संजय सहनी,राैतहट,२४ गते पुस ।
हजमिनिया । रौतहटको राजदेवी नगरपालिका-५, हजमिनिया दरबारका २४ वर्षीय उमेश महतो विगत केही समयदेखि ब्लड क्यान्सरसँग लडिरहेका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा समस्या परिरहेको बेला ‘हेल्प मधेशी परिवार’ र समाजसेवी प्रकाश थारुले उहाँको जीवन रक्षाका लागि तत्परता देखाएका छन् ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी प्रकाश थारु संग गएका स्थानीय समाजसेबी नबिन सिंह ,पत्रकार संजय सहनी ,कन्हैया पटेल सहितको टोलीले ‘हेल्प मधेशी समाज’ बाट संकलित २४,५०० रुपैयाँ पीडित उमेश महतोलाई हस्तान्तरण गरेको छ ।

छोराको ज्यान बचाउन आमा प्रमिला देवी महतोले आफ्नो भएको एउटा घडेरी समेत ७ लाखमा बिक्री गरेर उपचार सुरु गर्नुभएको छ। “म जसरी पनि छोरा बचाउन चाहन्छु, सबैको सहयोग चाहियो,” भन्दै उहाँले भक्कानिँदै सहयोगको अपिल गर्नुभएको छ।
छोरा क्यान्सरसँग जुधिरहँदा पनि स्थानीय जनप्रतिनिधिहरूले कुनै वास्ता नगरेको र कोही हेर्न समेत नआएको अवस्थामा समाजसेवी थारु ‘भगवान’ बनेर आएको भन्दै बुवा फेकन महतोले खुसी व्यक्त गर्नुभयो।
उमेशको उपचारका लागि अझै ४/५ जति रकमको खाँचो रहेको छ। उहाँलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले सिधै तलको बैंक खातामा रकम जम्मा गर्न सक्नुहुने स्थानीय समाजसेबी नबिन सिंहले अपिल गर्नु भएका छन् ।
खातावालाको नाम: उमेश महतो (Umesh Mahato)
,खाता नम्बर: २६२०१००७९५५८८९०००००१
बैंकको नाम: नेपाल बैंक लिमिटेड, राजदेवी शाखा रहेको छ।
समाजसेवी प्रकाश थारुले उमेशको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको अपील गर्नुभएको छ।
हनुमत कुमार यादव,गाैर,२२ गते पुस ।
रौतहट । सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्रदेशीक अस्पताल गौर, रौतहटका लागि निर्माणाधीन अस्पताल भवनको निरीक्षण गरिएको छ । निरीक्षण कार्यक्रम प्रदेशीक अस्पताल विकास समितिका अध्यक्ष अवधेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
निर्माणाधीन भवनलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने उद्देश्यले अनुगमन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले निर्माण कार्यमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने बताउँदै समयसीमा र गुणस्तर दुवैमा कडाइका साथ ध्यान दिन निर्देशन दिनुभयो ।

अनुगमन कार्यक्रममा सघन सहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियरहरू, प्रदेशीक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय नि. प्रमुख प्रशासकीय अधिकृत राजेश सिह, ओम प्रकाश साह मधेशीया, निर्माण कम्पनीका ठेकेदार तथा अन्य प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
निरीक्षणका क्रममा भवनको संरचना, निर्माणको प्रगति, प्रयोग गरिएका सामग्रीको गुणस्तर तथा सुरक्षाका मापदण्डहरूबारे विस्तृत छलफल गरिएको थियो । प्राविधिक टोलीले निर्माण कार्य सन्तोषजनक गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै तोकिएको समयभित्र काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
