उच्चस्तरीय न्यायिक आयोग गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग सिंहको जोडदार माग
जनकपुरधाम, साउन १६।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजारमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ।
उहाँले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै पनि कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ।
सिंहले लोकतान्त्रिक मुलुकमा नागरिकको जीवन, सुरक्षा र मानवअधिकारको रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै घटनामा संलग्न जो–कोही व्यक्ति वा पक्ष भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताउनुभयो। निर्दोष नागरिकले अन्याय भोग्न नपरोस् र दोषीले उन्मुक्ति नपाओस् भन्ने सुनिश्चित गर्न सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले पछिल्ला घटनालाई लिएर धार्मिक, सामाजिक वा साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधि राष्ट्र र समाजका लागि घातक हुने उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ। अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रही सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न उहाँले सबैमा हार्दिक अपिल गर्नुभएको छ।
साथै, सरकारले शान्ति सुरक्षा प्रभावकारी बनाउँदै पीडित परिवारलाई न्याय, घाइतेलाई गुणस्तरीय उपचार तथा दोषीलाई कानुनबमोजिम कारबाही सुनिश्चित गर्न ढिलाइ नगर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
उक्त जानकारी नेपाली कांग्रेस निकट सूचना तथा सञ्चार विभाग, मधेश प्रदेशका सचिव तथा वीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले दिएका हुन्।
काठमाडौं, श्रावण १६। श्रावण महिनाको पावन अवसरमा बोलबम काँवरिया संघको आयोजनामा काठमाडौंमा बृहत् बोलबम मोटरसाइकल र्याली सम्पन्न भएको छ। कुलेश्वर मेन रोडबाट सुरु भएको र्यालीमा हजारौँ बोलबम भक्तजन मोटरसाइकलसहित सहभागी भएका थिए।
र्यालीको उद्घाटन डा. अमरेश कुमार सिंह को प्रमुख आतिथ्यता, रविन्द्र पटेल को विशेष आतिथ्यता पशुपति विकास कोषको सदस्य सङ्गीता कुमारी राम, बोलबम कमरिया सघका कानुनी सल्लाहकार विकास ठाकुर र विवेक शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यतामा सम्पन्न भएको थियो।
कुलेश्वरबाट सुरु भएको र्याली कालीमाटी, सुन्धारा, न्यूरोड, दरबारमार्ग, ठमेल, महाराजगञ्ज, चाबहिल, बौद्ध, गौरीघाट, गौशाला, कोटेश्वर, सातदोबाटो, पुल्चोक, बल्खु, कलंकी, स्वयम्भू हुँदै चागलसम्म पुगेको थियो। यस क्रममा सहभागीहरूले बनकाली पार्किङमा मोटरसाइकल पार्क गरी पशुपतिनाथ मन्दिर मा पुगेर भगवान् पशुपतिनाथको दर्शन तथा पूजा–आराधना गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद डा. अमरेश कुमार सिंहले वर्तमान समयमा धार्मिक सहिष्णुता, धार्मिक सद्भाव र हिन्दु एकता अत्यन्त आवश्यक रहेको बताए। उनले बोलबम काँवरिया संघका लागि सिन्दुरीजल क्षेत्रमा जग्गा व्यवस्थापन गर्न पहल गर्ने, हिन्दु धर्मको संरक्षण तथा बोलबम काँवरिया संघको वृद्धि–विकासका लागि आवश्यक सहयोग गर्न आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे। साथै मधेसी समुदायका जायज हकहितका विषयमा पनि आवश्यक सहयोग गर्ने उनले बताए।
काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रबाट ठूलो आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार राजधानीका विभिन्न क्षेत्रमा एकपछि अर्को गर्दै विस्फोट भएका थिए । किभका मेयर भिताली क्लिच्कोले शहरमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गर्दै विभिन्न स्थानमा आगलागी भएको र केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको बताएका छन् ।
अधिकारीहरूका अनुसार सोलोमियान्स्की जिल्लामा रहेको पाँचतले आवासीय भवनको एक भाग भत्किएको छ । उक्त भवनमा भएको क्षतिमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित आठ जना घाइते भएका छन् ।
पछिल्ला केही दिनयता रुसले किभमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको तीव्रता बढाएको छ । निरन्तर आक्रमण भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आधुनिक अवरोधक क्षेप्यास्त्रको आवश्यकता रहेको बताएका छन् ।
यसै साता राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै प्याट्रियट अवरोधक क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति उपलब्ध गराउन आग्रह गरेका थिए ।
