२०८२ चैत्र २३
२०८२ चैत्र २३

हनुमत कुमार यादव,गाैर,३० गते फाल्गुन ।

रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेटस्थित दिव्य दृष्टि एकाडेमीमा विद्यार्थीहरूले वर्षभरि सिकेका शैक्षिक गतिविधि, सिर्जनात्मक कार्य तथा प्रतिभाहरूको प्रदर्शन गर्ने विशेष शैक्षिक प्रदर्शनी कार्यक्रम आज भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजित उक्त प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक सामग्री, परियोजनाहरू, चित्रकला, हस्तकला तथा अन्य सिर्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनी अवलोकन गर्न अभिभावक, स्थानीय बासिन्दा तथा शिक्षा प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । अवलोकनकर्ताहरूले विद्यार्थीहरूको मेहनत, सृजनशीलता र प्रतिभाको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विज्ञान, गणित, भाषा, सामाजिक अध्ययन लगायत विभिन्न विषयसँग सम्बन्धित परियोजनाहरू प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ, अनुसन्धान क्षमता तथा सिर्जनशील सोचलाई उजागर गरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई अझ प्रभावकारी र व्यवहारिक शिक्षातर्फ प्रेरित गर्ने विश्वास लिइएको छ । साथै, अभिभावक र समुदायलाई पनि विद्यालयमा भइरहेको शैक्षिक गतिविधिबारे जानकारी गराउने महत्वपूर्ण अवसरका रूपमा यस्ता प्रदर्शनीलाई लिइन्छ ।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने विधालय परिवार द्वारा जनाएको छ ।

काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रहरीले बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको जानकारी दिएको छ । तीर्थयात्री बोकेको ईभी माइक्रोबस मन्दिर दर्शन सकेर फर्किने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । घाइते केहिको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

आजको राशिफल बिस २०८२ चैत १ गते आइतवार ईस २०२६ मार्च १५ नेपाल सम्बत ११४६ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी , चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज आज विश्व उपभोक्ता अधिकार दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान-प्रदान गर्ने दिन हो, कार्यक्षेत्रमा पनि सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्ध÷सम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । महत्त्वाकाङ्क्षा जाग्नेछ, अझ धेरै मिहिनेत गर्नु फाइदाजनक हुन्छ । स्राेत एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता,रौतहट,फागुन २८ गते।

रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा होलीको पूर्वसन्ध्यामा भएको दुई समूहबीचको विवादलाई लिएर स्थानीय स्तरमा आरोप-प्रत्यारोप सुरु भएको छ । सामान्य विवादलाई केही राजनीतिक व्यक्तिहरूले बढावा दिएको आरोप स्थानीयहरूले लगाएका छन भने समुदायका प्रतिनिधिहरूले घटनालाई सामुदायिक रूपमा समाधान गर्न आग्रह गरेका छन् ।

स्थानीयका अनुसार गत फागुन १९ गते होलीको पूर्वसन्ध्यामा सन्तपुरमा दलित समुदाय र यादव समुदायका केही युवाहरू एकै ठाउँमा बसेर भोजभतेर तथा मासु-मदिरा सेवन गरिरहेको क्रममा सामान्य विवाद उत्पन्न भएको थियो । उक्त विवाद बढ्दै जाँदा दुई पक्षबीच तनाव तथा झडप भएको बताइएको छ । त्यसमा दुबै पक्षका धेरै जना घाईते भएका थिए ।

स्थिति नियन्त्रणमा ल्याउने क्रममा स्थानीय भुवनेश्वर राय यादवले विवाद शान्त पार्ने प्रयास गर्दा दलित समुदायका केही युवाहरूले रडले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शी सिकिन्द्र राय यादवले बताएका छन् ।

स्थानीय समाजसेवी यादवका अनुसार समुदाय स्तरमै मिलाउन सकिने उक्त घटनालाई पछि अनावश्यक रूपमा ठूलो बनाइएको आरोप लगाइएको छ । उनले एक जना स्थानीय नेताले व्यक्तिगत स्वार्थका कारण केही व्यक्तिलाई उक्साएर प्रहरी प्रशासनमाथि दबाब दिँदै ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएको आरोप लगाएका छन् ।

उता घटनामा घाइते भएका भुवनेश्वर राय यादवले आफूले सामूहिक विवाद समाधान गर्न खोज्दा उल्टै आक्रमणको शिकार भएको र राजनीतिक षड्यन्त्रका कारण मुद्दा खेप्न बाध्य भएको बताएका छन् ।

