काठमाडौँ । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको छ ।
सर्वोच्च अदालतको आदेशपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छालाई गत बैशाख २२ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पहिलो पटक पक्राउ गरिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दुई दिनदेखि उत्पन्न तनावपूर्ण अवस्थाका क्रममा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको आरोप लगाएको छ। विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग, त्रास सिर्जना र दमनकारी शैली अपनाउँदा परिस्थिति थप तनावग्रस्त बनेको पार्टीको ठहर छ।
पार्टीले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको तत्काल प्रभावकारी र निःशुल्क उपचार, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
एमालेले राज्यलाई दमनकारी शैली तत्काल रोक्दै संयमता अपनाएर समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ। साथै देवानगञ्ज र समग्र सुनसरीका नागरिकलाई कुनै पनि अफवाहको पछि नलागी धार्मिक, सामाजिक तथा जातीय सद्भाव, आपसी एकता र भाइचारालाई कायम राख्न आह्वान गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा फेरि सुख्खा पहिरो खस्दा सवारी आवागमन पुनः दुवैतर्फ अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार थप पहिरो नखसेको अवस्थामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ ।
यसअघि आज बिहान पनि सोही स्थानमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएपछि केही समयका लागि सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि फेरि पहिरो खसेपछि यातायात सेवा पुनः प्रभावित भएको हो ।
सडक डिभिजनले पहिरो हटाउने कार्य जारी रहेको जनाएको छ । यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा बसेर धैर्य गर्न र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो ।
श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए । वरिष्ठ नेतामा मनोनयन भएको केही दिनमै उनको निधन भएको हो ।
कांग्रेसका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ ।त्यसपछि शवयात्रासहित उनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
श्रेष्ठ स्याङ्जाबाट प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री, शिक्षा मन्त्री बनेका थिए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ ।
सिआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘साङ्गठनिक व्यवहार’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक गरिएको घटनामा शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेकै अवस्थामा घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुलकुमार मिश्र रहेका छन् । उनलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको हो ।
यस्तै, बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले उक्त घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले देशभर आकस्मिकबाहेकका नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ। आयोगले घटनाबारे स्थलगत अनुगमनसमेत गरेको जनाएको छ ।
आयोगका अनुसार स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिने चिकित्सकमाथि कुटपिट हुनु र अस्पतालमा तोडफोड गरिनु निन्दनीय कार्य हो। यस्ता घटनाले अराजकतालाई प्रश्रय दिनुका साथै कानुनको शासनमाथि समेत चुनौती सिर्जना गर्ने आयोगको ठहर छ ।
त्यस्तै, घटनाको विरोधस्वरूप चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्दा धेरै बिरामी उपचारबाट वञ्चित भएको आयोगले जनाएको छ। अत्यावश्यक सेवाका रूपमा रहेको स्वास्थ्य सेवा बन्द गर्नु संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक तथा प्रचलित कानुनको भावना विपरीत हुने आयोगको भनाइ छ ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिँदै अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ ।
साथै, आन्दोलनरत चिकित्सक, नेपाल सरकार, मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न र विरोधका कार्यक्रम सञ्चालन गर्दा आमनागरिकको स्वास्थ्य अधिकार प्रभावित नहुने वैकल्पिक उपाय अपनाउन आयोगले आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू सचेत बनाउन विश्व हेपाटाइटिस दिवस मनाइदै आएको छ । हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वका ३२ करोड ५० लाख मानिसहरू हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउछ । यो हेपाटाइटिसको उन्मूलन र कलेजोको क्यान्सरको रोकथामलाई रोक्ने कलंक लगायतका अवरोधहरू हटाउने आवश्यकतालाई जोड दिएको छ । मानिसहरूलाई हेपाटाइटिसको बारेमा कुरा गर्न र परीक्षण र उपचारमा पहुँच पुर्याउन सजिलो बनाउनमा ध्यान केन्द्रित गरिएको छ।
एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसहरूको मृत्यु हुने आँकडा रहेको छ । कलेजोको क्यान्सर बनाउन यो रोगको मुख्य योगदान हुने गर्दछ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्: ए, बी, सी, डी र इ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन्एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको हिमाली र पहाडी भू-भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू-भागका थोरै स्थानमा र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान, कोशी र सुदुरपश्चिम प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन १२ गते मंगलबार ईस २०२६ जुलाई २८ नेपाल सम्बत ११४६ दिल्लाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल चतुर्दशी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, विश्कुम्भ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज विश्व हेपाटाइटिस दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन आत्मविश्वास र नयाँ उत्साहका साथ अघि बढ्ने संकेत देखिएको छ। बिहानदेखि नै अधुरा रहेका काम पूरा गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता, नेतृत्व क्षमता र सही निर्णय गर्ने बानीले राम्रो परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ भने नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा नयाँ सम्भावना