२०८३ आश्विन २०
२०८३ आश्विन २०

बज्जिकाञ्चल संवाददाता,०५ गते

काठमाडौँ । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौँ आएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दरलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर नियन्त्रणमा लिएका थिए ।

सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन पेटभित्र लुकाएर ल्याएको स्वीकार गरेका थिए । त्यसपछि उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा एक्सरे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएपछि पेटमै अड्किएर बसेको पाइएको थियो । उनको स्वास्थ्यमा भने कुनै प्रतिकूल असर नदेखिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँच दिन अस्पतालमा राखिएको थियो ।

भदौ ५ गते शौच गर्ने क्रममा अन्दाजी १५० ग्राम तौलका सुनजस्तो देखिने पहेँलो रङका दुईवटा क्याप्सुल आकारका धातु फेला परेका छन् ।

पक्राउ परेका हल्दरलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता,०५ गते

काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो ।

मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् ।

स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता,०५ गते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णालीमा २, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १७ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २९ जना, सुदूरपश्चिममा ९ जना र कर्णालीमा ७ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता,०५ गते

काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा विहीबार बेलुका बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ ।

उपसमितिमा विद्युत विकास विभागका उप महानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन् ।

सञ्चालक समितिको निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त उर्जा उत्पादकहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने सम्बन्धमा विद्यमान आधार र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी विद्युत खरिद सम्झौता (पीपीए) को मापदण्ड ७ दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता,०५ गते

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्न सहमति भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्ने सहमति भएको हो । हाल गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको रहेको छ । समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम राख्न कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको छ । साथै डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्षको हुने र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुनः २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकको दफा १८ को उपदफा १ र २ मा कायम गर्ने निर्णय गरिएको छ । समितिले शुक्रबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने जानकारी दिएको छ ।

२- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । नयाँ प्रदेश सरकारमा सात सदस्य रहेका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ नियुक्त भएका छन् । त्यस्तै, नेकपाबाट सरल सहयात्रीलाई आर्थिक मामिला मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ । बाँकी तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले नै सम्हाल्ने बताइएको छ । विवादका बीच समर्थन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन प्रदेशसभा सदस्य मन्त्री बनेका छन् । सरकारलाई समर्थन दिएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारवाही गर्दै प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्ना सांसद मन्त्री बनेमा उनीहरुलाई पनि कारवाही गर्ने बताएका छन् ।

३- बंगलादेशमा भएको राष्ट्रपति निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर विजयी भएका छन् । उनी बंगलादेशको २३औँ राष्ट्रपति निर्वाचित भएका हुन् । संसदमा भएको मतदानमा आलमगीरले २५५ मत प्राप्त गरे भने विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३४९ सांसदले मतदान गरेका थिए । राष्ट्रपति निर्वाचनका लागि बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो । बंगलादेशमा राष्ट्रपतिको निर्वाचन जनताबाट प्रत्यक्ष नभई संसद सदस्यले गर्ने व्यवस्था छ । संसदमा सत्तारूढ दलको दुईतिहाइ बहुमत रहेकाले आलमगीरको जित यसअघि नै लगभग निश्चित मानिएको थियो । उनका प्रतिस्पर्धी ओली अहमदलाई जमात ए इस्लामीको नेतृत्वमा रहेका ११ दलको गठबन्धनको समर्थन थियो ।

