शिवनाथ कुशवाहा ,साउन १८ गते।
सर्लाहीको हरिवन नगरपालिका–४ स्थित गणेश चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक साइकल यात्रुको ज्यान गएको छ। महेन्द्र राजमार्ग पार गर्ने क्रममा ट्रकको ठक्करबाट हरिपुर नगरपालिका–५, लक्ष्मीपुर निवासी ५० वर्षीय पञ्चलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मधेश प्रदेश–०३–००२ ख ११९४ नम्बरको ट्रकले सडक पार गरिरहेका चौधरीलाई ठक्कर दिएको हो। चौधरी बिहान करिब ७ बजे सासापुरस्थित गेला गाउँमा मजदुरी गर्न साइकलमा जाँदै थिए। त्यसबेला वर्षा भइरहेका कारण सडक चिप्लो रहेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार चौधरी रोकिएको बसको अगाडिबाट सडक पार गर्न खोजिरहेका बेला पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो। ठक्कर यति बलियो थियो कि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले बागमती क्षेत्रबाट नियन्त्रणमा लिएको छ। दुवैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं । राहदानी ऐन अन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा यात्रा अनुमति पत्रसहित पुगेका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि सोधपुछ गरिएको थियो । त्यसपछि जर्मन राजदूतावासले २०६८ जेठ २० गते पाँच थान सक्कली यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि ब्युरोमा पठाएको थियो ।
उक्त घटनामा राहदानी ऐन अन्तर्गत अनुसन्धान गर्दै जाँदा यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका पुष्पराज भट्टराईको संलग्नता देखिएको प्रहरीले जनाएको छ । हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली प्रवासी समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत छन् ।
ब्युरोले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।
सोही मुद्दामा प्रतिवादी कायम भएका ५६ वर्षीय भट्टराईलाई साउन १८ गते काठमाडौं महानगरपालिका–त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपालमा जुलाई महिनामा विदेशी पर्यटकको अगामन ७१ हजार रहेको छ । गत बर्षको जुलाईमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७० हजार १९३ रहेकोमा यस बर्षको जुलाई महिनामा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको जुलाई कुल ७१ हजार ७७५ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो ।
जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा २३ हजार ४९० जना अर्थात ३२.७३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुलाईमा चीनबाट दोस्रो धेरै ११ हजार ९९ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी अमेरिकाबाट ७ हजार ७५४ , बंगलादेशबाट ४ हजार १७९ जना, बेलायतबाट ३ हजार ७७३ जना, अस्ट्रेलियाबाट २ सय ४२८ जना र दक्षिण कोरियाबाट १३९४ पर्यटक जुलाई महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल २९ हजार ७५५, एशियाका अन्य देशबाट १७ हजार ४२४ जना, युरोपबाट ९ हजार २७९ जना, अमेरिका क्षेत्रबाट ८ हजार ८२५ जना, ओसिनियाबाट २ हजार ६०७ जना जुलाई महिनामा नेपाल आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भ्रष्टाचारसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई आठ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ ।
परिषद्को भ्रष्टाचारसम्बन्धी न्यायाधिकरणले २६ वर्षीय रेड्डीलाई आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । उनीविरुद्ध सन् २०२५ मा संयुक्त अरब इमिरेट्समा भएको आबुधाबी टी-१० प्रतियोगितासँग सम्बन्धित आरोप लागेका थिए । उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई भ्रष्टाचारसम्बन्धी तोकिएको निकायको जिम्मेवारी दिएको थियो ।
रेड्डीमाथिको प्रतिबन्ध २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । सोही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए ।
न्यायाधिकरणले उनलाई खेलको नतिजा वा गतिविधिलाई अनुचित रूपमा प्रभावित पार्ने प्रयास गरेको, अन्य खेलाडीलाई त्यसमा संलग्न गराउन प्रयास गरेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट प्रमाण हुन सक्ने सन्देश र विवरण मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गरेको छ ।
रेड्डीले अमेरिकाको राष्ट्रिय टोलीबाट चार वटा अन्तर्राष्ट्रिय टी-२० खेल खेलेका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत उत्तर अमेरिका टी-२० प्रतियोगितामा केम्यान टापुविरुद्धको खेलबाट गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरस्थित सव–डिभिजन वन कार्यालयका प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको जाँच गरी कागजातसहित फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा यादवले काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै आयोगले १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
शिवनाथ कुशवाहा, महोत्तरी, साउन १८ अगते ।
साउन महिनाको सुरुवातसँगै महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित पौराणिक टुटेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालु भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ।
देशका विभिन्न जिल्लाबाट आएका काँवरिया भक्तहरूले ‘बोल बम’को जयघोष गर्दै पवित्र जल अर्पण गरिरहेका छन्। भक्तजनको निरन्तर आगमनसँगै टुटेश्वर क्षेत्र यतिबेला शिवभक्तिमय वातावरणले भरिएको छ।
नेपालको ‘बाबाधाम’का रूपमा समेत परिचित टुटेश्वरनाथ महादेव मन्दिर साउन महिनामा विशेष धार्मिक आस्थाको केन्द्र बन्ने गरेको छ। यहाँ भगवान् शिवको दर्शन तथा जलाभिषेकका लागि हरेक सोमबार हजारौँ भक्तजन पुग्ने गरेका छन्।
आस्था, विश्वास र भक्तिको अनुपम संगमका रूपमा परिचित ‘मधेशको कैलास’ टुटेश्वरनाथले यतिबेला धार्मिक पर्यटनलाई समेत टेवा पुर्याउँदै देशभरका श्रद्धालुलाई आकर्षित गरिरहेको छ।
काठमाडौँ । प्रतिनिधि सभाका चार समितिको बैठक आज बस्दैछ ।
आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, अर्थसचिव, कानुन मन्त्रालयको सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी हुने समितिले जनाएको छ ।
त्यस्तै आज बिहान ११ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । छलफलमा महिला, बालबालिकामन्त्री र सचिव, गृहसचिव, कानुन सचिव, नेपाल प्रहरीका प्रतिनिधि सहभागी हुने बताइएको छ ।
आज बिहान ११ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो २ बजेदेखि शुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफलको कार्यसूची रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन १८ गते सोमबार ईस २०२६ अगस्ट ३ नेपाल सम्बत ११४६ दिल्लाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, सुकर्मा योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन आत्मविश्वास, ऊर्जा र नयाँ सम्भावनाले भरिएको रहनेछ। बिहानदेखि नै मनमा सकारात्मक सोच जाग्नेछ र अधुरा रहेका कामलाई पूरा गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, समय व्यवस्थापन र नेतृत्व क्षमताले राम्रो परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिबाट प्रशंसा र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापार–व्यवसायमा विस्तारका अवसर देखिनेछन्। आर्थिक रूपमा आम्दानी बढ्ने संकेत छ भने रोकिएको रकम पनि प्राप्त हुन सक्छ। परिवारमा सुख, शान्ति र आत्मीयता कायम रहनेछ। प्रियजनसँगको संवादले सम्बन्ध थप मजबुत बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। पर्याप्त पानी पिउने र नियमित आराम गर्ने बानीले थप स्फूर्ति दिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज विवेक, धैर्य र व्यवहारिक सोचले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका कामले गति लिने सम्भावना छ। व्यापार–व्यवसायमा नियमित लाभ कायम रहनेछ र नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। अनावश्यक खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। परिवारका सदस्यहरूसँग खुसी साट्ने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा पनि सम्मान बढ्ने संकेत देखिन्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मानसिक रूपमा सन्तुष्टि र स्थिरता कायम रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाईंको बोली, व्यवहार र सिर्जनशील सोचले धेरैको मन जित्नेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता प्रमाणित गर्ने मौका पनि मिल्नेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको साथले महत्त्वपूर्ण योजना सफल बन्नेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। नयाँ चिनजानले भविष्यमा लाभदायक अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज पारिवारिक जीवन सुखद र सन्तोषजनक रहनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। घरमा शुभ कार्यको चर्चा हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र लगनशीलताको प्रशंसा हुनेछ। अधुरा रहेका काम पूरा हुने सम्भावना बलियो छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। घर वा सम्पत्तिसँग सम्बन्धित