२०८३ बैशाख ५
२०८३ बैशाख ५

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् । संसदभित्रको नकारात्मक कृयाकलापले संसदको गरिमा खस्किदै गइरहेको टिप्पणी उनले गरे ।

प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउदै संसद् संसद् जस्तो नभएको अनुभुति सुनाए ।

‘आजकाल संसद् संसद् जस्तो छैन् । संसद्भित्रको नाकारात्मक कृयाकलापले संसद्को गरिमा खस्किदै गइरहेको हामीले देखिरहेका छौं । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’

सानो दलहरुमाथि संसदमा निषेध भइरहेको उनले बताए । यदी निषेध गरिएको होइन भने संसदको कार्य व्यवस्थामा एक सिट भएको दललाई किन निषेध गरिएको भन्दै प्रश्न उठाएका छन् । अहिले एक सिट भएका तीन वटा दलहरुलाई कार्य व्यवस्थामा किन निषेध गरिएको भन्दै जवाफ माग गरेका छन् ।

‘संवैधानिक समितिहरु, सार्वजनिक सुनुवाई समिति लगायतका कयौं संवैधानिक समितिहरुमा एक सिटवाला सांसद भनेर निषेध गरिएको छ, के त्यसलाई नै लोकतन्त्र भन्छ ? त्यो निषेध होइन भने के समानता हो ? के त्यो प्रतिस्पर्धा हो भनेर प्रश्न उठछ । हैन प्रतिस्पर्धा हो निषेध होइन भने त्यसले के सन्देश दिन खोजेको हो भन्ने प्रश्न उठछ,’ आजपा अध्यक्ष साहले भने ।

संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको उनले बताए । साहले प्रश्न गर्दै भने, ‘के एक सिट हुदैमा पछाडी बस्नुपर्ने ? सत्तापक्षमा भएपछि के अगाडी बस्नुपर्ने ? सिट पलानिङको कुनै मापदण्ड हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौं, सिट १७ वटा छ । त अगाडीबाट १७ जोडेर अर्को १७ गरी एउटा न्यायिक ढंगले गर्नुपर्छ कि पर्दैन ? तर आज ठुलोले सानोलाई हेप्ने, विभेद गर्ने, निषेध गर्ने जो खेल भइरहेको छ, संसदभित्रको यो खेलले देशकोजनतालाई कसरी आश्वस्त गर्ने ? यो सरकार र यहाँका नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध छ, प्रतिस्पर्धामा विश्वास गर्छ । सानोको पनि सम्मान गर्छ भन्ने भाव त कतै देखिएन सभामुखज्यू ।’

ठुलो दल उभ्यो भने संसद अवरुद्ध हुने तर दुई दलले ७० दिनदेखी संसद बहिष्कार गर्दा समेत अवरुद्ध नहुने बताउदै संसद बहिष्कार गर्ने दलहरुसंग सरकारले वार्ता, छलफल पनि गर्न नचाहनु संसदभित्र ठुला दलको दम्भ भएको बताए । साहले २०६३ सालदेखी निन्तर सांसद रहेको, कार्यव्यवस्था समितिका साथै संसदीय व्यवस्था मन्त्रीदेखी संसदीय सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै यस्तो विभेद आफूले कहिल्यै पनि नदेखेको उनले बताए । ६०१ सदस्यी संविधानसभा र ३० वटा दलहुँदा समेत यस्तो विभेद नभएको स्मरण उनले गरे ।

‘आज अनैतिक ढंगले, अप्राकृतिक ढंगले, अप्रजातान्त्रिक ढंगले जो गठबन्धन र जसरी सहकार्य अगाडी बढाइएको छ । सानालाई निषेध गर्ने, लोकतन्त्रलाई निल्ने, जहाँ पनि सिण्डीकेट खडा गर्ने जो काम भइरहेको छ त्यो धेरै लामो जादैन । यसले संसद्को गरिमालाई घटाइरहेको छ । संसदको सम्मानलाई घटाइरहेको छ । लोकतन्त्रमाथि नै प्रश्न उठाइरहेको छ । यसमा गम्भिर ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।

आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
जनता समाजवादी पार्टी नेपाल, रौतहटद्वारा आयोजित नवप्रवेशी सम्मान तथा जिल्ला विस्तारित बैठक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी सहित शीर्ष नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका कटहरीया नगरपालिकाका जुझारु युवा नेता राजाबाबु साहलाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।


राजाबाबु साह, जो नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन्, लामो समयदेखि राजनीति र सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, चुलहाई राय यादव, रामअस्रे चौधरी, पार्टी निर्वाचन आयोग संयोजक विश्वनाथ पटेल, केन्द्रिय सल्लाहकार समिति सदस्यद्वय राजकुमार दास र राम आशिष यादव लगायत जिल्ला कार्य समिति सदस्यहरूको उपस्थिति थियो ।
पार्टीका शीर्ष नेताहरूले राजाबाबु साहको राजनीतिक साहस र जनप्रतिबद्धताको खुलेर प्रशंसा गर्दै जसपाको संगठनात्मक विस्तारमा उनीबाट ठुलो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।
यस नवप्रवेशी सम्मान समारोहले जसपा नेपाल रौतहटमा संगठनात्मक बल थपेको र आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउने दिशामा ठोस पाइला भएको नेताहरूको भनाइ रहेको छ ।U

आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिकाले दीर्घकालीन सिँचाइ समाधानको लक्ष्यसहित नविनतम यान्त्रिक सिँचाइ आयोजनाको घोषणा गरेको छ । नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा आज सम्पन्न एक महत्त्वपूर्ण बैठकबाट आगामी ३ वर्षभित्र नगरपालिका क्षेत्रभित्र ५६ वटा डिप बोरिङ जडान गर्ने निर्णय गरिएको हो ।
बैठकमा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै स्थानीय किसानको जीवनस्तर सुधार गर्न आधुनिक तथा व्यावसायिक खेतीपातीसम्बन्धी तालिमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । यस आयोजनाबाट मौलापुर नगरपालिका अन्तर्गत ३ हजार ७ सय ५० बिघा क्षेत्रफलमा भूमिगत सिँचाइ सुविधा पुगोस् भन्ने लक्ष्य लिइएको छ ।
नगर प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार आयोजनाले किसानहरूलाई समृद्धि र रोजगारीतर्फ उन्मुख गराउनेछ। “यस पहलमार्फत कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जानेछ र उत्पादनमा गुणात्मक सुधार आउनेछ”, उहाँले बताउनुभयो ।
नगरपालिका प्रशासनले उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सम्पूर्ण नगरवासी, विशेष गरी किसानहरूबाट सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिका–११, हिमालीबासमा एक तल्ले ७ कोठे आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उक्त भवनको उद्घाटन गरिन् ।

नगरपालिकाको ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको यो स्वास्थ्य केन्द्रमा २६ लाख रुपैयाँको थप नयाँ भवन पनि तयार भएको छ । स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मेडिकल सामग्रीहरू पनि ९ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको छ । केन्द्रमा हाल भेन्टिलेटर २ थान, नेबुलाईजर २ थान, एक्सरे फोटो मेसिन १ थान, बेड ६ वटा र ट्रली बेड १ थान लगायतका अन्य सामानहरू उपलब्ध छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, स्वास्थ्य संयोजक प्रमोद प्रसाद गुप्ता, सह–संयोजक रमेश प्रसाद यादव, शिक्षा संयोजक सुबोध प्रसाद यादव, हिमालीबास माविका प्रधानाध्यापक बुनिलाल यादव, उपभोक्ता समिति अध्यक्ष अच्युत मैनाली, अहेव कर्मचारी परमेश्वर यादव लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद प्रत्यासी शेख सेराजले आम नागरिककाे स्वास्थ्यलाई मध्यनजर गरि नगरपालिका बाट भएको कामकाे सराहना गरे । अगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम सुझाव दिए ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख खातुनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै भनिन्, “नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै हामी गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा दिन चाहन्छौं।” उनले आगामी दिनमा थप सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भने, “नगरपालिकाको समग्र विकासमा स्वास्थ्य एक महत्वपूर्ण आधार हो । अहिलेको पहलले गाउँमा उपचारको पहुँच सहज बनाउनेछ ।”