देखिनेछ र आर्थिक रूपमा आम्दानी बढ्ने संकेत छ। पुरानो लगानीबाट पनि लाभ मिल्न सक्छ। परिवारमा खुसी, मेलमिलाप र आत्मीयता कायम रहनेछ। प्रियजनसँगको संवादले सम्बन्ध अझ बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ, तर अत्यधिक कामको चापले थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा विगतका प्रयासको राम्रो परिणाम देखिन थाल्नेछ। सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ र नयाँ योजना बनाउने अवसर पनि प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। बचत गर्ने सोचले भविष्यलाई थप सुरक्षित बनाउनेछ। परिवारका सदस्यहरूसँग आत्मीय सम्बन्ध कायम रहनेछ। घरमा सुखद वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति तथा सन्तुष्टि अनुभव हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाईंको बोली, व्यवहार र सिर्जनशील सोचले धेरैको मन जित्नेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता देखाउने मौका पनि मिल्नेछ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले जटिल काम पनि सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ सम्बन्धले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज परिवारसँग सम्बन्धित विषयमा विशेष खुसी प्राप्त हुनेछ। घरमा मेलमिलाप, आत्मीयता र आपसी विश्वास बढ्नेछ। परिवारका सदस्यहरूको साथले मनोबल उच्च रहनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र मेहनतको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। आर्थिक अवस्थामा सामान्य सुधार आउने संकेत देखिन्छ। घर वा सम्पत्तिसँग सम्बन्धित योजना बनाउन समय उपयुक्त रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति तथा सन्तुलन कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज तपाईंको आत्मविश्वास, साहस र नेतृत्व क्षमताले उल्लेखनीय सफलता दिलाउनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ। आर्थिक अवस्था बलियो बन्ने संकेत देखिन्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल थप बलियो बन्नेछ। कुनै शुभ समाचारले मनमा नयाँ उत्साह थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर स्फूर्ति कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। खर्च गर्दा योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। परिवारमा आपसी समझदारी र खुसी बढ्नेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ ज्ञान र अनुभवले भविष्यमा प्रगतिको मार्ग खोल्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले शरीरमा ऊर्जा कायम राख्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना देखिन्छ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ, जसले भविष्यमा लाभदायक अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह तथा आत्मविश्वास बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनत, धैर्य र अनुभवले तपाईंलाई उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ र आर्थिक रूपमा पनि राम्रो सुधार आउने संकेत देखिन्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्न सक्छ। परिवारमा विश्वास, प्रेम र आत्मीयता बढ्नेछ। प्रियजनसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा उत्साह तथा आत्मबल कायम रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच र दृढ इच्छाशक्तिले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्याउनेछ। व्यापार, अध्ययन, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न तथा भविष्यका लक्ष्य निर्धारण गर्न दिन निकै शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। भविष्यका लागि दीर्घकालीन योजना बनाउने अवसर पनि प्राप्त हुनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास र सन्तुष्टि दुवै बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन्। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। परिवारमा प्रेम, मेलमिलाप र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ। भविष्यका लागि महत्त्वपूर्ण चिनजान हुन सक्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह, स्फूर्ति तथा सकारात्मक ऊर्जा कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई सफल र उपलब्धिमूलक बनाउनेछ। सुरुवातमा केही चुनौती देखिए पनि तपाईंको अनुभव, सीप र आत्मविश्वासका कारण सबै काम क्रमशः सहज बन्दै जानेछन्। कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ र मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना छ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु उपयुक्त हुनेछ भने बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ। अधुरा रहेका काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास थप बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा शान्ति, सन्तुलन तथा सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ साउन १ गतेअघि खपत भएको विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै यस विषयमा उपभोक्ता र व्यवसायीबीच देखिएको अन्योल हटाएको हो ।
विभागका अनुसार आर्थिक ऐन, २०८३ ले विद्युत सेवामा अन्तिम उपभोक्ताबाट पाँच प्रतिशत र अन्य उपभोक्ताबाट १३ प्रतिशत मूल्य अभिवृद्धि कर असुल गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०८३ साउन १ गतेदेखि मात्रै लागू भएको हो ।
यसअनुसार २०८३ असार मसान्तसम्म खपत भएको विद्युतको बिल साउन १ वा त्यसपछि जारी भए पनि साउनअघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । उक्त अवधिको विद्युत सेवा कर छुटको व्यवस्थाअन्तर्गत पर्ने विभागले जनाएको छ ।
यस्तै, नेपाल विद्युत प्राधिकरणले स्वीकृत महसुल दरअनुसार लिने न्यूनतम शुल्क तथा माग शुल्क पनि विद्युत सेवाकै हिस्सा भएकाले २०८३ साउन १ गतेदेखि भएको विद्युत खपतमा ती शुल्कमा समेत मूल्य अभिवृद्धि कर लाग्ने विभागले स्पष्ट गरेको छ ।
विभागले विद्युत सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी विषयमा अब कुनै द्विविधा नराख्न सबै उपभोक्ता तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी