२०८२ चैत्र २९
२०८२ चैत्र २९

 

रौतहट, २९ कात्तिक ।
रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ पिपरियामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन आज (शनिबार) उद्घाटन गरिएको छ ।

सुविधा सम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका प्रभु साहले मौलापुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गरेको उदाहरणिय कामको प्रशंसा गरे ।

‘मौलापुर नगरपालिकाले शासक होइन, सेवकको काम गरिरहेको छ । नगरप्रहरी होइन, नगर शिक्षक, स्वास्थ्यकर्मी राखेर जुन यहाँको जनतालाई सेवा दिइरहेको छ त्यो कार्य अन्य पालिकाले समेत कार्यान्वयन गर्नुपर्ने आवश्यक छ,’ पूर्वमन्त्री समेत रहेका साहले भने, ‘जनताको मन जितेको मौलापुर नगरपालिकाले अगामी दिनमा पनि यस्तै सेवालाई निरन्तरता दिदै जनताको आवश्यक्ता, चाहना अनुसार अगाडी बढोस, मेरो शुभकामना छ ।’

मौलापुर नगरपालिकाले शुन्य कर नीति, बिजुली, खानेपानी निशुल्क एवं विद्यार्थीलाई दिदै आएको विभिन्न सुविधा लगायतकाले मधेसमा मात्रै नभई नेपालमै एक चर्चित र उदहरणिय नगरपालिकाको रुपमा स्थापित भएको छ । जनताको मन जितेर राम्रा काम गरिरहेकी मेयर रिना साह सहित त्यहाँका जनप्रतिनिधि लगायत सबैमा उनले धन्यवाद ज्ञापन गरे ।

 

मौलापुर नगरपालिकाद्वारा निर्मित सुविधा सम्पन्न भवन सहितको उक्त स्वास्थ्य केन्द्रबाट यस क्षेत्रको आम नागरिकले पुरै लाभान्वित हुने विश्वास समेत साहले व्यक्त गरे । साथै आउँने दिनमा यस स्वास्थ्य केन्द्रबाट थप सेवा विस्तार गर्ने उदेश्यका साथ भव्य भवन निर्माण गरिएको समेत उनले बताए ।

२ करोड ५० लाखमा जग्गा सहित भव्यभवन निर्माण गरेर आउँने दिनमा बर्थिङ सेन्टर समेत सञ्चालन गर्न सकिने गरी भवन निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार अहिले यस सेवा केन्द्रबाट प्राथमिक सेवा प्रदान गर्ने काम भइरहेको छ ।

अहिले मौलापुर नगरपालिकामा आधारभूत स्वास्थय सेवा केन्द्र २, स्वास्थय चौकी ३ र प्राथमिक स्वास्थय केन्द्र १ वटाबाट नगरबासीलाई स्वास्थय सेवा दिइरहेको छ । मौलापुर नगरपालिकाका मेयर रिना साहको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

आरएन पटेल,रौतहट, कार्तिक २९ गते । 

रौतहटको गरुडामा विश्व–संजय बज्जिका साहित्य कोष अन्तर्गत “अक्षय कोष” स्थापना गरिएको छ । महम्मदपुर बैरेजस्थित गोपाल सेवा सदनको सभाहलमा आयोजित विशेष समारोहमा विभिन्न साहित्यप्रेमी, समाजसेवी तथा पदाधिकारीहरूको सहभागितामा कोषको औपचारिक स्थापना सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख उद्घोषक तथा सर्लाही निवासी डा. बिजय झाले १ लाख रुपैयाँको सहयोग हस्तान्तरण गर्दै अक्षय कोष उद्घाटन गरे । बज्जिका भाषा केवल साँस्कृतिक धरोहर मात्र नभई एक पूर्ण पहिचान भएको बताउँदै उनले यसको संरक्षण र विकास सबैको साझा जिम्मेवारी रहेको धारणा राखे । उनले स्थापित कोषले बज्जिका साहित्यिक सिर्जनामा नयाँ उर्जा र दिशानिर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, पर्सास्थित कृषि ज्ञान केन्द्रका प्रमुख तथा रौतहट निवासी साहित्यप्रेमी हरिशंकर प्रसाद जयसवालले पनि आफ्नो तलबका विभिन्न भत्ताहरू समेटेर १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले अक्षय कोषलाई दीर्घकालीन र मजबुत बनाउने हेतुले निरन्तर समर्थन आवश्यक भएको बताए ।