उपस्थित वक्ताहरूले खातुनको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भइरहेको सुधारात्मक कामको प्रशंसा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आरके श्रीवास्तव,रौतहट, साउन २१ गते।

“सम्पूर्ण किसान मजदूर एक होऔं, वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौं” भन्ने मूल नारासहित मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल अन्तर्गत भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन गरुडाको ए एन पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन अघि सहभागीहरूले गरुडा नगर परिक्रमा गरी सम्मेलन स्थलमा जुलुस सहित प्रवेश गरेका थिए । सम्मेलनको प्रमुख अतिथि निर्ग नविनले काठमाडौंमा चाँडै हुने आन्दोलनका लागि सबैलाई तयार रहन आह्वान गर्दै भने, “यो केवल रौतहटको सवाल होइन, सम्पूर्ण नेपालभरका किसान मजदुरहरूको साझा लडाइँ हो। अब काठमाडौंमा निर्णायक संघर्ष गर्ने बेला आएको छ।”

कार्यक्रमको अध्यक्षता गर्दै भोजपुरा कमाण्ड इन्चार्ज तथा जिल्ला अध्यक्ष शिवशंकर महतोले भने, “वित्तीय शोषण, विशेषतः मिटरब्याजजस्ता अवैध ऋण प्रणालीका विरुद्ध अहिले सबै किसान मजदुरहरू एकजुट हुनुको विकल्प छैन। न्यायका लागि संयुक्त आन्दोलन अपरिहार्य भइसकेको छ।”

सम्मेलनको बन्द सत्रबाट शिवशंकर महतोको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष मो. ईस्लाम, सचिव राम अकलेश पटेल, सह–सचिव जुनैद अन्सारी, कोषाध्यक्ष शेख मुस्तुफा, तथा सचिवालय सदस्यहरू गुदर बैठा, गोपाल सहनी, हृदय नारायण दास लगायत अन्य सदस्य चयन गरिएका छन् ।

वक्ताहरूले मिटरब्याज पीडित किसान मजदुरको पीडा अब सहनसक्ने अवस्थामा नरहेको भन्दै, राज्यले गम्भीरता नदेखाए सशक्त आन्दोलन अपरिहार्य हुने चेतावनी पनि दिएका थिए । उदघाटन सत्रमा कार्यक्रमकाे उदघाेषण बैधनाथ सहनीले गर्नुभएको थियाे ।

काठमाडौं ।
पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकाका नेताहरूको संयुक्त बैठक बुधबार राजधानीस्थित पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ ।
बैठकले वर्तमान राजनीतिक अवस्थाबारे गहिरो समीक्षा गर्दै, देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र, शोषण र बेथिति विरुद्ध पार्टीको स्पष्ट र दृढ धारणा सार्वजनिक गरेको छ ।
बैठकको अध्यक्षता पार्टीकी उपाध्यक्ष सीमा खानले गर्नुभएको थियो भने सञ्चालन महासचिव अनन्त राईले गर्नुभएको थियो। बैठकमा कोषाध्यक्ष ममताज अन्सारी, उपमहासचिवहरू जनक कार्की र सुरेन्द्र प्रधान, सचिव दिनेश पाख्रिन, उपत्यका इन्चार्ज चन्द्र तामाङ, विदेश विभाग प्रमुख ठाकुरचन्द्र गहतराज, साथै अन्य केन्द्रीय पदाधिकारी तथा उपत्यकाका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।
बैठकले देशभर फैलिएको लुटतन्त्र, अनियमितता र सुशासनको अभावले आम नागरिकको जीवन अस्तव्यस्त भएको ठहर गर्दै, संघीय गणतान्त्रिक गठबन्धनको आव्हानमा संयुक्त जनजागरण अभियान लाई दृढताका साथ अघि बढाउने निर्णय गरेको छ।
यस अभियानअन्तर्गत भदौ ७ गते महोत्तरीको जलेश्वर र भदौ २७ गते काठमाडौँमा भव्य अन्तरक्रिया तथा जनसभा आयोजना गरिने भएको छ ।
बैठकले यी कार्यक्रमहरूलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई पूर्ण तयारीमा जुट्न निर्देशन दिएको छ। साथै काठमाडौँ उपत्यकामा हुने कार्यक्रमको सफल आयोजनाका लागि महासचिव अनन्त राईको नेतृत्वमा १३ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ।
यो अभियान अन्याय, उत्पीडन र भ्रष्टाचारविरुद्ध जनताको आवाज बनेर उठ्ने नेताहरुले बताएका छन् ।
पार्टीले भदौ २७ गते काठमाडौँमा हुने ‘उत्पीडित जनताको मुक्ति आन्दोलन तथा वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा देशभरका आम नागरिकलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ ।

काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने पनि बताएको छ ।

 


कलेज प्रशासनका अनुसार, प्रदेश छात्रवृत्ति अन्तर्गत प्रत्येक प्रदेशबाट चयन भएका एक÷एक जना मेधावी विद्यार्थीलाई १००% शुल्क छुट दिइनेछ । यस छात्रवृत्तिका लागि एसइइ र +२ मा उच्च अंक ल्याएका, आर्थिक रूपले कमजोर, र इन्जिनियरिङ अध्ययनमा गहिरो रुचि भएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ । त्यस्तै, समुदाय छात्रवृत्ति अन्तर्गत सरकारी सामुदायिक विद्यालयमा +२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि पूर्ण वा आंशिक शुल्क छुट दिइनेछ । यस कार्यक्रमले ग्रामीण तथा कमजोर वर्गका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच बढाउने लक्ष्य राखेको छ ।
कलेजको भना समिति २०२५ का संयोजक रुपेश दही श्रेष्ठले बताए अनुसार, प्रदेश र समुदाय छात्रवृत्ति कलेजको समावेशी नीति र सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग हो । यसले राष्ट्रिय समावेशिता र समान अवसर प्रवद्र्धनमा सघाउ पु¥याउँछ, उनले भने ।

 


छात्रवृत्तिका लागि यथाशक्य छिटो सम्पर्क गर्न अनुरोध गरेको छ भने छनोट भएका विद्यार्थीहरूको नाम जतिसक्दो छिटो सार्वजनिक गने जनाइएको छ । आवश्यक कागजात, फारम तथा विवरणहरू नेक कलेजको वेबसाइट र कलेज प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

 


कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नाफा नलिने उद्देश्यका साथ सञ्चालित यस कलेजले देशमा वढी भन्दा वढी इन्जिनियरहरुको उत्पादन होस् भन्ने हेतुले विभिन्न छात्रबतिहरु प्रदान गरी अध्ययन अध्यापन गराइरहेको जानकारी गराए । गैरनाफामूलक रुपमा सञ्चालित कलेजले शान्त वातावरणमा गुणस्तरीय अध्यययन अध्यापन भइरहेको उनले जनाए । त्यसकारण अब इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाइरहेका विद्यार्थीहरूलाइ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिद्वारा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित यस नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछु, उनले भने ।

 


पोखरा विश्वविद्यालयकै उत्कृष्ट कलेज, नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता, १०० भन्दा बढी अनुभवी फुलटाइम फ्याकल्टी, शहरी कोलाहलबाट टाढा, शान्त तथा हरियालीयुक्त वातावरण, आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय तथा रिसर्चका सम्पूर्ण सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय तह, प्रादेशिक, सञ्चालक समिति तथा विश्वविद्यालयगत छात्रवृत्तिहरू, काठमाडौं उपत्यका, काभ्रेसम्मको यातायात सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय गेस्ट लेक्चरहरूको व्यवस्था, समयानुकूल प्रविधियुक्त शिक्षण विधि, सर्वसुलभ शुल्क, गुणस्तरीय शिक्षा कलेजको विशेषताहरु रहेको बेलविस्तार उनले गरे । कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरी सात वटा कायक्रमहरु सञ्चालनमा रहेको जनाइएको छ ।


नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्वशासित संस्था हो, जसले सूचना प्रविधि, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स लगायत इन्जिनियरिङका विभिन्न शाखामा शिक्षण प्रदान गर्दै आएको छ । कलेज भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा अवस्थित छ ।

काठमाडौं ,

एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य सङ्घ (DSM-5 समिति) लाई खुला पत्र लेख्दै “Gender Dysphoria” वा “Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन माग गरेका छन्।

पन्तले पत्रमा भनेका छन्, “यी परिभाषाहरू सुरुमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई स्वास्थ्य सेवा र कानुनी पहिचानमा पहुँच दिनका लागि ल्याइएका थिए भन्ने म बुझ्छु। तर अहिले यी वर्गीकरणले लैङ्गिक विविधतालाई रोगको रूपमा हेर्ने पुरातन र हानिकारक सोचलाई नै बल पुर्‍याइरहेका छन्।”

उनले इतिहास सम्झाउँदै भनेका छन्, “जसरी लामो वैज्ञानिक प्रमाण, अभियान र सांस्कृतिक पुनरावलोकनपछि समलैंगिकता मानसिक रोगको सूचीबाट हटाइयो, त्यसरी नै अब लैङ्गिक विविधताको सन्दर्भमा पनि गहिरो पुनर्विचार आवश्यक छ।”

पन्तले नेपाल, एसिया, अफ्रिका, आदिवासी र मातृसत्तात्मक समाजहरूको उदाहरण दिँदै लेखेका छन्, “तीन लिङ्ग, ट्रान्स वा नन-बाइनरी पहिचानलाई त्यहाँ कहिल्यै रोगको रूपमा लिइएन, बरु सामाजिक, सांस्कृतिक र आध्यात्मिक संरचनामा सम्मानका साथ स्थान दिइएको पाइन्छ।”

पत्रमा पश्चिमेली मनोविज्ञानले अपनाएको पुरुष–महिला दुई वटा मात्रै लिङ्गको सोचलाई उनले “सङ्कीर्ण र सांस्कृतिक रूपमा थोपरिएको” भन्दै आलोचना गरेका छन्। “आजका बालबालिकाहरूलाई फरक पहिचान प्रकट गर्नासाथ ‘गलत शरीरमा जन्मिएको’ भनिन्छ, जुन अवधारणा धेरै आदिवासी समाजहरूमा अस्तित्वमै थिएन,” उनले लेखेका छन्।

पन्तको ठम्याइमा यस्तो श्रेणीकरणले न केवल लैङ्गिक विविधता भएका व्यक्तिहरूमाथि कलङ्क लाग्छ  बरु उनीहरूलाई दुईमध्ये एउटै ‘स्वीकृत’ लिङ्गको बाकसमा जबरजस्ती कोच्ने काम गर्छ।

उनले WHO र DSM समितिसामु चार वटा स्पष्ट माग राखेका छन्—
१. Gender Dysphoria / Gender Incongruence लाई मानसिक रोगको सूचीबाट हटाउने।
२. ट्रान्स, नन-बाइनरी र तेस्रोलिङ्गी व्यक्तिलाई सहयोग गर्ने नयाँ, गैर–रोग केन्द्रित ढाँचा विकास गर्ने।
३. लैङ्गिक विविधतामा सांस्कृतिक र आदिवासी समझदारीलाई समेटेर स्वास्थ्य नीतिमा समावेश गर्ने।
४. स्वास्थ्यकर्मीहरूलाई लैङ्गिक विविधतालाई ‘समस्या’ होइन, विविधता भनेर सम्मान गर्न आवश्यक प्रशिक्षण दिने।