निर्माण सम्पन्न भएसँगै प्रदेशीक अस्पताल गौरको सेवा प्रवाह थप प्रभावकारी हुने र रौतहटसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,२२ गते पुस ।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. २ मा छिट्टै क्रिकेट स्टेडियम निर्माण हुने भएको छ । मधेश प्रदेशका खेलकुद मन्त्री ई. बसन्त कुशवाहाले जेनजी २.० रौतहटका अध्यक्ष तथा युवानेता सोनु कुशवाहासँगको भेटघाटका क्रममा उक्त स्टेडियम निर्माणका विषयमा औपचारिक प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री कुशवाहाले रौतहटमा खेलकुद पूर्वाधार विकासको आवश्यकता औंल्याउँदै क्रिकेट स्टेडियम निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो । साथै, छिट्टै नै प्रस्तावित स्थलको फिल्ड भिजिट गरिने र आवश्यक प्रक्रिया अगाडि बढाइने आश्वासन पनि दिनुभएको सोनु कुशवाहाले जानकारी दिनुभयो ।
यो महत्वपूर्ण पहल युवानेता सोनु कुशवाहाको सक्रिय प्रयास र निरन्तर पहलका कारण सम्भव भएको बताइएको छ । लामो समयदेखि रौतहटमा व्यवस्थित खेलकुद संरचनाको अभाव महसुस हुँदै आएको अवस्थामा क्रिकेट स्टेडियम निर्माणको प्रतिबद्धताले स्थानीयवासी तथा युवाहरूमा उत्साह थपेको छ ।
निर्माण सम्पन्न भएपछि रौतहटका युवाहरूमा खेलकुदप्रति रुचि र सहभागिता बढ्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । स्थानीय सरोकारवालाहरूले यस पहललाई रौतहटको खेलकुद विकासतर्फको ऐतिहासिक कदमका रूपमा लिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२२ गते पुस ।
सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल (भारत च्याप्टर) को कार्यक्रम नालंदा भारतमा रौतहटका दुई जना पत्रकार सम्मानित भएका छन । संगठनका नेपाल च्याप्टर मधेश प्रदेशका सदस्य रहेका रौतहट जिल्ला निवासी स्थानीय न्यूज मिडिया प्रा. लि. का सञ्चालक तथा स्थानीय पोष्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादन राज नारायण पटेल ( आरएन पटेल ) तथा सी. एच. खबरका सञ्चालक पत्रकार चन्दन कुमार महतो नालन्दा अंतर्राष्ट्रीय सहभागिता समागम सम्मान- २०२६ द्वारा सम्मानित भएका हुन ।

भारतको बिहारस्थित नालन्दा खुला विश्वविद्यालयमा पुष २० र २१ गते आयोजित अन्तराष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको अवसरमा सो सम्मान गरिएको हो ।कार्यक्रममा नेपालका १२ जना पत्रकार सहित सार्क क्षेत्रका विभिन्न मुलुकका पत्रकारूलाई नालन्दा अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको छ ।
सार्क जर्नलिष्ट फोरमका अध्यक्ष राजु लामा, नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, एभीन्यूज खबरका राजु नापित, पर्सा बिरगंजका मधेश प्रदेश संयोजक चयन भएका सदाब मलिक, दिपेन्द्र प्रजापति,अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम लागायत बाराका श्यामल गिरी सहित नेपाली पत्रकारहरूलाई अवार्ड तथा सम्मान पत्रले सम्मानित गरिएको हो । मातृभाषाको पत्रकारिताको विकासमा योगदान पुर्याए वापत ती पत्रकारहरूलाई अवार्ड सम्मान पत्र प्रदान गरिएको आयोजकले बताएको छ ।

आम्रपाली काला साहित्य सम्मेलन वैशाली बिहार तथा मानवाधिकार टुडेको आयोजनामा सम्पन्न कार्यक्रममा बंगलादेश र भारतका पत्रकारहरूलाई समेत अवार्डद्वारा सम्मान गरिएको छ ।
सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो । सम्मेलनमा ‘पत्रकारिता र मानवअधिकार एक वैश्विक चुनौति’ विषयमा सहभागीहरूले छलफल गरेका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको बताउनु भयो । यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका उनले बताए ।
सार्क राष्ट्रका करिव दुई सयजना पत्रकार सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित सम्मेलनले नेपाल-भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो।
दोस्रो दिन सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो । यस क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवको रुपमा रहेका नालन्दा खण्डर अवलोकन गराई त्यसबारे जानकारी गराइएको थियो ।