बज्जिका साहित्यमा समर्पित बिन्दा सहनीले रौतहटको खेसरहियास्थित आफ्नै जग्गामा “बज्जिका साहित्य भवन” निर्माण गरी उपलब्ध गराउने घोषणा गर्दै कोषका लागि थप २५ हजार रुपैयाँ प्रदान गर्ने प्रतिज्ञा गरे । यस्तै, यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सीताराम यादवले पनि २५ हजार रुपैयाँ सहयोग घोषणा गर्दै कोषलाई सबैको साझा गर्वको विषय बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यी सबै योगदानसँगै अक्षय कोषको प्रारम्भिक जम्मा रकम २ लाख ५० हजार रुपैयाँ पुगेको आयोजकहरूले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका पूर्व माननीय गोपाल अश्क रहेका थिए । कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल यादव ‘श्रीकृष्ण’ ले गरेका थिए भने सञ्चालन साहित्यकार तथा बज्जिका सेवक संजय साह मित्रले गरेका थिए ।

समारोहमा सर्लाहीका विशिष्ट अतिथि महानन्द झा सहित अवधेश कुमार राय, बालदेव प्रसाद साह, विनयराज गौतम, बिरेन्द्र यादव, दिपेन्द्र यादव, रेणु गुप्ता, संजयराज महतो, बिगन साह रौनियार, शिवचन्द्र प्रसाद साहलगायत विभिन्न क्षेत्रका कवि, साहित्यकार, बुद्धिजीवी र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले बज्जिका भाषा–साहित्यको संरक्षण, अभिवृद्धि र आगामी पुस्ताका लागि समृद्ध साहित्यिक वातावरण निर्माण गर्न अक्षय कोष महत्त्वपूर्ण मीलका पत्थर सावित हुने विश्वास व्यक्त गर्दै सबैलाई यस अभियानसँग जोडिन आह्वान गरेका थिए ।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । भने, पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।

निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी भारतबाट बढेर आएको मूल्यभन्दा घटाएर मात्रै मूल्य बढाएको हो । सभार नेपाल प्रेस

सञ्जय गुप्ता, सर्लाही २८ गते कार्तिक ।

गोडैता नगरपालिका–६ रामबन मा हामी सबैको आवाज नेपाल संस्थाद्वारा सञ्चालित सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ। रामचन्द्र रामको आर्थिक अभाव र दैनिक जीवनमा कठिनाइ भोगिरहेका स्थानीय विपन्न परिवारहरूको सहायताका लागि संस्थाले सञ्चालन गरेको “सूक्ष्म राहत तथा सहयोग वितरण कार्यक्रम” आज सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा संस्थाले लक्षित लाभग्राहीलाई करिब १०,०५५ रुपैयाँ बराबरको ‘सुख–साराध’ काे लागी गरेको आयोजक समितिले जानकारी दिएको छ। संस्थाका प्रतिनिधिहरूका अनुसार यो सहयोग विशेषगरी आर्थिक कठिनाइ झेलिरहेका असहाय तथा विपन्न परिवारहरूको तत्काल आवश्यकता पहिचान गरी प्रदान गरिएको हो। सहयोग प्राप्तकर्ताले दैनिक उपयोगका सामग्री तथा आवश्यकताअनुसारको राहत पाएपछि कृतज्ञता व्यक्त गरेका छन्।

यस सामाजिक कार्यक्रममा ,रेडियो स्मार्ट को संचालक संजय बानियाँ आशिक पटेल, पूरसोतम साह लगायत स्थानीय सक्रिय अभियन्ताको उल्लेखनीय योगदान रह्यो। उनीहरूले सामुदायिक उत्थान, मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका लागि यस प्रकारका पहलले महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। आयोजक तथा सहभागीहरूले विपन्न र सीमान्तकृत समुदायलाई निरन्तर राहत र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए।

