रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए । पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन् ।
यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, गण्डकी, बागमती र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३० जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, सुदूरपश्चिममा ८ जना, गण्डकीमा ५ जना र कर्णालीमा ३ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
दिउसो साढे २ बजे बस्ने गरि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक विषयमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान साढे १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ । आजको बैठकका लागि गृहमन्त्री, कानुनमन्त्री, गृह सचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई छलफलका बोलाएको समितिले जनाएको छ ।
त्यस्तै बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफलको कार्यसूची रहेको छ ।
राष्ट्रिय समाचार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जानकारी दिएको छ ।
मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल देखी मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू(भागका केहि स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केहि स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू(भागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागको एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू(भागका केहि स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशको तराई भू(भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
एभरेष्ट न्यूज एजेन्सी,
राशिफल
आजको राशिफल बिस २०८३ साउन २९ गते शुक्रबार ईस २०२६ अगस्त १४ नेपाल सम्बत ११४६ गुलाथ्व द्वितीय, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष द्वितीय, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, परिघ योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –
आजको दिन तपाईंका लागि नयाँ सम्भावनाको खोजी गर्ने अवसरका रूपमा रहनेछ। लामो समयदेखि रोकिएका कामले गति लिनेछन् र मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई कुशलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा नयाँ कारोबारको सम्भावना छ। आर्थिक रूपमा आम्दानी बढ्नेछ भने रोकिएको रकमसमेत हात पर्न सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ। प्रियजनबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ ।
वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० –
आज शान्त भएर अघि बढ्दा धेरै काम तपाईंको पक्षमा जानेछन्। कार्यक्षेत्रमा पुरानो समस्या समाधान हुने र नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तपाईंको लगनशीलताको प्रशंसा हुनेछ। व्यापारमा नियमित कारोबारसँगै नयाँ अवसर थपिन सक्छ। आर्थिक रूपमा खर्च व्यवस्थापन गर्न सकिनेछ र बचत बढाउने मौका मिल्नेछ। परिवारमा आपसी समझदारी र सहयोग कायम रहनेछ। आफन्तसँगको भेटघाट सुखद बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा स्थिरता र आत्मसन्तुष्टि अनुभव हुनेछ ।
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –
आज तपाईंको विचार र अभिव्यक्तिले अरूलाई प्रभावित पार्नेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक काममा राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। नयाँ योजनाले भविष्यमा राम्रो परिणाम दिने आधार तयार गर्नेछ। व्यापार–व्यवसायमा लाभदायक प्रस्ताव आउन सक्छ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको बाटो खुल्न सक्छ। साथीभाइ र सहकर्मीको सहयोग प्राप्त हुनेछ। परिवारमा रमाइलो वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मनमा नयाँ उत्साह जाग्नेछ ।
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –
