काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक जना सांसदले व्यक्तिगत रूपमा दिएको समर्थनलाई दलको समर्थनका रूपमा मान्न नसकिने बताएका छन् ।
उनले बागमती प्रदेशमा राप्रपाका १२ जना सांसद रहेकाले एक जना सांसदले मात्रै एक्लै मुख्यमन्त्रीका लागि समर्थन दिन नमिल्ने र त्यसलाई दलको समर्थन मान्न पनि नसकिने स्पष्ट पारेका छन् । श्रेष्ठले एक जना सांसदको समर्थनलाई मान्यता दिइए पनि मुख्यमन्त्रीमा दाबी गर्ने आवश्यक संख्या नपुग्ने बताए । संख्या नपुगी गरिएको दाबीको कुनै अर्थ नहुने उनको भनाइ छ ।
संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा समेत दलको समर्थन नरहेको श्रेष्ठले दाबी गरेका छन् । उनका अनुसार समर्थनका विषयमा संसदीय दलको बैठक नै बसेको छैन । उनले अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्रीय नेतृत्व, पार्टी अध्यक्ष र संसदीय दलका प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको जानकारी दिए ।
श्रेष्ठले परिपक्व प्रदेश प्रमुखले आफ्नो अधिकारको दुरुपयोग नगर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ ।
एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिईन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।
फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ ।
आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्। उनले इरानले सम्झौताको अवसर गुमाइसकेको भन्दै अब उसलाई आर्थिक रूपमा एक्ल्याउने चेतावनी दिएका छन् ।
ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थामाथि समेत कारबाही गरिने बताएका छन्। यसमा बैंक, कम्पनी, विमानस्थल तथा सरकारी निकायसमेत पर्ने उनले स्पष्ट पारेका छन् । उनले इरानको तेल तस्करी सञ्जालमाथि कारबाही गर्नुका साथै नगद स्थानान्तरण, मुद्रा सटही, पानीजहाज दर्ता र नक्कली कम्पनीमार्फत इरानसम्म पुग्ने आर्थिक सहयोग रोक्ने बताएका छन् ।
ट्रम्पले इरानको नौसेना र वायुसेनामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनका अनुसार इरानका धेरै सैन्य कारखाना ध्वस्त भएका छन् । इरानको मुद्रा पनि कमजोर बनेको र देश गम्भीर आर्थिक संकटमा परेको उनको भनाइ छ ।
अमेरिकाले घोषणा गरेको नयाँ आर्थिक कारबाहीलाई ट्रम्पले ‘आर्थिक डी–डे’ को संज्ञा दिएका छन्। यसको अर्थ अमेरिकाले इरानमाथि निकै ठूलो आर्थिक दबाब सिर्जना गर्न लागेको हो । ट्रम्पले अन्य देशलाई पनि इरानलाई सहयोग गर्न रोक्न र अमेरिकी अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
अमेरिकाको नयाँ कारबाहीको सबैभन्दा ठूलो असर इरानको तेल कारोबार र आर्थिक कारोबारमा पर्न सक्ने देखिएको छ। इरानको आम्दानीको ठूलो हिस्सा तेल बिक्रीबाट आउने भएकाले तेल बिक्रीमा अवरोध आए आर्थिक अवस्था थप कमजोर हुन सक्छ ।
अन्य देश, बैंक तथा कम्पनीले अमेरिकी कारबाहीको डरले इरानसँगको कारोबार घटाएमा इरानलाई तेल बिक्री गर्न र विदेशबाट रकम प्राप्त गर्न कठिन हुन सक्छ ।
तेल तस्करी तथा नक्कली कम्पनीमाथि कारबाही भएपछि इरानका लागि लुकेर कारोबार गर्न र अमेरिकी कारबाहीबाट बच्नसमेत कठिन हुने अमेरिकी पक्षको दाबी छ । ट्रम्पका अनुसार अमेरिकाले आफ्ना सहयोगी देशसँग मिलेर इरानलाई विश्व अर्थतन्त्रबाट अलग पार्ने प्रयास गर्नेछ ।
इरानले तेल बिक्री गर्दा आफ्नै नामबाट प्रत्यक्ष कारोबार गरे अमेरिकी निकायले त्यसलाई सजिलै पहिचान गर्न सक्ने भएकाले बिचौलिया, अन्य कम्पनी तथा विभिन्न पानीजहाज सञ्जालको प्रयोग गर्ने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।
तेल बिक्रीपछि त्यसबाट प्राप्त रकम इरानसम्म पुर्याउनु अर्को महत्वपूर्ण चरण हुन्छ । यसका लागि बैंकिङ माध्यम, मुद्रा सटही, बिचौलिया तथा नगद स्थानान्तरणजस्ता माध्यम प्रयोग हुने बताइन्छ । अमेरिका भने तेल बिक्रीसँगै त्यसमा संलग्न पानीजहाज, कम्पनी र आर्थिक सञ्जालमाथि समेत कारबाही गरेर इरानको सम्पूर्ण कारोबार प्रणालीलाई कमजोर बनाउन चाहन्छ । यसको उद्देश्य इरानका लागि तेल बेच्न र त्यसबाट प्राप्त आम्दानी देशभित्र भित्र्याउन कठिन बनाउनु हो । एभरेष्ट न्यूज एजेन्सी,