स्थानीय बासिन्दाले हामी सबैको आवाज नेपाल संस्थाले गरेको यो कदमलाई अत्यन्त सराहना गर्दै यसले समुदायमा सकारात्मक ऊर्जा फैलाएको बताएका छन्।

उनीहरूले दातृ निकाय, संस्था तथा व्यक्तिहरूलाई यस्तो सामाजिक अभियानलाई निरन्तरता दिन अपिल समेत गरेका छन्।
सहयोग वितरण कार्यक्रमले स्थानीय तहमा मानवीयता र समाजसेवाप्रतिको जागरण बढाएको भन्दै सबै पक्षले यसलाई सफल सामाजिक योगदानका रूपमा लिएका छन्।

चितवन, २८ कात्तिक ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् । यतिबेला हरेक नेपालीको काँधमा देश बचाउने महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थ जोगाउन सडक संघर्षमा उत्रिनैपर्ने आवश्यकता रहेको बताए ।

मकवानपुर जिल्लाको हेटौंडा – ४ स्थित रोयल पार्टी प्यालेसमा आज (शुक्रबार) आजपा मकवानपुर जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको असफल भएको व्यवस्थाकै कारण नेपालमा सार्वजनिक ऋण बढदै गइरहेकाले लुटेरा, भ्रष्ट नेतालाई दण्डित गर्नुपर्ने बताए ।

‘नेपालको सार्वजनिक ऋण २८ खर्बभन्दा बढी भइसकेको छ । यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४७ प्रतिशतभन्दा बढी हो । अहिले त हरेक नेपाली जन्मिँदै एक लाख ऋणको भारी टाउकोमा बोकेर जन्मिनुपर्ने अवस्था छ । नेपाललाई ग्रे–लिष्टमा राखिएको छ, ग्रे–लिष्टबाट नबाहिरिए ब्ल्याक लिष्टमा राख्छन तर यो सरकारलाई यसबारेमा कुनै चासो र चिन्ता नै छैन् । मुलुकलाई ग्रे–लिष्टबाट निकालेर कसरी मुलुकको अर्थतन्त्र जोगाउने, राष्ट्रियता, लोकतन्त्र कसरी जोगाउने भन्नेबारेमा अलिकतिपनि चिन्ता नलिएको वर्तमान सरकारले केवल आफ्नो सत्ताको आयु कसरी लम्ब्याउने भन्ने खेलमा लागेको छ,’ आजपा अध्यक्ष साहले भने ।

अहिलेको लुटकारी व्यवस्था र भ्रष्ट नेताहरुका कारण नेपालमा सार्वजनिक ऋण बढदै गइरहेको बताउदै उनले भ्रष्ट नेतालाई दण्डित गर्नुपर्ने बताए । अब सडक संघर्षमै जानुपर्ने अवस्था आइसकेको र त्यसका लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउन सडक संघर्षको विकल्प नभएको बताए । अहिले जन्मिदै हरेक नेपालीको टाउकोमा एक लाखको ऋणको भारी पर्ने अवस्था रहेको र नेपाललाई ‘ग्रे–लिष्ट’मा राखिएको बताउदै उनले सरकारले देशलाई ग्रे–लिष्टबाट बाहिर निकाल्न कुनै चासो नै नदिएको बताए ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन वित्तीय कारबाही कार्यदल वा फाइनान्शल एक्शन टास्कफोर्स (एफएटीएफ) ले निरन्तर निगरानी गरेर ग्रे–लिष्टमा राखेको ९ महिना भइसकेको छ । सन् २०२७ को ज्यानुअरीसम्ममा ग्रे–लिष्टबाट बाहिर निकाल्ने काम नभए ‘ब्ल्याक–लिष्ट’मा पर्नेछ । तर, सुशीला कार्की नेतृत्वको सरकारले कसरी हुन्छ सत्तामा टिकिराख्नका लागि निर्वाचनको नाटक गरिरहेको आरोप साहले लगाए ।

