२०८३ आश्विन २१
२०८३ आश्विन २१

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको जानकारी दिएको छ ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन १३ गते बुधबार ईस २०२६ जुलाई २९ नेपाल सम्बत ११४६ दिल्लाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल पुर्णिमा, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा बजे हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज आज गुरु पूर्णिमा र व्यास जयन्ती तथा विश्व बाघ दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन आत्मविश्वास र जोशले भरिएको रहनेछ। बिहानैदेखि नयाँ योजना बनाउने सोच आउन सक्छ र त्यसलाई कार्यान्वयन गर्ने अवसर पनि प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, लगनशीलता र समयमै निर्णय गर्ने क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी आउँदा पनि सहज रूपमा पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत छ भने पुराना ग्राहकसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि छ। परिवारमा खुसी र सद्भाव कायम रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। पर्याप्त आराम र सन्तुलित भोजनले दिनभर ऊर्जा कायम राख्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र संयमले धेरै काम सहज बनाउनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट राम्रो सहयोग प्राप्त हुनेछ। लामो समयदेखि सोच्दै आएको योजना अघि बढाउने उपयुक्त समय रहनेछ। व्यापार–व्यवसायमा नियमित आम्दानी कायम रहनेछ र सानो लगानीबाट पनि राम्रो प्रतिफल मिल्न सक्छ। आर्थिक रूपमा सन्तुलन कायम हुनेछ। परिवारका सदस्यहरूसँग आत्मीय संवाद हुनेछ र घरमा सुखद वातावरण रहनेछ। सामाजिक सम्बन्ध पनि विस्तार हुने सम्भावना छ। स्वास्थ्यमा सामान्यतया राम्रो अवस्था रहनेछ। नियमित दिनचर्याले थप स्फूर्ति दिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज सिर्जनशील सोच र प्रभावकारी अभिव्यक्तिका कारण धेरै क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, शिक्षण, लेखन, सञ्चार तथा सिर्जनात्मक कार्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पनि मिल्नेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना देखिन्छ। साथीभाइसँगको सहकार्य लाभदायक बन्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ चिनजानले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ। घरका सदस्यहरूसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ। कुनै शुभ समाचारले परिवारमा खुसी थप्न सक्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र जिम्मेवारीबोधको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। घर वा सम्पत्तिसँग सम्बन्धित योजना बनाउन दिन उपयुक्त रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक शान्ति र सन्तुष्टिले दिनलाई थप सहज बनाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता र आत्मविश्वासका कारण उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने सोच सफल हुन सक्छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान र नयाँ सीप सिक्ने काममा विशेष सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुशासन र लगनशीलताका कारण राम्रो उपलब्धि हासिल हुनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। आवश्यक खर्च भए पनि आम्दानीले सन्तुलन कायम गर्नेछ। परिवारमा सुखद वातावरण रहनेछ। छोटो यात्रा वा महत्त्वपूर्ण भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायामले शरीरलाई थप फुर्तिलो बनाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत फेला पर्न सक्छ। व्यापार–व्यवसायमा विस्तार हुने संकेत देखिएको छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर मिल्नेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ र नयाँ परिचय भविष्यमा उपयोगी सावित हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र उत्साह दुवै बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज निरन्तर मेहनतको प्रतिफल प्राप्त हुने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। आर्थिक पक्ष बलियो बन्दै जाने संकेत देखिएको छ। परिवारमा प्रेम, विश्वास र आपसी समझदारी कायम रहनेछ। प्रियजनसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि महसुस हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज आशावादी सोच र दृढ इच्छाशक्तिले नयाँ उपलब्धि दिलाउनेछ। अध्ययन, वैदेशिक क्षेत्र, व्यापार वा यात्रासँग सम्बन्धित कार्यमा सकारात्मक संकेत देखिन्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ योजना सुरु गर्न दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर मन प्रसन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि धैर्यका साथ काम गर्दा राम्रो उपलब्धि हासिल हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। महत्त्वपूर्ण निर्णय गर्दा अनुभवको उपयोग गर्नु लाभदायक हुनेछ। आर्थिक रूपमा खर्चमा नियन्त्रण राख्न सके बचत बढ्नेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्न आवश्यक हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ सोच र सिर्जनशीलताले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन् र नयाँ अवसर पनि प्राप्त हुनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले महत्त्वपूर्ण योजना सफल बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा प्रेम, विश्वास र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ र नयाँ सम्बन्धले भविष्यमा राम्रो अवसर प्रदान गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा दिनभर स्फूर्ति कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, विवेक र सकारात्मक सोचका कारण चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक पक्ष सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। अधुरा रहेका योजना क्रमशः पूरा हुँदै जानेछन्। साँझतिर शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना छ, जसले मनमा नयाँ उत्साह र आशा जगाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, आत्मविश्वास र सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिक खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान करिब ७ः३० बजे पहिलोपटक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। करिब पाँच घण्टापछि सडक सञ्चालनमा आए पनि डेढ घण्टा नबित्दै पुनः सोही स्थानमा सुख्खा पहिरो खसेर सडक फेरि बन्द भएको थियो। दोस्रोपटकको पहिरो हटाएर करिब एक घण्टापछि यातायात सञ्चालनमा ल्याइए पनि साँझ करिब ६ बजे तेस्रोपटक पहिरो खसेपछि सडक पुनः अवरुद्ध बनेको हो ।

