रौतहट,३० गते वैशाख । हिउँद महिनामा लगाएको मकैको उत्पादन राम्रो हुनेमा किसानहरु ढुक्क रहेको किसानहरु बताउँछन् । रौतहटको मौलापुर नगरपालिका ९ सोनरनियाका मकै उत्पादक किसानहरु उत्पादन बढ्नेमा ढुक्क देखिएका हुन् । मकैमा राम्ररी घोघा र दाना लागेको तथा अब टिप्ने बेला भइसकेकाले उत्पादन राम्रो हुनेमा किसानहरु विश्वस्त हुन पुगेका हुन् । सोरनियाका मकै किसानहरु शनिदेव प्रसाद यादव, भुलावन कुर्मी, राकेश यादव तथा गगनदेव मुखिया बिनले मकैको उत्पादन राम्रो हुने बताएका छन् । अब केही दिनमा कमैको घोघा टिप्ने बेला हुने भएको र अहिलेसम्म मकैखेतीको सबै अवस्था राम्रो रहेकोले उत्पादन राम्रो हुने विश्वास जागेको किसानहरुको भनाइ छ । रौतहटको चन्द्रपुर, फतुवा विजयपुर, वृन्दावन र गुजरा नगरपालिकामा मकै खेती निकै हुने गरेको छ । यसै गरी बौद्धिमाई र मौलापुर नगरपालिकाका किसानहरुले पनि मकै खेती राम्रैसित गर्ने गरेका छन् । रौतहटमा हिउँदै मकै खेती सबैभन्दा बढी हुने गरेको कृषि ज्ञान केन्द्र रौतहटका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी गराएका छन् । गत वर्षको तुलनामा यस वर्ष सातदेखि आठ प्रतिशत मकै खेतीमा विस्तार भएको कुर्मीको भनाइ छ । वर्षे र वसन्ते मकैभन्दा हिउँदै मकैको खेती रौतहटमा बढी हुने गरेको बताउँदै कार्यालय प्रमुख कुर्मीले रौतहटमा मकै खेती विस्तार भएको र गत वर्षभन्दा मकैको उत्पादन पनि बढ्ने सम्भावना भएको कार्यालय प्रमुख कुर्मीको भनाइ छ । हिउँदे मकै खेतीमा केही समय पहिले रौतहटको बौद्धिमाई र मौलापुरको केही खेतमा घोघामा दाना नलाग्ने समस्या देखिएको तर समग्रमा अहिले अवस्था ठिक रहेको उनी बताउँछन् । मकै खेतीबाट किसानहरुलाई राम्रो आम्दानी हुने गरेकोले किसानहरु मकै खेतीतर्फ आकर्षित भएका हुन् । पहिले मुख्य गरी उत्तरी क्षेत्रमा हुने गरेको मकै खेती विस्तारै मधेश प्रदेशको अन्य जिल्लामा पनि दक्षिणी क्षेत्रसम्म विस्तार हुँदै गएको छ ।
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।
योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
आरके श्रीवास्तव,
रौतहट,२८ गते वैशाख । रौतहटको कटहरिया नगरपालिकाका करारका कर्मचारीहरुले १८ महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् । तलब नै नपाएपछि कर्मचारीहरुले पनि राजाको काम कहिले जाला घाम जस्तै निराश भएर काम गर्न थालेका छन् । हुँदाखाँदाको जागिर छाडेर कतिपय कर्मचारी विदेश पलायन हुन थालेका छन् । कटहरिया नगरपालिकाका कर्मचारी रविरन्जन यादवले नगरपालिकाले गत २० महिनादेखि तलब बाँकी राखेर गत असोज र कात्तिक गरी दुई महिनाको मात्र तलब उपलब्ध गराएको बताएका छन् । कम्तीमा १८ महिनादेखि तलब भत्ता नदिँदा घर परिवारको बिजोग भएको बताउँदै यादवले घरका मानिसहरुले जागिर छाडेर विदेश जान दबाब दिन थालेको बताएका छन् । कटहरिया नगरपालिकाका रहेका करारका कर्मचारीको बारेमा आफूहरुलाई केही पनि जानकारी नभएको वडाध्यक्ष प्रवक्ता सर्फलाल गुप्ता बताउँछन् । नगर प्रमुख अजय प्रकाश जयसवालले कार्यपालिका बैठकमा पनि करारका कर्मचारीको बारेमा केही पनि बताउने नगरेको र करारका सबै कर्मचारीको कम्तीमा एक वर्षभन्दा बढीको तलब बाँकी रहेको आफूले सुनेको गुप्ताको भनाइ छ । करारका कर्मचारीको संख्या कति रहेको र कति तलब दिने गरेको बारेमा नगर प्रमुखले कहिल्यै कुनै जानकारी नदिने गरेको स्पष्ट पार्दै वडाध्यक्ष गुप्ताले करारका कर्मचारीहरुबाट आधा रकम जति नगर प्रमुखले कमिसन लिने गरेको आरोप आफूले सुनेको बताउँछन् । नगरपालिकामा करारको कर्मचारी संख्या ७० को हाराहारीमा भएको आफूहरुले बुझेको तर नगर प्रमुख अजय प्रकाशले भने १५० भन्दा बढी करारका कर्मचारी रहेको बताउने गरेको गुप्ताको भनाइ छ । करारका कर्मचारी कहाँ काम गर्छन् भन्ने बारेमा कसैलाई कुनै जानकारी नरहेको गुप्ताको भनाइ छ । अर्का वडाध्यक्ष चन्दन कुशवाहाले भने नगर प्रमुख अजय प्रकाश जयसवालले कटहरिया नगरपालिका ९ स्थित आफ्नो चिनी मिलमा ८० देखि १०० जनालाई करारमा काम दिएको र त्यसको भुक्तानी नगरपालिकाबाट दिएको आरोप लगाउँछन् । काम गर्ने वास्तविक कर्मचारीलाई तलब नदिएको तथा नगर प्रमुखको निजी काम गर्नेलाई भने तलब दिने गरेको वडाध्यक्ष कुशवाहाको दाबी छ । इमानदार र दक्ष कर्मचारीले तलब नपाउँदा विदेश पलायन भइरहेको देखिएको छ । करारका कर्मचारीले करिब डेढ वर्षदेखि तलब नपाएको गुनासोको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई सम्पर्क गर्दा निजको मोबाइलको स्वीच अफ रहेको पाइएको थियो ।
राैतहट,२६ गते वैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षामा चरम बेथिति देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफ्नो मान्छे हेरी हेरी शिक्षकलाई तलब पठाउन थालेपछि शिक्षकहरु आक्रोशित बनेका छन् । आक्रोशित शिक्षकले कार्यालय प्रमुख पालको विरोधमा नगरका सबै विद्यालय ठप्प पारेका छन् । पालिकाका पूर्व शिक्षा संयोजक बुनिलाल राय यादवले नगरका अधिकांश शिक्षकले तलब खाए पनि अनुदानमा संचालित तिन विद्यालयका शिक्षकहरु, शैक्षिक सुदृढीकरण अन्तर्गत कार्यरत सात जना शिक्षकका साथै राहत र करार सेवामा कार्यरत १२ जना शिक्षकको तलब नगरपालिकाले नपठाएको बताएका छन् । कमजोर शिक्षकसित केही पाउने लोभले कार्यालय प्रमुख पालले तलब भत्ता नपठाएको भन्दै आक्रोशित सम्पूर्ण शिक्षकले नगरका सम्पूर्ण विद्यालय ठप्प पारेका छन् । राहत, करार तथा अनुदानमा संचालित विद्यालयका शिक्षकहरुबाट कार्यालय प्रमुख पालले बार्गेनिङ गरेको आरोप शिक्षकहरुले लगाएका छन् । शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लाग्दा पनि कार्यालय प्रमुख पालले विद्यालयहरुलाई पाठ्यपुस्तकको रकम निकासा दिएका छैनन् । पाठ्यपुस्तकको रकमवापत कार्यालय प्रमुख पालले प्रअहरुसित अनौपचारिक रुपमा कमिसनको माग गरेको बुझिएको छ । यसै गरी गत साउन महिनादेखि विद्यालय खाजाको रकम पनि विद्यालयहरुमा पुग्न सकेको छैन । कार्यालय प्रमुख पालको नियत नै खराब भएको महसुस गरेपछि शिक्षकहरुले विद्यालय ठप्प पारी विरोध प्रदर्शन गरेका छन् । हजारौँ विद्यार्थीको पढाइ रोकिएपछि बुधवार शिक्षक र कार्यालय प्रमुखबिच वार्ता भएको छ । अहिलेसम्म रोकिएका शिक्षकको तलब, पाठ्यपुस्तक वापतको रकम र विद्यालयमा दिवा खाजाको रकम सबै एक साथ आउँदो आइतवारसम्म विद्यालयका खातामा पठाउने प्रतिबद्धता पालले व्यक्त गरेका छन् । कार्यालय प्रमुख पालको प्रतिबद्धता आएपछि विहीवारदेखि नगरका सबै विद्यालय संचालनमा आउने भएको पूर्व शिक्षा संयोजक यादवको भनाइ छ । लामो समयदेखि विवादमा रहेको फतुवा विजयपुर नगरपालिकामा देखिएको शैक्षिक बेथितिबारे जवाफ दिन कार्यालय प्रमुख डराएका छन् । कार्यालय प्रमुख पाललाई मोबाइलमा सम्पर्क गर्दा फोन काट्ने गरेका छन् । महिनौँदेखि उधारोमा बालबालिकालाई खाजा खुवाएको तथा उधारोमा पाठ्यपुस्तक लिएर विद्यार्थीलाई वितरण गरिसकेका विद्यालयलाई पनि रकम भुक्तानी गर्न आनाकानी गरिरहेका कार्यालय प्रमुख पालका कारण फतुवा विजयपरको शिक्षामा व्यापक बेथिति मौलाउँदै गएको छ । शिक्षामा सुधार गर्नुपर्नेमा कार्यालय प्रमुख पालले नगरको शिक्षालाई ध्वस्त बनाउँदै लगेको आरोप शिक्षकहरुको रहेको छ ।
आरके श्रीवास्तव,राैतहट२३ गते वैशाख ।
नीति, थिति र निर्णय सबैलाई लत्याउँदै रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नगरलाई अस्तव्यस्त बनाएका छन् । नगर प्रमुख र हाकिम दुवै जना कार्यालय छोडेर बेपत्ता हुन थालेपछि नगरपालिकाको सबै काम अस्तव्यस्त बन्न पुगेको वडाध्यक्षहरुको आरोप छ ।
आइतवार कटहरिया नगरपालिकाको कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख र हाकिम दुवै जना अनुपस्थित भएपछि कार्यपालिका सदस्यहरु आक्रोशित बनेका छन् । पूर्व सूचना गरी बोलाइएको कार्यपालिका बैठकमा नगर प्रमुख अजय प्रकाश र कार्यालय प्रमुख सुरेन्द्रमान प्रधान दुवै जना अनुपस्थित भएपछि उपस्थित कार्यपालका सदस्यहरु आक्रोशित बनेका हुन् । कटहरिया ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले बैठकमा उपस्थित नभई कार्यालय प्रमुख प्रधानले मोबाइलको स्वीचसमेत अफ गरेर उपसचिवजस्तो गरिमामय पदको मर्यादा गिराएको आरोप लगाएका छन् ।
नीति, नियम र नैतिकताको कुनै ख्याल नै नगरी कार्यालय प्रमुख प्रधान नगर प्रमुखको इसारामा मात्र चल्ने गरेको आरोप वडाध्यक्ष गुप्ताको रहेको छ । नगर प्रमुख र कार्यालय प्रमुख दुवै जना मिलेर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउँदै वडाध्यक्ष गुप्ताले जनताले सबैको हिसाबकिताब लिने बताएका छन् । नगरपालिकामा कति जना ज्यालादारीका कर्मचारी छन् र महिनाको कति खर्च ज्यालादारीमा हुन्छ भन्ने यकिन जानकारी नगर प्रमुख र कार्यालय प्रमुखले दिने गरेका छैनन् ।
ज्याला तथा करारका कर्मचारीको नियुक्ति तथा कामको विवरण महिनौँदेखि कार्यपालिका सदस्यहरुले माग्दै आएका छन् । नगरपालिकाको तलब खुवाएर नगर प्रमुख र कार्यालय प्रमुखले दर्जनौँ मानिसलाई चिनीमिलमा काम गराएको आशंका जनप्रतिनिधिहरुको रहेको छ । कटहरिया नगरपालिका ९ मा रहेको चिनी मिलका संचालक नगर प्रमुख अजय प्रकाशले नगरपालिकाबाट भुक्तानी दिने गरेको तर निजी उद्योगमा दर्जनौँ कर्मचारी खटाएको आशंका रहेको छ ।