‘सम्पत्ति शुद्धीकरणको क्षेत्रमा सरकारले गर्नुपर्ने काम शुन्य छ । वाणिज्य ब्यांक, उच्च जोखिमयुक्त सहकारी क्षेत्र, क्यासिनो, बहुमूल्य धातु तथा पत्थरका डिलरहरू तथा घरजग्गा क्षेत्रको जोखिममा आधारित प्रभावकारी अनुगमन सरकारले गर्नुपर्ने भए पनि त्यसो गरेको छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘वित्तीय पहुँचलाई असर नपर्नेगरी अवैध रकम तथा मूल्य पठाउने वा हुन्डीजस्ता सेवाहरूको पहिचान गरी प्रतिबन्ध लगाउने काममा सुधार गर्नुपर्ने भएपनि गरेको छैन् ।’

अहिले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै गम्भिर संकटमा रहेको बताउदै उनले समग्र देशकै साख नै दाउमा रहेको टिप्पणी गरे । ‘समग्र देशको साख नै दाउमा परेको छ । चाहे सरकारी तहमा आउने सरसहयोग होस् वा विश्व बैंकजस्ता बहुपक्षीय संस्थाबाट आउने सरसहयोगसमेत प्रभावित हुनसक्ने अवस्थामा पुगेको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय समुदायको निगरानीमा परेको देशमा लगानी गर्न वा अन्य कुनै काम गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरू हतोत्साह हुने निश्चित् रहेको बताउदै सरकारले सचेतना अपनाउन आवश्यक रहेको उनले बताए । सरकारको लापरवाहीले गर्दा नेपालमा आउने वैदेशिक लगानी नै प्रभावित हुने जोखिम बढदै गइरहेकाले सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको साहले बताए ।

सर्लाही, कार्तिक २८ गते । 
मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको गैरजिम्मेवार, गैरसंवैधानिक तथा अराजक गतिविधिप्रति नेपाली कांग्रेस मधेश प्रदेशका उप–सभापति पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आफनो सामाजिक सञ्जाल फेसबुकमा मार्फत कडा आपत्ति जनाएका छन्।

उप–सभापति सिंहका अनुसार प्रदेशको नेतृत्व तहबाट भएका यस्ता कदमहरूले केवल मधेश प्रदेशलाई अस्थिरतामा धकेल्ने मात्र होइन, लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने गम्भीर प्रयास भएको छ। उनले भने “संविधानविपरीत भएको निर्णय र क्रियाकलापले प्रदेशको राजनीतिक वातावरणलाई दूषित बनाएको छ। लोकतन्त्र र संविधानको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुन आवश्यक छ।”

सिंहले सम्पूर्ण लोकतान्त्रिक दलहरू, नागरिक समाज तथा लोकतन्त्रप्रेमी जनसमुदायलाई गैरसंवैधानिक क्रियाकलापविरुद्ध आवाज उठाउन आह्वान समेत गरेका छन्।

उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र संवैधानिक मर्यादाको रक्षा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै मधेश प्रदेशलाई अस्थिर बनाउने योजनामाथि व्यापक प्रतिरोध गर्न आग्रह गरेका छन्।

आरके श्रीवास्तव,राैतहट,कार्तिक २८ गते । 

रौतहटकाे बौधिमाइ नगरपालिका–७ बन्कुलमा जेनजी टिम  द्वारा आयोजित विशेष भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय युवा सक्रियता तथा विकास मुद्दामा अग्रसर रहेका सोनु कुशवाहाले मुख्य अतिथिको रूपमा सहभागिता जनाउँदै स्थानीय समस्याहरूको विषयमा विस्तृत रूपमा छलफल गरेका छन् ।

समुदायका प्रतिनिधिहरूसँगको कुराकानीका क्रममा कुशवाहाले वडा नम्बर ७ मा देखिएका प्रमुख चुनौतीहरू बाटोघाटोको दयनीय अवस्था, नहर तथा सरसफाइ व्यवस्थापनको अभाव, र स्थानीय पूर्वाधार विकासमा देखिएको ढिलासुस्ती तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याए । उनले जनताको अपेक्षाअनुसार विकास र सुशासन सुनिश्चित गर्न युवाहरूको एकता र सशक्त भूमिकाको आवश्यकता रहेको बताए ।

