२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते । 

रौतहटको गरूडा देखि समनपुर जोड्ने मुख्य सडकखण्ड अन्तर्गत चाँदी खाेला भन्दा अगाडि र मलाहीटाेलकाे बिचमा कज्वे क्षेत्र नजिकैको सडकमा पानीको ओभरफ्लो हुँदा आवागमनमा समस्या हुँदै आएको छ । अलिकति पानी परे पनि सडकमा पानी जमेर बग्ने अवस्था सिर्जना हुने गरेको छ, जसले गर्दा दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई ठूलो सास्ती हुने गरेको छ ।

 

स्थानीयहरूका अनुसार वर्षा भएलगत्तै सडकभरि पानी जमेर नदीझैं बग्ने स्थिति आउँछ । यस बाटो भएर विद्यार्थी, कर्मचारी, व्यापारीदेखि लिएर एम्बुलेन्स र भिआइपि सवारीसम्म गुड्ने गर्दछन् । तर यस्तो गम्भीर समस्याप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।

 

“हाम्रो माग कुनै नयाँ सुविधा होइन, यतिका वर्षदेखि यो समस्यालाई सम्बन्धित निकायहरूले वेवास्ता गरिरहेका छन्,” एक स्थानीयले गुनासो गरेका छन् । उनका अनुसार खासगरी विद्यालय समयमा विद्यार्थीहरू भीडमा जोखिम मोल्दै स्कुल जान बाध्य छन् ।

 

यो सडकखण्ड सडक डिभिजन राैतहट तथा स्थानिय तहको जिम्मेवारी क्षेत्रभित्र पर्छ । तर अहिलेसम्म स्थायी समाधानका लागि कुनै पहल नदेखिएको भन्दै स्थानीयवासीहरू आक्रोशित छन् ।

 

स्थानीय प्रशासन तथा सडक डिभिजन कार्यालयले समस्या समाधानका लागि तत्काल ध्यान नदिए जनप्रदर्शन गर्ने चेतावनीसमेत स्थानीयहरूबाट आएको छ ।

काठमाडौँ,  भदौ २१ गते ।

आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।

नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ ।

बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची (नेपाली समय अनुसार) :

विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे

खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे

ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे

खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे

विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे

जम्मा अवधिः ५ घण्टा २७ मिनेट

चन्द्रग्रहण देखिने कारण

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।

अवलोकन र प्रभाव

चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ । सभार गोरखापत्र

आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते । 

२२ औं निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय गरुडा, रौतहटमा विशेष सरसफाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कार्यालयका कर्मचारीहरूबीच आपसी सहकार्य र सेवा भावनाको सम्मानस्वरूप उत्कृष्ट कर्मचारी छनोट गरि सम्मान गरिएको हो ।

उक्त अवसरमा मालपोत कार्यालयमा कार्यरत सुब्बा अरविन्द कुमार यादवलाई उत्कृष्ट कार्यसम्पादन, इमान्दारिता, शिष्ट व्यवहार तथा सेवा प्रतिको समर्पणका आधारमा “सर्वोत्कृष्ट कर्मचारी” घोषणा गर्दै सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यालय प्रमुख मालपोत अधिकृत मोहन कुमार पाठकले यादवको योगदानले कार्यालयको प्रतिष्ठा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कर्मचारीहरूबाट प्रेरणा लिइने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो, जसमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको मालपोत कार्यालय गरूडाका कर्मचारी हरिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।

 

मालपोत कार्यालय गरुडाले निजामती सेवा दिवसलाई सेवा, इमानदारी र समर्पणको भावना अभिवृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको छ ।

२२ भदौ, काठमाडौँ ।

सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।

नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ ।

“सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ”, महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भने । यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिए ।

महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ ।

अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।

क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । महासङ्घले अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ ।

सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तरराष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धतासमेत महासङ्घले जनाएको छ । सुर्य खबर

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते । 

दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा डिम्पल झा स्मृतिमा स्थापित छात्रवृत्ति तथा छोरी संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा छोरी जन्माउने आमाहरूलाई सम्मानस्वरूप नगद पाँच–पाँच हजार रुपैयाँ वितरण गरिएको छ भने शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कक्षा १२ मा ३.६ जिपिए प्राप्त गरेकी अनुष्का राम र ज्योति सराफलाई जनही नगद २५ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको वडा अध्यक्ष डिके झाले जानकारी गराउनु भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पूर्व मन्त्री अनिल कुमार झा थिए । उनले दिवंगत नेतृ डिम्पल झाले मधेस प्रदेश र आफ्नाे गाउँसमाजकाे लागि पुर्‍याएकाे योगदानलाई स्मरण गर्दै यस्तो प्रेरणादायी कार्यक्रम विरलै मात्र हेर्न पाइने बताएका थिए। उनले कार्यक्रम सफल रूपमा सम्पन्न गर्नुभएका वडा अध्यक्ष डी.के. झालाई विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, नेता रेवन्त झा, मैथिली ब्राह्मण संघका कोषाध्यक्ष नवीन झा, मनोज झा, स्थानीय पत्रकार, भद्रभलाद्मी, अभिभावक, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष डी.के. झाले कार्यक्रममा जानकारी दिँदै भन्नुभयो, “हाम्रो वडा मात्रै हैन, सिंगो समाजमा शिक्षा र छोरीको सम्मानको संस्कृति फैलियोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आएका छौं । यसअघि पनि एमबिबिएस अध्ययनमा नाम निकालेका दुई छात्रालाई जनही ५१ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरेका थियौं।” उहाँले यस्ता दर्जनौं सम्मान तथा पुरस्कारहरूको स्थापनाकाे योजना अघि सारिएको जानकारी पनि दिनुभयो ।

