जनकपुरधाम, १९ कार्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न औपचारिक प्रक्रिया अघि बढाएका छन् । यसका लागि मुख्यमन्त्री सोनलले २०७९ सालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।
मुख्यमन्त्री कार्यालय, जनकपुरधामबाट जारी गरिएको पत्रमा मधेश प्रदेशसभा सचिवलाई सम्बोधन गरी पठाइएको उक्त पत्रमा कार्तिक २२ गते विश्वासको मत लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि मिति २०८२।०७।२२ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।”
मुख्यमन्त्री सोनलले उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउँदा लोसपा प्रदेश सभा संसदीय दलका नेता जैनुल राईन, लोसपा महासचिव परमेंश्वर साह, प्रदेश मुख्य सचिव रामबिनोद चौधरी (पपु) लगायत नेताहरू पनि उपस्थित थिए ।
विश्वासको मतको प्रक्रिया आगामी २२ कार्तिकमा प्रदेशसभाको बैठकमा हुने भएको छ । यस मतका माध्यमबाट मुख्यमन्त्री सोनलले सभाको विश्वास कायम राख्ने वा नहुने विषय टुंगो लाग्नेछ ।
मुख्यमन्त्री सोनल हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट मधेश प्रदेशको नेतृत्व गर्दै आएका छन् । पाँच दलकाे समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै सुरु गरेको तालाबन्दी बुधबार आठौं दिनमा पुगेको छ ।
तलबभत्ता नपाएपछि असन्तुष्ट कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू तथा नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिएका छन् ।
लगातारको तालाबन्दीका कारण नगरपालिकाका जनसाधारणका धेरै महत्वपूर्ण कामहरू ठप्प भएका छन् । नागरिकता, सिफारिस,राजस्व संकलनलगायतका सेवा रोकिँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।
कर्मचारीहरूले आफूहरूले लामो समयदेखि काम गर्दा पनि तलब र भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै छिट्टै समझदारीमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयहरूले भने तालाबन्दीका कारण दैनिक सेवा प्रभावित हुँदा समस्या चाँडो समाधान होस् भन्ने आग्रह गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–१०, दुधिअवास्थित श्री माध्यमिक विद्यालयमा ७ करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको नयाँ सुविधा सम्पन्न तीन तले नमूना भवनको बुधबार उद्घाटन गरिएको छ ।
भवनको भौतिक निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएकोमध्ये ४ करोड १ लाख ४९ हजार ९८२ रुपैयाँ ४ पैसा खर्च भएको शिक्षक रञ्जन खरेलले जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयमा निर्मित नमूना भवनले विद्यार्थीको सिकाइ वातावरण सुधारमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको गुणस्तर बढाउन गर्न पूर्वाधार निर्माण महत्वपूर्ण छ, अब यस भवनमार्फत विद्यार्थीले अझ सहज र सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने छन्।”
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा देखाएको पारदर्शिता र सामुदायिक सहभागिताको प्रशंसा गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिएको प्रमाण नै यो भवन हो, यसले नगरपालिका स्तरमै आदर्श परियोजना बन्नेछ।”
उद्घाटन कार्यक्रममा साे वडाका वडा अध्यक्ष मञ्जय चाैधरी, बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१८ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनमा पुगेको छ । तलब–भत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले बुधबारदेखि वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गरी धर्ना कार्यक्रम जारी राखेका छन् ।
नगरपालिकाको कटहरिया–६ स्थित फत्तेपुर आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी रामविनोद राय यादवले भने, “पहिलो चरणको आन्दोलनमा आश्वासन पाएर रोकिएका थियौं, तर यसपालि भने निर्णायक आन्दोलनका लागि निस्किएका हौं।”
कर्मचारी प्रमोद कुमार गुप्ताले अधिकांश कर्मचारीको दुई वर्षभन्दा बढीको तलब बाँकी रहेको बताए। “मेरो करिब तीन वर्षको तलब बाँकी छ,” उनले भने, “अब हामी तलब पाएरै छाड्छौं।”
त्यसैगरी, रामानन्द पासवानले नगरपालिकाले कर्मचारीको दुःखप्रति गम्भीरता नदेखाएको भन्दै असन्तुष्टि जनाए । “झुठा आश्वासन मात्रै पायौं,” उनले भने। रञ्जित कुमार रामले भने, “मेरो २८ महिनाको तलब बाँकी छ, तर नगर प्रमुख अजयप्रकाश जयसवालको कुनै अत्तोपत्तो छैन।”
