२०८३ आश्विन २४
२०८३ आश्विन २४

आजको राशिफल बिस २०८३ असार ७ गते आइतबार ईस २०२६ जुन २१ नेपाल सम्बत ११४६ तछलाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल सप्तमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, सिद्धि योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय बुवा दिवस मनाइँदै, १२औं अन्तर्राष्ट्रिय योग दिवस र विश्व सङ्गीत दिवस मनाइँदैछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज आत्मविश्वास बढ्नेछ र काममा नयाँ गति आउनेछ। रोकिएका काम अघि बढ्ने सम्भावना छ। नयाँ जिम्मेवारी आउन सक्छ र तपाईंले त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक पक्ष सामान्य सुधारतर्फ देखिए पनि खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा खुसीको वातावरण बन्न सक्छ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर आराममा ध्यान दिनु राम्रो हुन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र स्थिर सोचले राम्रो परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा साना चुनौती आए पनि समाधान सम्भव हुनेछ। पुराना प्रयासबाट लाभ मिल्ने संकेत छन्। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारमा समझदारी बढ्नेछ र सम्बन्ध अझ मजबुत बन्नेछ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। मानसिक शान्तिले दिन सहज बनाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज व्यस्तता बढ्नेछ तर उपलब्धिमूलक रहनेछ। धेरै जिम्मेवारी एकैपटक सम्हाल्नुपर्ने हुन सक्छ। सहकर्मीको सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ तर खर्च बढ्न सक्छ, त्यसैले योजना बनाएर चल्नु राम्रो हुन्छ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। नयाँ परिचय भविष्यका लागि उपयोगी बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँग समय बिताउने अवसर मिल्नेछ। घरमा खुसी र शान्त वातावरण बन्न सक्छ। पुराना तनाव कम हुँदै जानेछन्। कार्यक्षेत्रमा मेहनतको कदर हुनेछ। आर्थिक पक्षमा सुधार देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक शान्ति प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता देखाउने राम्रो अवसर मिल्नेछ। तपाईंका विचारलाई महत्व दिइनेछ। आर्थिक रूपमा दिन राम्रो देखिए पनि ठूला निर्णय गर्दा सावधानी आवश्यक छ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। परिवारको सहयोगले आत्मबल बढ्नेछ। ऊर्जा उच्च रहनेछ र काममा उत्साह बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन र सिकाइका लागि राम्रो दिन हो। नयाँ ज्ञान प्राप्त हुने सम्भावना छ। काममा सुधार देखिए पनि धैर्य आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवारमा सानो खुसीको वातावरण बन्न सक्छ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। रोकिएको रकम फिर्ता हुन सक्छ वा नयाँ आम्दानीका बाटो खुल्न सक्छन्। काममा सहकर्मीको सहयोग मिल्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सक्रियता बढ्नेछ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनतको राम्रो फल प्राप्त हुने दिन हो। प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभका अवसर देखिन सक्छन्। परिवारमा खुसीको समाचार आउन सक्छ। सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ योजना भविष्यका लागि उपयोगी बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज उत्साह र ऊर्जा उच्च रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। काममा प्रगति देखिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ। आत्मविश्वासले दिनलाई सफल बनाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढ्न सक्छ तर धैर्यले काम सहज बनाउनेछ। खर्चमा ध्यान दिनु आवश्यक छ। परिवारको सहयोगले मनोबल बढ्नेछ। काममा दबाब आउन सक्छ। स्वास्थ्यमा थकान हुन सक्छ, आराम आवश्यक छ। दिनको अन्त्यतिर सन्तोष मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो। काममा प्रगति देखिनेछ। साथीभाइको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज मिश्रित दिन रहनेछ। केही काम सहज बन्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारको साथले मन शान्त रहनेछ। निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। अन्त्यतिर राम्रो संकेत वा समाचार प्राप्त हुन सक्छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । दक्षिण भारतका अभिनेता अल्लु अर्जुन कानुनी झमेलामा फसेका छन् ।

