी मिति तय भइसकेको छ । महोत्तरीको अधिवेशन भदौ २६ गते शुक्रबार सम्पन्न भएको छ । राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ। सोहीअनुसार जिल्ला अधिवेशनहरूलाई तीव्रता दिइएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार स्थानीय तह र जिल्ला अधिवेशनहरू उत्साहजनक रूपमा भइरहेका छन्। जिल्ला अधिवेशन सम्पन्न भएपछि महाधिवेशनको तयारीलाई थप गति दिने राप्रपाले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कपाल मिलाउने र मेकअपमा सन् २०१९ देखि सन् २०२६ को अगस्टसम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् करिब ७ करोड १७ लाख रुपैयाँ खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ ।
सूचनाको हकअन्तर्गत सार्वजनिक गरिएको विवरणअनुसार उक्त खर्चको करिब ९० प्रतिशत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारासँग सम्बन्धित रहेको बताइएको छ । सन् २०२५ मा मात्रै यस्तो खर्च करिब १ लाख ११ हजार डलर पुगेको थियो ।
सन् २०२३ मा युद्ध सुरु हुँदासमेत कपाल र शृंगारमा करिब १ लाख ३ हजार डलर खर्च भएको थियो । नेतन्याहुको विदेश भ्रमणका क्रममा पनि यस्तो खर्च भएको अभिलेखमा उल्लेख छ ।
सरकारले भने प्रधानमन्त्रीका कपाल मिलाउने व्यक्ति र मेकअप गर्नेको नाम सार्वजनिक गरेको छैन । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही विवरण तथा कपडा, गहना र छवि परामर्शसम्बन्धी खर्चसमेत सार्वजनिक नगरिएको जनाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। दुवै जनालाई चिकित्सकले बिहान १०: २२ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् ।
घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाबारे छानबिन भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्। घटनामा दोषी देखिए कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र नैतिक समिति सदस्य डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ ।
अस्पतालको सेवामा के कमजोरी भयो र सेवाग्राही अस्पताल परिसरबाहिर पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय छानबिनबाट स्पष्ट हुने मन्त्री मेहताले बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामबाट हटाएर थप छानबिन अघि बढाइएको पनि उनले जानकारी दिइन् ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गर्नुका साथै प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थामा शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो। सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएकाले कुनै पनि महिलाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसूति गर्नुपर्ने अवस्था आउन नहुने मन्त्री मेहताले बताइन् । एभरेष्ट न्यूज एजेन्सी