२०८३ जेष्ठ २
२०८३ जेष्ठ २

 

काठमाडौं, २५ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए ।

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने बताए ।

 

काठमाडौं, २५ असार ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे । ‘प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुुस्,’ उनले भने ।

 

बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिनुपर्ने बताए । मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका उब्जिएको उनको भनाइ छ ।

 

काठमाडौं, २५ असार।

माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा  गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन्।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो।

 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

 

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ  लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

 

काठमाडौं, २५ असार ।

प्रहरीले वैदेशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदेशिक रोजगारबाट फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

 

पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह, धनुषाका सुनीलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पंजियार, बाँकेका भुमबहादुर वली रहेका छन्।

 

प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटल सञ्चालन गरेको र सुन संकलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले बताए।

 

सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको प्रहरीको भनाइ छ। वैदेशिक रोजगारबाट स्वदेश फर्कँदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केही रकम दिने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

उक्त समूहले गएको चार वर्षमा मात्रै २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यस विषयमा विभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

काठमाडौं, २५ असार ।

झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए ।

 

प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार सूर्योदय वडा ५ ले पनि भुवनसिंह चेतनको बुबा नभएको फेला परेकाले आवश्यक छानबिनका लागि सीमा प्रशासनलाई आग्रह गरेको थियो ।

 

पक्राउ परेका दुवै जनालाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

 

धनगढी, २५ असार।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन्।

सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो। सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ। नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ,‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ। उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्।

 

काठमाडौं, २५ असार ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र यो राम्रो कुरा भएको प्रस्ट पारिन् । ‘आजको कार्यसूचीमा रहेका मिटरब्याजसम्बन्धी कानूनमात्रै होइन, अरु पनि कार्यसूचीहरू स्थगित गरिएको छ । मिटर ब्याजसम्बन्धी विधेयकको हकमा अर्को बैठकमा पेश हुन्छ, र पास हुन्छ,’ उनले भनिन् ।

मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौंका सडकमा धर्ना र संघर्ष गरेपछि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत् काम अघि बढाएको थियो । तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो ।

 

आरके श्रीवास्तव,रौतहट,असार २४ गते

रौतहट–रोजगारीको राम्रो सम्भावना बोकेको ह्याचरी उद्योगलाइ प्रोत्साहन गर्ने हो भने यस बाट धेरैले रोजागरी पाउने छन् । यसको प्रत्यक्ष उदाहरण हो फतुवा बिजयपुर नगरपालिकामा रहेको एक ह्याचरी उधोग । जिल्लाको फतुवा बिजयपुर–८ मा अबरारुल हकले हाँस,बट्टाइ लगायतको चल्ला उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

उनको कासमी कृषि तथा पोल्ट्री प्रा.लि. अहिले सञ्चालनमा छ । उनले अहिले हाँस,बट्टाइ,टर्की,लोकल कुखुराको चल्ला,गिरिराज कुखुराको चल्ला र परेवा पाइनु को साथै पोल्ट्री जन्य सामाग्री उत्पादन गरेर मधेश प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् ।

उनले चल्ला उत्पादनबाट हरेक महिना १ लाखदेखि २ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउँछन् । २०६३ सालदेखि पोलट्री व्यवसायमा लागे अबरारुलले अन्य ठाउँमा यो व्यवसाय राम्रो गर्दै गएको प्रभावित भएर ह्याचरी सञ्चालनमा ल्याएको बताउँछन् ।

ह्याचरीमा उत्पादित चल्ला रौतहट,बारा,पसाका साथै सर्लाही,महोत्तरी,धनुषा सम्म बजार प्रतिनिधी मार्फत बिक्री वितरण गराउने गरेका छन् । बाहिरका व्यापारीहरू पनि चल्ला खरीदको लागि उनको ह्याचरीमा आउन गरेको बताउँछन् ।

ह्याचरी उद्योग नहुँदा यहाँका पोल्ट्री सामाग्रीका लागि किसान व्यवसायीले चितवन सहित अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो । तर स्थानीयस्तरमै ह्याचरी उद्योगबाट हाँस लगायतका चल्ला उत्पादन भएपछि किसानलाई सुविधा भएको छ । १० वर्ष पेशा बाट पलायन भएका अबरारुल पुनः फर्किए वि.स. २०६३ सालमा ब्रोइलर फार्म सुरु गरेका उनी १० वर्ष जति पेशा बाट पलायन भए । बिचबिचमा कुखुरापालन गर्दै छोड्दै आएका थिए ।

कारण थियो कहिले व्यवसायमा घाटा हुनु कहिले नाफा हुनु । जसरी त्यसरी पारिश्रमीक निस्किन्थ्यो । उनी भन्छन् कुखुरापालन व्यवसाय बाट राम्रो आम्दानी गर्न सकिन्छ भने आश थिएन् । पछि वि.स. २०७५ साल मा पुनः यस पेशामा फर्किएको सुनाउँछन् । वि.स.२०७७ साल देखि देखि चल्ला उत्पादनको काम सुरु गरेका बताए । तत्पश्चात् राम्रै आम्दानी गरेको छु ।

महिनाको लाखौं आम्दानी गरेको छु । सबै खर्च काटेर राम्रै आम्दानी हुन्छ । यदी अनुदानहरु सहयोग पाए भने ह्याचरी उधोगलाइ मधेश प्रदेशमै नमुना बनाउने उनको सोच छ । उधोगलाइ विस्तार गर्ने उनको योजना रहेको सुनाउ छन् । यदि ठूलो उधोगको रुपमा परिणत भयो भने १२ जनाको ठाउँमा १००÷२०० जनाले रोजगारी पाउन सक्ने उनको भनाइ छ ।