आज घरपरिवारको सुखले तपाईंको मन प्रसन्न बनाउनेछ। परिवारका सदस्यबीचको सम्बन्ध अझ आत्मीय बन्नेछ। घरमा कुनै शुभ कार्यको चर्चा हुन सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई सफलतापूर्वक पूरा गर्नुहुनेछ। आर्थिक रूपमा घरायसी आवश्यकताका लागि सहजता रहनेछ। घर वा सम्पत्तिसँग सम्बन्धित विषयमा सकारात्मक प्रगति हुन सक्छ। नजिकका व्यक्तिबाट राम्रो सल्लाह प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक तनाव घट्दै जानेछ र आत्मविश्वास बढ्नेछ ।
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –
आज आफ्नो क्षमता प्रमाणित गर्ने दिन रहेको छ। कार्यक्षेत्रमा नेतृत्वदायी जिम्मेवारी प्राप्त हुन सक्छ र तपाईंको निर्णयको प्रशंसा हुनेछ। वरिष्ठ व्यक्तिबाट विश्वास र सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा विस्तारका लागि नयाँ सम्भावना देखिन्छ। आर्थिक रूपमा लाभदायक अवसर हात पर्न सक्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। परिवारका सदस्यले तपाईंको योजनामा साथ दिनेछन्। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वास उच्च रहने भएकाले चुनौतीपूर्ण काममा पनि सफलता प्राप्त हुनेछ ।
कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –
आज योजनाबद्ध रूपमा अघि बढ्दा काममा सहजता आउनेछ। कार्यक्षेत्रमा तपाईंको सूक्ष्म ध्यान र व्यवस्थित कार्यशैलीले राम्रो परिणाम दिनेछ। अध्ययन वा नयाँ सीप सिक्ने कार्यमा प्रगति हुनेछ। व्यापारमा सोचविचार गरेर गरिएको निर्णय लाभदायक बन्न सक्छ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सकिनेछ। परिवारमा सकारात्मक छलफल र सहयोगको वातावरण रहनेछ। आवश्यक भेटघाट वा छोटो यात्राबाट उपयोगी जानकारी प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित आराम र खानपानमा ध्यान दिनु लाभदायक हुनेछ ।
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० –
आज सहकार्य र सम्बन्धका कारण नयाँ अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी तथा साझेदारसँग राम्रो तालमेल कायम हुनेछ। तपाईंले अघि सारेको योजना अरूको सहयोग पाएपछि सफल बन्ने सम्भावना छ। व्यापार–व्यवसायमा कारोबार बढ्नेछ। रोकिएको रकम प्राप्त हुन सक्छ र आर्थिक अवस्था थप सहज बन्नेछ। परिवारमा खुसी र आत्मीयता रहनेछ। सामाजिक भेटघाटबाट नयाँ परिचय बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। सकारात्मक सोच र मिलनसार व्यवहारले दिनलाई फलदायी बनाउनेछ ।
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० –
आज विगतको मेहनतले राम्रो परिणाम दिने संकेत देखिएको छ। कार्यक्षेत्रमा कठिन जिम्मेवारी पूरा गरेर प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ। तपाईंको अनुभव र निर्णय क्षमताको सम्मान हुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। आर्थिक अवस्था क्रमशः बलियो बन्नेछ। परिवारमा प्रेम, विश्वास र आत्मीयता कायम रहनेछ। प्रियजनसँग भविष्यका योजनाबारे राम्रो कुराकानी हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। आत्मबल बढ्ने भएकाले चुनौतीलाई अवसरमा बदल्न सक्नुहुनेछ ।
धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –
आज नयाँ अवसरको खोजीमा अघि बढ्दा सकारात्मक परिणाम प्राप्त हुनेछ। अध्ययन, यात्रा, व्यापार वा नयाँ योजनासँग सम्बन्धित काममा सफलता मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियताको प्रशंसा हुनेछ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना छ। नयाँ स्रोतबाट लाभ प्राप्त हुन सक्छ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछन् र नयाँ परिचय भविष्यमा उपयोगी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। भविष्यका लक्ष्यप्रति उत्साह र आत्मविश्वास बढ्नेछ ।
मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –
आज जिम्मेवारी धेरै भए पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सम्हाल्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सुझावले महत्त्वपूर्ण काम सहज बनाउनेछ। पुराना काम पूरा गरेर नयाँ योजनातर्फ अघि बढ्ने अवसर मिल्नेछ। आर्थिक निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। परिवारमा तपाईंको भूमिका महत्त्वपूर्ण रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। पर्याप्त आराम र सन्तुलित खानपानमा ध्यान दिनुहोस्। साँझतिर खुसीको समाचार प्राप्त हुन सक्छ ।
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –
आज नयाँ विचारलाई व्यवहारमा उतार्ने अनुकूल वातावरण बन्नेछ। कार्यक्षेत्रमा फरक ढंगले काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ सहकार्य वा जिम्मेवारीको अवसर आउन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिन्छ। आर्थिक रूपमा सुधार आउनेछ। परिवारमा पुराना असमझदारी हट्दै जानेछन्। साथीभाइको सहयोगले नयाँ उत्साह थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ लक्ष्य तय गरेर अघि बढ्न दिन निकै उपयोगी रहनेछ ।
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, ची० –
आज मनमा रहेको अन्योल हट्दै जानेछ र महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। कार्यक्षेत्रमा अधुरा काम पूरा हुनेछन् र नयाँ अवसरको ढोका खुल्न सक्छ। तपाईंको नम्र व्यवहार र धैर्यले सहकर्मी तथा नजिकका व्यक्तिको सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारका सदस्यबाट सुखद समाचार सुन्न पाइनेछ। प्रियजनसँगको सम्बन्धमा विश्वास अझ गहिरो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। साँझतिर हुने कुनै भेटघाट वा कुराकानीले मन प्रसन्न बनाउनेछ र आगामी दिनका लागि नयाँ आशा जगाउनेछ ।
काठमाडौँ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ । विभागका अनुसार होटलमा मात्रै करिब १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् ।
पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् ।
विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको विभागले जनाएको छ ।
उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–५ जोरपाटी बस्दै आएका ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
तामाङ बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका बेला २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए । फरार रहेका तामाङलाई २०८३ साउन २८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।एभरेष्ट न्यूज एजेन्सी
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासी मृत अवस्थामा भेटिएका छन् ।
बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ ।
त्यसपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित सुरक्षाकर्मी पुगे पनि सुकुम्बासीले शव उठाउन नदिएपछि उनीहरु फर्किएका थिए ।
पासवान श्रीमती र छोरा, बुहारीसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । श्रीमती बारा गएको बेला कोठामा एक्लो परेका पासवानले ज्यान लिएको आशंका गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताको ठुलो भिड लागेको छ ।
आज दिउँसो १२: २५ बजे बैंककबाट थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आइपुग्न लागेका देउवालाई उनी पक्षका नेता कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन् ।
विमानस्थलमा पूर्णबहादुर खडक, डा. शशांक कोइराला, डा. प्रकाश शरण महत, एनपी साउद, दिपक खड्कालगायतका नेताहरु पुगेका छन् । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. शशांक कोइरालाले आफुहरुको सभापति देउवा नै भएको बताएका छन् ।
कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेर चुनदेवी निवाससम्म पुर्याउने बताइएको छ ।
गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अर्थतन्त्र र पूर्वाधारमाथि ठूलो दबाब परिरहे पनि इरानका नीति निर्माता युद्ध अन्त्य गर्न हतारिएको देखिएका छैनन् ।