जेनजी समूहका तर्फबाट रौतहट क्षेत्र नं. २ मा संघीय सांसदका लागि उम्मेदवारी दिने तयारीसहित कुशवाहाले विकासमुखी राजनीति, पारदर्शिता र युवामैत्री नेतृत्वलाई आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।

“जय युवा एकता” नारासहित सम्पन्न भएको भेटघाट कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले उठाइएका समस्याहरू समाधानका लागि जेनजी टिमले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको जनाइएको छ ।

रामानन्द साह,देवाहीगाेनाही,कार्तिक २७ गते । 

राैतहटकाे देवाहीगोनाही नगरपालिकामा O.C.M.C. (One-Door Crisis Management Center) अन्तर्गत लैङ्गिक हिंसा सम्बन्धी एक–दिने तालिम सम्पन्न भएको छ । तालिममा विद्यालयका शिक्षक, स्थानीय प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य समुदायमा हुने लैङ्गिक हिंसाका घटनाहरू पहिचान गर्ने, रोकथामका उपायहरूबारे जागरूकता बढाउने तथा पीडितहरूलाई सहयोग पुर्‍याउन आवश्यक प्रक्रिया, सेवा पहुँच र समन्वय प्रणालीबारे जानकारी प्रदान गर्नु रहेको आयोजकले बताएको छ ।

सहभागीहरूले विद्यालय तथा समुदायस्तरमा प्रभावकारी प्रतिवेदन प्रणाली सञ्चालन गर्ने तरिका, पीडितलाई प्राथमिक सहयोग प्रदान गर्ने विधि तथा सम्बन्धित निकायसँग समन्वय गर्ने व्यावहारिक सीपसमेत सिकेका छन् । तालिमले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा आवश्यक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने सहभागीहरूको धारणा आयाेजक संस्थाका राेशन अधिकारीले जानकारी गराएका हुन् ।

 

बुटवल, २७ कात्तिक ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन् । चुनाव गराउने दायित्वमा रहेको सुशीला कार्की नेतृत्वको सरकारको तयारी चुनाव गराउनेभन्दापनि आफ्नो सत्ता लम्ब्याउने र नियन्त्रित अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित रहेको साहको आरोप छ ।

आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बुटवलमा आज (बिहीबार) सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रजातन्त्रको हिमायती भन्ने कांग्रेस अहिले केन्द्रीय समितिको बैठकसमेत सही तवरले चलाउन नसक्नेगरि ‘कुहिरोमा हराएको काग’झैं भएको भन्दै कांग्रेसको गतिविधि पनि चुनाव हुन नदिने षड्यन्त्रतर्फउन्मुख रहेको आरोप लगाए ।

जेन–जी युवाहरुको हत्या गर्दापनि कुनै पश्च्ताप र सार्वजनिक आत्मग्लानी नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त चुनाव नचाहनु स्वभाविक भएपनि कांग्रेसले समेत आफूलाई ओलीको पुच्छर बनाउनु युवाहरुको बलिदानी र जेन–जी पुस्ताको त्यागप्रति ठूलो धोका भएको साहको टिप्पणी छ । नेपाली कांग्रेस विगतमा ओलीकै पिछलग्गु बन्दा भदौ २३ गते जेनजीहरुले सचेत विद्रोह गरेको कुरा कांग्रेसत्रिभ विपी कोइरालाका अनुयायीहरुले बुझ्नुपर्ने उनको सुझाव छ ।

उनले एमाले नेतृत्वको हठले मुलुकले दुर्गति भोग्नुपरेको र कलिला युवाहरुको हत्या भएको भन्दै अहिलेपनि कांग्रेसीजन ओलीको बाटोमा हिँड्न खोज्नु मुलुक र जनताको लागि ठूलो दुर्भाग्य हुने भन्दै सचेत हुन र चुनावको पक्षमा दृढताका साथ उभ्याउन सुझाव दिएका छन् । उनले प्रतिनिधिसभाको चुनाव हुन नदिनको लागि एमाले नेतृत्वले पूनःस्थापनाको नाटकमञ्चन गरेको भन्दै सचेत नेपालीले अब चुनावभन्दा अर्को बाटो नचाहेको स्मरण गराए । उनले एमाले चुनावमा जानको लागि डराएको भन्दै कांग्रेसलाई एमालेको पुच्छर भएर नहिँड्न सुझाव दिए ।