हाल इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरो हटाएर सडक छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको र सडक खुलाउन करिब एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ ।

सडक डिभिजनले उक्त क्षेत्रमा अझै पनि पहिरोको उच्च जोखिम कायम रहेकाले अत्यावश्यक बाहेक रातिको समयमा यात्रा नगर्न तथा यात्रा गर्नै परे अत्यधिक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी

सुर्खेत । कर्णालीमा मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाहीको दाबी पेस गरेका छन् ।

नेकपा कर्णाली संसदीय दलका नेता शाहीले मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । मुगुका शाहीलाई एमालेका प्रदेश सांसदको समर्थन रहेको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए । यो सँगै कर्णाली प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीका रुपमा शाही मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।

४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा त्रास फैलिएको छ । भूकम्पका कारण कुमामोटोस्थित एक मलमा धेरै मानिस फसेका छन् भने घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार साँझ ४: २७ बजे जापानको क्युशु द्वीपको भित्री क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि कुमामोटोको एयोन किनमेल केन्द्रमा विस्फोट भएको खबर पनि सार्वजनिक भएको छ । यद्यपि, विस्फोटको कारण र त्यसबाट भएको क्षतिको आधिकारिक पुष्टि भइसकेको छैन ।

भूकम्पपछि जापानी अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका थिए । तर, करिब एक घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । त्यहाँ प्रत्येक वर्ष औसतमा करिब एक हजार पाँच सय भूकम्पका घटना अभिलेख हुने गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय योजना आयोगबीच विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा उद्यमीको ज्ञान, सीप र अनुभवलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा विस्तृत छलफल भएको छ ।

एनआरएनएको प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेको हो ।

भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको ‘विकासका लागि सञ्जाल’ अवधारणालाई यसपटक समाधानमुखी ढाँचामा रूपान्तरण गरिएको जानकारी दिए । उनले विगतका तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त निष्कर्ष र सिफारिसलाई राष्ट्रिय योजना आयोगका योजना तथा नीतिसँग एकीकृत गरी कार्यान्वयनमुखी कार्यक्रमका रूपमा अघि बढाइने बताए ।

उनका अनुसार चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ मा राष्ट्रिय योजना आयोगका प्राथमिकतासँग मेल खाने छवटा विषयगत क्षेत्रमा केन्द्रित छलफल हुनेछ। सम्मेलनमार्फत विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा विभिन्न पेशागत क्षेत्रमा कार्यरत विशेषज्ञलाई नेपालका नीतिनिर्माता, सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ ।

एनआरएनएका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख रोजिना प्रधान राईले दोस्रो पुस्ताका नेपाली मूलका दक्ष युवालाई पनि नेपालको विकाससँग जोड्न आवश्यक रहेको बताइन्। उनले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन संशोधन तथा गैरआवासीय नेपाली विकास कोषलाई शीघ्र कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइन् ।

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपाली विकास कोष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विश्वभर रहेका नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले कोष सञ्चालन गरिने बताए। उनले आवश्यक कानुनी संशोधनमध्ये एउटा प्रक्रिया मात्र बाँकी रहेको जानकारी पनि दिए ।

एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपाली लगानीकर्ताले लगानीबाट प्राप्त प्रतिफल स्वदेश फिर्ता लैजाने प्रक्रियामा रहेका कानुनी तथा व्यावहारिक कठिनाइबारे आयोगको ध्यानाकर्षण गराउँदै लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।

जवाफमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोग एनआरएनएसँग सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताए। उनले सुशासन सुधार, संस्थागत सुदृढीकरण, कानुनी तथा नीतिगत सुधार, अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास नेपालमा भित्र्याउने, गैरवित्तीय क्षेत्रको डिजिटलीकरण, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, सुरुङमार्ग, यातायात तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा प्रवासी नेपाली विज्ञहरूको ज्ञान र अनुभव उपयोगी हुने धारणा व्यक्त गरे ।

उनले चौथो विश्व नेपाली ज्ञान सम्मेलन सफल बनाउन राष्ट्रिय योजना आयोगबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाए । भेटका क्रममा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसपटक दुवै सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धन, गैरआवासीय नेपालीको लगानी आकर्षण र लगानीका अवसरबारे विशेष छलफल हुने बताए। साथै, क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावलाई राष्ट्रिय विकास र लगानी प्रवर्द्धनसँग जोड्ने गरी अघि बढाइने जानकारी दिइयो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध सरकारी एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख ९ हजार २५० रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अनुसन्धानका क्रममा भारत सरकारको सहयोगमा भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार एम्बुलेन्सबाट कति सेवा निःशुल्क प्रदान गरियो, कति सेवाबापत शुल्क उठाइयो र सञ्चालनमा कति इन्धन खर्च भयो भन्ने कुनै अभिलेख, लगबुक वा प्रमाण नराखिएको पाइएको छ। साथै, सेवा सञ्चालनबाट प्राप्त आम्दानी तथा खर्चको हिसाबसमेत पालिकामा दाखिला नगरिएको अनुसन्धानबाट खुलेको छ ।

आयोगले सरकारी सार्वजनिक सम्पत्ति भएको एम्बुलेन्सलाई निजी सवारीसरह प्रयोग गरी गैरकानुनी लाभ लिने उद्देश्यले आफूखुसी भाडा उठाएको जनाएको छ। अनुसन्धानअनुसार उक्त एम्बुलेन्स तीन वर्ष पाँच महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते प्रकाशित गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा कच्ची सडकमा सञ्चालन भएको भाडा हिसाब गर्दा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानि–नोक्सानी भएको ठहर गरिएको आयोगले जनाएको छ।

उक्त आधारमा पूर्व वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखन संगठित तथा अन्तर्राष्ट्रिय अपराधसँग जोडिएको गम्भीर समस्या भएकाले यसको नियन्त्रणका लागि सुरक्षा निकाय, न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस–२०२६ को अवसरमा नेपाल प्रहरी र माइती नेपालको संयुक्त आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिन थालेको उल्लेख गरे । उनले पीडितका कानुनी कागजातको दुरुपयोग, साइबर स्क्याम, वैदेशिक रोजगारी र शैक्षिक परामर्श केन्द्रको आवरणमा हुने मानव तस्करीजस्ता गतिविधि नयाँ चुनौतीका रूपमा देखिएको भन्दै नेपाल प्रहरीले सूचना सङ्कलन प्रणाली सुदृढ बनाउने, सीमा क्षेत्रमा निगरानी बढाउने, जोखिममा रहेका यात्रुको पहिचान गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न संस्थामाथि कडा निगरानी र कारबाही गरिरहेको जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखनविरुद्ध राष्ट्रिय सचेतना अभियानमा सहकार्य गर्ने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानपत्र प्रदान गरे। उनीहरूले आफ्नो कला र लोकप्रियतामार्फत मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

अन्तरक्रियामा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले मानव बेचबिखन, सुरक्षित आप्रवासन, विद्यमान चुनौती र समाधानका उपायबारे प्रस्तुति दिएका थिए। साथै नेपाल प्रहरी र माइती नेपालले तयार पारेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो। कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, पीडित संरक्षण, डिजिटल सुरक्षाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा सुरक्षित वैदेशिक रोजगारीलगायत विषयमा व्यापक छलफल भएको थियो। नेपाल प्रहरीले मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण र अपराधीमाथि प्रभावकारी कारबाहीका लागि प्रतिबद्ध रहेको जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको पुष्टि गरेका हुन् । प्रवक्ता जयसवालले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका थिए ।

यसअघि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले केहि समय अघि दिल्ली पुगेर प्रधानमन्त्री शाहको भ्रमणको विषयमा भारतीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको विषय बाहिरिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । व्यवसायी शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको आदेशपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छालाई गत बैशाख २२ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पहिलो पटक पक्राउ गरिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।