इरानले युद्धको दिशा अमेरिकाले मात्रै निर्धारण गर्न नसक्ने सन्देश दिन खोजिरहेको हुन सक्ने विश्लेषण गरिएको छ । साथै, अमेरिकामाथि सैन्य, आर्थिक र राजनीतिक दबाब बढाएर आफ्ना केही माग पूरा गराउन सकिने आशा पनि इरानले राखेको हुन सक्छ । तर यसको धेरै कुरा एउटा महत्वपूर्ण प्रश्नमा निर्भर छ, इरानले वास्तवमा यो युद्ध कति समयसम्म जारी राख्न सक्छ ?
युद्धका क्रममा इरानको रक्षा उद्योग र क्षेप्यास्त्र उत्पादन गर्ने केही संरचनालाई निशाना बनाइएको छ । तर त्यसबाट भएको क्षतिको स्वतन्त्र र यकिन मूल्याङ्कन उपलब्ध छैन ।
लन्डनस्थित अध्ययन संस्थाले गरेको पछिल्लो मूल्याङ्कनअनुसार इरानसँग अहिले कति क्षेप्यास्त्र बाँकी छन् भन्ने भरपर्दो तथ्याङ्क उपलब्ध छैन । समयसँगै इरानले प्रहार गर्ने क्षेप्यास्त्रको संख्या घट्दै गएको देखिए पनि युद्ध जारी राख्ने उसको क्षमताको मूल्याङ्कन केवल क्षेप्यास्त्रको संख्याबाट गर्न नसकिने विश्लेषकहरूको भनाइ छ ।
मानवरहित विमान र समुद्रबाट प्रहार गरिने क्षेप्यास्त्र उत्पादन गर्न तुलनात्मक रूपमा सजिलो र छिटो भएको बताइएको छ । युद्धमा मारिएका केही कमान्डरको स्थानमा नयाँ नेतृत्वसमेत नियुक्त भइसकेको छ भने सैन्य नेतृत्व संरचना अझै कायम रहेको जनाइएको छ ।
इरानले लामो समयसम्म क्षेप्यास्त्र प्रहार गर्ने क्षमता कायम राख्न सक्ने समेत विश्लेषण गरिएको छ । यद्यपि प्रहारको तीव्रता घट्न सक्ने र होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गर्न सक्ने समेत बताइएको छ ।
इरानी नीति निर्माताहरूले लामो समयसम्म चल्ने युद्धले अमेरिकालाई पनि ठूलो क्षति पुर्याउन सक्ने ठानेका छन् । इरानी क्षेप्यास्त्र र मानवरहित विमान रोक्न अमेरिकाको सैन्य हतियार भण्डारको केही हिस्सा प्रयोग भइसकेको छ । केही अमेरिकी आकलनले ती हतियारको भण्डार तत्काल पुनःपूर्ति गर्न कठिन हुने चेतावनी दिएका छन् ।
युद्धका कारण तेलको मूल्यमा परेको प्रभाव र अमेरिकाभित्रको राजनीतिक अवस्थाले तेहरानमा वासिङ्टनलाई आफ्ना केही शर्त स्वीकार गर्न बाध्य पार्न सकिने आशा बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति रिपब्लिकन मतदाताको समर्थन अझै बलियो भए पनि विभिन्न सर्वेक्षणले युद्धप्रति अमेरिकी जनतामा असन्तुष्टि बढ्दै गएको देखाएका छन् । ट्रम्पले युद्धका घोषित उद्देश्य पूरा गर्न नसकेको चिन्ता पनि बढिरहेको छ ।
यदि तेहरानको अनुमान सही भयो भने इरानका लागि अमेरिकालाई सैन्य रूपमा पराजित गर्नु आवश्यक नहुन सक्छ । लामो र महँगो युद्ध आफैंमा अमेरिकामाथि दबाब सिर्जना गर्ने माध्यम बन्न सक्ने उसको आकलन देखिन्छ । अहिलेसम्म भने केवल सैन्य दबाबका कारण इरान युद्ध रोक्न बाध्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन ।
युद्ध सुरु हुनुअघि नै इरानको अर्थतन्त्र उच्च मुद्रास्फीति, न्यून लगानी, राष्ट्रिय मुद्रा रियालको ठूलो अवमूल्यन र संरचनागत समस्याबाट गुज्रिरहेको थियो । विश्व बैंकको अनुमानअनुसार सन् २०२५-२६ को आर्थिक वर्षमा इरानको अर्थतन्त्र करिब २.७ प्रतिशतले खुम्चिएको थियो । युद्धले त्यसमा थप दबाब सिर्जना गरेको छ। इरानको तथ्याङ्क केन्द्रका अनुसार पछिल्लो १२ महिनाको मुद्रास्फीति दर ६२ प्रतिशतसम्म पुगेको छ ।
युद्धबाट सबैभन्दा प्रभावित दक्षिणी प्रान्तमा अवस्था अझ गम्भीर रहेको बताइएको छ। होर्मुजगानमा मुद्रास्फीति दर १०१ प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ । इरानका उपश्रममन्त्रीका अनुसार युद्धका कारण रोजगारी बजारमा १० लाखभन्दा बढी रोजगारी गुमेका छन् भने करिब २० लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेरोजगार भएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ मा इरानको अर्थतन्त्र करिब ५.४ प्रतिशतले खुम्चिने र मुद्रास्फीति दर झन्डै ६९ प्रतिशत पुग्ने अनुमान गरेको छ । युद्ध कति लामो चल्छ र त्यसले व्यापार तथा तेल निर्यातमा कति ठूलो अवरोध पुर्याउँछ भन्ने कुराले इरानको अर्थतन्त्रमा ठूलो प्रभाव पार्नेछ ।
होर्मुज जलडमरूमध्य इरानका लागि दबाब सिर्जना गर्ने महत्वपूर्ण माध्यम भए पनि त्यही मार्ग उसको कमजोरीको कारणसमेत बन्न सक्छ । यस मार्गमा अवरोध सिर्जना गर्दा अमेरिका र विश्वको ऊर्जा बजारका लागि युद्धको लागत बढाउन सकिन्छ। तर अर्कोतर्फ अमेरिकी नौसैनिक घेराबन्दी र समुद्री यातायातमाथि लगाइने प्रतिबन्धले इरानका लागि तेल निर्यात गर्न थप कठिन बनाउनेछ । तर आर्थिक दबाब पर्दैमा इरानको नीतिमा परिवर्तन आउँछ भन्ने निश्चित छैन ।
निरंकुश शासनहरू अत्यन्त कठिन आर्थिक परिस्थितिमा पनि वर्षौंसम्म टिक्न सक्छन् । उनका अनुसार मुद्रास्फीति, बेरोजगारी र पूर्वाधारको समस्याले असन्तुष्टि बढाउन सक्छ। तर व्यापक जनप्रदर्शन वा सरकारभित्रै गम्भीर विभाजन नआएसम्म तेहरानले आफ्नो सैन्य नीति परिवर्तन नगर्न सक्छ ।
अर्कोतर्फ युद्धबाट बाहिरिने सबैभन्दा राम्रो बाटो के हुन सक्छ भन्ने विषयमा इरानभित्र मतभेद देखिएको छ । संसद्का सभामुख तथा इरानी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद बागर गालिबाफले यसअघि नै इरान लगातार चलिरहने संघर्षमा फस्न नहुने चेतावनी दिएका थिए । उनले वार्ताको विरोध गर्नेहरूमाथि पनि आलोचना गरेका छन् । तर संसद्का कट्टरपन्थी सदस्य अमिरहोसेन साबेतीले अमेरिकाले इरानका सबै शर्त स्वीकार गरेर सम्झौतामा हस्ताक्षर गरे पनि युद्ध जारी रहने बताएका छन् । यद्यपि यो मतभेदलाई केवल युद्ध समर्थक र शान्ति समर्थक समूहका रूपमा विभाजन गर्न सकिँदैन । गालिबाफले पनि इरानका अधिकारको रक्षा नगर्ने कुनै सम्झौता आफूहरूले स्वीकार नगर्ने बताएका छन् । मुख्य मतभेद निरन्तर दबाबबाट तेहरानले कति लाभ लिन सक्छ र कुन बिन्दुमा युद्धबाट हुने क्षति लाभभन्दा ठूलो हुन्छ भन्ने विषयमा देखिन्छ ।
इरानमा युद्ध जारी राख्ने विषयमा जनताको धारणा बुझ्न सकिने स्वतन्त्र र विश्वसनीय जनमत सर्वेक्षण उपलब्ध छैन । सामाजिक सञ्जालले पनि सम्पूर्ण समाजको धारणा प्रतिनिधित्व नगर्ने विज्ञहरूको भनाइ छ । इरानी शासनका लागि सबैभन्दा खतरनाक मोर्चा अन्ततः घरेलु मोर्चा बन्न सक्ने र यसको मुख्य कारण अत्यधिक मुद्रास्फीति, आर्थिक समस्या र देशको पूर्वाधारमाथि बढिरहेको दबाब भएको बताइएको छ ।
लामो समयसम्म युद्ध जारी रहँदा इरानले क्षेत्रीय स्तरमा समेत ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । पछिल्ला वर्षमा तेहरानले खाडीका अरब मुलुक, विशेषगरी साउदी अरबसँग सम्बन्ध सुधार्ने प्रयास गरेको थियो । ती मुलुकमा रहेका सैन्य आधार, पूर्वाधार र समुद्री मार्गमाथि लगातार आक्रमण भएमा यी सम्बन्ध पुनः बिग्रिन सक्छन् । खाडीका मुलुकहरूले अहिलेसम्म तनाव कम गर्ने र वार्तामा फर्कने प्रयास गरिरहेका छन्। तर इरान वा इरानसँग सम्बन्धित सैन्य समूहबाट हुने आक्रमणको खतरा बढ्दै गएमा उनीहरू अमेरिकासँगको रक्षा सहकार्य थप बलियो बनाउन र सम्भवतः इरानविरुद्ध समेत सहकार्य बढाउन इच्छुक हुन सक्छन् ।अमेरिकामाथि पर्ने दीर्घकालीन दबाब इरानका लागि राजनीतिक रूपमा महत्वपूर्ण बन्न त्यसलाई वार्ताको टेबुलमा आफ्ना पक्षमा सहुलियतमा बदल्न सक्नुपर्छ । तर इरानलाई युद्ध अन्त्य गर्ने स्वीकार्य बाटो दिने किसिमको सम्झौता कस्तो हुनेछ र त्यस्तो सम्झौता कसरी सम्भव हुन्छ भन्ने अझै स्पष्ट छैन ।
इरानको रणनीतिमा देखिएको मुख्य कमजोरी युद्धका क्रममा हासिल गरेको प्रभावलाई स्थायी राजनीतिक लाभमा कसरी बदल्ने भन्ने हो । तेहरानले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्न तथा अमेरिका र उसका सहयोगीमाथि दबाब बढाउन सक्ने क्षमता देखाएको छ । तर लामो समयसम्म अमेरिका र खाडी मुलुकसँगको टकरावमा रहेर इरान कसरी टिकिरहन्छ भन्ने स्पष्ट छैन । अहिलेसम्म सैन्य, आर्थिक वा राजनीतिकमध्ये कुनै पनि दबाबले इरानलाई युद्ध जारी राख्नबाट रोक्न सकेको छैन । तर युद्ध जति लामो हुँदै जान्छ, घरेलु आर्थिक दबाब त्यति नै बढ्नेछ, क्षेत्रीय सम्बन्ध त्यति नै बिग्रनेछन् र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति गर्न सक्ने सम्झौतामा पुग्न त्यति नै कठिन हुनेछ । एभरेष्ट न्यूज एजेन्सी