करार तथा ज्यालादारीको कामदारको विवरण, तिनीहरुमा भइरहेको खर्च, हरेक महिना इन्धनमा नगरपालिकाको खर्चको विवरण माग गर्दै केही महिना पहिले नगर उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुमाथि पार्टीको दबाब परेपछि रातारात ताला खोलाइएको थियो ।
कटहरिया ४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगर प्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा लुटको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । वडाध्यक्ष कुशवाहा भन्छन् – जनताको अदालतले एक दिन हरेक कुकर्मको हिसाब गर्नेछ । कार्यालय प्रमुख प्रधान नगरपालिकालाई अस्तव्यस्त बनाउनमा माहिर छन् ।
यसअघि रौतहटकै फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबिच फाटो ल्याएर एक पक्षीय विवादास्पद निर्णयहरु गराएका थिए । प्रधान कार्यालय प्रमुख रहुन्जेल फतुवा विजयपुरमा पटकपटक विवाद र कार्यालयमा तालबन्दी भएको थियो ।
प्रधानको विवादास्पद चरित्रकै कारण रौतहटको वृन्दावन नगरपालिका कार्यालयमा स्थानीयले हाजिर हुन दिएका थिएनन् ।
रौतहट २२ वैशाख।
रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन्।
सीमावर्ती परोहा नगरपालिका ९ रामपुर खापमा आयोजित “सिमाबासी संग सशस्त्र प्रहरी”कार्यक्रम तथा अन्तरक्रियामा सहभागि सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीयहरूले उक्त समस्या बारे जानकारी दिएका छन्।
सशस्त्र प्रहरी बल ११ नम्बर गण हेक्वा रौतहट द्वारा आयोजना गरिएको सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण कार्यक्रमका सहभागीहरूले द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार बंकुल हालसम्म सञ्चालन नहुँदा ससाना व्यापारीहरु गौर भन्सार पुगेर कारोबार गर्दा ठूलो समस्या हुनेगरेको बताएका थिए। उनीहरूले कतिपय साना ब्यापारी गौर भन्सारसम्म पहुँच नभएको कारण बाध्यभएर अबैध बाटो हुँदै विभिन्न भारतीय सामान भित्र्याउँदा राज्यलाई लाखौं राजश्व क्षति हुनेगरेकाले हाल बन्द रहेको बंकुल भन्सार र बाराको काचोर्वा भन्सार सञ्चालनतर्फ राज्यको ध्यान जानुपर्ने सहभागीले माग गरेका थिए।
त्यसैगरी जिल्ला सदरमुकाम गौर भएर चारपाङ्ग्रे सवारीसाधन आवतजावत भइरहे पनि कोरोनाकालमा बन्द गरिएको साना नाकाहरूबाट हालसम्म आवतजावत सुरुहुन सकेको छैन। सीमासँग जोडिएका हजारौं परिवार दैनिक उपभोग्य वस्तु खरिददेखि बिरामीको उपचारको लागि भारतीय बजार माथि निर्भर रहेका छन्। यस्तो अवस्थामा सहर बजारदेखि भारतीय आफन्तसँग २४औं घण्टा सम्पर्कमा हुँदा आउँदा जाँदा भारतीय सीमासुरक्षाबल एसएसबीले बिभिन्न बहानामा पटकपटक दुर्व्यवहार गर्नेगरेको सहभागीले पीडा पोखेको कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
छिमेकी जिल्ला बाराको तीन छोटी नाकाबाट चारपाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा भारतबाट आवतजावत भईरहेको छ तर रौतहटमा भने सदरमुकाम गौर बाहेक अन्य नाकाबाट एसएसबीले पूर्ण प्रतिबन्ध लगाएको थियो।