 

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २१ गते । 

लामो अन्तरालपछि मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा

शनिबार राति देखि परेको वर्षाले स्थानीय किसानहरूमा खुसी छाएको छ । रौतहट लगायतका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएपछि खेतबारी सिँचाइ गर्न सजिलो भएको छ भने धान लगायतका बाली सिँचाइका लागि पानीको आपूर्तिमा सहजता आएको छ ।

 

विगत केही हप्तादेखि वर्षा नहुँदा धान रोपाइँ भएपनि प्रभावित बनेको थियो । कतिपय स्थानमा रोपिएका धानहरू सुक्न थालेका थिए । तर हालको वर्षाले खेतीयोग्य जमिनमा चिस्यान आएको भन्दै किसानहरूमा उत्साह देखिएको छ ।

 

कटहरिया ८ पिप्रा पाेखरियाका स्थानीय किसान संताेष यादव भन्छन्, “यसपाली समयमा पानी नपर्दा धेरै चिन्ता थियो । अब भने ढिलो भए पनि धान बालीलाई प्रत्यक्ष लाभ भएको देखिएको छ । खेतीको मुख्य सिजनमा पानी पर्नु निकै ठूलो राहत हो।”

 

वर्षासँगै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । सरकार सँग समयमा मलखाद उपलब्ध गराउन किसानहरूले माग गरेका छन् ।

 

काठमाडौं, २१ भदौ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् ।

‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष साह सहभागि हुने कार्यक्रम रहेको छ ।

आजपा निकटको आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट नयाँ दिल्लीमा विभिन्न पेशाव्यवसायमा रहेका नेपालीहरुको सहभागिता रहने साहको सचिवालयले जनाएको छ ।

यस अघि हालै आजपा अध्यक्ष साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि भएका थिए । आजपा नेपाल सहित विदेशमा समेत कमिटी बिस्तार गर्ने क्रममा रहेको छ ।

दिल्लीमा आजपा अध्यक्ष भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यही रहेका नेपाली उधोगी, व्यापारी, बिद्यार्थी लगायतकासंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजपा अध्यक्ष साह आठ बर्षपछि पहिलो पटक दिल्ली पुगेका हुन् ।

दिल्लीको कार्यक्रम सम्पन्न भएको केही समयपश्चात आजपाले मलेसिया, दुवई, कतार लगायतका मुलुकमा समेत संगठन बिस्तार गर्दै बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २१ गते । 

नेपाली कांग्रेस कटहरिया नगर समितिको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) हुनुहुन्थ्यो ।

 

कार्यक्रममा मन्त्री यादवले कार्यकर्ताहरूसँग खुला संवाद गर्दै पार्टीभित्रको आन्तरिक एकता, संगठनात्मक सुदृढीकरण, तथा स्थानीय सरकारको उत्तरदायित्वबारे महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “पार्टी बलियो भए मात्र सरकार बलियो हुन्छ । संगठन सशक्त नभएसम्म जनताका मुद्दा उठाउन सकिँदैन। अहिलेको आवश्यकता भनेको कार्यकर्ता र नेतृत्वबीचको विश्वासको सेतु निर्माण गर्नु हो।”

अर्थमन्त्री यादवले कार्यकर्ताको गुनासो सुन्ने र समाधान गर्ने जिम्मेवारी नेताहरूको भएको उल्लेख गर्दै, पार्टीले सबैलाई समेट्ने नीति अवलम्बन गरिरहेको स्पष्ट पार्नुभयो । साथै, उहाँले पार्टीले आगामी निर्वाचनलाई लक्ष्य गरी नीति, संगठन र सञ्जाल तीनवटै क्षेत्रमा तयारी तीव्र पारिरहेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा कार्यकर्ताहरूले स्थानिय तहमा देखिएका समस्या, नेतृत्वप्रतिको असन्तुष्टि, तथा कार्यसम्पादनमा पारदर्शिता लगायतका विषयमा गुनासाहरू राखेका थिए । मन्त्री यादवले सबै कुरा ध्यानपूर्वक सुन्दै आवश्यक कदम चालिने प्रतिबद्धता जनाउनुभयो ।