उनले लेखेका छन्, “जसरी संसारले समलैंगिकतालाई रोग होइन भनेर स्वीकार गरिसकेको छ, त्यस्तै सोच अब लैङ्गिक विविधता प्रति पनि आवश्यक छ। धेरै संस्कृतिहरूमा यस्ता व्यक्ति ‘उपचार गर्नुपर्ने केस’ होइनन्, बरु समाजका पूजनीय सदस्य हुन्।”

चञ्चलाको आवाज: “लैङ्गिक पहिचानलाई रोग हैन, दैवी शक्ति ठान्नुपर्छ”

लिड नेपालकी कार्यकारी निर्देशक तथा ‘हाल मायाको पहिचान नेपाल’मा आबद्ध  नुमा लिम्बु(चञ्चला) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानमाथि भइरहेका साँघुरा दृष्टिकोणको कठोर आलोचना गरेकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्, “यदि हाम्रो जे पहिचान हो, त्यही पहिचानलाई स्थिर मानेर, लैङ्गिक पहिचान न…निकालेको भए, पहिचानको साँघुरो चौकोसमा यदि हामीहरूलाई नथुनिएको भए, लैङ्गिक सीमा रेखाहरूले पर्खाल हैन, पुल बनाएको भए, हाम्रो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको जिन्दगी पनि हुन्थ्यो खुला आकाश जस्तै, जहाँ समुदायको लागि माया, सम्मान र समानताको घाम सबैका लागि उत्तिकै चम्किन्थ्यो।”

चञ्चलाले स्पष्ट रूपमा वर्तमान संरचना र सोचलाई चुनौती दिँदै थपेकी छिन्, “विपक्षीहरूले बनाएका साँघुरा खाँबोहरू उखालेर अब हामी आफैँ बनाउनेछौँ एउटै साझा आँगन, जहाँ न त कोही अल्प हुन्छ, न त कोही बहुल।”

उनी समावेशी जीवनको परिकल्पनामा दृढ देखिन्छिन्, “यही बाटो समावेशी जीवनको हो, जहाँ सबै स्वर गुन्जिन्छ एउटा सुन्दर गीत, ‘हामी सबैको अस्तित्व बराबरीका साथ।’ ”

उनले प्रश्न उठाएकी छिन्, “हामी तेस्रोलिङ्ग (वा ट्रान्सजेन्डर वा नन–बाइनरी) व्यक्तिहरूलाई मातृसत्तात्मक संस्कृतिहरूमा विशेष वा दैवी शक्ति भएको, आशीर्वाद दिन, श्राप दिन तथा रोग निको पार्ने शक्ति राख्ने व्यक्तिका रूपमा मानिन्छ। तर अहिलेको पितृसत्तात्मक बाइनरी प्रणालीले भने हामीलाई ‘जेन्डर डिस्फोरिया’ भएको रोगी ठान्छ। तपाईँ आफ्नै बारेमा के विश्वास गर्नुहुन्छ, तपाईँ ‘दैवी’ हुनुहुन्छ कि ‘रोगी’?”

गत शनिवार,

विद्यालोक धरान ग्रन्थको लोकार्पण भएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो । प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा यो ग्रन्थ प्रकाशन गरिएको हो ।

प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरिएको उक्त समारोहका विशिष्ट अतिथि लब्धप्रतिष्ठित व्यक्तित्व सुरेशकुमार शर्मा, विशेष अतिथिहरुमा प्रा.डा. माधवप्रसाद पोखरेल वरिष्ठ, अधिवक्ता श्री हरिहर दाहाल, पब्लिक हाईस्कूलका प्रधानाध्यापक ईन्द्रमोहन झा, राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व कामु सचिव सुरेशकुमार वर्मा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी., अभिनेत्री प्रियङ्का कार्की आदि थिए ।

 

