वीरगञ्ज, १२ जेठ । खुला सीमाको फायदा उठाउदै पर्सामा लागूऔषधको सेवनकर्ता मात्रै होइन, तस्करीको जालो तीव्र रूपमा फस्टाउदै गएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनामा मात्रै लागूऔषधको ३१ जना कारोबारी पक्राउ परेका हुन् ।
पक्राउ गरेकाहरूबाट ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख रहेको छ ।
गएको शनिबार राति पर्सा प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई युवकलाई पक्राउ गरे । ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोक तर्फ आउँदै गरेका वीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुर सिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको साथबाट प्रहरीले ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरेको थियो ।
यस्तै वैशाख २५ गते वीरगन्ज–१६ स्थित शंकराचार्य गेट चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका चार जना लागूऔषध तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ६ सय मिलिग्राम खैरो हेरोइन सहित २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कविन पराजुली पक्राउ परेका थिए भने ५ ग्राम खैरो हेरोइन तथा शून्य दशमलव २५ मिलिग्राम सेतो हेरोइन सहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा पक्राउ परेको थियो ।
प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइन सहित २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रोमश बम्जनलाई नियन्त्रणमा लिएको थियो । साथै ५३ वटा प्रतिबन्धित ट्याब्लेट सहित ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँ पनि पक्राउ परेको तथ्याँकमा उल्लेख छ ।
पर्सा प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका कारोबारी पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार वीरगन्ज कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी मध्ये झण्डै आधा जसो लागूऔषध मुद्दासँग सम्बन्धित रहेका हुन् । पछिल्लो समय महिलाहरू समेत लागूऔषध कारोबारमा संलग्न हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार लागुऔषधको कुलतमा फसेकाहरू भारतबाट लुकाइछिपाइ लागूऔषध ल्याउने र सेवन गर्ने प्रवृत्ति बढ्दो छ ।
“कुलतमा फसेकाहरू भारतमा गएर लागूऔषध सेवन गर्ने र नेपाल आउने प्रयास गर्छन्,” उनले भने, “यस्ता व्यक्तिलाई पहिचान र पक्राउ गर्न सूचना प्रणाली नै मुख्य आधार बनेको छ ।”
खुला सीमा, वैज्ञानिक परीक्षण प्रणालीको अभाव तथा भारतमा सहज रूपमा उपलब्ध प्रतिबन्धित औषधिहरूका कारण नेपाली युवाहरु कुलतमा फस्दै जाँदा सुरक्षाकर्मीलाई लागूऔषध नियन्त्रणका लागि मुख्य चुनौती बन्दै गएका छन् ।तराई टोप
रौतहट, जेठ १२ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा सोमबार साँझ आएको हावाहुरीका कारण कच्ची घर भत्किँदा ३५ बर्षिया एक महिलाको मृत्यु भएको छ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक सुमन परियार तथा इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा टोलीले घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
स्थानीय बच्चेलाल रायको टायलको छानो तथा बाँसको बार भएको एकतल्ले कच्ची घर हिजो साँझ करिब ७ः३० बजेको समयमा आएका हावाहुरीका कारण घर भत्किँदा उनकी ३५ वर्षीया श्रीमती फुलकुमारी देवी च्यापिएर गम्भीर घाइते भएकी थिइन्।
घाइते देवीलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाए ।तराई टोप
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका हुन् ।
उनले भने-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।’
सभामुखको आग्रहपछि पनि नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका थिए ।
विपक्षी दलहरूले सरकार प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न आग्रह गरेका छन् ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए पछि शुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ जेठ १२ गते मंगलबार ईस २०२६ मे २६ नेपाल सम्बत ११४६ अनालाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १३ मिनेट देखि ८ बजेर ३४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष राशि
आजको दिन कामकाजमा प्रगति हुने संकेत देखिन्छ। रोकिएका योजना फेरि अघि बढ्न सक्छन् र नयाँ अवसरहरू पनि प्राप्त हुन सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत देखिए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा गलतफहमी हट्नेछ। स्वास्थ्यतर्फ थकान वा तनाव महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।
वृष राशि
आजको दिन स्थिर र सन्तुलित रहने संकेत छ। काममा धैर्य राख्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक सुधार देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुने सम्भावना छ। परिवारबाट सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु आवश्यक छ।
