काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।
हाल लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ, बाँकी भू-भागमा साधारणतया बादल लागेको छ। बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। साथै तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन १६ गते शनिबार ईस २०२६ अगस्ट १ नेपाल सम्बत ११४६ दिल्लाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल तृतीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शोभन योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ हुदैछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन उत्साह, आत्मविश्वास र नयाँ अवसरले भरिएको रहनेछ। बिहानदेखि नै मनमा सकारात्मक सोच जाग्नेछ र लामो समयदेखि रोकिएका काम अघि बढ्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता, मेहनत र निर्णय गर्ने शैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक, सम्झौता वा लगानीको अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना छ। परिवारमा खुसी र मेलमिलापको वातावरण कायम रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नियमित खानपान र पर्याप्त आरामले दिनभर स्फूर्ति कायम राख्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य, विवेक र संयमले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। अधुरा रहेका योजना पूरा हुने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ र नयाँ अवसर पनि देखा पर्न सक्छ। आर्थिक पक्ष सन्तुलित रहनेछ। बचत गर्ने योजना सफल बन्ने संकेत छ। परिवारमा सुखद वातावरण रहनेछ र आफन्तसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र आत्मसन्तुष्टि महसुस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशीलता र प्रभावकारी अभिव्यक्तिले तपाईंलाई अरूभन्दा अलग बनाउनेछ। अध्ययन, लेखन, शिक्षण, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानी हुने सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले जटिल काम पनि सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह, ऊर्जा र आत्मविश्वास बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज पारिवारिक सुख र आत्मीयताले मनलाई आनन्दित बनाउनेछ। घरमा खुसीको वातावरण रहनेछ र परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारीबोध र मेहनतको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। घर वा सम्पत्तिसँग सम्बन्धित विषयमा सकारात्मक निर्णय हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र सन्तुलन कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नेतृत्व क्षमता, आत्मविश्वास र साहसले तपाईंलाई नयाँ सफलता दिलाउनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिएको छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल थप उच्च रहनेछ। प्रियजनसँग बिताएको समय अविस्मरणीय बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा पर्याप्त ऊर्जा कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा अनुशासन र लगनशीलताले राम्रो परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। योजनाबद्ध खर्चले भविष्यमा राम्रो बचत गर्न सकिनेछ। परिवारमा आपसी समझदारी र सहयोग बढ्नेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायामले शरीरलाई थप फुर्तिलो बनाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा उत्साहजनक सुधार आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना देखिन्छ। परिवारसँग खुसीका क्षण बित्नेछन्। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ, जसले भविष्यमा राम्रो अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह र आत्मविश्वास बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज निरन्तर मेहनत, धैर्य र अनुभवको प्रतिफल प्राप्त हुने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र कार्यदक्षताको उच्च मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ। आर्थिक अवस्था थप मजबुत बन्ने संकेत देखिएको छ। परिवारमा प्रेम, विश्वास र आत्मीयता बढ्नेछ। प्रियजनसँग भविष्यका योजनाबारे सकारात्मक छलफल हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मबल र उत्साह बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज आशावादी सोच र दृढ इच्छाशक्तिले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्याउनेछ। अध्ययन, व्यापार, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा सकारात्मक परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। भविष्यका लागि दीर्घकालीन योजना बनाउने समय अनुकूल रहनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नयाँ योजना र सकारात्मक दृष्टिकोणले उल्लेखनीय सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण योजना सफल बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा प्रेम, मेलमिलाप र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा प्रभाव विस्तार हुनेछ र नयाँ सम्बन्धले भविष्यमा लाभदायक अवसर प्रदान गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर उत्साह, ऊर्जा र स्फूर्ति कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, विवेक र सकारात्मक सोचले तपाईंलाई सफलता दिलाउनेछ। सुरुवातमा केही चुनौती देखिए पनि अनुभव र आत्मविश्वासका कारण सबै काम सहज रूपमा अघि बढ्नेछन्। कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ। अधुरा रहेका योजना पूरा हुने दिशामा अघि बढ्नेछन्। साँझतिर प्राप्त हुने शुभ समाचारले भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास थप बलियो बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, सन्तुलन र सकारात्मक ऊर्जा दिनभर कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा उनीहरूले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति डा. यादवले सरकारले यो विषम स्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरेको छ ।
बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, संसदीय दलका नेता तथा सांसद, मधेस प्रदेश र सुनसरी–मोरङलगायत सम्बन्धित जिल्लाका नेता सहभागी भएका थिए। मधेस प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष तथा प्रदेश र स्थानीय तहका नेता भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
बैठकले कप्तानगञ्ज घटनापछि सरकारको गैरजिम्मेवार, असंवेदनशील व्यवहार तथा नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेसले घाइतेको निःशुल्क उपचार, उचित व्यवस्थापन तथा तोडफोड र आगजनीबाट क्षति पुगेका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निरन्तर दबाब दिने निर्णय पनि गरेको छ ।
पार्टीले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिने जनाएको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न, घाइते परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।
यस्तै, पार्टीका सबै तहका समितिलाई वडा तहसम्म सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा संवाद तथा सहकार्यको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई युवासँग नियमित छलफल तथा संवाद गर्न पनि भनिएको छ ।
सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी तथा नेताहरूलाई सम्भव भएसम्म आफ्ना जिल्लामा पुगेर समुदाय, घाइते र पीडित परिवारसँग भेटघाट गर्दै सामाजिक सद्भाव कायम गर्न पहल गर्न निर्देशन दिइएको छ ।
कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई घटनासम्बन्धी संवेदनशील विषयमा तथ्य नबुझी सार्वजनिक प्रतिक्रिया नदिन, अफवाह र भ्रामक सूचनाको पछि नलाग्न तथा हिंसा र उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
साथै, पार्टीका कुनै पनि तहका जिम्मेवार व्यक्ति वा सदस्य हिंसात्मक गतिविधिमा संलग्न भएको वा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोल्ने कार्यमा सहभागी भएको पाइए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको स्वशासित सहर स्युटामा प्रवेश गरेका छन् । सीमा पार गर्ने क्रममा भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
घटनापछि स्थानीय प्रशासनले स्पेन सरकारसँग राष्ट्रिय आपत्काल घोषणा गर्न तथा अवस्था नियन्त्रणका लागि सेना परिचालन गर्न माग गरेको छ । स्पेनको गृह मन्त्रालयले नागरिकको सुरक्षा र देशको सीमा संरक्षणका लागि आवश्यक सबै कदम चालिने जनाएको छ । तर, आप्रवासनसम्बन्धी अवस्थाका आधारमा राष्ट्रिय आपत्काल घोषणा गर्न कानुनी व्यवस्था नभएको मन्त्रालयको भनाइ छ ।
स्युटास्थित स्पेनी सुरक्षा बलले अवस्था पूर्ण रूपमा नियन्त्रणबाहिर पुगेको बताएको छ । अहिलेसम्म हजारौं आप्रवासी सीमा पार गरिरहेका छन् र वास्तविक संख्या यकिन गर्नसमेत कठिन भएको छ ।
उत्तरी मोरक्कोका मानवअधिकारकर्मीहरुले यस अवस्थालाई असाधारण भन्दै ताराजल सीमा नाकाबाट ठूलो संख्यामा मानिस प्रवेश गरेको बताएका छन् । सार्वजनिक भएका दृश्यमा सयौं मानिस समुद्री तट हुँदै स्युटाका सडकमा प्रवेश गरिरहेको देखिएको छ । उनीहरूमध्ये अधिकांश मोरक्कोका युवा भए पनि महिला र बालबालिकासहितका परिवार पनि रहेका छन् । केही आप्रवासीले स्पेनको समर्थनमा नाराबाजीसमेत गरेका थिए । यति ठूलो संख्यामा मानिसहरू एकैपटक स्युटा प्रवेश गर्नुको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।
स्पेन र मोरक्कोबीचको सीमा क्षेत्रमा बुधबारदेखि तनाव बढेको थियो । त्यसयता धेरै आप्रवासी समुद्र तरेर स्युटा पुग्ने प्रयास गरिरहेका छन् । स्थानीय अधिकारीका अनुसार बुधबार मात्र समुद्री मार्गबाट प्रवेश गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो ।
स्पेनको गृह मन्त्रालयले मोरक्को सरकारसँग सीमा व्यवस्थापनमा नजिकबाट सहकार्य भइरहेको जनाएको छ । मोरक्कोका सुरक्षाकर्मीले सीमा पार गर्न खोज्ने धेरैलाई रोकिरहेको र अवैध रूपमा स्युटा प्रवेश गरेका व्यक्तिलाई यथाशीघ्र फिर्ता पठाउने विषयमा दुवै देश सहमत भएको मन्त्रालयले जनाएको छ । स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे-मार्लास्काले शुक्रबार स्युटा पुगेर अवस्थाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय अधिकारीहरूले आप्रवासीको संख्या बढ्नुमा हालै स्पेनको सर्वोच्च अदालतले गरेको निर्णयलाई पनि एउटा कारण मानेका छन् । उक्त निर्णयअनुसार समुद्री मार्गबाट स्पेन पुगेका आप्रवासीलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता पठाउन नपाइने व्यवस्था गरिएको छ । यद्यपि, केही सामाजिक अभियन्ताले अधिकांश आप्रवासीलाई यस्तो कानुनी व्यवस्थाबारे जानकारी नै नहुने भएकाले आर्थिक अवसरको खोजी र हिंसाबाट बच्न युरोप पुग्ने चाहनालाई मुख्य कारण मानेका छन् ।