४- स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज डिफेन्डर जोआओ कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गरेको छ । कान्सेलोले बार्सिलोनासँग सन् २०२९ को जुनसम्मका लागि तीन वर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले कान्सेलोलाई भित्र्याएको घोषणा गरेको हो । कान्सेलो यसअघि दुई पटक ऋणमा बार्सिलोनाबाट खेलिसकेका छन् । उनी पहिलो पटक म्यानचेस्टर सिटीबाट र दोस्रो पटक गत सिजनको दोस्रो चरणमा साउदी क्लब अल हिलालबाट बार्सिलोनामा ऋणमा आएका थिए । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उनले प्रभावशाली प्रदर्शन गर्दै एलेजान्द्रो बाल्डेलाई समेत पछि पारेर लेफ्ट ब्याकको पहिलो रोजाइमा स्थान बनाएका थिए । कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गर्न बार्सिलोनाले अल हिलालसँग लामो छलफल गर्नुपरेको थियो । अल हिलाल कम रकममा उनलाई छाड्न तयार नभएपछि कान्सेलोले उक्त क्लबबाट पाउने पारिश्रमिकसमेत त्यागेर सम्झौता अन्त्य गरेका थिए । त्यसपछि उनी स्वतन्त्र खेलाडीका रूपमा बार्सिलोना फर्किएका हुन् । कान्सेलो सोमबार बार्सिलोना पुगेका थिए भने मंगलबार क्लबको प्रशिक्षणस्थलमा पुगेर स्वास्थ्य परीक्षण र सम्झौतासम्बन्धी प्रक्रिया पूरा गरेका थिए । औपचारिक प्रक्रिया समयमा पूरा हुन नसकेका कारण उनलाई जोआन गाम्पर ट्रफी खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थिएन । तर, आज सम्झौता औपचारिक रूपमा पूरा भएपछि कान्सेलो अब स्थायी रूपमा बार्सिलोनाका खेलाडी बनेका छन् ।

५-  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर भएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । सिबिफिनले बैंकले कानूनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका नियमले प्रभावित गर्न सक्ने वा नसक्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्जा, धितो र असुलीसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएकाले थप अनुसन्धान वा कारबाहीअघि त्यसको राय लिनुपर्ने सिबिफिनको भनाइ छ । व्यावसायिक तथा नियामकीय निर्णय र आपराधिक कार्यबीचको भिन्नता स्पष्ट नगरी अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रमा निर्णय क्षमता, नेतृत्वको मनोबल र जनविश्वासमा असर पर्न सक्ने भन्दै सिबिफिनले सचेत गराएको छ । सिबिफिनले स्पष्ट आपराधिक आधार नभएका देवानी तथा नियामकीय विवादलाई फौजदारीकरण नगरी सम्बन्धित कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । अदालतको न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानून उल्लंघन प्रमाणित भए कानूनबमोजिम कारबाही हुनुपर्ने पनि उसले जनाएको छ ।

६-  नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन् । नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए । उनी २०६८ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १५ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । कार्यकारी निर्देशक बनेपछि उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए ।

७-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधन गर्दा संविधानमै तोकिएको प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउदै प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने स्पष्ट गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने बताए । उनले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थाको गरिमा र प्रतिष्ठामा आँच नपुग्ने गरी छलफल गर्नुपर्ने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर संवैधानिक निकायलाई राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए । संविधानले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया स्पष्ट गरेको भन्दै लामिछानेले संवैधानिक व्यवस्थाप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका थिए ।

८- नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने भएको छ । हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो । काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेको छ । सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएको थियो । देउवा पक्षले शुक्रबार अदालतमा रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ । विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त  गर्दै पार्टी सदस्यताबाट समेत हटाउने  निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका हुन् । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको उनले बताएका छन् । अध्यक्ष लिङदेनले पार्टीले दिएको पटक पटकको निर्देशनलाई नमानिएको भन्दै अर्को निर्णय नभएसम्म राप्रपा कुनै सरकारमा सहभागी नहुने स्पष्ट निर्देशन गरिएकोमा त्यसको उलंघन गरिएको बताएका छन् । उनले सरकारमा सहभागी भएमा अन्य सांसदहरुलाई पनि कारवाही गर्ने बताए । राप्रपाका तीन सांसद गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी भएका छन् ।

१०- नेप्सेमा सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी  माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी धनवृद्धि योजनाको शेयर ९.७७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ३० करोड ४ लाख बराबरको कारोबार भएको छ ।

११- युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणमा आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण ठूलो क्षति भएको बताएका छन् । उनले सहयोगी मुलुकसँग थप प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् । युक्रेनका अनुसार रुसले १६८ वटा मानवरहित विमान र ४४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये १४६ वटा मानवरहित विमान र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालिएको दाबी गरिएको छ । रुसले भने आफ्ना सैन्य संरचना र गोदामलाई लक्ष्य बनाएर आक्रमण गरिएको जनाएको छ । पछिल्ला केही सातादेखि दुवै पक्षले एकअर्काको भूभागमा ठूलो हवाई आक्रमण गर्दै आएका छन् ।

