२०८३ आश्विन २१
२०८३ आश्विन २१

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ।

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ ।

मन्त्रालयले नेपाल बाल संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको थियो। सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो। तर निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ।

पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहका केही कर्मचारीबाट समेत त्यहाँको अवस्थाबारे भिडियोहरू मन्त्रालयमा प्राप्त भएका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम रहेको देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए ।

यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन् ।

उनले यस विषयमा सहरको कानुनी विभागसँग छलफल भइरहेको उल्लेख गर्दै कानुनले अनुमति दिएअनुसार नै आफूले निर्णय गर्ने बताएका छन् । ममदानीले नेतन्याहूको स्थान नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा हुनुपर्ने आफ्नो धारणा पनि दोहोर्याएका छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ नोभेम्बरमा गाजामा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

न्युयोर्क टाइम्सको एक अन्तर्वार्तामा ममदानीले नेतन्याहू युद्ध अपराधको आरोप खेपिरहेका व्यक्ति भएको र धेरै मानिसको धारणा पनि त्यही रहेको बताएका छन् ।

यता, संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डाननले ममदानीमाथि यहुदी समुदायविरुद्धको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । उनले ममदानीले बढ्दो यहुदीविरोधी गतिविधिको सामना गर्नुको सट्टा इजरायलविरुद्ध माहोल बनाइरहेको टिप्पणी गरेका छन् ।

डाननले नेतन्याहूले सेप्टेम्बर २२ देखि २८ सम्म हुने संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने पुष्टि गर्दै मेयरको अभिव्यक्तिले त्यसमा कुनै प्रभाव नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेतन्याहू होइन, बरु न्युयोर्कका मेयर ममदानी नै पक्राउ पर्नुपर्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

यसअघि एक रेडियो अन्तर्वार्तामा नेतन्याहूले आफूलाई पक्राउ गर्ने धम्कीको कुनै चिन्ता नरहेको बताएका थिए । उनले ममदानीमाथि हमासको समर्थन गर्ने र अमेरिकाविरोधी सोच राखेको आरोप समेत लगाएका थिए ।

अमेरिका र इजरायल दुवै अन्तर्राष्ट्रिय अपराध अदालतका सदस्य राष्ट्र होइनन् । अमेरिकी संघीय कानुनले राज्य तथा स्थानीय प्रशासनलाई अन्तर्राष्ट्रिय अपराध अदालतका अनुरोध कार्यान्वयनमा सहयोग गर्न रोक लगाएको छ। गत वर्ष न्युयोर्ककी गभर्नर क्याथी होचुलले पनि मेयरसँग नेतन्याहूलाई पक्राउ गर्ने अधिकार नभएको बताएकी थिइन् । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।

चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् ।

नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ । प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै कुरा खुलाएको छैन, तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।

चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिनेछ । यसमार्फत चलचित्र २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।

चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र मानवविहीन हवाई आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो । उनीहरू उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा खटिएका छन् । मृत्यु हुने सैनिकको परिचय र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति लगातार आठौँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यावसायिक जलयातायातलाई लक्षित गर्न सक्ने इरानको क्षमता कमजोर बनाउने र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इरानी बललाई कारबाही गर्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ ।

पछिल्लो एक सातादेखि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेको थियो। प्रारम्भिक युद्धविराम लागू भएको एक महिनाभन्दा कम समयमै दुवै पक्षबीचको सहमति भंग भएपछि सैन्य गतिविधि तीव्र बनेको हो।एभरेष्ट न्यूज एजेन्सी

चितवन । नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड रातिमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर गए राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो । अर्को सूचना जारी नहुँदासम्म सडक बन्द रहने बताइएको छ ।

सूचनामा भनिएको छ- ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ मुग्लिङ-काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

मौसम पूर्वानुमान महाशाखाले केहि दिन अति बर्षा हुनसक्ने भनेपछि सतर्कता अपनाउन रातिमा सडक बन्द गरिएको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा नेपाल बैङ्कर्स संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसँग छलफल हुने समितिले जनाएको छ ।

त्यस्तै बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन २०८३ उपर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफलको कार्यसूचि रहेको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको अत्यन्तै रोमाञ्चक खेलमा इंग्ल्याण्डले फ्रान्सलाई ६-४ गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । दुवै टोलीले खुला आक्रमणात्मक खेल प्रदर्शन गर्दा खेल विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको तेस्रो स्थानको प्रतिस्पर्धा बनेको हो ।

इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा निर्णायक भूमिका खेलेका थिए । विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने उनी इंग्ल्याण्डका दोस्रो खेलाडी बने । यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले यस्तो उपलब्धि हासिल गरेका थिए ।

खेलको सुरुआती २० मिनेटमै डेक्लन राइस र एज्री कोन्साले गोल गर्दै इंग्ल्याण्डलाई बलियो अवस्थामा पुर्‍याएका थिए । त्यसपछि साकाले दुई गोल थपेपछि पहिलो हाफ सकिँदा इंग्ल्याण्ड ४-० ले अगाडि थियो । फ्रान्स सन् १९३० यता पहिलो पटक पहिलो हाफमै चार गोलले पछाडि परेको थियो ।

