२०८३ आश्विन २१
२०८३ आश्विन २१

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको सरकारका प्रतिशोधी हरकतहरू उदाङ्गो र असफल हुँदै गएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले राज्यका संवैधानिक तथा अनुसन्धान निकायमाथि दबाब सिर्जना गरी अनुसन्धानका नाममा लामो समयसम्म थुनामा राख्ने र दुराशयपूर्ण मुद्दा दर्ता गर्ने काम भइरहेको  आरोप लगाउदै यस्ता गतिविधि अहिले उदाङ्गो र असफल बन्दै गएको बताएका हुन् ।

ज्ञवालीले सरकारको राजनीतिक प्रतिशोधको शृङ्खला नरोकिएको भन्दै सिंहदरबारभित्र अदृश्य समूहले कानुन हातमा लिएको जस्तो देखिने गतिविधिबारे सार्वजनिक भइरहेका समाचारले गम्भीर चिन्ता पैदा गरेको बताएका छन् ।

उनले भनेका छन्- विभिन्न नेताहरू, व्यवसायीहरू र कर्मचारीहरूलाई मिडिया ट्रायल एवं मिथ्यासूचनाका माध्यमबाट बदनाम गर्ने, राज्यका संवैधानिक र अन्य अनुसन्धान निकायलाई दबाव दिएर अनुसन्धानका नाममा लामो समयसम्म थुनामा राख्ने एवं उनीहरू विरुद्ध दुराशययुक्त मुद्दा लगाउने सरकारका प्रतिशोधी हरकतहरू उदाङ्गो र असफल हुँदैछन् । र पनि, राजनीतिक प्रतिशोधको यो शृङ्खला जारी छ । सिँहदरबारमा अदृश्य समूहले कानुन हातमा लिँदै गरेका क्रियाकलाप सम्बन्धी मिडिया कभरेज  पढ्दा आङै सिरिङ्ग हुने !एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । काठमाडौं महानगरपालिका–४ स्थित कतार भिसा केन्द्रअगाडिको सडकमा शुक्रबार पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एउटा ट्याक्सी तथा तीन वटा मोटरसाइकल संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारसँग ट्याक्सी र तीन मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक तथा यात्रुसहित १० जना घाइते भएका छन् ।

घाइतेमध्ये काठमाडौं बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बूको टाउको र हातमा गम्भीर चोट लागेको छ। अन्य घाइतेमा सिवानी शाही, सुशान्त शाही, विकी शाहा, उर्जा लामा, निउजित शाह, विष्णुमाया खापुङ, पार्वती तामाङ, बिनोद थापा मगर र जीवन राना मगर रहेका छन्। उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराह इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सका आगामी कप्तान बन्न सक्ने सम्भावना बढेको छ । टोलीका वर्तमान कप्तान हार्दिक पाण्ड्या र एक पूर्व भारतीय कप्तानलाई अर्को टोलीमा पठाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । मुख्य प्रशिक्षक महेला जयवर्धनेसहित प्रशिक्षक टोलीमा समेत परिवर्तन हुन सक्ने बताइएको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार यी विषयमा अन्तिम निर्णय अर्को साता इङ्ल्यान्डमा हुने समीक्षा बैठकबाट हुन सक्नेछ । बैठकमा अम्बानी परिवारका सदस्य तथा टोलीका उच्च अधिकारी सहभागी हुनेछन् । पछिल्ला पाँच सिजनमा मुम्बई इन्डियन्सको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन । पछिल्लो सिजनमा टोलीले चार खेल मात्र जित्दै आठ अंकसहित नवौँ स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको थियो । मुम्बईले पछिल्लोपटक सन् २०२० मा रोहित शर्माको कप्तानीमा आईपीएल उपाधि जितेको थियो । त्यस फाइनलमा मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो ।

मुम्बई इन्डियन्सले २७ नोभेम्बर २०२३ मा हार्दिक पाण्ड्यालाई अर्को टोलीबाट ल्याएर कप्तान बनाएको थियो । तर उनको नेतृत्वमा पनि टोलीको प्रदर्शनमा सुधार आउन सकेन। टोलीभित्र असमझदारी र समूहगत विवाद रहेको चर्चा बाहिर आए पनि यसबारे टोली व्यवस्थापन वा खेलाडीहरूले आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

ड्रेसिङ रुमको वातावरण र पटक पटक परिवर्तन भएका रणनीतिले टोलीको प्रदर्शनमा असर परेको बताइएको छ । हार्दिक पाण्ड्याको कप्तानीमा मुम्बईले ३९ खेल खेल्दा १५ खेलमा मात्र जित हात पारेको छ ।

मुम्बई इन्डियन्स सन् २०२७ को सिजनका लागि स्थायी कप्तान नियुक्त गर्ने योजनामा रहेको बताइएको छ । टोलीले अस्थायी कप्तानको भरमा अघि बढ्न नचाहेको जनाइएको छ। कप्तानीको दौडमा जसप्रित बुमराह सबैभन्दा अगाडि देखिएका छन् । पछिल्ला तीन सिजनमा उनको प्रदर्शन निरन्तर उत्कृष्ट रहँदै आएको छ । सन् २०२६ को आईपीएलमा हार्दिक पाण्ड्या र सूर्यकुमार यादव अनुपस्थित हुँदा बुमराहले पञ्जाब किङ्सविरुद्ध मुम्बईको कप्तानी गरेका थिए । त्यस क्रममा बुमराहले आफूले मुम्बईको कप्तानी गर्नुअघि भारतीय टेस्ट टोलीको कप्तान बन्ने कल्पना नगरेको बताएका थिए ।

बुमराहबाहेक तिलक वर्माको नाम पनि कप्तानीका लागि चर्चामा छ । तर छोटो ढाँचाको क्रिकेटमा उनको पछिल्लो प्रदर्शन अपेक्षाअनुसार नरहेको र कम उमेरमै कप्तानीको जिम्मेवारी दिँदा उनको ब्याटिङमा असर पर्न सक्ने अनुमान गरिएको छ ।

मुम्बई इन्डियन्सका अलराउन्डर तथा पूर्व कप्तान हार्दिक पाण्ड्याको भविष्यलाई लिएर पनि चर्चा बढेको छ। विभिन्न टोलीहरूले उनलाई भित्र्याउन इच्छा देखाएको बताइएको छ । अर्को साता हुने समीक्षा बैठकपछि मात्र हार्दिक पाण्ड्याको भविष्यबारे स्पष्ट निर्णय आउने सम्भावना रहेको छ र उनले मुम्बई छोड्ने लगभग निश्चित प्राय: रहेको दाबि गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत चार समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

आज दिउसो १ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलको कार्यसूची रहेको छ । छलफलमा अर्थमन्त्री, अर्थ सचिव, कानुन सचिव र राष्ट्र बैंकका प्रतिनिधिहरुलाई बोलाइएको समितिले जानकारी दिएको छ ।

त्यसैगरी विहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ । छलफलमा आदिवासी जनजाति आयोगका अध्यक्ष र सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव, विज्ञहरू डा. गोविन्द टण्डन, सोम धिमाल, निलकमल चापागाईं र भिम नेपाल तथा यूनेस्को नेपालका प्रतिनिधिलाई बोलाइएको छ ।

त्यस्तै दिनको १२ बजेदेखि बस्ने गरि वोलाइएको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन  रणनीति बारे छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय समावेशीआयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउछन् ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । त्यस्तै साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको बताइन्छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ । त्यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जनाएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थानमा, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भू-भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।  बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका साथै कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन १ गते शुक्रबार ईस २०२६ जुलाई १७ नेपाल सम्बत ११४६ दिल्लाथ्व तृतिया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल तृतिया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ०२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज साउने संक्रान्ति परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नयाँ महिनाको पहिलो दिन भएकाले तपाईंभित्र नयाँ उत्साह र केही फरक गर्ने ऊर्जा जाग्नेछ। लामो समयदेखि रोकिएका काम अघि बढाउने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको आत्मविश्वास, लगनशीलता र निर्णय क्षमता प्रभावकारी रहनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ भने नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिनेछ र आर्थिक रूपमा आम्दानी बढ्ने संकेत छ। खर्च गर्दा भविष्यलाई ध्यानमा राखेर योजना बनाउनु उपयुक्त हुनेछ। परिवारमा खुसी, मेलमिलाप र सहयोगको वातावरण कायम रहनेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर कामको चापका बीच आरामलाई पनि महत्त्व दिनु आवश्यक हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, विवेक र संयमले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। कार्यक्षेत्रमा विगतको मेहनतको फल प्राप्त हुने सम्भावना बलियो छ। सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट आवश्यक सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नियमित आम्दानी बढ्ने संकेत देखिन्छ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत गर्ने योजना सफल बन्नेछ। परिवारका सदस्यहरूसँग आत्मीयता बढ्नेछ र घरमा सुखद वातावरण रहनेछ। पुराना साथीसँगको भेट वा संवादले मन हल्का बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशील सोच, प्रभावकारी अभिव्यक्ति र सकारात्मक व्यवहारले धेरैको मन जित्नेछ। कार्यक्षेत्रमा नयाँ योजना सफल हुने सम्भावना छ। अध्ययन, लेखन, सञ्चार, शिक्षा तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छन्। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ र सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह तथा स्फूर्ति कायम रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग सम्बन्धित विषयले मनमा खुसी ल्याउनेछ। परिवारका सदस्यहरूको साथ, सहयोग र विश्वासले आत्मबल बढाउनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारीबोध र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ। नयाँ योजना बनाउन वा महत्त्वपूर्ण निर्णय लिन दिन अनुकूल रहनेछ। कुनै शुभ समाचारले मनलाई थप उत्साहित बनाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता, आत्मविश्वास र साहसका कारण विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ अवसर प्राप्त हुने सम्भावना छ। व्यापार–व्यवसायमा विस्तारका सम्भावना देखिनेछन्। आर्थिक रूपमा लाभका अवसर प्राप्त भए पनि सोचविचार गरेर मात्र लगानी गर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ अनुभव र ज्ञानले भविष्यमा राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले थप स्फूर्ति प्रदान गर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन पनि सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप सुदृढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि ऊर्जावान महसुस हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। भविष्यका योजना बनाउन तथा नयाँ लक्ष्य निर्धारण गर्न दिन निकै अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि र आत्मविश्वास दुवै बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति तथा उत्साह कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना बलियो छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ, जसले भविष्यप्रति नयाँ आशा र उत्साह थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर वृद्धि हुँदै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले विहिबार आफ्नो प्रतिवेदन पेश गरेको हो ।

२०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४ मा “देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने’ उल्लेख छ ।

सोही अनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्याद भित्र अर्थात आज आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले २२ वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यस क्रममा पूर्वराष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतृत्व, संविधानविद्, कानूनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुन सचिव, पूर्वप्रशासक, विभिन्न क्षेत्रमा क्रियाशिल महिला, सञ्चारकर्मी र निजी क्षेत्रका प्रतिनिधिसहित १८४ जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको थियो ।

साथै संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एशोसिएसन, विभिन्न धार्मिक संघसंस्थाहरु लगायत १५० भन्दा बढी संघ–संस्थाहरूसँग लिखित सुझाव माग गरिएको थियो ।

आम नागरिकको सुझावका लागि वेबसाइटमा सूचना प्रकाशन गरिएकामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र ह्वाट्सएप मार्फत कुल ४४,६१३ वटा डिजिटल सुझावहरू प्राप्त भएका थिए भने टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएका थिए ।

नेपालको संविधान निर्माणका ऐतिहासिक दस्तावेज, संविधानसभाका समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजिरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न २० वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारांश सहितको प्रतिवेदन तयार गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ ।  मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) लाई जबर्जस्ती करणी मुद्दामा सात वर्ष कैद सजाय भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई सात वर्ष कैदका साथै तीन लाख जरिवानाको तोकेको हो । उनलाइ गत मंगलबार अदालतले दोषी ठहर गरेको थियो ।

एक युवतीलाई सहयोगको आवरणमा बर्षौंसम्म यौनशोषण गरेको अभियोगमा गत वर्ष उनीविरुद्ध मद्दा दायर भएको थियो । अहिराजविरुद्ध २०८१ चैत्र २५ मा पक्राउ पुर्जी जारी भएकोमा २०८२ को साउन ४ गते पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले उनलाई २०८२ साउन १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि हाल उनी कारागारमै रहेका छन् ।

जिल्ला अदालतको यो फैसलाविरुद्ध अहिराज माथिल्ला अदालतमा पुनरावेदनमा जान सक्ने कानुनी व्यवस्था भने रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सरकारले संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी हुन् ।

यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।  तर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ को मन्त्रिपरिषद्को बैठकबाट सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको मन्त्री गौतमले बताएकी छन् ।

सरकारको यो निर्णयसँगै संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९ सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।