निर्णय लिन समय अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र आत्मसन्तुष्टि महसुस हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आत्मविश्वास र नेतृत्व क्षमताले तपाईंलाई विशेष सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिको विश्वास अझ मजबुत बन्नेछ। व्यापार–व्यवसायमा लाभदायक सम्झौता हुन सक्छ। आर्थिक अवस्था बलियो बन्ने संकेत देखिन्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर शरीरमा स्फूर्ति र ऊर्जा कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज नयाँ ज्ञान र अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ। अध्ययन, अनुसन्धान, तालिम वा बौद्धिक कार्यमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन र लगनशीलताको राम्रो मूल्यांकन हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। योजनाबद्ध खर्चले भविष्यका लागि बचत बढाउन मद्दत गर्नेछ। परिवारमा आपसी सहयोग र समझदारी कायम रहनेछ। छोटो दूरीको यात्रा लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायाम र पर्याप्त आरामले थप ऊर्जा दिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा उत्साहजनक उपलब्धि हासिल हुने सम्भावना छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना बलियो छ। परिवारसँग खुसीका क्षण बित्नेछन्। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ र नयाँ सम्बन्धले भविष्यमा राम्रो अवसर प्रदान गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र सकारात्मक सोच बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज निरन्तर मेहनत र धैर्यको राम्रो प्रतिफल प्राप्त हुने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको अनुभव र कार्यदक्षताको उच्च मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा उल्लेखनीय लाभ हुनेछ। आर्थिक अवस्था थप मजबुत बन्ने संकेत देखिएको छ। परिवारमा प्रेम, विश्वास र आत्मीयता बढ्नेछ। प्रियजनसँग भविष्यका योजना साझा गर्ने अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह, आत्मबल र सकारात्मक ऊर्जा कायम रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज नयाँ अवसरले भविष्यको बाटो फराकिलो बनाउने संकेत देखिएको छ। अध्ययन, व्यापार, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित कार्यमा राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न र दीर्घकालीन लक्ष्य तय गर्न समय अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मन दिनभर उत्साहित र प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। दीर्घकालीन आर्थिक योजना बनाउन दिन उपयुक्त रहनेछ। परिवारका सदस्यहरूको सुझाव लाभदायक सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु उचित हुनेछ। साँझतिर मनमा सन्तुष्टिको अनुभूति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नयाँ योजना र सकारात्मक दृष्टिकोणले उल्लेखनीय सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नयाँ सम्झौता वा सहकार्यको सम्भावना देखिन्छ। आर्थिक पक्षमा सुधार आउनेछ। परिवारमा प्रेम, मेलमिलाप र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा प्रभाव विस्तार हुनेछ र नयाँ सम्बन्धले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर स्फूर्ति, ऊर्जा र आत्मविश्वास कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, विवेक र सकारात्मक सोचले तपाईंलाई हरेक क्षेत्रमा सफलता दिलाउनेछ। सुरुमा केही चुनौती देखिए पनि तपाईंको अनुभव र आत्मविश्वासका कारण सबै काम सहज रूपमा अघि बढ्नेछन्। कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। अधुरा रहेका योजना पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास थप मजबुत बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, सन्तुलन र सकारात्मक ऊर्जा दिनभर कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले चार स्थानीय तहमा भोली बिहान १० बजेसम्म निषेधाज्ञा कायम राखेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १८ गते बिहान १० बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ ।
प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ ।
यी चार स्थानीय तहबाहेक सुनसरी जिल्लाका अन्य सबै स्थानबाट निषेधाज्ञा हटाइएको छ ।
प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा स्थिति सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको थियो ।एभरेष्ट न्यूज एजेन्सी