यद्यपि, शुक्रबार क्याम्प डेभिडमा बसेको मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले हालसम्म युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र उत्पादनको अनुमति नदिएको, तर यस विषयमा छलफल भने जारी रहेको बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन् ।
पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले सत्ता प्राप्त मात्र भन्दा पनि राजनीति भन्दा ठुलो मानव सेवा केहि नभएको बताएका हुन् ।
उनले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उनले बताए । उनले सीपमा आधारित विपद् व्यवस्थापनमा जोड दिदै विपद्को समयमा उद्धार गर्न भावना, इच्छा र स्वतःस्फूर्त कार्य मात्र पर्याप्त नहुने धारणा राखे ।
सुनसरी घटनामा पनि आफुहरुले स्व: स्फुर्त रुपमा स्थिति साम्य गराउन भूमिका खेलिरहेको बताउदै त्यसैले नेपाली काँग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गरे ।
उनले सबै पालिकाहरूमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिदै संयन्त्रले घटना घटेपछि मात्र सक्रिय हुने नभई निरन्तर रूपमा विपद् सचेतनाका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्ने स्पष्ट गरे ।
विपदमा उद्धार गर्न सीप पनि चाहिने भएकाले आफुहरुले प्रशिक्षण दिन लागेको बताउदै प्राकृतिक प्रकोपका पीडितहरूलाई राहत र उद्धार गर्न भावनाले मात्र नहुने बताए । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार साउन १६ गते बिहान ९ बजेसम्म गरिएको कारबाहीमा सबैभन्दा धेरै धनुषाबाट ४५ जना पक्राउ परेका छन् । त्यसैगरी सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरी र सुनसरीबाट २-२ जना र पर्सा र सप्तरीबाट १-१ जना पक्राउ परेका छन्।
प्रहरीले विभिन्न जिल्लामा साम्प्रदायिक सद्भाव बिथोल्ने तथा सामाजिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।
नेपाल प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्न सबैलाई संयमित हुन आग्रह गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ ।
प्रहरीले ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशसहित सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न पनि अपिल गरेको छ। एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।
गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको छ । एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ ।
सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भवना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ । प्रेमिल गीतले सिनेमा पूर्णतः प्रेम कथामा आधारित रहेको संकेत गरेको छ । गीतले त्रिकोणात्मक प्रेम देखाइएको छ । एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत छन् । यो चलचित्रलाई रेखा थापाले निर्देशन गरेकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय सिनेमा हो ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरू छन् ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
ध्रुव लम्सालको स्क्रिप्ट रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्नेछ । चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । सुदीप बराल डिओपी रहेको यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन् । संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् ।
यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
काठमाडौं, साउन १६ — मधेश मुक्ति अभियानले आफ्नो विस्तारित केन्द्रीय समिति बैठकपछि नयाँ केन्द्रीय समिति तथा पदाधिकारीहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ। अभियानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व टोली घोषणा गरिएको जनाएको हो।
विज्ञप्तिअनुसार बैठकमा संगठनको वर्तमान गतिविधि, संगठनात्मक संरचना, विस्तार रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। केन्द्रीय समिति सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्ने वा केही समयपछि गर्ने विषयमा समेत व्यापक बहस भएको र अन्ततः सर्वसम्मत निर्णयमार्फत नामावली सार्वजनिक गरिएको अभियानले जनाएको छ।