दलित समुदायका पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुरमा बुधबार आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार दलित परिवारमाथि सामूहिक आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ । घटनामा संलग्न रहेको आरोप लागेका भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन् । पक्राउ परेका पसिन्द्र यादवलाई हाल इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यता घटनामा गम्भीर घाइते भएका भुवनेश्वर यादवलाई प्रहरी प्रशासनको सल्लाहमा थप उपचारका लागि वीरगञ्ज पठाइएको बताइएको थियो तथा त्यसै बिच राजनीतिक दबाबका कारण घाइते यादव समेत आठ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको घाइते भुवनेश्वर यादवको भनाइ रहेको छ ।

यसैबीच स्थानीय दलित समुदायका प्रतिनिधि सुब्बा महरा र जुगलाल रामले दुवै समूहबीचको सानो विवादलाई ठूलो नबनाई समुदायस्तरमै समाधान खोज्न आफूहरू तयार रहेको बताएका छन। सन्तपुरमा विभिन्न समुदायका मानिसहरू लामो समयदेखि सँगै बसोबास गर्दै आएको उल्लेख गर्दै स्थानीयहरूले आपसी समझदारीबाट विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उता दलित समुदायका मानिसहरूले आफूहरूलाई घरमा पसि सम्पूर्ण परिवारलाई कुटपिट गरेकाे पत्रकारको सम्मेलन गरि जानकारी गराएका थिए । भने अर्काे पक्षले बिहिवार पत्रकार सम्मेलन गरि आफ्नो कुरा राखेको हाे ।

स्थानीयवासीका अनुसार सानो झगडालाई साम्प्रदायिक रंग नदिई शान्तिपूर्ण रूपमा समाधान गर्न सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते फाल्गुन । 

रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल धिरज विजयी भएका छन् । प्राप्त अन्तिम मत परिणाम अनुसार उनले २७ हजार ३१८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरे । त्यसैगरी आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० मत ल्याए भने नेकपा एमालेका कुन्दन कुशवाहाले ६ हजार ६०५ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका रामकृपाल यादवले ६ हजार ४३० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी पुनम यादवले ३ हजार ८८१ मत प्राप्त गरिन् ।

विजयी भएका पटेल माओवादी सशस्त्र जनयुद्धपछि २०६३ सालदेखि सक्रिय रूपमा राजनीतिमा लागेका व्यक्ति हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा मौलापुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए तर त्यसबेला पराजित भएका थिए । त्यसैगरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी सफल हुन सकेका थिएनन् ।

लगातार दुई निर्वाचनमा पराजय भोगे पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको लहर र रौतहट–३ का मतदाताको समर्थनका कारण पटेलले विजय हासिल गरेका छन् । स्थानीय स्तरमा लामो समयदेखि सक्रिय राजनीतिक यात्रापछि उनले पहिलोपटक संघीय संसद् प्रवेश गर्न सफल भएका हुन् ।

रौतहट–३ मा यसपटकको निर्वाचन परिणामलाई नयाँ राजनीतिक शक्ति उदाउने संकेतका रूपमा समेत हेरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते फाल्गुन । 

रौतहट जिल्लामा सम्पन्न निर्वाचनमा कुल ६३ प्रतिशत मतदान भएको छ । उपलब्ध तथ्यांक अनुसार जिल्लाभरि २ लाख ७४ हजार ८० मत खसेका छन् । मतदानमा पुरुषको संख्या महिलाभन्दा केही बढी देखिएको छ।

तथ्यांक अनुसार जिल्लामा १ लाख ३० हजार ४०५ महिला र १ लाख ४३ हजार ६७५ पुरुषले मतदान गरेका छन् । अन्य लिङ्गका मतदाता भने मतदानमा देखिएका छैनन् ।

क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नं. १ मा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । यहाँ ३३ हजार ५३ महिला र ३७ हजार ६०७ पुरुष गरी कुल ७० हजार ६६० मत खसेको छ ।

क्षेत्र नं. २ मा ५९ प्रतिशत मतदान भएको छ, जुन जिल्लामा सबैभन्दा कम हो । यस क्षेत्रमा २९ हजार ८८२ महिला र ३४ हजार ३५७ पुरुष गरी कुल ६४ हजार २३९ मत खसेको छ ।

त्यसैगरी क्षेत्र नं. ३ मा ६४ प्रतिशत मतदान भएको छ । यहाँ ३२ हजार ७३३ महिला र ३६ हजार ४९५ पुरुष गरी कुल ६९ हजार २२८ मत खसेको छ ।

