काठमाडौं, १४ माघ ।
काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ ।
उनका अनुसार न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरे पछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन । न्युजकारखाना
काठमाडौं, १३ माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।
आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदैँछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै, एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ६ खेलमा एक जित र ५ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ । न्युजकारखाना
काठमाडौं, १४ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् ।
२१५१औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एममिविविएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरि मन्त्रीपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने दावी गरेका हुन्।
मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै मन्त्री बस्नेतले स्वदेशमा प्रसस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौं नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान वाध्य भएको जानकारी दिए। चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा मन्त्रिपरिषद् मात्र नभएर चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुने मन्त्री बस्नेतले बताए।
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क देशहरुका हजारौ विद्यार्थी समेत आउने संभावना भएकाले भविश्यमा नेपाल चिकित्सा शिक्षाको हव हुने मन्त्रीले औंल्याए। समयमै चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न नसकिए अवको पाँच वर्ष पछि नेपालमा डाक्टर, नर्स र प्यारामेडिक्सको अभाव हुने दावी गर्दै स्वास्थ्य मन्त्रीले राज्यले बेलैमा यस बिषयमा आवश्यक कदम चाल्न लागेको जानकारी दिए।
आफ्नो देशमा सर्वसुलव रुपमा पढ्न नपाएर कयौं विद्यार्थी मानसिक रुपमा तनावमा रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन भएर यही पढ्न पाउने प्रसस्त संभावना सिर्जना गरिए धेरै हदसम्म मानसिक समस्या समेत समाधान गर्न सकिनेमा जोड दिए।
नेपालमा मेडिकल कलेजहरु र अस्पतालहरुसँग वर्षमा ५ हजार भन्दा बढी एमविविएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण १९ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाईरहेका छन् भने दर्जनौ नर्स र प्यारामेडिक्स पढाउने कलेज बन्द भएका छन्।न्युजकारखाना
महोत्तरी, १३ माघ ।
जिल्ला समन्वय समिति महोत्तरीले बनाएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ विरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेजी गरेको छ।
जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाले २०७९ माघ १९ गते दायर गरेको रिटलाई मंगलबार अदालतले दरपिठ गरेको हो।
नगरपालिकाहरूले समन्वय समितिले ढुंगा, गिटी, बालुवा बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी ऐनलाई टेकेर बनाएको कार्यविधि गलत भएको दावी गर्दै उत्प्रेषण परमादेशसहितको रिट हालेका थिए।
रिटलाई दरपीठ गरेसगैँ समन्वय समितिको उक्त कार्यविधि सक्रिय भएको छ। तर, फैसलाको पूर्णपाठ भने आउन बाकी छ।
सवैभन्दा बढी अवैध उत्त्खनन बर्दिवास नगरपालिका र गौशाला नगरपालिकामा नै भईरहेको गुनासो बढीरहेको वेला समन्वय समितिको कार्यविधि यस्लाई रोक्न प्रभावकारी वन्ने बिस्वास लिइएको छ।
न्यायाधिशद्वय किरण कुमार पोखरेल र श्रीकान्त पौडेलको सयुक्त इजलाशले गरेको उक्त फैसला अवैध दोहन, चोरी, निकासीलाई रोक्न महत्वपुर्ण भएको वताउँदै समन्वय समितिको प्रयासलाई स्थानियहरुले प्रसंसा गरेका छन्।
ऐन र कानुनमा नै टेकेर जरिवाना लगायतका कार्यविधि बनाइएको र अदालतले फैसला गरेसगैँ यस्लाई कार्यान्वयन गर्न अगाडी बढने समन्वय समितिका संयोजक सुमनलाल कर्णले बताए ।
`उत्त्खनन गर्न सहज होस भन्ने हेतुले वहाँहरुले हालेको रिटलाई खारेज गरेसगैँ अब हामी स्थानिय सरकारलाई जिम्मेवारी वनाउनेतर्फ उन्मुख हुनेछौं,´ उन्ले भने।
बर्दिवास नगरपालिकाको तर्फबाट अधिकृतस्तरका कर्मचारी दिपक पौडेल र गौशाला नगरपालिकाको सहायक चौथोस्तरका कर्मचारी पृथ्वीनारायण महतोलाई अख्तियारी दिएर अगाडी बढेको मुद्दा १ वर्षदेखी विचाराधीन अवस्थामा नै रहेको थियो।
के-के छ कार्यविधिमा ?