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ ।
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो ।
स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन परेको थियो । बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको थियो ।
सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०४ गते भदौ ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
विभिन्न माग राखेर पाँच दिनदेखि आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकाको आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
लामो समय सडकपेटीमा बस्दा महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै आयोगले धर्नामा रहेकालाई उचित स्थानमा स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचार, बसोबास र सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो ।
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान नेपालबीच वार्ता टोली गठन भएको विषयलाई सकारात्मक रूपमा लिँदै आयोगले समस्याको समाधान वार्ता र संवादबाटै खोज्न आग्रह गरेको छ । दुवै पक्षका वार्ता समितिलाई वार्तालाई निरन्तरता दिई वार्ताकै माध्यमबाट समाधान निकाल्न आयोगले अनुरोध गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०४ गते भदौ ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ८ जना र गण्डकीमा १ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०४ गते भदौ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित २२ माध्यमिक र १४ आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहेका प्रधानाध्यापक पदमा पदपूर्ति गर्न महानगरपालिकाले योग्य स्थायी शिक्षकबाट दरखास्त माग गरेको हो ।
योग्यता पुगेका इच्छुक स्थायी शिक्षकले २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा दरखास्त पेस गर्नुपर्नेछ ।
प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, विद्यालयको विवरण तथा दरखास्त फारामको ढाँचा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
हेटौडा । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ७ बजे प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–९ का करिब ५७ वर्षीय उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका करिब ५१ वर्षीय तारादत्त बडुको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ । उनकी श्रीमती करिब ४९ वर्षीया लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, उनका छोरा करिब २५ वर्षीय रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ । उनकी दिदी करिब ३१ वर्षीया रिता बुडको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्न सक्ने धम्की दिएका छन् ।
ट्रम्पले ओमानले वार्तामा के अवरोध गरेको हो भन्नेबारे उनले स्पष्ट पारेका छैनन् । अमेरिका-इरान वार्तामा ओमानले मध्यस्थको भूमिका निर्वाह गर्दै आएको छ ।
युद्धका क्रममा ओमानमा समेत कैयौं आक्रमण भएपनि उन्सले युद्ध रोक्न भूमिका खेल्दै आएको छ ।
ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग अमेरिकाको गोप्य वार्ता भइरहेको दाबीसमेत गरेका थिए । तर, इरानको रिभोलुसनरी गार्डले उक्त दाबी अस्वीकार गर्दै अमेरिकासँग कुनै वार्ता नभएको जनाएको छ ।
हाल अमेरिका-इरान वार्ताको मुख्य विषय होर्मुज जलडमरूमध्य खुलाउने विषय बनेको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको महत्त्व निकै ठूलो छ ।
इरानले जलडमरूमध्य खुलाउन अमेरिकाबाट क्षतिपूर्ति माग गरिरहेको छ । यसैबीच ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अमेरिकी नीति यथावत् रहेको दोहोर्याएका छन् ।एभरेष्ट न्यूज एजेन्सी