सन् २०२४ डिसेम्बर ४ मा चलचित्र पुष्पा- २ को विशेष प्रदर्शनका क्रममा भएको भागदौड (भीड नियन्त्रण बाहिर गएर भएको दुर्घटना) सम्बन्धी मुद्दामा अदालतले उनलाई हाजिर हुन आदेश दिएपछि उनी कानुनी झमेलामा परेका हुन् ।

हैदराबादस्थित नामपल्ली अदालतले यस घटनासँग जोडिएका व्यक्तिहरूलाई समन जारी गर्दै यही जुन २२ मा अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।

घटना  २०२४ डिसेम्बर ४ मा संध्या थियटर बाहिर भएको थियो, जहाँ विशेष प्रदर्शनका क्रममा ठूलो संख्यामा दर्शक भेला भएका थिए । आफ्नो मनपर्ने कलाकारको झलक हेर्न हजारौं फ्यानहरू थियटर बाहिर जम्मा भएपछि भीड अत्यधिक बढेको थियो ।

प्राप्त विवरणअनुसार अभिनेता अल्लु अर्जुन आफ्नो कारको सनरुफबाट बाहिर निस्केर फ्यानलाई हात हल्लाइरहेका बेला अचानक भीड अनियन्त्रित भई भागदौड मच्चिएको थियो । सो दुर्घटनामा रेभती नामकी एक महिलाको ज्यान गएको थियो भने उनका छोरा श्री तेजा गम्भीर रूपमा घाइते भएका थिए । प्रहरी अनुसन्धानमा अल्लु अर्जुनलाई आरोपी नम्बर ११ (ए ११) का रूपमा सूचीकृत गरिएको छ । थियटर व्यवस्थापनलाई भने आरोपी नम्बर १ देखि १० सम्म राखिएको छ । यस घटनामा कुल १९ जनालाई समन जारी गरिएको छ भने २३ जनाविरुद्ध अभियोग पत्र दायर भइसकेको छ ।

घटनापछि अल्लु अर्जुन र उनका परिवारले पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए । उनका पिता तथा चलचित्र निर्माता अल्लु अरविन्दले रेभतीको परिवारलाई २ करोड भारु सहयोग दिने घोषणा गरेका थिए । अब सबैको ध्यान जुन २२ गते हुने सुनुवाइमा केन्द्रित छ, जहाँ यस मुद्दाको आगामी दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ई मा आज राति जर्मनी र आइभरी कोस्ट आमनेसामने हुँदैछन् ।  टोरन्टोमा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिन लागेका हुन् । चार पटकका विश्व विजेता जर्मनीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको नयाँ टोली कुरासाओलाई ७-१ ले पराजित गरेको थियो । यो जितसँगै उनीहरूले पछिल्ला १० खेलमा लगातार जित निकाल्ने यात्रा कायम राखेका छन्, जुन सन् १९७९ देखि १९८० पछि देखिएको सबैभन्दा लामो जितको सिरिज हो ।

उता आइभरी कोस्टले भने निकै संघर्षपूर्ण जित हात पारेको थियो । इक्वेडरसँगको खेलमा उनीहरूले अन्तिम समयमा अमाद डियालोको गोलमार्फत १-० को जित निकाल्दै तीन अंक जोडेका थिए ।

जर्मनीका लागि फेलिक्स नेमेचा, निको श्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिस उन्डाभले पहिलो खेलमा गोल गरेका थिए भने काइ हाभर्ट्सले दुई गोल थपेका थिए । हाभर्ट्स पछिल्ला चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार गोल गर्ने एक मात्र जर्मन खेलाडी बनेका छन् । यस अवधिमा उनको गोल संख्या आठ पुगेको छ, जुन उनका सहकर्मीभन्दा दोब्बर हो ।

तर रक्षापंक्तिमा जर्मनी केही कमजोर देखिएको छ । उनीहरूले पछिल्ला सात विश्वकप खेलमा क्लिन सिट राख्न सकेका छैनन् । साथै सन् २००६ पछि पहिलो दुई खेल लगातार जित्ने अवसर पनि उनीहरूलाई यो पटक आएको छ ।

आइभरी कोस्टका लागि भने यो अवसर ऐतिहासिक हुन सक्छ । उनीहरू पहिलो पटक एउटै विश्वकप संस्करणमा लगातार दुई जित निकाल्ने लक्ष्यमा छन् । साथै पहिलो पटक लगातार क्लिन सिट राख्ने प्रयासमा पनि छन् ।