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनको भावना र स्पिरिटलाई वर्तमान सरकार र यसका मन्त्रीहरुले कुल्चिएको र ठूलो धोका दिएको पनि आरोप लगाए । कुलमान घिसिङले जेनजी आन्दोलनको अपहरण गरेको र सत्ताको चास्नीमा डुबेर दल खोल्ने काम गरेको भन्दै यो कदम जेनजी आन्दोलनप्रति धोका र अक्षम्य अपराध भएको साहको टिप्पणी छ ।

उनले भने, ‘यो सुशीला कार्की नेतृत्वको सरकारको जन्म कसरी भयो ? निर्दलीय सरकार बनाएको भनिएको होईन, अनि कुलमानले सरकारमा बसेर दल खोल्ने काम गरे, यो कुरा नेपाली जनताले नजिकबाट हेरिरहेका छन्, म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–कुलमानको गतिविधिप्रति नजर राख्नुहोस, यो सरकार निर्दलीय हो भने कुलमानले शक्तिको दुरुपयोग गरेर दल खोलेको कुरा आएको छ, तत्काल बर्खास्त गर्नुहोस ।’ उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि प्रश्न उठाए ।

उनले गृहमन्त्रीलाई लुते र निम्छरोको संज्ञा दिए । उनले अर्यालबाट मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम हुन नसक्ने ठोकुवा गरे । उनले गृहमन्त्रीले अहिलेसम्म जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरुको छाति र टाउकोमा ताकि÷ताकि गोली हान्ने हत्याराहरूलाई कारबाही त परको कुरा बयानसमेत लिन नसकेको भन्दै राजीनामा मागे ।

साहले अहिलेको सरकारले मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने र पाएको म्याण्डेटसमेत पूरा नगर्ने ठोकुवा गरे । उनले सरकारका अधिकांश मन्त्रीहरु स्टन्टमा रमाएको र निकास निकाल्नेगरि सही स्टेप चाल्न चुकेको टिप्पणी गरे । उनले जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा सही जनविद्रोह भएपनि सुशीला कार्कीहरुको कारण बदनाम र कलंकित हुने खतरा देखिएको औंल्याए । उनले अहिले देशलाई निकास दिनको लागि अन्तरिम संविधान र अन्तरिम सरकार नै भएको एकमात्र विकल्प सुझाए ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक २७ गते । 

नेपाली कांग्रेस रौतहटका पूर्व सभापति, पार्टी केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको निधनले रौतहट जिल्लासँगै समग्र नेपाली कांग्रेस परिवारमा ठूलो शोक तथा अपूरणीय क्षति परेको जनाइएको छ ।

वि.सं. २०१९ असार ५ मा जन्मिएका आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा २०८२ कात्तिक २२ गते निधन भएको हो । लामो समयदेखि पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन तथा जनताको हकहितका लागि सक्रिय रहँदै आएका आलम एक कुशल संगठक, दृढ नेता तथा मार्गदर्शकको रूपमा चिनिनुहुन्थ्यो ।

उहाँको निधन पश्चात् कांग्रेस नेता तथा पूर्वमन्त्री आलमका भाइ महताब आलम, छोराहरू डा.राजिक आलम,डा.फिरदाेस आलम सहित परिवारजनलाई संवेदना प्रकट गर्न आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सभापति सुनिल कुमार यादव (जितेन्द्र) नेतृत्वको टोली उहाँको पैत्रिक गाउँ राजपुर पुग्यो । सभापति यादवले दुखद क्षणमा परिवारसँग भेटघाट गर्दै हार्दिक श्रद्धाञ्जली एवं समवेदना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस रौतहटले दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष श्रद्धाञ्जली तस्बिर समेत परिवारलाई हस्तान्तरण गरेको छ । सो तस्बिरमा आलमको राजनीतिक योगदान, जनपक्षीय व्यक्तित्व र जिल्लाले गुमाएको असल अभिभावकप्रति कृतज्ञता व्यक्त गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।

श्रद्धाञ्जली वक्तव्य नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सभापति सुनिल कुमार यादवले जारी गरेका हुन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।