कटहरिया–८ मा कार्यरत मुकुन्द यादवले आन्दोलनको मूल कारण नै नगर प्रमुख भएको आरोप लगाए। “सबै समस्या जयसवालकै कारण भएको हो, अब उहाँले नै यसको समाधान गर्नुपर्छ,” उनले बताए।
कर्मचारी मुकेश कुशवाहाले भने, “मेयर साहेबले तिहारअघि तलब दिने भनेर प्रतिबद्धता गर्नुभयो, तर अहिलेसम्म पाएका छैनौं।”
उता, कटहरिया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समिश विक्रम शाहले पनि आन्दोलनरत कर्मचारीप्रति समर्थन जनाएका छन् । उनले भने, “गत वर्ष पनि तलब दिने निर्णय भएको थियो, तर कार्यान्वयन भएन् । हाकिमविहीन नगरपालिका छ अहिले । हामी पनि कर्मचारीको मागमा साथ छौं।”
तालाबन्दीका कारण अहिले नगरपालिकाका अधिकांश प्रशासनिक कार्यहरू ठप्प भएका छन् । नागरिकका महत्त्वपूर्ण काम प्रभावित भएका छन् । वडा अध्यक्ष शाहले समस्या चाँडो समाधान होस् भनेर आग्रह गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन नगर प्रमुख अजयप्रकाश जयसवाललाई सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल स्विच अफ रहेको पाइएकाे छ ।
जनकपुरधाम, कात्तिक १८ गते – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले सप्तरी जिल्लाको विभिन्न क्षेत्रमा फैलिएको झाडापखालाको बढ्दो जोखिमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्वास्थ्य सेवा सुदृढीकरणका लागि तत्काल कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मिति २०८२ साल कात्तिक १५ गतेदेखि छिन्नमस्ता गाउँपालिका क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेपछि मुख्यमन्त्री सोनलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरी र स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखसँग प्रत्यक्ष छलफल तथा टेलिफोन वार्ता गरी तत्कालीन नियन्त्रण योजना कार्यान्वयनमा जोड दिएका हुन् ।
मुख्यमन्त्री सोनलले बिरामीहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक औषधि, रोग निदानका उपकरण तथा स्वास्थ्य सामग्री तुरुन्तै उपलब्ध गराउन निर्देशन दिएका छन् । साथै, उनले जनचेतना अभिवृद्धिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पनि आदेश दिएका छन्।
प्रदेश सरकारले झाडापखालाको जोखिम बढ्दै गएमा स्वास्थ्य विज्ञ टोलीसहित जनशक्ति परिचालन गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
मुख्यमन्त्री सोनलले भने, “जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता हो। प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि सबै आवश्यक सहयोग र स्रोत साधन उपलब्ध गराउन प्रतिबद्ध छ ।”
प्रदेश सरकारले महामारी नियन्त्रणका लागि प्रदेश र स्थानीय तहबीच समन्वयात्मक कार्ययोजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
आरके श्रीवास्तव,रौतहट,१७ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीका कर्मचारीहरूले सुरु गरेको तालाबन्दी सोमबार पनि जारी रह्यो । तालाबन्दीको छैठौं दिनमा पुगेको आन्दोलनमा आज नगरका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरूले समेत ऐक्यबद्धता जनाउँदै आन्दोलनरत कर्मचारीहरूको पक्षमा उभिएका छन् ।
कर्मचारीहरूले माग गरेका बक्यौता तलबभत्ता तत्काल भुक्तानी गर्नुपर्नेमा जनप्रतिनिधिहरू पनि एकमत भएका छन् । उनीहरूको भनाइमा, तलबभत्ता नपाउँदासम्म तालाबन्दी र आन्दोलन जारी रहनेछ ।
सोमबारको ऐक्यबद्धता कार्यक्रममा वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं. २ का अध्यक्ष हरिन्द्र साह, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादव, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ६ का अध्यक्ष जयराम चौधरी, वडा नं. ७ का अध्यक्ष सहिद मियाँ धोबी, वडा नं. ८ का अध्यक्ष समिश बिक्रम शाह, साथै वडा सदस्य रामेश्वर राय यादव र कार्यपालिका सदस्य मनोज जयसवाल उपस्थित थिए ।

कर्मचारीहरूले बुधबारदेखि नगरपालिका मातहतका सबै ९ वटा वडा कार्यालयहरू र नगरपालिकाको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्दै दैनिक धर्ना दिइरहेका छन् । उनीहरूले भनेका छन्, “विगतमा भएको आन्दोलनपछि दिपावली र छठअघि बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिइए पनि कार्यान्वयन नभएकाले हामी बाध्य भएर फेरि आन्दोलनमा उत्रिएका हौं।”
कर्मचारीहरूले लामो समयदेखि सेवा दिँदै आएको भए पनि पारिश्रमिक नपाउँदा उनीहरूको दैनिकी प्रभावित भएको गुनासो गरेका छन् ।