महिनाको ६० हजार सम्म कमाउँछन् बजार प्रतिनिधी ४ लाखको व्यत्तीगत लगानीमा सञ्चालनमा रहेको ह्याचरी उद्योगमा तिन जना कामदार छन् । भने करिब १ दर्जन जति बजार प्रतिनिधीहरु छन् । स्थानिय सरकार फतुवा बिजयपुर नगरपालिकाबाट अनुदानको सहयोगमा उनको लगानी कारोबार अहिले ४० लाख सम्म पुगेको छ ।

उनले व्यवसाय सञ्चालनको लागि काँही कतै बाट ऋणलिएका छैन्न् । बजार प्रतिनिधीको रुपमा काम गर्ने ऐनुल हक भन्छन् चल्लाहरु बेचेर महिनाको ६० हजार सम्म कमाउँछौ । अन्त कामउन जानुपरेको छैन् । अर्का एक जना बजार प्रतिनिधी नुर आलमको पनि त्यस्तै भनाइ छ ।

हामी दैनिक रुपमा मोटरसाइकिलमा चल्ला लोड गरी मधेश प्रदेशको विभिन्न ठाउँमा बिक्रि गर्न निस्किन छौं । बेलुका आएर साहु सँग हिसाब किताब सबै काँटछाँट गरेर महिनामा त्यती आम्दानी गर्ने गरेका छौं । सम्बन्धित निकाय बाट के के पाए अबरारुलले? स्थानिय सरकारबाट केही अनुदान बाहेका काँही कतै बाट केही सहयोग नपाएको उनी बताउँछन् ।

प्रदेश र संघ सरकार बाट केही सहयोग नपाएको गुणासो गरे । पशु सेवा शाखा फतुवा बिजयपुर शाखाका प्रमुख दयाराम यादव सँग बुझदा यस वर्ष ह्याचरी उत्पादन गर्ने किसानको लागि केही कार्यक्रम नभएपनि माछा पालन गर्ने किसानको लागि आएको जानकारी गराए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर प्राविधिक सहायक सूचना अधिकारी जादोलाल साह सँग सोध्दा जिल्ला बाट ह्याचरी उधोगीका लागि जिल्ला बाट केही कार्यक्रम नभएपनि क्षेत्रीय निर्देशनालय बाट अनुदानको लागि रकम आएपनि फ्रि भएको जानकारी गराए ।

यता पशुपन्छी तथा मत्सय विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख जागेश्वर यादव सँग सोध्दा हाँसको ह्याचरी स्तरोन्ती कार्यक्रम सञ्चालनका लागि आएपनि बजेट रोक्का भएका कारण कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी गराउनु भयो । तर हामीले ह्याचरी सञ्चालन गर्ने व्यवसायीहरु लाइ प्राविधिक मार्फत निःशुल्क सेवा दिइरहेका छौं ।

कुनै व्यवसायीलाइ सहयोगको आवश्यकता परे निर्धक्क भएर सम्पर्क गर्न आग्रह गर्नु भयो । ह्याचरी उधोग सञ्चालन गर्न यस्तो छ चुनौती ह्याचरी उधोग सत्तचालन गर्न धेरै चुनौती रहेको उनी बताउँछन् । बजारीकरणको समस्या छ । चल्ला उत्पादन गरेपछि आफैले लगेर बेच्नु पर्ने बाध्यता छ । काँहिकतै बाट अनुदान पाउँदैन् । अर्को समस्या बिधुतको रहेको बताए ।

१ घण्टा लाइन कटयो भने ४ सय सम्मको डिजल खपत हुन्छ । जसकारण हामी लाइ घाटा हुन्छ । यसको पनि ठोस् उपाय गरियो भने राम्रो हुन्थ्यो । उनी भन्छन् फतुवा बिजयपुर नगरपालिकाको अनुदान सहयोगमा यहाँ सम्म पुग्न सफल भएको छु ।

तर अझै ठूलो रुपमा काम गर्नको लागि मेसिनहरु ख्रिद गर्न पाइयो भने सयांै जना लाई राम्रो रोजगारी दिन सकिन्थ्यो । म जस्ता वास्तविक किसान फर्म वालाले जिल्ला ,प्रदेश बाट अनुदान नपाएको गुणासो गरे । नगरपालिका बाट थोरै अनुदान पाएर राम्ररी चालाउन कठिन छ मथिल्लो निकायको ध्यानाकर्षण होस् भनि उनी चाहन्छन् ।

         

 

बझाङ, २५ असार ।

बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेकि अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा सोमबार फेला पारेको बझाङ प्रहरीले जनाएको छ ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले  थप अनुसन्धान गरिरहेको छ ।

 

रुसी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेट गरेका छन् ।

क्रेमलिनले यसको पुष्टि गरेको छ। हालै प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा डेढ दिनपछि दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो ।

 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए। तर, उनीहरू बिचमा के कुराकानी भयाे ? त्याे भने खुल्न सकेकाे छैन् ।

 

विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्। त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्सेवी लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेकाे घोषणामा वाग्नर समूहको नाम भने राखिएकाे छैन।

 

तर यो कदम वाग्नर समूहलाई नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको थियो। यस पछि प्रिगोजिनले एक विज्ञप्तिमा घोषणा गरे कि उनका लडाकुहरूले यो सम्झौता बहिष्कार गर्नेछन्।

 

वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफ्ना सेनाले रुसी विमानमा आक्रमण गरेको बताए । उनले दावी गरे कि रुसी विमानले आफ्नो सेनालाई रोक्न रकेट र बमले मस्कोतर्फ बढिरहेको थियो। उनले रुसी विमान खसाल्नु परेकोमा दुःख व्यक्त गरे ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।