 

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस कटहरिया नगर समितिका अध्यक्ष शम्भुकान्त यादवले गर्नुभएको थियो । उहाँले सबै कार्यकर्तालाई संगठन बलियो बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नगरका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै दर्जनौं कार्यकर्ताको उपस्थिति रहेको थियो । छलफलात्मक वातावरणमा सम्पन्न भएको यस कार्यक्रममा सहभागीहरूले भविष्यमा यस्ता कार्यक्रमलाई अझ नियमित गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ २१ गते । 

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवले फतुवा विजयपुर नगरपालिका वडा नं ३ मेवामा जनतासँग भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन् ।

 

उक्त कार्यक्रममा नेता यादवले आफ्नो पार्टी नेपाली कांग्रेसको वडा नम्बर ३ का वर्तमान वडाध्यक्ष रामईश्वर राय यादवले गरेका कार्यहरूको मूल्यांकन गर्न स्थानीय जनताको राय लिएका थिए । उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा स्थानीय स्तरका सेवा सुविधाको अभावबारे गहिरो चासो व्यक्त गर्नुभयो ।

“पार्टीले जनता प्रतिको उत्तरदायित्व पूरा गर्न सक्नुपर्छ,” यादवले भने, “हामी नेताहरू जनताको सेवक हौं, त्यसैले जनताको आवाज सुन्नु र बुझ्नु हाम्रो पहिलो कर्तव्य हो।”

 

स्थानीय बासिन्दाहरूले पनि वडामा भइरहेका कार्यहरूको बारेमा खुलेर प्रतिक्रिया दिएका थिए । कतिपयले विकास निर्माणमा सुधारको माग गरेका थिए भने केहीले वर्तमान नेतृत्वको प्रयासको सराहना समेत गरेका थिए ।

कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता, युवाहरु, महिलाहरू तथा बृद्धबृद्धाहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।

 

नेता यादवले आगामी दिनहरूमा थप पारदर्शिता, जवाफदेहिता र जनतामुखी नीति मार्फत नेपाली कांग्रेसलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

ओम प्रकाश यादव,राैतहट,भदौ २१ गते । 

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आउँदो यही भदौ ३१ गतेदेखि असोज १ गतेसम्म हुने जसपा नेपालको मधेश प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नेता यादवले घोषणा गरेका हुन् ।

देशमै सबभन्दा ठूलो जनाधार रहेको जसपा नेपालको मधेश प्रदेशको अधिवेशन यही भदौ ३१ गतेदेखि सुरु हुन लागेको छ।

नयाँ नेतृत्व चयनका लागि जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको हुन् लागेको अधिवेशनमा जसपा नेपालका चर्चित प्रभावशाली नेता मानिने पूर्व राज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको लामोसमय सहयात्री र सहयोगी भएर विगतमा काम गरिसकेका, मधेश प्रदेश सरकारमा लगातार पाँच वर्ष राज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका, पार्टीको मधेश प्रदेशको राजनीतिमा बलियो पकड बनाउन सफल, प्रदेशको राजनीतिमा ठूलो योगदान दिएका र विद्यार्थी जीवनदेखि नै मधेशलाई आधार बनाएर राजनीति गर्दै आएका योगेन्द्र राय यादव जसपा नेपालको मधेश प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीमा नयाँ तरंग पैदा गरेको छ।

निकै संघर्षशील र मेहनती भएका योगेन्द्र यादवको उम्मेदवारी घोषणाले चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ भने उनको जीत लगभग सुनिश्चित जस्तै नै रहेको पार्टीका नेताहरु बताउँछन् ।

नेता योगेन्द्र यादवले चुनाव लड्ने लक्ष्यका साथ नै विगत केही महिनादेखि मधेस प्रदेशका आठवटै जिल्लामा नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए ।

मधेशको सबै जिल्लामा जसपा नेपालका शीर्ष नेता देखि लिएर प्रदेश र जिल्लाका अधिकांश नेता कार्यकर्ताहरु भित्री रूपमा प्रदेश अध्यक्षमा योगेन्द्र राय यादवलाई नै सघाउने रणनीति बनाइसकेका छन्।

त्यस कारण प्रदेश अध्यक्षमा योगेन्द्र यादवको जीत सुनिश्चित नै रहेको नेताहरुको दावी छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थितिमा जनकपुरधाममा भव्य समारोहकाबीच जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन यही भदौ ३१ गते हुँदैछ।

भदौ ३१ गते अधिवेशनको उद्घटानसत्र हुने र असोज १ गते देखि बन्दसत्र सुरु हुने कार्यक्रम रहेको छ।

प्रदेश अध्यक्षका आकांक्षी अहिलेसम्म दुईजना योगेन्द्र यादव र हालका प्रदेश अध्यक्ष बालकिशोर यादव मात्र देखिएका छन्।

वर्तमान प्रदेश अध्यक्ष बालकिशोर यादव पुनः प्रदेश अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।