पब्लिक हाईस्कूल धरानका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि रिजालले एनिमेशन गरिएको विद्यालोक धरान ग्रन्थको भिडियो ब्यानर प्रोजेक्टरमार्फत समारोहको उद्घाटन गरेका थिए भने सोभन्दा अघि पं. स्व. छविलाल र पब्लिक हाईस्कूलका पूर्व प्रधानाध्यापक स्व. हरिहरप्रसाद वर्माको तस्वीरबिचमा सरस्वती माताको तस्वीरसहितमा माल्यार्पण तथा दियो बाली समारोहको शुभसाइत गरेका थिए ।

५३२ पृष्ठको ऐतिहासिक ग्रन्थ विद्यालोक धरान ग्रन्थलाई प्रमुख अतिथिसहित मञ्चासीन सबैले संयुक्त रुपमा लोकार्पण गरेका थिए । धरानको शैक्षिक इतिहासका बारेमा विशिष्ट अतिथि सुरेशकुमार शर्माले विस्तृत रुपमा आफ्नो वक्तव्यमार्फत प्रस्तुत गरेका थिए भने खेमनाथ दाहालले पुस्तक प्रकाशनको क्रममा भएका कुराहरुलाई व्यक्त गरेका थिए ।

 

यसैगरी लोकार्पित विद्यालोक ग्रन्थको बिक्रिवितरणबाट जम्मा हुन गएको रकमलाई अक्षयकोष खडा गरी त्यसबाट हुने आम्दानी धरानस्थित सामुदायिक हाईस्कूलहरुमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने कुरा दाहालले बताएका थिए ।

प्रा.डा. कृष्णप्रसाद दाहाल र प्राडा. सजिता वर्माले ग्रन्थको विस्तृत समीक्षा गरेका थिए । त्यसगरी ग्रन्थको विवेचना गर्दै प्रा.डा. माधवप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै अभिनेत्री प्रियङ्का कार्की, इन्द्रमोहन झा, मञ्जु भण्डारी, राजेन्द्रकुमार भण्डारीलगायत मञ्चासीन विशेष अतिथिले ग्रन्थको महत्वका विवषयमा चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी प्रकाशक समूहका तर्फबाट अधिवक्ता देवीबहादुर घिमिरे, बलराम न्यौपाने आदिले ग्रन्थ प्रकाशनको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए । समारोहमा ग्रन्थका सम्पादक रमेश दाहाललाई नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानसहित विद्यालोक धरान ग्रन्थमा उनको कुशल सम्पादकत्वले ग्रन्थलाई उत्कृष्ट तुल्याएको कुराको प्रशंसा गर्दै स–सम्मान कदरपत्र अर्पण गरिएको थियो । कदरपत्र मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले वाचन गरेका थिए ।

चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सञ्चालन गरेको उक्त समारोहमा प्रमुख अतिथिसहित विशिष्ट एवं विशेष अतिथिहरुलाई स्मृतिचिह्न प्रदान गरिएको थियो ।
प्रमुख अतिथि कालीप्रसाद रिजालले ग्रन्थको महत्वको विषयमा चर्चा गर्दै प्रमुख अतिथिय मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा प्रवेशिका परीक्षा समूह–२०२५ धरानका विद्यार्थीहरु डा. सरोज धिताल, महेश अग्रवाल, रामकुमार श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, आनन्द कार्कीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो भने प्रा. डा. यज्ञश्वर निरौला, डा. बुनु दाहाल, डा. शान्तिमाया गिरि, साहित्यकार बिक्रमभक्त जोशी, लक्ष्मण सिटौला, गायिका ऋतु कँडेल, साहित्यकार पार्वती भट्टलगायतका साहित्यकारहरु, पत्रकारहरु, बुद्धिजीविहरु, उद्योगी व्यवसायी एवं आआफ्नो क्षेत्रमा स्वनामधन्य व्यक्तित्वहरुको उपस्थिति थियो । समारोहका सभापति हरिबहादुर कार्कीले धन्यवाद मन्तव्यसहित सभा विसर्जन गरेका थिए ।