सहभागीहरुले सवारी आवागमन व्यवस्थापन , बिवाह, पूजा तथा चाडँ पर्वमा आवश्यक सामान ल्याउन सहजिकरण , सीमाक्षेत्रमा अनियन्त्रित मदिरा व्यवसाय व्यवस्थित गर्न माग गरेका थिए। त्यसैगरी उनीहरूले कुखुरा तथा पशुपन्छि तस्करी नियन्त्रण, निर्बाध भारतीय नम्बरको मोटरसाइकल आएर बिभिन्न घटनाहरू घताईरहेकाले त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सुझाव दिएका थिए।
सहभागीहरुले गरेको माग र सुझाव लाई राज्य सम्म पुर्याएर समाधानको पहल गर्ने एसपी हुमागाईंले प्रतिबद्धता जनाएका थिए।
अन्तरक्रिया कार्यक्रममा सीमा सहजिकरण समितिका पदाधिकारिहरू , वडा अध्यक्षहरू , स्थानीय समेत गरी १०० भन्दा बढी मानिसको सहभागिता रहेको थियो।
राैतहट १९ वैशाख । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् ।
यसै गरी पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा संचालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा संचालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ ।
बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो । मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा संचालन हुने गर्दछ ।न्युज कारखाना
रौतहट १३ बैशाख। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्ष मा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले अपिडी लगायतको कक्षामा तालाबन्दी गरेका छन।

कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुंस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किएर जिउको अधिकांस भाग जलेको छ। स्थानिय सुजाईत मियाँकी ५० बर्षिया श्रीमती आस्मा खातुनले आज बिहान ७ बजे घर छेउको आगो निभाउने क्रममा साडीमा आगो लागेर उनको शरिरको अधिकांस भाग जलेको हो।
घटना लगतै आफन्तहरूले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घन्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोसित परिवारका मानिसले अपिडी लगायत सबै कक्षामा तालाबन्दी गरेका छन।
आकस्मिक सेवा सुचारु भएपछि केन्द्रमा २४औं घन्टा डाक्टर लगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटकपटक यस्ता लापरवाहीको घटनाहरू भईरहेको छ।
बिहान ९ बजे न्युज कारखानाका प्रतिनिधि आकस्मिक कक्षमा पुग्दा आगलागी बाट जलेकी महिला अचेत अवस्थामा बेडमा सुतेकी थिइन, उनको आफन्तहरु जलेको स्थानमा मलहम लगाएर छतपट गरिरहेका थिए तर त्यहाँ उपचार गर्ने कोई डाक्टर थिएनन्।

घाईते महिला संगै आएका महमद उमरले बिरामी लिएर आएको दुईघण्टा भयो यहाँको अवस्थाबारे अस्पतालका डाक्टर संगै कटहरियाका जनप्रतिनिधिलाई पटकपटक फोन गर्दा कसैले वास्ता नगरेको कारण बाध्यभएर अस्पतालमा तालाबन्दी गरेको बताएका छन।
बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव बिनोद गुप्ताले जलेर घाईते भएकी खातुनको अवस्था गम्भीर छ, मैले जाने अनुसार उपचार गरेर थपउपचारको लागि बिरगंज रेफर गरिएको बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन्, अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिएका छन।