बज्जिकाञ्चल संवाददाता,पर्सा,२१ गते पुस ।
वीरगञ्ज । केही समययता वीरगञ्जलगायतका स्थानमा विभिन्न धार्मिक समुदायले गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आक्रमण तथा दुव्र्यवहारका घटना बढ्दै गएकोप्रति नेपाल पत्रकार महासंघ (FNJ) पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अनुसार आज भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साह प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारीले उनको मोबाइल खोसेर आक्रमण गरेको घटना निन्दनीय र आपत्तिजनक छ । समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको आक्रमण र अवरोधले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको स्पष्ट हनन गर्ने महासंघको ठहर छ ।
महासंघ पर्सा शाखाले स्वतन्त्र प्रेसविरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत गराउँदै पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।
यसैबीच, धार्मिक समुदायका प्रदर्शनसँग सम्बन्धित समाचार सामग्री प्रसारण तथा प्रकाशनमा संयमता र सावधानी अपनाउन महासंघले आम सञ्चारकर्मीहरूलाई अपिल पनि गरेको छ । पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) ले जात, धर्म, सम्प्रदाय, भाषा तथा संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्न नहुने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ ।
महासंघका अनुसार केही सञ्चारकर्मीबाट आचारसंहिता उल्लंघन हुने खालका सामग्री प्रकाशन तथा प्रसारण भएको पाइएको छ । विशेषगरी लाइभ सूचना प्रवाहका क्रममा देखिएका कतिपय अभिव्यक्तिहरूले सम्प्रदायबीचको सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले त्यसतर्फ महासंघले सूक्ष्म निगरानी गरिरहेको जनाएको छ ।
पत्रकार आचारसंहिताविपरीतका सामग्रीबाट सचेत रहँदै व्यावसायिक धर्म निर्वाह गर्न महासंघले आग्रह गरेको छ। साथै, संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर नपुग्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा असुरक्षा र भयमुक्त वातावरणमा समाचार सम्प्रेषण हुने अवस्था सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई अपिल गरिएको छ ।
प्रेस विज्ञप्तिमा महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोले सद्भाव र सुरक्षाको सवालमा आवश्यक विधि र प्रक्रिया अपनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं, १९ पुष । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने बताएका छन् । उनले संविधान र व्यवस्था नै गलत भएको कारण देशको यो दूरावस्था भएको टिप्पणी गरेका छन् । उनले चरम दलीय सिण्डिकेटको कारण पछिल्लो दशक देश अस्थिरताको शिकार बन्नुपरेको दाबी गरे । अहिले जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकार, ठूला राजनीतिक दल र विकल्प दिन्छु भन्ने नयाँ दलहरुले समेत कुल्चिएको साहको आरोप छ ।
आज (शनिबार) ललितपुरको युनिभर्सल ईन्जिनियरिङ कलेजको सभा हलमा आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको अपहरणकारी भएको भन्दै देशप्रति गम्भीर नरहेको आरोप लगाए । उनले जेनजी आन्दोलनमा दमन गर्नेहरु खुलेआम सरकारको स्वागत तथा सत्कारमा सहभागी भएको र जेनजी आन्दोलनकारीमाथि उल्टै दमन गरिएको बताए ।

उनले २१ फागुनमा निर्वाचन गराउने सवालमा सरकार गम्भीर नबनेको आरोप लगाए । चुनावको वातावरण बनाउने सवालमा सरकारका मन्त्रीहरुको कामकारबाहीमा एकरुपता नदेखिएको र अझैपनि शान्ति तथा सुव्यवस्थाको उचित वातावरण बनाउन सरकार चुकेको उनको आरोप छ ।
उनले निर्दलीय सरकारमा बसेर दलको वकालत गर्ने र चुनावी प्रचार गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नपनि माग गरे । उनले कुलमान घिसिङले हिजो जेनजी आन्दोलनको क्रममा नागरिक सरकारमा सहभागी हुने भनेर आज दल खोल्ने र चुनाव लड्ने महत्वकांक्षाअनुसार काम गरिरहेको भन्दै आलोचना गरे ।
विकल्प दिन्छु भनेर राजनीतिमा उदाएकाहरु पद र पावरको लागि मात्रै मरिहत्ते गरिरहेको भन्दै साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले मुलुकको नेतृत्व गर्ननसक्ने ठोकुवा गरे । उनले नयाँ भनिएकाहरु कतिपय अनाडी (केहीपनि नजानेको) र कतिपय ठग र कतिपय भ्रष्ट रहेको भन्दै आलोचना गरे । उनले देशलाई सही तवरले निकास दिनको लागि देशभक्त र अग्रगामी शक्तिहरुबीच एकता हुनुपर्ने आवश्यकता औंल्याए । उनले आफूले नेतृत्व गरेको आजपा देश र जनताको पक्षमा सधैं अडिग भएर संघर्षको मैदानमा होमिएको पनि बताए ।
व्यवस्था खराब र भ्रष्ट, राज्यको चरित्र नै लुटकारी भएको कारण आज देशको अवस्था दयनीय बनेको उनको टिप्पणी छ । उनले लुटकारी राज्यको कारण देशको शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरण भएको बताए । उनले अब जनताको शासन ल्याउनको लागि एकपटक निर्णायक संघर्षमा उत्रिनुपर्ने आवश्यकता औंल्याए ।
उक्त भेलाले शिक्षा क्षेत्रमा भएको लुट एवम् विभेद अन्त्य गर्ने संकल्प लिएको छ । भेलामा जेनजी अभियन्ताहरु लेलिन बिष्ट, बिकेश साह, अमृत बोहरा, सुशील लगायतका पनि सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रशासकीय भवनको छतमा स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरिएको छ । आपतकालीन सूचना प्रवाह, विपद् पूर्वसूचना तथा समुदायको सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । यो प्रणाली रेन परियोजनाको सहयोगमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
स्वचालित साइरन प्रणालीमार्फत विभिन्न प्रकारका जोखिम र आपतकालीन अवस्थाका लागि फरक–फरक आवाज (सिग्नल) प्रयोग गरिनेछ । प्रणालीमा चराको आवाज, ध्यानाकर्षण, एकाग्रता लगायतका संकेत समावेश छन् । यसैगरी बाढी, जनावर आक्रमण, आगलागी, मेघगर्जन/चट्याङ तथा पहिरो जस्ता विपद् संकेतका लागि छुट्टाछुट्टै साइरन कोड निर्धारण गरिएको छ । नगरपालिकाका अनुसार “एक नम्बर, एक आवाज—सयौंको सुरक्षा” भन्ने अवधारणाअनुसार यो प्रणाली सञ्चालन गरिनेछ ।
साइरन सक्रिय गर्न नगरपालिकाले मेसेज बक्स खोल्ने, नम्बर डायल गर्ने तथा एस.एम.एस. पठाउने जस्ता सुविधासमेत व्यवस्था गरिएको जनाएको छ । यसले आकस्मिक अवस्थामा छिटो सूचना प्रवाह भई नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
नगर प्रमुख डा. राजिक आलमले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणाली अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै राजपुर नगरपालिका जोखिमयुक्त क्षेत्र भएकाले स्वचालित साइरन समयमै सूचना दिन प्रभावकारी हुने बताए । “साइरन बजाउनुहोस् र जीवन बचाउनुहोस् भन्ने सन्देशसहित यो प्रणाली लागू गरिएको हो,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले यो प्रणाली नगरको समग्र विपद् जोखिम न्यूनीकरण योजनाको महत्वपूर्ण हिस्सा भएको बताए । उनले रेन परियोजनाको सहयोगमा स्थापना भएको प्रणालीको नियमित परीक्षण, सञ्चालन र नागरिकलाई साइरन संकेतबारे जानकारी गराइने जानकारी दिए ।
नगरपालिकाले आगामी दिनमा वडा स्तरसम्म यस्ता पूर्वसूचना प्रणाली विस्तार गर्न जानकारहरूले सुझाव समेत दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