१२-  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् । प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठुला पूर्बाधारमा लगानी हुदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् । नेपाललाई ठुलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्ववैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुदै गएको बताएका हुन् । उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए ।  सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फतनै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।

१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्। उनले इरानले सम्झौताको अवसर गुमाइसकेको भन्दै अब उसलाई आर्थिक रूपमा एक्ल्याउने चेतावनी दिएका छन् । ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थामाथि समेत कारबाही गरिने बताएका छन्। यसमा बैंक, कम्पनी, विमानस्थल तथा सरकारी निकायसमेत पर्ने उनले स्पष्ट पारेका छन् । उनले इरानको तेल तस्करी सञ्जालमाथि कारबाही गर्नुका साथै नगद स्थानान्तरण, मुद्रा सटही, पानीजहाज दर्ता र नक्कली कम्पनीमार्फत इरानसम्म पुग्ने आर्थिक सहयोग रोक्ने बताएका छन् । ट्रम्पले इरानको नौसेना र वायुसेनामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनका अनुसार इरानका धेरै सैन्य कारखाना ध्वस्त भएका छन् । इरानको मुद्रा पनि कमजोर बनेको र देश गम्भीर आर्थिक संकटमा परेको उनको भनाइ छ । अमेरिकाले घोषणा गरेको नयाँ आर्थिक कारबाहीलाई ट्रम्पले ‘आर्थिक डी–डे’ को संज्ञा दिएका छन्। यसको अर्थ अमेरिकाले इरानमाथि निकै ठूलो आर्थिक दबाब सिर्जना गर्न लागेको हो । ट्रम्पले अन्य देशलाई पनि इरानलाई सहयोग गर्न रोक्न र अमेरिकी अभियानमा सहभागी हुन आग्रह गरेका छन् । अमेरिकाको नयाँ कारबाहीको सबैभन्दा ठूलो असर इरानको तेल कारोबार र आर्थिक कारोबारमा पर्न सक्ने देखिएको छ। इरानको आम्दानीको ठूलो हिस्सा तेल बिक्रीबाट आउने भएकाले तेल बिक्रीमा अवरोध आए आर्थिक अवस्था थप कमजोर हुन सक्छ । अन्य देश, बैंक तथा कम्पनीले अमेरिकी कारबाहीको डरले इरानसँगको कारोबार घटाएमा इरानलाई तेल बिक्री गर्न र विदेशबाट रकम प्राप्त गर्न कठिन हुन सक्छ । तेल तस्करी तथा नक्कली कम्पनीमाथि कारबाही भएपछि इरानका लागि लुकेर कारोबार गर्न र अमेरिकी कारबाहीबाट बच्नसमेत कठिन हुने अमेरिकी पक्षको दाबी छ । ट्रम्पका अनुसार अमेरिकाले आफ्ना सहयोगी देशसँग मिलेर इरानलाई विश्व अर्थतन्त्रबाट अलग पार्ने प्रयास गर्नेछ । इरानले तेल बिक्री गर्दा आफ्नै नामबाट प्रत्यक्ष कारोबार गरे अमेरिकी निकायले त्यसलाई सजिलै पहिचान गर्न सक्ने भएकाले बिचौलिया, अन्य कम्पनी तथा विभिन्न पानीजहाज सञ्जालको प्रयोग गर्ने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तेल बिक्रीपछि त्यसबाट प्राप्त रकम इरानसम्म पुर्‍याउनु अर्को महत्वपूर्ण चरण हुन्छ । यसका लागि बैंकिङ माध्यम, मुद्रा सटही, बिचौलिया तथा नगद स्थानान्तरणजस्ता माध्यम प्रयोग हुने बताइन्छ । अमेरिका भने तेल बिक्रीसँगै त्यसमा संलग्न पानीजहाज, कम्पनी र आर्थिक सञ्जालमाथि समेत कारबाही गरेर इरानको सम्पूर्ण कारोबार प्रणालीलाई कमजोर बनाउन चाहन्छ । यसको उद्देश्य इरानका लागि तेल बेच्न र त्यसबाट प्राप्त आम्दानी देशभित्र भित्र्याउन कठिन बनाउनु हो ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको विषयमा यसअघि आफुले बोलेको कुरामा अडिग रहेको बताएका छन् । विहिबार सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफुले यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउदै समितिमा आएर अपमान गर्न नपाइने बताए । उनले भने- ‘हामीले १५ दिन भित्र प्रहरीसँग स्रोत साधन व्यवस्थापनमा भएका अनियमितताको बारेमा मागेका डकुमेन्ट आयो की आएन । फेरी यसै बीचमा प्रहरीले करोडौंको टेण्डर आव्हान गरेको छ ।  निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, म मजबुत छु, कहिँ कतै साथीहरुलाई मानमर्दन भयो भन्ने लाग्छ भने नजिकै अदालत छ गएर मुद्धा हाल्न सक्नुहुन्छ । कठघरामा उभिएर जवाफ दिन तयार छु । तर सार्वभौम समितिमा आएर टोपी भुइमा राखेर जुवारी खेल्न पाइदैन, सरकारको मानमर्दन गर्न पाइदैन ।’ यसअघि लेखा समितिको बैठकमा सुनारले निर्वाचन प्रहरीको लत्ता कपडा खरिदमा अनियमितता भएको भन्दै आइजीपी सहितका जिम्मेवार अधिकारीहरुमाथि अनुसन्धान हुनुपर्ने माग राखेपछि त्यो विषय विवादित बनेको थियो ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो ।

१६- बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन अमेरिका छाडेर बेलायत फर्किने तयारीमा रहेका छन् । बिबिसीका अनुसार उनीहरू यही महिनाको अन्त्यतिर लन्डनबाहिरको निजी गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका सन्तान राजकुमार आर्ची सात वर्ष र राजकुमारी लिलिबेट पाँच वर्षले सेप्टेम्बरदेखि बेलायतको विद्यालयमा अध्ययन सुरु गर्ने भएकाले उनीहरु फर्किन लागेको बताइएको छ । राजा चार्ल्सलाई उनीहरूको बेलायत फर्किने योजनाबारे आइतबार जानकारी दिइएको छ । राजाले निजी र पारिवारिक रूपमा परिवारसँग थप समय बिताउन पाउने अवसरको स्वागत गरेको बताइएको छ । राजकुमार विलियम र राजकुमारी क्याथरिनलाई पनि योजनाबारे जानकारी दिइएको छ । तर ह्यारी र मेगनले राजपरिवारका सक्रिय सदस्यको भूमिका पुनः सम्हाल्ने कुनै योजना नरहेको बताइएको छ । उनीहरू निजी व्यक्तिकै रूपमा रहनेछन् । ह्यारी र मेगनले सन् २०२० मा राजकीय जिम्मेवारी छाडेर अमेरिकाको क्यालिफोर्निया बसाइँ सरेका थिए । त्यसयता राजपरिवारसँगको सम्बन्धमा तनाव रहँदै आएको थियो । गत जुलाईमा ह्यारीले आफ्ना बुबा राजा चार्ल्सलाई ग्लोसेस्टरशायरस्थित निवासमा भेटेका थिए । उक्त भेट चार वर्षभन्दा बढी समयपछि राजाले आफ्ना नातिनातिनालाई प्रत्यक्ष भेटेको पहिलो अवसर थियो । बेलायत फर्किने क्रममा सुरक्षा व्यवस्था भने मुख्य विषय बन्ने देखिएको छ । ह्यारीले यसअघि सुरक्षा चिन्ताका कारण पत्नी र सन्तानसहित बेलायत आउन नसकेको बताएका थिए । गत वर्ष बेलायतमा आफ्नो सुरक्षा व्यवस्था घटाइएको निर्णयविरुद्ध गरेको कानुनी चुनौतीमा उनी पराजित भएका थिए । ह्यारी अर्को वर्ष बर्मिङ्घममा हुने घाइते सैनिक तथा पूर्वसैनिकका लागि आयोजित खेलकुद कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।