यसबीचमा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीलाई मन्त्रालयले फिर्ता बोलाएपछि कार्यालय प्रमुख बिहीन बनेको छ । आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरूले भनेका छन्— “समस्या समाधानका लागि नयाँ प्रशासकीय अधिकृत पठाइनु आवश्यक छ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि यथासिघ्र नयाँ कार्यालय प्रमुख खटाई तालाबन्दीको समस्या समाधान गर्न आग्रह गरिएको छ ।
यसअघि पनि कर्मचारीहरूको आन्दोलनका क्रममा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहाले ऐक्यबद्धता जनाएका थिए ।
तालाबन्दीका कारण नगरपालिकाका सेवा–सुविधा प्रभावित भएका छन् भने सेवाग्राहीहरू समस्या झेलिरहेका छन् । कर्मचारी र जनप्रतिनिधिहरूले भने भनेका छन्— “तलबभत्ता उपलब्ध नगराइएसम्म आन्दोलन जारी रहनेछ।”
रौतहट, १७ कात्तिक ।
आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुअब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसंग माग गरेको छ ।
आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले आज (सोमबार) रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुअब्जा उपलब्ध गराउन माग गरेको छ ।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुअब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
आजपा निकट आम उधोग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले आफूहरुको माग यथासिघ्र सम्बोधन गर्न माग गर्दै किसान एवं सर्वसधारणलाई न्याय दिने कार्यमा ढिलाई भए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
‘हालैको बाढी र अबिरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका छन् । धेरै किसानहरूको खेतबारी, बाली, घर र पशु सम्पत्ति नष्ट भएको छ । बाढीपीडितहरू अस्थायी टहरामा बस्न बाध्य भएका छन् र खाद्यान्न, लत्ताकपडा र औषधिको अभावमा कष्टकर जीवन व्यतित गर्दैछन् । यस्तो अवस्थामा सरकारले न्याय दिनुपर्ने हाम्रो माग हो,’ आजपा सचिवालय सदस्य समेत रहेका जयसवालले जनाएका छन् ।
यस गम्भीर परिस्थितिमा आम नागरिकको पीडा र किसानको दुःखलाई सम्बोधन गर्न आजपाले “बाढीपीडित राहत र किसान मुआब्जा पदयात्रा” कार्यक्रम सञ्चालन गरेको थियो ।
बाढीपीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने, क्षति पुगेका किसानहरूलाई उचित मुल्यांकन गरी तत्काल मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रमा कृषि ऋण स्थगन र ब्याज माफीको व्यवस्था गर्नुपर्ने, बाढी नियन्त्रण र राहत वितरणमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग आजपाको छ ।
यसैगरी दीर्घकालीन समाधानका लागि नदी तटबन्ध र जलनिकास प्रणाली सुधार गर्नुपर्ने लगायतका माग आजपाले सरकारसंग गरेको छ । आजपा नेताहरु अमित साह, श्रीभगवान पटेल, अनिल झा, जयलाल महतो, दिनेश सहनी, कात्र्तिक जयसवाल, राजेश साह, महेश यादव लगायतका नेता जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
आरके श्रीवास्तव,राैतहट,१७ गते कार्तिक ।
राैतहटकाे गुजरा नगरपालिकामा लामो समयपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका छन् । उप–सचिव शान्ति विश्वकर्माले आज एक विशेष समारोहबीच प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको हो ।
नगरप्रमुख सन्तलाल चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गुजरा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो । अब शान्ति विश्वकर्माको नेतृत्वमा नगरपालिका पुनः गति लिनेछ भन्ने विश्वास छ।”
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारीहरूले तलब–भत्ता समेत पाउन नसक्ने अवस्था सिर्जना भएको थियो । यसले नियमित सेवासुविधा र विकास निर्माणका कामहरूमा समेत असर पारेको थियो । दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा समेत कर्मचारीहरूले तलब नपाएका कारण असहज परिस्थितिको सामना गर्नुपरेको बताइन्छ ।
नगरप्रमुख चौधरीले नगरपालिकाको तर्फबाट विश्वकर्मालाई पूर्ण सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउँदै धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नगर कार्यपालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुभएको हो ।
आरके श्रीवास्तव,राैतहट,१६ गते कार्तिक ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा कागजी प्रक्रिया नमिलाई कानुन विपरीत भुक्तानी गर्न दबाब दिइएको भन्दै कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा प्रमुख कामेश्वर सहनीले आपत्ति जनाएका छन् । उनीहरूले कानुनी प्रक्रिया अनुसार मात्र भुक्तानी गर्न सकिने भन्दै सामाजिक सञ्जालमार्फत आफूहरूलाई बदनाम गर्ने प्रयास भएको दाबी गरेका छन् ।