रौतहट । फतुवा विजयपुर नगरपालिकाले विद्युत् महसुलको बक्यौता नतिरेसम्म नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि योजनाको सम्झौता नगर्न निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालय, लक्ष्मीनिया (दो), रौतहटबाट मिति २०८२/०९/१७ गते जारी गरिएको पत्रमार्फत प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई यस्तो जानकारी गराइएको हो । पत्रमा नगरपालिकाको विद्युत् महसुल लामो समयदेखि बक्यौता रहेको उल्लेख गर्दै सो बक्यौता पूर्णरूपमा नतिरेसम्म हाललाई यस कार्यालयबाट कुनै पनि योजनाको सम्झौता कार्य नगराउन आग्रह गरिएको छ ।

कार्यवाहक नगर प्रमुख अमवेया खातुनले हस्ताक्षर गरेको उक्त पत्रमा नगरपालिकाको आर्थिक अनुशासन कायम गर्न तथा बक्यौता चुक्ता गराउन यो निर्णय लिइएको जनाइएको छ ।
नगरपालिकाको यस निर्णयपछि चालु तथा आगामी योजनाका सम्झौताहरू अस्थायी रूपमा प्रभावित हुने देखिएको छ । विद्युत् महसुल बक्यौता छिटो चुक्ता भएपश्चात् मात्रै योजना सम्झौता प्रक्रिया अघि बढाइने नगर स्रोतले जनाएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले आज सपथ ग्रहण गर्नुभएको छ । मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरू मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नियुक्त हुनुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शपथग्रहण गर्नुभएका नवनियुक्त मन्त्रीहरूमा मनिष कुमार सुमन, श्रम तथा यातायातमन्त्री , राज कुमार गुप्ता, भौतिक पूर्वाधार तथा विकास मन्त्री ,शङ्कर प्रसाद चौधरी, वन तथा वातावरण मन्त्री , श्याम प्रसाद पट्टेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री , बसन्त कुसवाहा, खेलकुद तथा समाज कल्याण मन्त्री र गृह, सञ्चार तथा कानूनमन्त्री पदमा फकिरा महतो नियुक्त हुनुभएको छ ।
शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, सभामुख रामअशिष यादव, मधेश प्रदेश सरकारकामन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरू तथा विभिन्न दलका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित १२ वटै मन्त्रालयले नेतृत्व पाएपछि मधेश प्रदेश सरकारले पूर्णता पाएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बताउनुभयो । सभार रेडियो नेपाल
आरके श्रीवास्तव,राैतहट,१५ गते पुस ।
औरैया । ईशनाथ नगरपालिकाले अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा तीन दिनको जाडो विदा दिएको छ ।
नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार सामुदायिक विद्यालय, मदरसा तथा संस्थागत निजी विद्यालयहरूमा मिति २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म तीन (३) दिनको जाडो विदा दिइएको हो । उक्त विदा वर्षे विदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको नगर शिक्षा अधिकारी नन्दकिशोर गुप्ताले जानकारी दिएका छन् ।
हाल केही दिनदेखि मधेश प्रदेशसहित रौतहट जिल्लामा चिसो अत्यधिक बढ्दै गएको र साना बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सूचनाको अवगतार्थ नगर प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराइएको छ । नगरपालिकाले चिसो मौसममा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन विद्यालय तथा अभिभावकहरूलाई आग्रह पनि गरेको छ ।
ईशनाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी यस सूचनापछि नगरभित्रका सबै विद्यालयहरूमा तीन दिनसम्म पठनपाठन स्थगित हुने भएको छ ।