१७- बलिउडका चर्चित अभिनेता राजपाल यादव पछिल्लो समय फिल्मसँगै व्यक्तिगत र कानुनी विषयका कारण चर्चामा छन् । यसैबीच उनका प्रशंसकका लागि खुसीको खबर आएको छ । राजपालले एकैपटक १२ नयाँ फिल्ममा काम गर्ने सम्झौता गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी सबै फिल्म आगामी १० वर्षको अवधिमा प्रदर्शन गर्ने तयारी छ । १२ वटै फिल्मको कुल बजेट करिब १२०० करोड भारु रहेको बताइएको छ । यी फिल्मको छायांकन सन् २०२७ देखि सुरु गर्ने तयारी गरिएको छ । यससँगै राजपाल आगामी धेरै वर्षसम्म लगातार फिल्ममा देखिने सम्भावना छ । यस ठूलो परियोजनालाई फक्स स्टुडियोको समर्थन रहेको बताइएको छ । राजपालले पनि यस परियोजनाप्रति उत्साह व्यक्त गरेका छन् । उनले कलाकारका रूपमा दर्शकका लागि राम्रो र सम्झनलायक काम गर्न आफू सधैँ इच्छुक रहेको बताएका छन् । उनका अनुसार यी १२ फिल्म आफ्नो चलचित्रप्रतिको प्रेम देश तथा विश्वभर पुर्‍याउने ठूलो अवसर हुन् । राजपालले परियोजनासँग जोडिएका सबैप्रति आभार व्यक्त गरेका छन् । उनले डा. अजय कुमार, केभिन किशोर कौल, फोकस पेट्रोलियम समूहसहित सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन् । उनले यो परियोजना कुनै एक व्यक्तिको सपना मात्र नभई धेरै मानिसको मेहनत र सहयोगको परिणाम भएको बताएका छन् । यी फिल्ममार्फत नयाँ अध्याय सुरु हुन लागेको भन्दै उनले आफूलाई यस्तो टोलीको हिस्सा बन्न पाउँदा खुसी र सम्मानित महसुस भएको बताए । राजपालले सबैको सहयोग र शुभकामनाबाट यी फिल्मले दर्शकलाई विशेष अनुभव दिने तथा आगामी धेरै वर्षसम्म सम्झनलायक बन्ने विश्वास व्यक्त गरेका छन् ।

१८- प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ । सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम अघि बढाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गर्न, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन यो पहल गरेको हो । उक्त अनुरोध अनुसार अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीहरूमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुहरू नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । यसैगरी स्टेशनरी, छपाईसम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ र अन्य प्रचलित कानुनी व्यवस्थाकै अधीनमा रही सामानको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गरेर स्वदेशी मालसामान खरिद गर्नुपर्ने कुरालाई स्पष्ट पारिएको छ ।  साथै, सार्वजनिक निकायहरूले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा स्वदेशी वस्तु खरिदको अनुगमन गर्नुपर्नेछ भने मन्त्रालयहरूले त्रैमासिक रूपमा यसको निरीक्षण गरी स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गराउनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट गरेको छ ।

१९- स्पेनिस ला लिगाको नयाँ सिजनमा एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा एट्लेटिकोले नवप्रवेशी मालागालाई २-० गोल अन्तरले पराजित गरेको हो । म्याड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानो रंगशालामा बुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मालागाले पहिलो हाफमा एट्लेटिकोलाई दबाबमा राख्दै केही राम्रो अवसरसमेत बनाएको थियो । दोस्रो हाफमा भने एट्लेटिकोले खेल आफ्नो नियन्त्रणमा लियो । खेलको ७०औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी ली काङ इनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट बललाई घुमाउँदै उत्कृष्ट प्रहार गरेका थिए । त्यसपछि खेलको ८५औँ मिनेटमा एलेक्स बेनाले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै एट्लेटिकोको अग्रता २-० बनाएका थिए । त्यसपछि मालागाले खेलमा फर्कने अवसर पाएन । यससँगै एट्लेटिकोले नयाँ सिजनको पहिलो खेलमै तीन अंक जोडेको छ । मालागाले भने शीर्ष डिभिजनमा फर्किएपछिको पहिलो खेलमै हार बेहोरेको छ । मालागा सन् २०१८ पछि पहिलो पटक ला लिगामा फर्किएको हो । एट्लेटिकोका लागि ली काङ इनको यो क्लबका लागि औपचारिक खेलमा पहिलो गोलसमेत हो । उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए र निर्णायक गोल गर्दै उत्कृष्ट सुरुवात गरेका छन् । एट्लेटिकोले अब सिजनको दोस्रो खेलमा अगस्त २३ मास भिल्लारियलको सामना गर्नेछ ।

