तनहुँ, १८ बैशाख ।
दुई साता देखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन ।
दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।
राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।
भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भए पछि नेपाल आएका थिए । आफान्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरे पछि खोजि गरिदिन उनले अपिल गरेका छन् ।
काठमाडौं, १८ बैशाख ।
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आज देखी खुला हुने भएका छन् ।
भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानीनाकासहित अन्य चिनिया नाकाहरु पनि सोमबारदेखि खुला हुने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।
जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजवाट खुल्नेछन् ।
चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पुर्ण रुपमा सुचारु हुन सकेका थिएनन ।
चितवन, १८ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् ।
चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।
‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भने । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले आफनो सरकार पाँचै बर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।
काठमाडौं, १८ वैशाख
नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका मागमा आफ्नो पनि समर्थन रहेको बताएका छन्। शनिबार माइतीघर मण्डला पुगेर नेविसंघका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका शाहीले पुनका मागमा समर्थन जनाएका हुन्।
‘उहाँका माग राज्यका लागि हितकर छन्। ती माग सम्बोधनमा सरकारले ढिलाइ गर्नु हुँदैन,’ उनले भने। पुन नेतृत्वको टोली चार दिनदेखि माइतीघर मण्डलामा धर्नारत रहेको छ।
‘महावीर पुन नवप्रवर्तन र आविष्कारका लागि राज्यले प्राथमिकता दिओस् भनेर सडकमा पुग्नु भएको छ। यो राज्यको दायित्व नै हो। पुनका माग सम्बोधनमा सरकारले कुनै बहानाबिना कार्य थालनी गर्नुपर्छ,’ उनले भने।
पुनका माग सम्बोधन गर्दै सरकारले आविष्कार केन्द्रका लागि बजेट विनियोजन गर्नुपर्ने उनले बताए।
काठमाडौ, १८ बैशाख ।
एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ ।

नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।
काठमाडाैं, १८ बैशाख ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले श्रमिकहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वर्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने जनाएका छन् ।
सभापति देउवाले मे १ तारिख— मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइदै आएका जनाएका छन् ।
‘विसंं २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बीपी कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो,’ देउवाले स्मरण गर्दै भनेका छन, ‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो, त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’
विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको पनि सभापति देउवाले जनाएका छन । ‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ, उहाँहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने छ’ देउवाले शुभकामना सन्देशमा भनेका छन् ।
काठमाडौं, १८ वैशाख ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
साेमवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार दुइ पैसाले बढेको अमेरिकी डलर सोमबार भने स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ६४ पैसाले वृद्धि भएको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २० पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ एक रुपैयाँ ७१ पैसाले बढेको छ। यसको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा तोकिएको छ। आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
सोमबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । यि दुवैको भाउ आज स्थिर रहेको छ ।
सोमबार मलेसियन रिंगिट पनि स्थिर रहेको छ । यसको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २० पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११ पैसा तोकिएको छ।
काठमाडौं, १८ बैशाख ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ ।
लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो ।
आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १–० को अग्रता लिन सुरु गरेको थियो । त्यसको दुई मिनेट पछि लुइस डियाजले थप गोल गर्दै लिभरपुलको अग्रता पाँच मिनेटमा नै दोब्बर पारे ।
लिभरपुल यसै रोकिने पक्षमा थिएन, मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल १५औं मिनेटमा पुग्दा ३–०को अग्रता लिन सफल भयो ।
तर, खेलको ४०औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे पछि टोटनहोमले लिभरपुललाई ३–१ को स्थीतिमा ल्याउन सफल भयो । र, पहिलो हाफ ३–१ को स्थीतिमा टुंगियो ।
दोस्रो हाफको ७७औं मिनेटमा टोटनहोमका सनले क्रिष्टियन गोल गर्दै खेललाई ३–२ को स्थितिमा फर्काए ।
उता, इन्ज्युरी समय तेस्रो मिनेटमा रिचार्लीसनले सनको पासमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याईदिए । तर, त्यसको एक मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुललाई ४–३ को आश्चर्यजनकजित दिलाए ।
यस जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।
काठमाडौं, १८ वैशाख
नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौंमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताए। आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए। दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।
यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ। भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए।
पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ। यसले तराईका जिल्लामा गर्मी कम भएको छ। काठमाडौंमा भने चिसो बढेको छ।
काठमाडौं, १८ वैशाख
राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्।
राष्ट्रपति आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्।
उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो।
राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते श्री एयरलाइन्सको जहाजमार्फत भारत लगिएको थियो।
राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो।