सर्लाही, १७ माघ ।
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।
पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ।
प्रहरीले मृतक पूजादेवीकी सासु बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ। घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकव छ। पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन्। न्युजकारखाना
जनकपुरधाम, १७ माघ ।
जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो ।
रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरू ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ४७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए ।
सिरहाका लागि रुपेश सिंह सार्वधिक ४५ बलमा ३४, अशोक यादव ३५ बलमा २१, ओपनर शैलेन्द्र साह २० बलमा १७ र रिसब कार्की १९ बलमा १७ रनको योगदान दिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिरहाको पहिलो विकेट २३ रनमै पवलेलियन फर्किएका थिए ।
महोत्तरीका लागि बलिङ गरेका नितेश यादवले कशिलो बलिङ गरेका थिए । उनले आठ ओभरमा २८ रन खर्चेर चार विकेट लिए । महोत्तरीकै लागि विनोद सहनी तीन, अभिषेक तिवारी दुई र रमेश सहनीले एक विकेट लिएका थिए । मध्यम लक्ष्य पाएका महोत्तरी जवाफी ब्याटिङमा कमजोर देखिएका थिए ।
महोत्तरीका खेलाडीहरु २९ ओभर दुई बलमै सबै विकेट गुमाए । र, टिमको स्कोर पनि उच्च राख्न सकेनन् । ७८ रनमै सबै विकेट गुमाएका महोत्तरी प्रतियोगिताकै सबैभन्दा कम स्कोर बनाउने टिम छन् । महोत्तरीका लागि नविन यादवले ५५ बलमा २१ रन टिमको खातामा जोडे । महोत्तरीकै रवि कुमार सिहंले १९ बलमा १८ र श्याम मण्डलले ४३ बलमा १३ रन बनाए ।
सिरहाका लागि बलिङ गरेका पार्थिव यादवले तीन, तृपेश्वर मुखियाले तीन, प्रदिप पासवानले दुई र अफरुदिन राइनले एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच पार्थिव यादव घोषित भएका थिए । दोस्रो सेमिफाइल विहीबार धनुषा र बाराबीच हुने खेल तालिका छ । दोस्रो सेमिफाइनलको विजयी टिम फाइनलमा सिरहासंग प्रतिस्पर्धा गर्ने छन् ।न्युजकारखाना
बारा, १७ माघ ।
बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारासहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ।
बुधबार कृपा दैनिकको वीरगन्जस्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले ५० हजारको धनराशी रहेको नवजान स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका कृयाशिल पत्रकार फणी महत तथा सर्लाहीमा कृयाशिल पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको हो।
महत र ठाकुरलाई सम्मान पत्र सहित २५/२५ हजारका दरले नगद रकम सहित पुरस्कृत गर्ने निर्णय गरेको कृपा दैनिकका कार्यकारी सम्पादक एवम् पुरस्कार छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिए।
यसरी नै कार्यकारी सम्पादक खनालकै पिता चन्द्रप्रसाद खनालको नाउँमा बिगत १६ बर्ष अगाडि स्थापना गरिएको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारामा कृयाशिल पत्रकार महिला शारदा पोखरेललाई नगद १० हजार सहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले जानकारी दिए।
विगत दुई वर्ष कोरोना सहित कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्यायको निधन भएकाले स्थगित भएको पुरस्कार बितरण कार्यक्रम अब भने कृपा दैनिकको बार्षिकोत्सवमा हरेक वर्ष वितरण गरिने कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक एवम् पुरस्कार छनौट समितिका संरक्षक कमलकुमार उपाध्यायले बताए। आगामी फागुन ५ गते बाराको निजगढमा आयोजना गरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवका अवसरमा यी पुरस्कारहरु बितरण गरिने पनि उपाध्यायले जानकारी दिए।
कृपा दैनिकले आफ्नो २० औं बार्षिकोत्सव यही फागुन ५ गते निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिरहेको छ। कृपा दैनिकले पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा(जानकी) देवी उपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादक नवराज उपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदान गर्न लागेको हो भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ। न्युज कारखाना