२०- राष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । विभिन्न माग राखेर पाँच दिनदेखि आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकाको आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । लामो समय सडकपेटीमा बस्दा महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै आयोगले धर्नामा रहेकालाई उचित स्थानमा स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचार, बसोबास र सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान नेपालबीच वार्ता टोली गठन भएको विषयलाई सकारात्मक रूपमा लिँदै आयोगले समस्याको समाधान वार्ता र संवादबाटै खोज्न आग्रह गरेको छ । दुवै पक्षका वार्ता समितिलाई वार्तालाई निरन्तरता दिई वार्ताकै माध्यमबाट समाधान निकाल्न आयोगले अनुरोध गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता,०५ गते

आजको राशिफल बिस २०८३ भाद्र ५ गते शुक्रबार ईस २०२६ अगस्त २१ नेपाल सम्बत ११४६ गुलाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृत, योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन तपाईंका लागि नयाँ उत्साह र सम्भावना लिएर आउनेछ। केही समयदेखि रोकिएका काम अघि बढ्नेछन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको राम्रो मूल्यांकन हुनेछ र नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा नयाँ कारोबारको अवसर मिल्नेछ। आर्थिक रूपमा लाभ प्राप्त हुने सम्भावना छ, तर अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ। प्रियजनसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वासका साथ अघि बढ्दा महत्त्वपूर्ण काम सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

धैर्य र संयमका साथ अघि बढ्दा आज राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको अनुभवले जटिल कामलाई सहज बनाउनेछ। वरिष्ठ व्यक्तिबाट प्रशंसा र सहयोग प्राप्त हुन सक्छ। व्यापारमा पुराना सम्पर्कबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत गर्ने अवसर मिल्नेछ। परिवारमा आपसी समझदारी कायम रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। महत्त्वपूर्ण निर्णय लिनुअघि सबै पक्षलाई ध्यान दिनु लाभदायक हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको नयाँ विचारले काममा राम्रो परिवर्तन ल्याउन सक्छ। अध्ययन, लेखन र सिर्जनात्मक काममा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। नयाँ योजना अघि बढाउन सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक थपिन सक्छन्। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम पूरा हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ कुरा सिक्ने अवसरलाई उपयोग गर्दा भविष्यमा फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारको साथले तपाईंलाई मानसिक रूपमा बलियो बनाउनेछ। घरमा कुनै शुभ समाचार आउन सक्छ। परिवारका सदस्यबीच पुरानो असमझदारी हट्ने सम्भावना छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि मेहनतअनुसारको परिणाम प्राप्त हुनेछ। आर्थिक रूपमा घरायसी खर्च व्यवस्थापन गर्न सहज हुनेछ। घर वा सम्पत्तिसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुन सक्छ। आफन्तबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारसँग खुलेर कुराकानी गर्दा मनमा रहेको तनाव कम हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मविश्वास र नेतृत्व क्षमताका कारण आज तपाईंले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईंको निर्णयलाई महत्त्व दिइनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सफलतापूर्वक पूरा गर्ने क्षमता रहनेछ। व्यापार–व्यवसायमा लाभदायक अवसर आउन सक्छ। आर्थिक अवस्था सुधारतर्फ जानेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। परिवारका सदस्यले तपाईंको योजनामा साथ दिनेछन्। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो क्षमतालाई सही दिशामा प्रयोग गर्दा दिन निकै सफल बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज योजनाबद्ध ढंगले अघि बढ्नु तपाईंका लागि फाइदाजनक हुनेछ। कार्यक्षेत्रमा सानो कुरामा ध्यान दिन सके ठूलो गल्तीबाट बच्न सक्नुहुनेछ। अधुरा काम पूरा हुनेछन्। व्यापारमा सोचविचार गरेर लिएको निर्णयले लाभ दिलाउन सक्छ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सफल हुनुहुनेछ। परिवारमा आवश्यक विषयमा सकारात्मक छलफल हुनेछ। छोटो यात्रा वा महत्त्वपूर्ण भेटघाट उपयोगी बन्न सक्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। कामसँगै आराम र खानपानमा पनि ध्यान दिनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अरूसँगको सहकार्यबाट आज अपेक्षितभन्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी र साझेदारसँग राम्रो तालमेल कायम हुनेछ। नयाँ योजनाका लागि आवश्यक सहयोग जुट्नेछ। व्यापार–व्यवसायमा कारोबार बढ्ने सम्भावना छ। आर्थिक रूपमा रोकिएको रकम हात पर्न सक्छ। परिवारमा खुसी र आत्मीयताको वातावरण रहनेछ। सामाजिक भेटघाटबाट नयाँ सम्बन्ध बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। अरूको सुझावलाई सकारात्मक रूपमा लिएर अघि बढ्दा काममा थप सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