डाक्टरहरु उपस्थित हुँदा खातुनको उपचार सम्भव थियो तर कुनै डाक्टर नभएको कारण बाध्यभएर बिरगंज रेफर गरिएको उनको भनाइ रहेको छ। डाक्टरहरुको लापरवाहीको कारण प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार गराउन आउने बिरामी लाई पटकपटक यस्ता कठिनाइको सामना गर्नु परेको स्थानीयहरूले बताएका छन।
पूर्व मेयर सियाराम कुशवाहाको कार्यकालमा केन्द्रमा सुरुभएको आकस्मिक सेवा पछिल्लो एकबर्ष देखि प्रभावित भएको छ।न्युज कारखाना
राैतहट,१९ गते चैत ।
रौतहटको राष्ट्रिय बनमा लागेको आगोको कारण लाखौ मूल्य बरावर काठ जलेर नस्ट भएको छ । सोमबार दिउँसो १ बजे देखि डिभिजन बन कार्यालय क्षेत्रमा घाटगद्दी गरी राखिएको ५० चट्टा भन्दा बढ़ी काठ जलेर नस्ट भएको छ ।
दिन भरी चलेको तेज हावाको कारण लागेको आगो नियन्त्रणमा लिन समस्या भएको डिभिजन बन कार्यालय रौतहटका सुचना अधिकारी बन अधिकृत विमल ठाकुरले बताएका छन ।
गैड़ाटार सब डिभिजन क्षेत्र बाट कटान गरी विक्रीको लागि राखिएको सालको काठमा आगो लागेको छ । आगो नियन्त्रणको लागि गौर नगरपालिका , चन्द्रपुर नगरपालिका ,सर्लाहीको हरिवन नगरपालिका ,बाराको निजगढ र कोल्बीबाट बारुण यन्त्र प्रयोग गरिए पनि आगो पूर्ण रुपमा नियन्त्रण हुन नसकेको ठाकुरले बताए ।
विधुत प्रसारण लाइन मुनि परेको रुखहरु काटेर करीव ४ बर्ष पहिला पूर्व पच्छिम राजमार्ग छेउमाँ घाटगद्दी गरेर राखिएको कुकाठको चट्टामाँ लागेको आगो नियन्त्रणको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र बन सुरक्षाकर्मी प्रयासरत रहेका छन ।
सुख्खा मौषम शुरू भएकोले बनमा डढेलो लाग्ने जोखिम उच्च रहेको देखिदा पनि बन कार्यालयले सर्तकता अपनाउनमा ध्यानकेंद्रित गर्न सकेका छैन । प्रत्येक बर्ष आगलगीको घटना हुने गरेको छ । २९ हजार ४ सय हेक्टरमा रहेको बन क्षेत्रमा डढेलो रोक्नको लागि ९ जना मात्र अग्नि नियंत्रक नियुक्त गरेका छन ।
सिरहा, १७ चैत।
सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्।
व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।
पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन्।
म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ। त्यसैले पनि सवैबाट थाेरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं।’
यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहान देखि बर्दिवास सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए।
दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए। उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ।’
त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन्।
व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न्।’
आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन्। उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन्।
‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने।’
सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु बताउँछन्।
न्युज कारखाना