आरके श्रीवास्तव,राैतहट,२० गते साउन ।

उखु किसानहरू आफ्नो जायज हकका लागि फेरि सडकमा उत्रिएका छन् । रौतहटको डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज अगाडि मंगलबार उखु उत्पादक संघ रौतहटको नेतृत्वमा किसानहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
संघका अध्यक्ष अशोक यादवको नेतृत्वमा प्रदर्शनमा उत्रिएका किसानहरूले “सरकारले दिने भनिएको अनुदान तुरुन्त उपलब्ध गर, ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दे, अनुदानमा गरिएको ३५ रूपैयाँ कटौती खारेज गर” भन्ने नारासहित आक्रोश पोखेका थिए ।
कटहरिया नगरपालिका–९ डूमरियास्थित मिलको मूलगेट अगाडि गरिएको प्रदर्शनमा किसानहरूले सरकार, उद्योग र व्यापारी त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य निर्धारण र बाँकी अनुदान भुक्तानी गर्न माग गरेका छन् ।

किसान नेताहरूको चेतावनी: “माईतीघर मण्डलामा धर्ना दिन्छौं”
प्रदर्शनका क्रममा बोल्ने अधिकांश नेताहरूले सरकारका बेवास्ता नीतिका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको चेतावनी दिएका छन् । नेपाली कांग्रेसका कुमार चौलागाई, एकीकृत समाजवादीका रामभरोस यादव, जसपाका राजकुमार दास तत्मा र संघ अध्यक्ष अशोक यादवले सरकारलाई तत्काल समस्या सम्बोधन नगरे राजधानीमा आन्दोलन चर्काउने बताए ।
उनीहरूले किसानका माग सम्बोधन नगरेको खण्डमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिए । संघले भदौ ८ गतेदेखि काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिने कार्यक्रम घोषणा गरिसकेको छ ।
चिनी उद्योगसमेत चिन्तित
प्रदर्शनमा उद्योग सञ्चालकको आवाज पनि मिसिएको छ । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सरकारले अनुदान नदिए किसानहरूले उखु उत्पादन घटाउने सम्भावना रहेको बताए । त्यसले गर्दा चिनी उद्योगहरू ५० प्रतिशत मात्र क्षमतामा चल्न बाध्य छन् यसले झन घाटा झेल्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
“सरकारले ७० रूपैयाँमा कटौती गर्दै ३५ रूपैयाँ मात्र दिने निर्णय गरेको छ जुन किसानलाई स्वीकार्य छैन,” उनले भने, “यस आर्थिक वर्षदेखि त पूर्ण अनुदान नै हटाइएको छ। त्यसैले किसान आक्रोशित छन्।”
१ अर्ब ६० करोडको अनुदान अझै बाँकी
संघका अनुसार आर्थिक वर्ष २०८१/८२ को उखु अनुदानअन्तर्गत करिब १ अर्ब ६० करोड रुपैयाँ सरकारसँग बाँकी रहेको छ । चिनी उद्योगहरूले किसानलाई भुक्तानी गरिसकेको भए पनि सरकारी अनुदान रोकिएको किसानहरूको गुनासो छ ।
नेपाल उखु उत्पादक महासंघको सर्लाही हरिवनमा बसेको बैठकपछि त्रिपक्षीय वार्ता र बाँकी अनुदान तुरुन्त भुक्तानी गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो । पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको थियो भने साउन २० गते आज चिनी मिल अगाडि प्रदर्शन गरिएको हो।
संघले सरकारले माग सुनुवाइ नगरे चरणबद्ध आन्दोलन गर्दै जनदबाब सिर्जना गर्ने बताएको छ।

यो आन्दोलनले फेरि एक पटक सरकार, उद्योग र किसानबीचको सम्बन्धलाई पुनः परीक्षणमा ल्याएको छ । किसानको माग तत्काल सम्बोधन नभए, देशव्यापी आन्दोलन चर्किने संकेत मिलेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।