कार्यविधिमा प्रचलित ऐन कानुनको नै अधिनमा रही कार्यान्वनलाई जोड दिने उल्लेख गरिएको छ।
तर समन्वय समितिले कसुरको प्रकारअनुसार दण्ड जरिवाना निर्धारण गरेको छ। नदीको पानीभित्र मेसिनरी प्रवेश गरेर वहाव क्षेत्रमा सामाग्री संकलन गरेको खण्डमा २० हजार देखी ८० हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै स्थानीय अनुगमन समिति र जिल्ला अनुगमन समितिमा अभिलेखीकरण नगराई नदी, खानी क्षेत्रमा मेसिन प्रयोग गरेमा ५० हजार देखी ७५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।
कसुर सम्बन्धि शीर्षकलाई विभिन्न १० भागमा विभाजन गरी न्युनतम ३ हजार देखी अधिकतम १ लाखसम्म जरिवाना गर्ने पनि व्यवस्था गरिएको छ।
उक्त कार्यविधिलाई समन्वय समितिले कार्यान्वयनको लागी सम्बन्धित नगरपालिकालाई यसअघि नै पत्राचार गरिसेकेको जिल्ला समन्वय समितीले जनाएको छ।
विशेषगरी बर्दिवास र गौशाला नगरपालिकाले जरिवाना सम्बन्धि कार्यविधिमा नै आपत्ति जनाउँदै अदालतमा उत्प्रेषण परमादेशको माग गरेका थिए। न्युज कारखाना
आजमिति २०८० साल माघ १४ गते तदअनुसार जनवरी २८ , सन् २०२४ शनिबार, कृष्णपक्षको चतुर्थि तिथि, मघा नक्षत्र, सौभन योग, सिंह राशिमा चन्द्रमा, आजको योगमा शुभ कार्य र यात्राको लागि शुभ मानिन्छ ।
अभिजित् मुहूर्त: बिहान ११:५६ देखि १२:३९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:५४
• सुर्यास्त: बेलुका ०५:४०म१ बजे
आजको वैदिक राशिफल:
• मेष: तपाईंको स्वास्थ्य राम्रो हुनेछ। तपाईंलाई धन लाभ हुनेछ। तपाईंको परिवार साथ दिनेछ। तपाईंको प्रेम जीवन खुशीले भरिएको हुनेछ। तपाईंको शुभ रङ्ग रातो र शुभ अंक ९ हो।
• वृष: तपाईंको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। तपाईंलाई धन को खर्च बढ्नेछ। तपाईंको परिवारमा केही तनाव हुनसक्छ। तपाईंको प्रेम जीवनमा केही मिठो झगडा हुनेछ। तपाईंको शुभ रङ्ग नीलो र शुभ अंक ७ हो।
• मिथुन: तपाईंको स्वास्थ्य उत्तम हुनेछ। तपाईंलाई धन को आय बढ्नेछ। तपाईंको परिवारमा शान्ति र सुख हुनेछ। तपाईंको प्रेम जीवनमा नयाँ रोमान्स सुरु हुनेछ। तपाईंको शुभ रङ्ग पहेंलो र शुभ अंक ५ हो।
• कर्कट: तपाईंको स्वास्थ्यमा केही समस्या हुनसक्छ। तपाईंलाई धनको नुक्सान हुनेछ। तपाईंको परिवारमा केही असहमति हुनेछ। तपाईंको प्रेम जीवनमा केही अस्थिरता हुनेछ। तपाईंको शुभ रङ्ग हरियो र शुभ अंक २ हो।
• सिंह: तपाईंको स्वास्थ्य ठीक हुनेछ। तपाईंलाई धन को लाभ हुनेछ। तपाईंको परिवारमा आनन्द हुनेछ। तपाईंको प्रेम जीवनमा विश्वास र समझदारी हुनेछ। तपाईंको शुभ रङ्ग सुनहरा र शुभ अंक १ हो।
• कन्या: तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। तपाईंलाई धन को बचत गर्नुपर्नेछ। तपाईंको परिवारमा केही विवाद हुनसक्छ। तपाईंको प्रेम जीवनमा केही निराशा हुनेछ। तपाईंको शुभ रङ्ग चाँदी र शुभ अंक १ हो।
• तुला: तपाईंको स्वास्थ्य राम्रो हुनेछ। तपाईंलाई धन को उपहार पाउनेछ। तपाईंको परिवारमा प्रेम र सम्मान हुनेछ। तपाईंको प्रेम जीवनमा खुशी र सन्तोष हुनेछ। तपाईंको शुभ रङ्ग गुलाबी र शुभ अंक ७ हो।
• वृश्चिक: तपाईंको स्वास्थ्यमा केही चुनौती हुनेछ। तपाईंलाई धन को निर्णय बुझ्दा बुझ्नुपर्नेछ। तपाईंको परिवारमा केही अनबन हुनेछ। तपाईंको प्रेम जीवनमा केही दुर्घटना हुनेछ। तपाईंको शुभ रङ्ग कालो र शुभ अंक ४ हो।
• धनु: तपाईंको स्वास्थ्य उमङ्गमा हुनेछ। तपाईंलाई धन को अवसर पाउनेछ। तपाईंको परिवारमा सद्भाव हुनेछ। तपाईंको प्रेम जीवनमा नयाँ साथी पाउनेछ। तपाईंको शुभ रङ्ग नारङ्गी र शुभ अंक ८ हो।
• मकर: तपाईंको स्वास्थ्यमा धेरै सुधार हुनेछ। तपाईंलाई धन को बढी लाभ हुनेछ। तपाईंको परिवारमा समृद्धि हुनेछ। तपाईंको प्रेम जीवनमा आत्मविश्वास र समर्पण हुनेछ। तपाईंको शुभ रङ्ग बैंगनी र शुभ अंक १० हो।
• कुम्भ: तपाईंको स्वास्थ्य राम्रो हुनेछ। तपाईंलाई धन को लाभ हुनेछ। तपाईंको परिवारमा शान्ति र सुख हुनेछ। तपाईंको प्रेम जीवनमा विश्वास र समझदारी हुनेछ। तपाईंको शुभ रङ्ग सुनहरा र शुभ अंक १ हो।
• मिन: तपाईंको स्वास्थ्यमा केही समस्या हुनसक्छ। तपाईंलाई धन को नुक्सान हुनेछ। तपाईंको परिवारमा केही असहमति हुनेछ। तपाईंको प्रेम जीवनमा केही अस्थिरता हुनेछ। तपाईंको शुभ रङ्ग हरियो र शुभ अंक २ हो।
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युजकारखाना