दोस्रो हाफमा भने खेलको लय पूर्ण रूपमा बदलियो । फ्रान्सका किलियन एम्बाप्पेले दुई तथा ब्राड्ली बारकोलाले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । एम्बाप्पेले यस विश्वकपमा आफ्नो गोल संख्या २२ पुर्‍याउँदै सर्वाधिक गोलकर्ता बनेका छन् भने गोल्डेन बुटको दौडमा पनि अग्रता कायम गरेका छन् । तर ८७औँ मिनेटमा पाएको पेनाल्टीलाई साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इंग्ल्याण्डलाई पुनः दुई गोलको अग्रता दिलाए । इन्जुरी समयको छैटौँ मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै अन्तर घटाए पनि खेलको ९८औँ मिनेटमा जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इंग्ल्याण्डको जित सुनिश्चित गरे ।

विश्वकप इतिहासमा फ्रान्सले एउटै खेलमा पहिलो पटक ६ गोल व्यहोरेको हो । यस्तै, इंग्ल्याण्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । विदेशी भूमिमा भने यो इंग्ल्याण्डको अहिलेसम्मकै उत्कृष्ट विश्वकप नतिजा बनेको छ ।

यस विश्वकपमा बेलिङ्घमले सात गोल गर्दै एउटै संस्करणमा इंग्ल्याण्डका कुनै पनि पुरुष खेलाडीले गरेको सर्वाधिक गोलको कीर्तिमान पनि बनाए । खेलपछि पूर्व इंग्ल्याण्ड खेलाडीहरूले दुवै टोलीको आक्रमणात्मक खेलको प्रशंसा गर्दै यसलाई प्रतियोगिताकै उत्कृष्ट खेलमध्ये एक भएको प्रतिक्रिया दिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जानकारी दिएको ।

हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।। कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन ३ गते आइतबार ईस २०२६ जुलाई १९ नेपाल सम्बत ११४६ दिल्लाथ्व  षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल षष्ठी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, परिघ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ अवसरलाई आत्मसात् गर्दै आत्मविश्वासका साथ अघि बढ्ने संकेत देखिएको छ। बिहानदेखि नै कामप्रति उत्साह बढ्नेछ र अधुरा योजना पूरा गर्ने वातावरण बन्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, नेतृत्व क्षमता र समयमै निर्णय गर्ने बानीले राम्रो परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिको साथ र विश्वास प्राप्त हुँदा नयाँ जिम्मेवारी पनि थपिन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिनेछ भने आर्थिक रूपमा आम्दानी बढ्ने संकेत छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ र घरमा खुसीको वातावरण रहनेछ। सामाजिक भेटघाटबाट नयाँ सम्बन्ध स्थापित हुन सक्छ, जसले भविष्यमा लाभ दिनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त विश्राम र सन्तुलित खानपानमा ध्यान दिनु उपयुक्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, विवेक र संयमले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्षेत्रमा विगतको मेहनतको फल प्राप्त हुने सम्भावना बलियो देखिन्छ। सहकर्मी र वरिष्ठ व्यक्तिसँगको सम्बन्ध अझ सुदृढ बन्नेछ। व्यापार–व्यवसायमा नियमित लाभ प्राप्त हुनेछ र नयाँ योजनाले पनि गति लिन सक्छ। आर्थिक अवस्था सन्तुलित रहनेछ तथा बचत गर्ने सोचले भविष्यमा राम्रो आधार तयार गर्नेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति कायम रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशील सोच, स्पष्ट अभिव्यक्ति र मिलनसार व्यवहारले धेरैको मन जित्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ र जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुने सम्भावना छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम सहज बन्नेछ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ चिनजानले भविष्यमा उपयोगी सम्बन्ध निर्माण गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास बढ्दै जानेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग सम्बन्धित विषयमा खुसीको वातावरण रहनेछ। परिवारका सदस्यहरूको साथ, सहयोग र विश्वासले मनोबल बढाउनेछ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारीबोध, इमानदारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सामान्य सुधार आउनेछ। भविष्यका योजना बनाउन वा महत्त्वपूर्ण निर्णय लिन दिन अनुकूल रहनेछ। प्रियजनसँगको आत्मीय संवादले सम्बन्ध अझ बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता, आत्मविश्वास र साहसका कारण तपाईंले विशेष सफलता हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ अवसर पनि प्राप्त हुनेछ। व्यापार–व्यवसायमा विस्तारका सम्भावना देखिनेछन्। आर्थिक रूपमा लाभका अवसर प्राप्त भए पनि सोचविचार गरेर मात्र लगानी गर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर ऊर्जा तथा उत्साह कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले उत्कृष्ट परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्च गर्दा योजनाबद्ध रूपमा अघि बढ्नु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ अनुभव र सीपले भविष्यमा प्रगतिको नयाँ अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले थप स्फूर्ति प्रदान गर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन पनि सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप सुदृढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह तथा ऊर्जा कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, आत्मविश्वास र उत्साहले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। दीर्घकालीन योजना बनाउन र नयाँ लक्ष्य निर्धारण गर्न दिन अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि र भविष्यप्रतिको भरोसा बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति तथा आत्मविश्वास बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना बलियो छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले मनमा नयाँ आशा, उत्साह र भविष्यप्रतिको विश्वास थप बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशीमा ४ जनाको मृत्यु भएको छ भने मधेशमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ६ जना र  कर्णालीमा २ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।