क्षेत्र नं. ४ मा ६३ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा ३४ हजार ७३७ महिला र ३५ हजार २१६ पुरुष गरी कुल ६९ हजार ९५३ मत खसेको तथ्यांकले देखाएको छ ।

समग्रमा रौतहट जिल्लामा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ । अधिकांश क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मतदान भएकोले लोकतान्त्रिक प्रक्रियाप्रति मतदाताको चासो र सक्रियता प्रस्ट देखिएको छ ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,फागुन २१ गते । 

आसन्न प्रतिनिधि सभा सदस्यको लागि फागुन २१ गते भएको निर्वाचनमा रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ।
निर्धारित समय बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नभई शान्तिपुर्ण रूपले सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा निर्वाचन सुरक्षित र व्यवस्थित बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो। सुरक्षा निगरानी कडा पारिएकाले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा सबै क्षेत्रको मतपेटिकाहरू संकलन गरि सम्बन्धित मतगणना स्थलमा ल्याउने काम भइरहेको र मतगणना गर्ने तयारी समेत भइरहेको निर्वाचन अधिकृत छोटेलाल दासले बताउनु भएको छ ।
रौतहट क्षेत्र नम्बर १ को मतगणना गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा, क्षेत्र नम्बर २ को ब्रम्हज्योति मा वि लौकाहा, ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मा वि चन्द्रपुरमा मतगणना हुने निर्वाचन अधिकृत दासले जानकारी गराउनु भएको छ।
उहाँका अनुसार बिहीबार रातिदेखि नै मतगणना सुरू गर्ने तयारी भइरहेको छ। मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि रातिबाटै मतगणना प्रक्रिया अघि बढाइने उहाँले बताउनु भएको छ ।

प्रेमचन्द्र झा,फाल्गुन १७ । 

राैतहट । राैतहट क्षेत्र नम्बर १ का सांसद उमेदवार तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली नागरिकको सुरक्षालाई सर्वोपरि राख्दै विदेशमा जोखिममा परेका नेपालीको उद्धारका लागि सरकारसँग विशेष पहल गर्न आह्वान गरेका छन्। रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित कोईरी टोलमा आयोजित कोण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले अमेरिका र इरानबीच बढ्दो तनावका कारण खाडी मुलुकसहित विभिन्न देशमा कार्यरत लाखौं नेपालीको जीवन जोखिममा पर्न सक्ने उल्लेख गरे। यस्तो जटिल परिस्थितिमा नेपाल सरकारले गम्भीरतापूर्वक पहल गर्दै आवश्यक परे विशेष जहाजमार्फत नेपालीको सुरक्षित उद्धार गर्नुपर्नेमा उनले जोड दिए।


वरिष्ठ नेता नेपालले राष्ट्रिय स्वाभिमान र नागरिकको जीवनरक्षालाई सरकारको पहिलो कर्तव्य भएको बताउँदै संकटको घडीमा राज्य मौन बस्न नहुने धारणा राखे। उनले विदेशमा रहेका नेपाली श्रमिकले रेमिट्यान्समार्फत देशको अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै उनीहरूको सुरक्षामा कुनै कमी हुन नदिन आग्रह गरे। “विदेशमा रहेका प्रत्येक नेपाली हाम्रो परिवारका सदस्य सरह हुन्, उनीहरूको सुरक्षाका लागि राज्य जिम्मेवार हुनुपर्छ,” उनले भने।
रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नेपालले आफ्नो राजनीतिक यात्राभर जनताको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको उल्लेख गर्दै अहिलेको अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिमा राष्ट्रिय एकता आवश्यक रहेको बताए। उनले सबै राजनीतिक दल र सरोकारवालालाई मानवताका आधारमा एकजुट भएर विदेशमा रहेका नेपालीको उद्धार र सुरक्षाका लागि साझा पहल गर्न आह्वान गरे।
सोही कोण सभामा तराई स्वतन्त्र न्याय मञ्चका अध्यक्ष भाग्य नारायण बैठाले पनि इरानलगायत खाडी मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गरे। उनले संकटको अवस्थामा दलभन्दा माथि उठेर नेपालीको ज्यान जोगाउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रेवन्त झा, गौर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवशंकर यादवलगायतका वक्ताहरूले माधव कुमार नेपाल राष्ट्रिय स्तरका अनुभवी र जिम्मेवार नेता भएको उल्लेख गर्दै रौतहट क्षेत्र नम्बर १ बाट विजयी गराउन जनतासँग अपिल गरे। उनीहरूले नेपालको नेतृत्वमा जनताको आवाज सशक्त रूपमा संसदमा पुग्ने विश्वास व्यक्त गरे।
सभामा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नेता नेपालको स्पष्ट धारणा, राष्ट्रियता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए। विदेशमा रहेका नेपालीको सुरक्षाबारे उठाइएको आवाजले जनतामा आशा र भरोसा जगाएको स्थानीयको प्रतिक्रिया थियो।
यसरी माधव कुमार नेपालले अन्तर्राष्ट्रिय संकटका बेला नेपाली नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनको यो पहललाई मानवतामुखी र राष्ट्रिय जिम्मेवारीबोधबाट प्रेरित कदमका रूपमा हेरिएको छ।

आरके श्रीवास्तव,राैतहट,१७ गते फाल्गुन । 

राैतहट । जिल्ला प्रशासन कार्यालय राैतहटले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा अस्थायी निषेध लगाएको छ ।

कार्यालयद्वारा  शनिबार प्रकाशित सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम मिति २०८२ फागुन १७ गतेदेखि २०८२ फागुन २१ गतेसम्म रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।

सूचनामा निर्वाचन अवधिमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न उक्त निर्णय गरिएको उल्लेख गरिएको छ । आदेश उल्लंघन गर्ने सवारी साधनमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई निर्णयको पालना गर्न अनुरोध गरेको छ ।

रौतहट, १६ फागुन ।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कुन्दन कुशवाहा घरदैलो तथा मतदाता भेटघाट अभियानमा तीव्र रूपमा सक्रिय देखिएका छन्।
निर्वाचन आउन अब मात्र ६ दिन बाँकी रहँदा एमालेप्रति मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय विश्लेषकहरू बताउँछन्। विशेषतः विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रीय एजेन्डा बनाउँदै कुशवाहाले थालेको प्रत्यक्ष संवाद अभियानले जनतामा भरोसा जगाएको देखिन्छ।
सनिवार नेकपा एमालेका उम्मेदवार कुन्दन कुशवाहाले बिहान कटहरिया नगरपालिका–४ र ५ का बलरामपुर क्षेत्रमा भेटघाट तथा कोणसभा गरे भने दिउँसो गुजरा नगरपालिका अन्तर्गत कनकपुर,जंगलसहिया तथा पोखरभिण्डाभेटघाट संगै
घरदैलो कार्यक्रम सञ्चालन गरेका थिए।


शुक्रबार कटहरिया नगरपालिका अन्तर्गत बहादुरपुर गाउँमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी १७५ जना नेता–कार्यकर्ता औपचारिक रूपमा एमालेमा समाहित हुनु चुनावी राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। वडा सदस्य, महिला नेतृत्वसँग जोडिएका अभियन्ता, युवा कार्यकर्ता तथा वडास्तरीय संरचना सम्हाल्दै आएका व्यक्तिहरूको सामूहिक प्रवेशले रौतहट–३ को राजनीतिक शक्ति सन्तुलन एमालेतर्फ ढल्किएको स्पष्ट संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अन्य दलहरूमा देखिएको आन्तरिक असन्तुष्टि, उम्मेदवार चयनप्रतिको असहमति र कमजोर संगठनात्मक व्यवस्थापनका कारण कार्यकर्ता आधार खस्किँदै गएको छ। यही कमजोरीबीच कुशवाहाले अघि सारेको विकास निर्माण, शिक्षा सुधार, आधारभूत स्वास्थ्य सेवा विस्तार र स्थानीय रोजगारी सिर्जनाको स्पष्ट खाकाले मतदातालाई आकर्षित गरेको विश्लेषण गरिएको छ।
घरदैलो अभियानका क्रममा कुशवाहाले स्थानीय पूर्वाधार, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी तथा युवालाई स्वरोजगारतर्फ जोड्ने योजनालाई प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। “राजनीति भाषणका लागि होइन, परिणामका लागि हुनुपर्छ” भन्ने सन्देशसहित अघि बढेको उनको अभियानले अन्तिम चरणमा चुनावी प्रतिस्पर्धालाई निर्णायक मोडतर्फ लैजाने संकेत देखिएको छ।
यसरी निर्वाचनको संघारमै देखिएको व्यापक दल परिवर्तन र जनसमर्थनको उभारले रौतहट–३ मा एमालेको स्थितिलाई मात्र सुदृढ गरेको छैन, अन्तिम नतिजामा समेत प्रभाव पार्ने निश्चितजस्तै देखिन थालेको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।