मिथुन राशि
आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।
कर्कट राशि
आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्ने सम्भावना भएकाले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा राहत मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।
सिंह राशि
आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या राशि
आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर धैर्य राख्दा समाधान भेटिनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।
तुला राशि
आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।
वृश्चिक राशि
आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान महसुस हुन सक्छ।
धनु राशि
आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।
मकर राशि
आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कुम्भ राशि
आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।
मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुदैछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ ।
कानुन समितिको बैठक अपराहन्न साढे १२ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक बर्षको प्रगति समिक्षा र आगामी कार्ययोजना बारे छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै होल्डिङ सेन्टरमा समितिले गरेको स्थलगत अनुगमन प्रतिवेदन बारे पनि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
त्यस्तै विहान ११ बजेदेखि शुरु हुने सार्बजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रतिकूल मौसमका कारण विभिन्न प्रसारण लाइन क्षेत्रमा रुख ढल्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिएर मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइरहेका छन् ।
जस अन्तर्गत पिलुवा (पथलैया)–चन्द्रनिगाहपुर प्रसारण लाइन अन्तर्गत टावर नम्बर १२२ र १२३ बीच रुख ढलेर लाइन प्रभावित भएकोमा रुख हटाउने काम सम्पन्न भइसकेको र हाल सर्किट चार्ज गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
सोही खण्डको टावर नम्बर १३६ र १३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको र लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक काम जारी रहेको बताइएको छ ।
यस्तै अमलेखगञ्ज–कामाने खण्ड अन्तर्गत टावर नम्बर ४६ र ४७ बीच रुख ढल्दा उच्च क्षमताको तारमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र तार जडानको काम सुरु गरिएको प्राधिकरणले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा अभियानले सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको जनाएको हो।
अभियानले भ्रष्टाचार, नातावाद र दण्डहीनताको अन्त्य गर्दै नागरिक अधिकार र सम्मानको सुनिश्चितताका लागि जनअभियान सञ्चालन गर्ने बताएको छ ।
अभियानले स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने, सुकुम्बासी तथा भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको छ ।
यस्तै, डिजिटल सुरक्षा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता, छिटो न्याय प्रणाली, सहकारी तथा बैंकिङ समस्या समाधान र २०४६ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । टेस्ट क्रिकेटमा चाँडै ठूलो परिवर्तन देखिन सक्ने संकेत देखिएको छ । अब दिनको समयमा खेलिने टेस्ट खेलमा पनि गुलाबी बल प्रयोग गर्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले छलफल सुरु गरेको छ।
हालसम्म गुलाबी बल केवल दिन-रात टेस्ट खेलमा मात्र प्रयोग हुँदै आएको थियो । तर हालै जिम्बाब्वेको हरारेमा बसेको आईसीसी क्रिकेट समितिको बैठकमा दिनको टेस्ट खेलमा रातो बलको सट्टा गुलाबी बल प्रयोग गर्न सकिने प्रस्तावमाथि छलफल भएको बताइएको छ ।
प्रतिवेदनअनुसार खराब प्रकाश वा वर्षाका बेला रातो बल स्पष्ट नदेखिने समस्या खेलाडी र अम्पायरले झेल्दै आएका छन् । यस्तो अवस्थामा गुलाबी बल बढी स्पष्ट देखिने भएकाले यसको प्रयोग विस्तार गर्ने सुझाव आएको हो ।
आईसीसी बैठक मे २१ मा बसेको थियो भने अब फेरी मे ३०- ३१ मा अहमदावादमा सकिएको थियो । त्यसपछि आगामी अक्टोबर १ देखि नयाँ नियम लागू हुन सक्ने चर्चा सुरु भएको छ । यद्यपि अन्तिम निर्णय भने आईसीसी बोर्डको स्वीकृतिपछि मात्रै हुने बताइएको छ ।
क्रिकेट समितिले गुलाबी बल प्रयोग गर्नुअघि दुवै टोलीको सहमति आवश्यक हुने धारणा राखेको छ । रातो र गुलाबी बलको व्यवहार फरक हुने भएकाले त्यसले ब्याटिङ र बलिङ दुवैमा असर पार्न सक्ने बताइएको छ । यदि यो नियम लागू भएमा टेस्ट क्रिकेटको परम्परागत स्वरूपमै ठूलो परिवर्तन आउने विश्वास गरिएको छ। साथै खराब प्रकाशका कारण खेल रोक्नुपर्ने समस्या पनि कम हुन सक्ने अपेक्षा गरिएको छ।एभरेष्ट न्यूज एजेन्सी