स्युटा उत्तर अफ्रिकाको तटमा रहेको स्पेनको स्वशासित सहर हो। यहाँ पुग्न धेरै आप्रवासीले मोरक्कोको फनिदेक क्षेत्रबाट करिब पाँच किलोमिटर समुद्री दूरी पौडी खेलेर पार गर्ने गरेका छन् ।
यसपटकको घटना सन् २०२१ को संकटसँग मिल्दोजुल्दो छ, जतिबेला दुई दिनमै आठ हजारभन्दा बढी आप्रवासी स्युटा प्रवेश गरेका थिए । त्यसबेला मोरक्कोले सीमा निगरानी कमजोर बनाएको आरोप लागेको थियो, जसका कारण स्पेन र मोरक्कोबीच कूटनीतिक विवादसमेत उत्पन्न भएको थियो ।
यसैबीच, स्युटाका प्रमुख हुआन जीसस भिभासले राष्ट्रिय सुरक्षाको अवस्था उत्पन्न भएको भन्दै स्पेन सरकारसँग राष्ट्रिय आपत्काल घोषणा गर्न, थप सुरक्षाकर्मी परिचालन गर्न तथा सीमा क्षेत्रमा सेना तैनाथ गर्न आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा कारोबार भएको थियो । आज निर्जीव बीमा र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको लक्ष्मी भ्यालु फण्ड २ को शेयर ८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बोटलर्स नेपालको शेयर ५.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको १७ करोड २६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको १५ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
कैलाली । ३२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-५ बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सितारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पका कारण एक व्यापारिक केन्द्रमा विस्फोट भएको, एउटा कारखानाको चिम्नी ढलेको तथा धेरै घरमा क्षति पुगेको छ ।
मंगलबार जापानको दक्षिणी मुख्य टापु क्युसुमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। अधिकारीहरूका अनुसार हालसम्म ३४ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप एक जनाको मृत्युबारे अनुसन्धान भइरहेको छ ।
भूकम्पमा ८० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। यस्तै, तीन हजार पाँच सयभन्दा बढी घरमा अझै विद्युत् सेवा अवरुद्ध छ भने नौ हजारभन्दा बढी मानिस अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। ती आश्रयस्थलमा विद्युत् आपूर्ति सुनिश्चित गर्न थप व्यवस्था गरिएको छ। भूकम्पपछि अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ ।
कुमामोटो क्षेत्रमा शुक्रबार पनि उद्धार कार्य जारी रहेको छ। सबैभन्दा बढी क्षति पुगेको काशिमा नगरस्थित व्यापारिक केन्द्रमा उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। भूकम्प आएको बेला उक्त व्यापारिक केन्द्रमा हजारौं मानिस उपस्थित थिए ।
सञ्चालक कम्पनीका अनुसार व्यापारिक केन्द्रको अर्को भागमा विस्फोट हुनुअघि करिब तीन हजार ग्राहकलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। विस्फोटपछि भवनको दोस्रो तला भत्किँदा केही व्यक्ति भित्रै फसेका थिए ।
जापान सरकारका मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले घटनास्थलमा सात जनाको मृत्यु पुष्टि भएको र ११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। यद्यपि, अझै कति व्यक्ति बेपत्ता छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
यसैबीच, यात्सुशिरो क्षेत्रमा रहेको कागज उद्योगको कारखानामा भूकम्पका कारण चिम्नी ढलेपछि सञ्चालन गरिएको उद्धार अभियान सम्पन्न भएको छ । त्यहाँबाट ११ जनाको सकुशल उद्धार गरिएको छ भने नौ जनाको मृत्यु पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
रौतहट, १५ साउन।
रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं. ४ का वडाध्यक्ष राम प्रवेश प्रसाद कुर्मी पदमुक्त भएका छन्।
निर्वाचन आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित दुवै जनप्रतिनिधि प्रचलित कानुनबमोजिम स्वतः पदमुक्त भएको जनाएको हो। आयोगको सूचना गोरखापत्रमा समेत प्रकाशित भएको छ।
शाह र कुर्मी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। तर पछिल्लो समय उनीहरू प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) मा आबद्ध भएपछि एमाले केन्द्रीय सचिवालयले उनीहरूलाई पार्टीबाट निष्कासन गर्दै त्यससम्बन्धी निर्णय निर्वाचन आयोगमा पठाएको थियो।
सोही निर्णयका आधारमा आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको दल परिवर्तनसम्बन्धी कानुनी व्यवस्थाअनुसार दुवै जनप्रतिनिधिलाई पदमुक्त गरेको जनाएको छ।
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरु बताउछन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
अर्कोतर्फ साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउँछन् । यद्यपि यसको कुनै शास्त्रीय वचन भने नभएको बताइन्छ ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।
नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । एभरेष्ट न्यूज एजेन्सी