विराटनगर, १३ माघ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन्। नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन्।

‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधार्णको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं,’ उनले भने, ‘इञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन। त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन।`
नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन्। ´कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्रि गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,` उनले भने, ´प्रदेशमा भइरहेकाे विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरू गरौं।`
प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भाैतिक निर्माण कार्यकाे गुणस्तरी परीक्षण गरेर रिपाेर्ट दिई प्याेगात्मक अभ्यास गर्न आग्रह गरेकाे मुख्यमन्त्री मार्कीकाे भनाइ थियाे। ´तुइन मैत्री प्रदेश निर्माणमा इञ्जिनियर पढ्ने विद्यार्थीलाई प्रयाेगात्मक अभ्यास गरेर इञ्जिनियरिङ विधामा नयाँ नमूना प्रस्तुत गराैं त्यसकाे लागि प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे छ,` उनले भने, ´तर अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिशन दिन्छु, डीपीआरकाे काम दिनु भन्दै मागेर त्यसबाट भएकाे फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर समाजिक सञ्जालमा लेख्छन्।` के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्।
भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।
प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल पनि सहभागी छन्।न्युजकारखाना
वीरगंज, १३ माघ ।
मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्। मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।
जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।
सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।
उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो। न्युजकारखाना
वीरगंज १३ माघ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन:
उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ। गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ।
हामी देखिरहेका छौं , भोगिरहेछौं — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भू-भाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ। यो गम्भिर चिन्ताको कुरा हो।
मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेश तिर दगुरिरहेका छन्। उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमीन , हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो।
देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ, हामीमाथि आह्वान पनि छ। म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन।
तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ।
यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन् झन् बरबादीतिर नलैजाउँ। त्यसका लागि अब सबैले सोचौ, समिक्षा गरौं। नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ।
आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्वर, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाई यसैमा छ।
आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरें। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।
जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।
हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।
आफ्नो पुख्यौँली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ – म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।’
हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु। त्यसै आसयअनुरुप मैले ‘चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए।’
हामी देश मै छौं , आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौं। अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् , भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ।
त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ। सबैमा फेरि एकपटक हाम्रो धन्यवाद!
जय नेपाल
वीरगंज २०८० माघ १३ गते न्युजकारखाना