नगरपालिकाका अनुसार २० लाख र १० लाख गरी जम्मा ३० लाख रुपैयाँ बराबरका एउटै प्रकृतिका कामहरूलाई टुक्रा पारेर गरिएको र ती कार्यहरू सन्तोषजनक नभएको बुझिएको छ । नगरस्तरीय बजेटबाट सो काम गरिए पनि आवश्यक कागजी प्रक्रिया पूरा नगरिएकाले भुक्तानी रोकिएको बताइएको छ ।
टावर लाइटका सप्लायर ललित श्रीवास्तवले भने सबै कागजात दुरुस्त रहेको दाबी गर्दै करिब छ महिनादेखि भुक्तानी रोकिएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनका अनुसार आफूले तोकिएको कार्य सम्पन्न गरी सबै प्रमाणसहित बिल पेश गरेको भए पनि इन्जिनियरदेखि हाकिम र लेखापालले अनावश्यक ढिलाइ गरेको आरोप लगाएका छन् ।
तर नगरपालिका प्रशासनले श्रीवास्तवका आरोप अस्वीकार गर्दै, “कागजी प्रक्रिया पूरा नगरी भुक्तानी गर्न नमिल्ने कानुनी व्यवस्था छ,” भन्दै उनले हाकिम, लेखापाल, इन्जिनियर, जिन्सी शाखा र कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहमद सेराज आलमलाई समेत नाम जोडेर बदनाम गर्न खोजेको बताएका छन्।
लेखापाल कामेश्वर सहनीले भने, “नगरपालिकाको लेखा प्रणाली पारदर्शी छ । कुनै पनि भुक्तानी कानुन विपरीत गर्न सकिँदैन । सबै कागजात दुरुस्त भएपछि मात्रै भुक्तानी हुनेछ,” भने।
त्यस्तै कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहमद सेराज आलमले पनि आफूलाई अन्यायपूर्वक विवादमा तानिएको बताएका छन् । उनले भने, “म कुनै निर्णय प्रक्रियामा संलग्न छैन् । राजनीतिक वा व्यक्तिगत लाभका लागि मेरो नाम प्रयोग गरी बदनाम गर्ने प्रयास भएको छ।”
नगरपालिकाले सो विवादका सम्बन्धमा आन्तरिक समीक्षा अघि बढाएको र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
आरके श्रीवास्तव,जनकपुरधाम,१६ गते कार्तिक ।
लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारकाे स्थायित्वकाे विषयमा गम्भीर प्रश्न उठाउँदै चुनावकाे तयारी सुरु गर्नुपर्ने बताउनुभएको छ । उहाँले धनुषाको जनकपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाटका क्रममा वर्तमान राजनीतिक अवस्थाबारे विचार व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ठाकुरले वर्तमान सरकार लामो समय टिक्ने सम्भावना न्यून देखिएको उल्लेख गर्दै चुनाव गराउने तयारीकाे कुरा गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार चल्न सक्छ कि सक्दैन भन्ने यकिन छैन, तर निर्वाचन गराउने तयारी चाहिँ गर्नुपर्छ। समयमा चुनाव हुन्छ कि हुँदैन भन्ने ठेगाना छैन, तर कुनै कुरा असम्भव पनि छैन्।”
उहाँले सम्भावित प्रतिनिधि सभा निर्वाचनको कार्यकालबारे अहिले स्पष्टता नभएको पनि उल्लेख गर्नुभयो । साथै, सिमाक्षेत्रका समस्या अझै समाधान नभएको बताउँदै सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
लाेसपा नेपाल, धनुषाद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले पार्टी संगठन सुदृढीकरण र मधेशका मुद्दाहरूलाई प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा लाेसपाका उपाध्यक्ष एवम् प्रवक्ता डा. अभास लाभ, मधेश प्रदेश संसदीय दलका नेता जयनुल राईन, प्रमुख सचेतक रमिता प्रधान, निवर्तमान मन्त्री रानी शर्मा तिवारी, महासचिव परमेश्वर साह, सचिव अजय झा र ज्ञानु झा, भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष एवम् केन्द्रीय सदस्य पिताम्बर महतो, केन्द्रीय कार्यालय सचिव प्रदिप पाठक लगायतका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उल्लेखनीय उपस्थिति थियो ।
यसअघि अध्यक्ष ठाकुर मिथिलाको गौरव महाकवि कोकिल बाबा विद्यापतिको स्मृतिमा जनकपुरधाममा सोमबार आयोजना हुने महाकवि कोकिल बाबा विद्यापति स्मृति दिवस कार्यक्रममा सहभागी हुन जनकपुर आइपुग्नुभएको थियो । उहाँलाई जनकपुर विमानस्थलमा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले भव्य स्वागत गरेका थिए ।
कार्यक्रममा लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्मा, लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष रोशन मिश्र, मधेश प्रदेश सचिव ओमलोक पटेल, लाेसपा नेपाल धनुषाका अध्यक्ष जिवेन्द्र झा लगायत जनप्रतिनिधि, कार्यकर्ता र स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।