इक्वेडरविरुद्धको खेलमा उनीहरूले १२ प्रहार सामना गरे पनि गोल हुन दिएनन् । अन्तिम समयमा अमाद डियालोले विल्फ्रेड सिङ्गोको पासलाई गोलमा परिणत गर्दै जित दिलाएका थिए । यो गोल विश्वकपमा विकल्प खेलाडीबाट आएको सबैभन्दा ढिलो निर्णायक गोलमध्ये एक मानिएको छ ।

यदि अमादले जर्मनीविरुद्ध सुरुवाती टोलीमा स्थान पाए भने उनी लगातार दुई खेलमा गोल गर्ने आइभरी कोस्टका दोस्रो खेलाडी बन्न सक्नेछन् । दुवै टोली यसअघि केवल एक पटक मात्र आमनेसामने भएका छन् । सन् २००९ मा भएको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो ।

इतिहास हेर्दा जर्मनीले अफ्रिकी टोलीविरुद्ध खेलेका विश्वकप खेलमध्ये धेरैमा राम्रो नतिजा निकालेको छ भने आइभरी कोस्टले युरोपेली टोलीविरुद्ध सीमित सफलता मात्र पाएको छ ।

अब दुवै टोलीका लागि यो खेल समूह चरणको निर्णायक मोड बन्न सक्ने अपेक्षा गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।

पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा भूमिगत इन्धन भण्डारण ट्याङ्की रहेको क्षेत्रको विशेष सुरक्षा गरिने जनाइएको छ । त्यसबाहेकका अन्य संरचना भने हटाइनेछन् ।

सेती नदीतर्फ रहेको बास्तोला कम्प्लेक्ससहित बाँकी संरचना शनिबार हटाउने कार्य सुरु गरिने र संरचना हटाइसकेपछि त्यहाँ रहेका निर्माण सामग्री व्यवस्थापन गरी क्षेत्र पूर्ण रूपमा सफा गरिने बताइएको छ ।

यता, सुकुम्वासी बस्ती व्यवस्थापनअन्तर्गत ५७२ परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको छ । गलत वा झुट्टा विवरण पेस गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिदै सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउने काम नगरिने स्पष्ट पारेको छ । साथै, लालपुर्जा भएका जग्गाधनीहरूको छानबिन कार्य पनि तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

महानगरले अनधिकृत सूचना प्रवाह तथा राजनीतिक उद्देश्यले गरिने गतिविधिमाथि निगरानी बढाइने बताएको छ । गैर-सुकुम्वासी व्यक्तिहरूलाई सुकुम्वासी नेताका रूपमा प्रस्तुत नहुन पनि आग्रह गरिएको छ । विवरण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि सुकुम्वासी बस्तीलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ ।

सडक विभागअन्तर्गत सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने तयारी गरेको हो ।

यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा करिब एक हजार दुई सय घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै खाली नगरिएको जनाइएको छ ।

सडक विभागले यसअघि सूचना जारी गर्दै सम्बन्धित घरधनीलाई निश्चित समयभित्र आफैं संरचना हटाउन आग्रह गरेको थियो । तर तोकिएको अवधि बितिसक्दा पनि संरचना नहटाइएकाले अब विभाग आफैंले डोजर प्रयोग गरेर बाँकी संरचना हटाउने निर्णय गरेको हो ।

यसका लागि सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक जनशक्ति, सुरक्षा तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ । सडक विभागले सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण अभियानअन्तर्गत यो कार्य अघि बढाउन लागेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि उनी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न प्रवेश गरेका थिए । सोही क्रममा घरधनीकी श्रीमतीले देखेपछि हल्ला गरेपछि घटना बाहिर आएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का १८ वर्षीय जुमुन मियाँ रहेका छन् । प्रहरीका अनुसार उनको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उक्त गाडी २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवन क्षेत्रबाट हराएको गाडी भएको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए । उजुरीका आधारमा बर्दिबासस्थित अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट सडक ढलान योजना सम्झौताअनुसार सम्पन्न भइसकेपछि पनि भुक्तानी रोक्दै घुस मागी रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ७२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ ।