अभियानको नयाँ नेतृत्वमा अश्विनी कुमार केन्द्रीय संयोजक चयन भएका छन्। प्रवीण झा सह–संयोजक तथा मनोज यादव महासचिवको जिम्मेवारीमा छन्। त्यसैगरी नन्दिनी पासवान उपमहासचिव, प्रियांशी महतो सचिव, लक्ष्मण दास सहसचिव, प्रभु साह कोषाध्यक्ष तथा सीमा देवी चौधरी सह–कोषाध्यक्ष बनेका छन्। कुमार भागिरथ प्रवक्ता र दीपक मेहता सह–प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।
विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा सुस्वेत यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सुशांक खतुवे, प्रशिक्षण विभाग प्रमुखमा सागर मिश्रा, नीति तथा अनुसन्धान विभाग प्रमुखमा सविना साह, कानुनी विभाग प्रमुखमा बबिता रजक, युवा विभाग प्रमुखमा पिंटु सिंह, महिला विभाग प्रमुखमा समीक्षा चौधरी थारु, विद्यार्थी विभाग प्रमुखमा गायत्री शाक्य, श्रमिक विभाग प्रमुखमा संग्राम सदा मुसहर, किसान विभाग प्रमुखमा चन्द्र प्रकाश मेहता, सूचना तथा सञ्चार विभाग प्रमुखमा सितेश यादव तथा सांस्कृतिक विभाग प्रमुखमा संजय अधिकारी चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा रामेश्वर राय यादव, महन्थ साह तेली, राजेन्द्र यादव, उपेन्द्र मेहता, अनिल कुमार पाठक, हृदयेन्द पासवान, प्रभास सदा, सरिता चौधरी, दीपिका चौधरी थारु, रामसेवक ठाकुर बरही, चैतन्य कुमार राउत, प्रकाश राउत र पवन नारायण माझी रहेका छन्।
मधेश मुक्ति अभियानले आगामी दिनमा संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै मधेशी समुदायको अधिकार, पहिचान, स्वाभिमान तथा सामाजिक–राजनीतिक मुद्दामा प्रभावकारी ढंगले आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनात्मक एकता, जनसहभागिता र योजनाबद्ध कार्यक्रममार्फत अभियानलाई थप सशक्त बनाउँदै लैजाने लक्ष्य पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
अभियानका अनुसार केन्द्रीय समिति सार्वजनिक हुनु संगठनको संस्थागत विकास, प्रभावकारी नेतृत्व निर्माण तथा आगामी रणनीतिक कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण कदम हो। नवगठित पदाधिकारी, विभागीय प्रमुख तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै अभियानलाई थप सुदृढ बनाउन पनि आह्वान गरिएको छ।
जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशलाई कायम राख्दै सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान केही समयका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीबाट साउन १४ गते जारी गरिएको कर्फ्यू आदेश यथावत् रहनेछ । तर, शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको हो ।
प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।
प्रशासनका अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध ढुवानी गर्ने सवारी र फोहोर संकलन गर्ने सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन वा पुर्याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाण साथमा राखी आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी रहेको कर्फ्यू आदेश हटाएर निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यू आदेश साउन १६ गते बिहान ८: ३० बजेदेखि साँझ ५ बजेसम्म हटाइएको हो ।
कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्र समावेश छन्।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा बेपत्ताको आजको खोजीकार्य स्थगित गरिएको छ ।
पाकिस्तान अल्पाइन क्लबले दिएको अपडेट अनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको र उनीहरु ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेको जानकारी दिएको छ ।
पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको थियो । आज मौसमको खराबी र अध्यारो भएका कारण खोजी कार्य रोकिएको र भोली फेरी शुरु हुने अल्पाइन क्लबले अपडेट दिएको छ ।
यसअघि आज बिहानसम्म ट्रयाकरको लोकेसन फेला परेको बताइएको थियो । लोकेसन ६ हजार देखि ७ हजार मिटर उचाईमा रहेको उल्लेख गरिएको थियो तर सो क्षेत्रसम्म आज पुग्न नसकिएको बताइएको छ ।
क्लबका अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको छ ।
हिमपहिरोमा परेका १० जना आरोहीमध्ये नेपाली कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी र नेपाली आरोही रहेका छन् ।
हिमपहिरोमा अझै ८ जना बेपत्ता रहेका छन्, जसमा पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी