२०८३ आश्विन २१
२०८३ आश्विन २१

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

समितिले सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।

स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले गत जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ भाडा खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई पुरानै दररेटमा सम्झौताको म्याद थप गरिएको, सेवा सुरु हुनुअघि नै भाडा भुक्तानी गरिएको, सेवा सुरु भएपछि पनि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाई आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । सन् २०१२ मा प्राविधिक रुपमा असफल बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनौट गरिएको गम्भीर विश्लेषणसहितको प्रतिवेदन समितिले मन्त्रालयलाई बुझाएको छ । त्यस्तै, प्रयोग गरिरहेको स्याटेलाइटको ‘डिजाइन लाइफ’ सकिने बेलामा सोहि सेवा प्रदायकसँग थप १० मेगाहर्ज ब्याण्डविथ खरिद गर्नेगरी सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ ।

यस्ता कार्यका कारण विभिन्न अवधिमा नेपाल टेलिभिजनलाई आर्थिक क्षति पुगेको अध्ययन समितिले उल्लेख गरेको छ । त्यस्तै, स्याटेलाइट ब्याण्डविथको भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्ण रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ । यसले वित्तीय अनुशासन र राजस्व व्यवस्थापनमा समेत गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ ।

अध्ययन समितिले सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई हानि पुग्ने गरी निर्णय गरेको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि सिफारिस गरिएको छ । सञ्चालक समितिले निर्णयमा हेलचक्य्राइँ गर्दा सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनको सबै च्यानल  करिब ३० मिनेट प्रशारण बन्द भएको पनि प्रतिवेदनमा जनाइएको छ ।

त्यस्तै, नेपाल टेलिभिजनभन्दा बाहिरबाट सञ्चालक समितिमा नियुक्त भएका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञताअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पनि प्रतिवेदनले औँल्याएको छ । लागत अनुमान तयार गर्ने क्रममा भएको लापरबाही तथा अस्वाभाविक निर्णयले संस्थालाई गम्भीर आर्थिक भार परेको निष्कर्ष अध्ययन समितिको छ ।

नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए । प्रतिस्पर्धा बिनै खरिद, प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्षसहित प्रतिवेदनले सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज जुलाई १८ का अवसरमा विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा घोषणा गरेको यो दिवस दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति तथा रंगभेदविरोधी आन्दोलनका अग्रणी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीको सम्झनामा प्रत्येक वर्ष मनाउने गरिन्छ ।

यस दिवसको उद्देश्य मण्डेलाले जीवनभर अघि सारेका मानव अधिकार, समानता, शान्ति, मेलमिलाप तथा सामाजिक न्यायका मूल्यलाई आत्मसात् गर्दै समाजसेवामा सहभागी हुन विश्व समुदायलाई प्रेरित गर्नु हो । दिवसको मुख्य सन्देशका रूपमा प्रत्येक व्यक्तिलाई कम्तीमा ६७ मिनेट समाजसेवामा समर्पित गर्न आग्रह गरिन्छ । यो समय मण्डेलाले सामाजिक न्याय र मानव अधिकारका लागि गरेको ६७ वर्षको संघर्षको प्रतीक मानिन्छ ।

नेल्सन मण्डेलाले सन् २००८ मा दिएको एक सम्बोधनमा विश्वका युवालाई अन्याय र विभेदविरुद्ध नेतृत्व लिन आह्वान गर्दै ‘अब जिम्मेवारी तपाईंहरूको हातमा छ’ भन्ने सन्देश दिएका थिए । त्यसैबाट प्रेरित हुँदै सन् २००९ मा नेल्सन मण्डेला प्रतिष्ठानले उनको जन्मदिनमा समुदाय सेवाको अभियान सुरु गरेको थियो । पछि सोही वर्ष संयुक्त राष्ट्रसंघको महासभाले जुलाई १८ लाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघको औपचारिक आयोजनासहित पहिलो पटक यो दिवस सन् २०१० मा मनाइएको थियो ।

यो दिवस सार्वजनिक बिदाको रूपमा नभई समाजका लागि सकारात्मक योगदान गर्ने कार्य दिवसका रूपमा मनाइन्छ । विश्वभर व्यक्ति, संस्था र समुदायले स्वयंसेवा, सहयोग तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरी मण्डेलाको आदर्शलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार साँझ पाण्डेको काठमाडौंको विशालगरस्थित आफ्नै निवासमा निधन भएको हो । पाण्डे पछिल्लो समय प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।

उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत बनेका पाण्डे पछिल्लो समय भने नागरिक अगुवाको भूमिकामा रहेका थिए । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जनाएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ ।कोशी, बागमती, गण्डकी ,लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

त्यस्तै दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भू-भागको धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  देशका पहाडी भू-भाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी देखि  अति भारी वर्षाको समेत सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन २ गते शनिबार ईस २०२६ जुलाई १८ नेपाल सम्बत ११४६ दिल्लाथ्व  पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल पञ्चमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, वरियान योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइदै छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ सोचलाई व्यवहारमा उतार्ने अवसर प्राप्त हुनेछ। लामो समयदेखि योजना बनाइरहेका काममा गति आउने सम्भावना देखिन्छ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता, निर्णय क्षमता र नेतृत्व कौशलको प्रशंसा हुनेछ। वरिष्ठ व्यक्तिसँगको सम्बन्ध अझ बलियो बन्नेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा आम्दानी बढ्ने संकेत देखिन्छ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ। परिवारमा खुसी, मेलमिलाप र आत्मीयताको वातावरण रहनेछ। साथीभाइसँगको भेटघाटले मन हल्का र उत्साहित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर नियमित आराम र सन्तुलित खानपानमा ध्यान दिनु आवश्यक हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, विवेक र संयमले तपाईंलाई महत्त्वपूर्ण उपलब्धितर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा विगतको मेहनतको सकारात्मक परिणाम प्राप्त हुने सम्भावना बलियो छ। सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट आवश्यक सहयोग मिल्नेछ। व्यापार–व्यवसायमा नियमित लाभ प्राप्त हुनेछ र आर्थिक अवस्था क्रमशः बलियो बन्नेछ। बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूसँग आत्मीय सम्बन्ध कायम रहनेछ। आफन्तसँगको भेट वा कुराकानीले मनमा नयाँ ऊर्जा थप्नेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ र मानसिक शान्ति कायम रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशील सोच, प्रभावकारी अभिव्यक्ति र व्यवहारले धेरैको ध्यान आकर्षित गर्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन अत्यन्त फलदायी रहनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना देखिन्छ। परिवारसँग खुसीका क्षण बित्नेछन्। नयाँ चिनजानले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि उल्लेखनीय रूपमा बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँग सम्बन्धित विषयमा खुसीको वातावरण रहनेछ। परिवारका सदस्यहरूको साथ, सहयोग र विश्वासले मनोबल बढाउनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ। भविष्यका योजना बनाउन र महत्त्वपूर्ण निर्णय लिन दिन अनुकूल रहनेछ। प्रियजनसँगको आत्मीय संवादले मनलाई थप प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता, साहस र आत्मविश्वासका कारण तपाईंले विशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ अवसर पनि प्राप्त हुनेछ। व्यापार–व्यवसायमा विस्तारका सम्भावना देखिनेछन्। आर्थिक रूपमा लाभका अवसर देखिए पनि दीर्घकालीन सोचका साथ निर्णय गर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा स्फूर्ति कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले उत्कृष्ट परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्चमा सावधानी अपनाउनु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ अनुभवले भविष्यमा राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले थप ऊर्जा प्रदान गर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन पनि सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, आत्मविश्वास र उत्साहले नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। भविष्यका योजना बनाउन र नयाँ लक्ष्य निर्धारण गर्न दिन अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम लिनु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि र आत्मविश्वास दुवै बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह र स्फूर्ति कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना बलियो छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ, जसले भविष्यप्रति नयाँ आशा, ऊर्जा र उत्साह थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास निरन्तर बढ्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण हटाउन सरकारले सात दिन भित्र हटाउन निर्देशन दिएको छ।

गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन निर्देशन दिएको हो।

समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउन सूचना जारी गरिएको समितिले जनाएको छ।

सूचनामा तोकिएको समयभित्र अतिक्रमण हटाइएको नपाइए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने छ ।

भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले विगतका आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिएको छ।यसै क्रममा  जनकपुर क्षेत्रका अतिक्रमित गुठी जग्गा, पोखरी तथा सार्वजनिक सम्पत्तिको संरक्षण अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । इरानले अमेरिकाले शुक्रबार गरेको पछिल्लो आक्रमणमा मकरान क्षेत्रस्थित चाबहार बन्दरगाहको समुद्री यातायात नियन्त्रण टावर ध्वस्त भएको दाबी गरेको छ । इरानले यसलाई घृणित आक्रमणको संज्ञा दिँदै यसबाट माछा मार्ने समुदायको जीविकोपार्जन र सर्वसाधारणको समुद्री सुरक्षामाथि प्रहार भएको जनाएको छ ।

इरानी समाचार संस्था तस्निमका अनुसार अमेरिकाले तीनवटा क्षेप्यास्त्र प्रहार गरी पूर्ण रूपमा नागरिक प्रयोजनमा रहेको संरचना नष्ट गरेको इरानको दाबी छ । इरानले अत्यावश्यक पूर्वाधारमाथिको यो आक्रमणले पश्चिमी मुलुकको दोहोरो मापदण्ड र अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रतिको बेवास्ता उजागर गरेको आरोप लगाएको छ ।

यसैबीच, इरानले आफ्नो प्रतिआक्रमणको १५औँ चरणअन्तर्गत कतारस्थित अमेरिकी अल उदैद हवाई अड्डालाई लक्ष्य बनाएको दाबी गरेको छ । इरानी सरकारी प्रसारण संस्थाका अनुसार इस्लामिक रिभोलुसनरी गार्डले जारी गरेको वक्तव्यमा लामो दूरीको राडार प्रणाली तथा अमेरिकी सेनाका रणनीतिक इन्धन भर्ने केही विमानमा क्षति पुगेको उल्लेख गरिएको छ ।

गार्डले अमेरिकासहित आफ्नो क्षेत्रमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न दिने देशहरूले नागरिक र पूर्वाधारमाथि आक्रमणको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । यस्ता आक्रमण जारी रहे अझ कडा जवाफ दिइने पनि इरानले जनाएको छ ।

इरानी अधिकारीहरूका अनुसार अमेरिकाले दक्षिणी इरानका विभिन्न पुललाई पनि निशाना बनाएको छ । होर्मोजगान प्रान्तको प्रशासनलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले बन्दर अब्बासतर्फ जाने धेरै पुलमा आक्रमण भएको जनाएको छ। यसअघि बन्दर अब्बासस्थित रेल जङ्सनमा पनि आक्रमण भएको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ।

मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ।

समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिइएको छ।एभरेष्ट न्यूज एजेन्सी

कपिलवस्तु । सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहविरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाइएको छ ।

नगर प्रवक्ता हरिपाल चतुर्वेदीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत निष्पक्ष अनुसन्धान गरी निर्दोषमाथि कारबाही नगर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा असार २८ गते कृष्णनगरस्थित शाह कम्प्लेक्समा भएको विवाद मिलाउन मात्र सांसद शाह र नगर प्रमुख शाह घटनास्थल पुगेको दाबी गर्दै उनीहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा झुटो मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ । माग सम्बोधन नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

यसैबीच, उक्त मुद्दाको विरोधमा शुक्रबार कृष्णनगर र बहादुरगञ्ज बजार दिनभर बन्द गरिएको छ । व्यापारीहरूले स्वतःस्फूर्त रूपमा बजार बन्द गर्दै मुद्दा फिर्ता लिन माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भने दुवै पक्षका मुद्दामा पक्राउ पुर्जी जारी गरी प्रतिवादीहरूको खोजी भइरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थुनछेक आदेश जारी गरेको हो । आदेशअनुसार पौडेल अब साधारण तारेखमा उपस्थित हुँदै मुद्दाको सुनुवाइ प्रक्रिया सामना गर्नेछन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत लुकाउने वातावरण निर्माण गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको भूमिका खेलेको आरोप लगाउदै पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनि गरी कुल १६ जनालाई प्रतिवादी बनाइएको थियो ।

पौडेलले यहि असार ८ गते सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ गरिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।