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ । विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।

जात्राको यसबाहेक अन्य किंवदन्ती पनि छन्। पहिलो किंवदन्ती अनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन् । उनको उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैं निस्किए भनिन्छ । दोस्रो किंवदन्ती अनुसार कुनै समय किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद सुरु भएको थियो । तेस्रो किंवदन्ती अनुसार राजा वरदेवको शासनकालमा अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याइएको बताइएको छ ।

भोटो जात्राको किम्वदन्ती 

भोटो जात्रामा काठमाडौँमा रहेका सबै मानिसलगायत देशको उच्च पदाधिकारी भोटो हेर्न सहभागी हुनेछन् । विसं २००८ देखि भोटो देखाउने चलन चल्दैआएको हो । जात्रामा मनुष्य लगायत देव, दैत्य, भूत, प्रेत, पिशाच, गन्धर्व, किन्नर, नाग र गरुडसमेत उपस्थित हुने मान्यता छ । किंवदन्तीअनुसार पाटनका राजा वरदेवको शासनकालमा कर्काेटक नागराजाकी रानीको आँखा दुखेछ । रानीको आँखा अनेक उपाय गर्दा पनि निको नभएपछि आँखाको उपचार गर्ने वैद्या खोज्दै नागराजा हिँडेछन् । राजा कर्काट नागले खेत खनिरहेका एक किसानलाई ‘तिमीलाई आँखाको उपचार गर्न आउँछ’ भनी सोधेछन् ।

किसानले नसक्ने बताए पनि कर्काटकले टौदह लगी पोखरीको दरबारमा छिराएछन् । ती किसानले रोग निको पार्ने तरिका नजाने पनि शरीरबाट मयल निकाली रानीको आँखा निको गराइदिए । त्यही खुशीमा राजा कर्काेट नागले किसानलाई उपहार माग्न भनेछन् । उपहारका रुपमा किसानले नागराजले राखेको मणिजडित भोटो मागेछ । किसानले त्यो भोटो लिएर पुनः खेत खन्न गएछन् । फुकालेर खेतमा राखेको भोटा भूतले लिई भागेछ ।

समयसँगै मच्छिन्द्रनाथको रथजात्रा चल्दै गएछ । जात्रा हेर्न भुत त्यो भोटो लगाएर जाउलाखेल आएछ । किसानले भोटो देखी त्यो आफ्नो भोटो भनेछ । भुतले हैन मेरो हो भन्दा भन्दै ठूलो झगडा भएछ । कर्काेटक नागराजा पनि त्यहीँ जात्रा हेर्न आएका रहेछन् । उनले त्यो भोटो आफूले किसानलाई दिएको बताउँदा पनि भुतले मानेनछ । तिनीहरु तीनैबीच  झगडा भएपछि राजा वरदेवले त्यो कुरा सुनेछन् ।

राजाले तीनै जनाको विवाद मिलाउन नसकी प्रमाणसहित आउन आग्रह गरेछन् । त्यसै बेलादेखि “यो कसको भोटो हो” भनी चारै दिशा फर्काएर भोटो देखाउने परम्परा रहेको किंवदन्तीमा उल्लेख छ ।  मच्छिन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । चैत पूर्णिमाको दिन विधिवत् पूजा गरिएको भोलिपल्ट रथ निर्माणको शुभारम्भ गरी वैशाख पूर्णिमासम्ममा समाप्त गरिएको थियो ।

पुल्चोकबाट मच्छिन्द्रनाथ रथजात्रा शुरु भई जावलाखेलमा भोटो जात्रा देखाउने चलन परापूर्वकालदेखि चल्दै आएको हो  । यस वर्ष वैशाख २५ साँझमा मच्छिन्द्रनाथको रथ तानिएको थियो । रथ तानेको पहिलो दिन मच्छिन्द्रनाथलाई पाटनको गाःबहाल, सुन्धारा, लगनखेल लगी महाबलि दिइयो । यस वर्ष लगनखेल लगेपछि ५५ वर्षीय ञँवाल प्रेम डंगोलले नरिवाल खसालेका थिए ।यस वर्ष नरिवल खसालिएको भोलिपल्ट सयौँको महिलाले  रथ ताने जसलाई नेवारी भाषामा ‘याक मिसा भुजा’ पर्व भनिन्छ । याक मिसा भुजा’ पर्व सम्पन्न भएको २० दिनपछि रथलाई जावलाखेल लग्न लागिएको हो । रथलाई इटिटोल हुँदै मानभवन, कुमारीपाटी हुँदै जावलाखेल लगिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलमा छिटो बाहिरिने खतरामा रहेका टर्की र पाराग्वेबीच आज बिहान निर्णायक भिडन्त हुने भएको छ । सान फ्रान्सिस्कोमा हुने यो खेल नेपाली समय अनुसार  आज बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ ।