काठमाडौं, १७ माघ ।
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
नेपालका बलर सुबास भण्डारीले बंगलादेशका पाँचै विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो ।
नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३, दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए ।
त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए ।
यो जितपछि बंगलादेश सेमिफाइनलको दौडमा कायम रहेको छ र बंगलादेशको ३ खेलमा ४ अंक भएको छ ।
नेपाल भने सेमिफाइनलको दौडबाट यस अघि नै बाहिर भएको छ । नेपालले अब अर्को खेल भारतसँग शुक्रबार खेल्ने छ ।न्युजकारखाना
रौतहट १७ माघ।
लामो समयको विवादपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक प्रमुख अम्बेया खातुन र असन्तुष्ट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बीच सहमति भएलगत्तै नगरसभाको दिन निश्चित भएको छ।
नगरपालिकामा मेयर खातुनको अध्यक्षतामा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय लिखित सहमति भएको हो। मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्ष राकेश यादव लगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन को ३ गते नगरसभा हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।
गत असार १० गतेभित्र हुने नगरसभा हालसम्म नभएको कारण फतुवा विजयपुरका झण्डै ३५० जना शिक्षक कर्मचारीले हालसम्म तलब पाएका छैनन्। बैठकमा मेयर खातुनसँगै नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।
फतुवा विजयपुरको मेयर गोपाल राय यादव नदीको टेन्डरको मुद्दामा अख्तियार द्वारा १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला गरेपछि उनी निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहक बनेकी हुन्। उनी मेयरको जिम्मेवारि पाएपछि कांग्रेस निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबीच सहमति नभएको कारण हालसम्म नगरसभा हुनसकेको थिएन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि जनप्रतिनिधिहरुनै विभाजित भएका थिए। वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश राय यादवले उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा अनियमितता गरेको आरोप लगाउँदै विरोध गर्दै आएका थिए।
फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयर गोपाल राय यादव, उपमेयर अम्बेया खातुन ,७ जना वडा अध्यक्ष निर्वाचित भएका छन। पार्टीको बिना सहमति कार्यबाहक मेयर खातुनले एकोहोरो गरेको भन्दै कांग्रेसकै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बोर्डको बैठक बहिष्कार गर्दै आएको कारण हालसम्म नगरसभा हुन सकेको थिएन।न्युजकारखाना
सिन्धुपाल्चोक, १७ माघ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।
बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।
उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए ।न्युजकारखाना
सिन्धुपाल्चोक, १७ माघ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।
सो दुर्घटनामा घाइते भएका पाँचजना मध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।
न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धी मान्नुपर्ने बताएका हुन् ।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए ।
“सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ ।”
सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ ।”
प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका सरकार प्रतिबद्ध रहेको बताए । उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे ।
कोभिड–१९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विषम अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्नेमा जोड दिए ।न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
प्रचण्ड नेतृत्वको वर्त
मान सरकारले उद्योग पुनः सञ्चालनको विषय नीति तथा कार्यक्रममा समावेश गरेपश्चात नेपाली सेनाले सोको सम्भावना अध्ययन गरेको थियो। सो प्रतिवेदनको सारसंक्षेप नेपाली सेनाले बुधबार प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको हो। अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमि हुनु आदि कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।
अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको तथा नेपाली सेना लगायत सरकारी कर्मचारीका लागि लत्ताकपडाको माग उद्योगले परिपूर्ति भएकाले बजारका लागि कुनै समस्या नभएको उल्लेख छ।
प्रतिवेदनले उद्योग पुनः सञ्चालनको आवश्यकता र औचित्यसमेत निर्क्यौल गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालन गर्दा विगतको औद्योगिक शाख कायम हुने, मुलुकको औद्योगिक क्षेत्रको विकास र कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने, विश्वबजारमा औद्योगिक सन्देश जाने, आयत प्रतिस्थापन र आत्मर्निभरतामा अभिवृद्धि हुने, रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान हुने भएकाले युवा पलायन रोक्न सकिने निष्कर्ष छ।
अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनको मोडालिटीसमेत प्रस्ताव गरेको छ। तीन वर्षे कार्यतालिकासहितको प्रस्तावित मोडालिटीमा अनुमानित २६ लाख मिटर कपडा उत्पादनका लागि आर्थिक वर्ष २०८०।०८१ मा नीतिगत निर्णय गरी नेपाली सेनालाई उद्योगको हस्तान्तरण, डिपिआर निर्माण, नयाँ मेसिनरी सामानको छनोट र खरिदको काम सम्पन्न गर्ने उल्लेख छ।
त्यसैगरि आर्थिक वर्ष २०८१।०८२ मा पूर्वाधार निर्माण, मेसिन र उपकरण खरिदको काम सम्पन्न गरी परीक्षण उत्पादन सुरू गर्ने प्रस्तावित मोडालिटीमा उल्लेख छ। त्यस्तै आ.व. २०८२।०८३ मा मेसिनहरू थप गर्ने, उद्योगको क्षमता बिस्तार गर्ने, बुटवल धागो उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थको व्यवस्था र नियमित उत्पादन सुरू गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रू. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च रू. ७८ करोड लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ। उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ।
कार्यदलले उद्योग पुनः सञ्चालनका निम्ति नेपाल सरकारको नीतिगत र कानुनी सहयोगको समेत प्रस्ताव गरेको छ। जसअनुसार उद्योग पुनः सञ्चालनका लागि नीतिगत र कानुनी प्रक्रियामा सहयोग हुनुपर्ने, हालसम्मको दायित्व फरफारक गरी उद्योगको स्वामित्व नेपाली सेनामा हस्तान्तरण गर्नुपर्ने, उद्योगबाट उत्पादित कपडाको खपत सरकारी निकायमा गर्नेगरि नीतिगत व्यवस्था हुनुपर्ने लगायतका विषय समावेश गरेको छ।
ब्रिफिङपछिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग पुनः सञ्चालनमा केन्द्रित भएर नेपाली सेनाले गरेको अध्ययन महत्वपूर्ण भएको बताए । प्रधानमन्त्रीले भने, “नेपाली सेनाले राम्रो अध्ययन गरेको छ। यसबारे राजनीतिक तहमा पनि एकचरण छलफल गर्छु। अध्ययनका निम्ति सरकारको तर्फबाट पनि सानो टीम बनाएर जान सकिन्छ। त्यसपछि मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिनेछौँ।”
प्रधानमन्त्रीले देशका उद्योगहरू निजीकरण गर्दै जाँदा देशको उत्पादकत्वमा ह्रास आउनुका साथै रोजगारीका अवसर घट्दै जानु नकारात्मक भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “विगतका सरकारी उद्योगहरू निजीकरण गरिए। त्यसको परिणाम राम्रो भएन, उद्योगहरू कौडीमा निजीकरण गरिए, देशमा औद्योगिक वातावरण कमजोर भयो। रोजगारी सिर्जना खुम्चिँदै गयो। त्यसले युवा पलायनको भयावह स्थिति बन्दै गयो। अब पनि हामीले पहल लिएनौँ र औद्योगिक वातावरण बनाएनौँ भने देशको समस्या सम्बोधन गर्न सक्दैनौँ।”
उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए । न्युजकारखाना
काठमाडौं, १७ मााघ ।
खुम्बु क्लाईम्बिङ सेन्टर फोर्चे सोलुखुम्बुमा प्रहरी र कर्मचारीहरु उद्धार, प्राथमिक उपचार र पर्वतारोहण तालिममा सहभागी भएका छन् । न्युजकारखाना