पाराग्वे पहिलो खेलमै आयोजक अमेरिकासँग ४-१ गोल अन्तरले ले पराजित भएको थियो । टर्की भने अस्ट्रेलियासँग २-० होलले हारेको थियो । टर्कीले विश्वकप इतिहासमा दोस्रो पटक मात्रै गोल गर्न नसकेको अवस्था हो, जसले उनीहरूको आक्रमण कमजोर देखिएको छ ।

यद्यपि टर्कीले खेलमा आक्रामक प्रयास धेरै गरेको थियो । प्रशिक्षक भिन्चेन्जो मोन्टेलाको टोलीले मध्य भागबाट खेल तोड्ने धेरै पासहरू खेलेको थियो र ३० प्रहार पनि गरेको थियो । तीमध्ये आठ प्रहार रियल माद्रिदका आर्दा गुलेरबाट आएका थिए । तर अस्ट्रेलियाका नवोदित गोलरक्षक प्याट्रिक बिचले आठ उत्कृष्ट बचाउ गर्दै टर्कीलाई रोकिदिएको थियो । टर्की यसअघि स्पेनसँग ६-० ले पराजित भएपछि लगातार आठ खेल अपराजित रहेको थियो । तर अब लगातार दुई हारको जोखिम पनि देखिएको छ, जुन अवस्था उनीहरूले २०२४ मार्चपछि भोगेका छैनन् ।

अर्कोतर्फ पाराग्वेले पछिल्ला चार विश्वकप खेलमा जित निकाल्न सकेको छैन । अमेरिका विरुद्धको खेलमा उनीहरू पहिलो हाफमै ३–० ले पछि परेका थिए । उनीहरूको रक्षात्मक खेल पनि कमजोर देखियो, जसमा धेरै गल्तीहरू भए । प्रशिक्षक गुस्ताभो अल्फारोको टोलीले दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल जस्ता ठूला टोलीलाई हराउँदै राम्रो छाप छोडेको थियो । तर विश्वकपमा उनीहरूको प्रदर्शन निराशाजनक बन्दै गएको छ ।

पाराग्वेका युवा खेलाडी जुलियो एनसिसो यस खेलमा महत्वपूर्ण मानिन्छन् । उनले आफ्नो देशका लागि सबैभन्दा कम उमेरमा विश्वकप योगदान गर्ने खेलाडीमध्ये नाम लेखाइसकेका छन् । उनीसँगै मिगेल अल्मिरोन र एन्टोनियो सानाब्रिया पनि आक्रमणमा जिम्मेवारीमा रहनेछन् ।

टर्की भने कप्तान हाकान चालनोग्लुको नेतृत्वमा धैर्यपूर्वक खेल नियन्त्रण गर्ने शैलीमा देखिन्छ । फेर्दी कादिओग्लु टर्कीको बायाँ भागमा मुख्य खेलाडी बनेका छन्, जसले अष्ट्रेलिया विरुद्ध धेरै अवसर सिर्जना गरेका थिए । यो खेलले दुई फरक शैली आमनेसामने ल्याउनेछ । टर्की बल नियन्त्रण र योजनाबद्ध खेलमा विश्वास गर्छ भने पाराग्वे छिटो आक्रमण र सीधा खेलमा भर पर्छ ।

टर्की र पाराग्वे पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् । यसअघि सन् १९९५ मा चिलीमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल नेपालको कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ र अन्य भू-भागमा स्थानीय वायू तथा पूर्वीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका केहि स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग  साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ ।मधेश प्रदेश र अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेशमा एक-दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।