विगतको मेहनतले आज राम्रो प्रतिफल दिनेछ। कार्यक्षेत्रमा कठिन जिम्मेवारी पूरा गरेर प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ। तपाईंको निर्णय क्षमता र अनुभवको सम्मान हुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। आर्थिक अवस्था बलियो बन्नेछ। परिवारमा प्रेम र विश्वास कायम रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ गहिरो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो लक्ष्यप्रति दृढ रहेर अघि बढ्दा नयाँ अवसरसमेत प्राप्त हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

नयाँ सम्भावनातर्फ अघि बढ्न आजको दिन निकै उत्साहजनक रहनेछ। अध्ययन, यात्रा, व्यापार तथा नयाँ योजनामा सफलता प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतको प्रशंसा हुनेछ। आर्थिक रूपमा आम्दानीको नयाँ स्रोत भेटिन सक्छ। व्यापारबाट राम्रो लाभ प्राप्त हुने सम्भावना छ। परिवारसँग रमाइलो समय बित्नेछ। साथीभाइसँगको भेटघाटबाट उपयोगी जानकारी प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। भविष्यका योजनालाई व्यवहारमा उतार्ने आत्मविश्वास बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी पूरा गर्न धैर्य र अनुशासन आवश्यक पर्नेछ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको सुझावले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ। पुराना काम पूरा गरेर नयाँ योजनातर्फ अघि बढ्ने अवसर मिल्नेछ। आर्थिक कारोबारमा हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। अनावश्यक खर्च रोक्न सके आर्थिक अवस्था बलियो बन्नेछ। परिवारमा तपाईंको भूमिकालाई महत्त्व दिइनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। पर्याप्त आराम गर्नुहोस्। साँझतिर कुनै सुखद समाचारले तपाईंको मन प्रसन्न बनाउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ विचारलाई व्यवहारमा उतार्ने राम्रो अवसर मिल्नेछ। कार्यक्षेत्रमा फरक तरिकाले काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ जिम्मेवारी वा सहकार्यको प्रस्ताव आउन सक्छ। व्यापार–व्यवसायमा विस्तारका लागि अनुकूल वातावरण बन्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। परिवारमा पुराना असमझदारी हट्दै जानेछन्। साथीभाइको सहयोगले मनोबल बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ लक्ष्य निर्धारण गरेर निरन्तर मेहनत गर्दा भविष्यका लागि बलियो आधार तयार हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज तपाईंले मनमा बनाएको कुनै योजनाले नयाँ दिशा लिन सक्छ। कार्यक्षेत्रमा अधुरा काम पूरा हुनेछन् र नयाँ अवसरको संकेत देखिनेछ। सहकर्मी तथा नजिकका व्यक्तिको सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारका सदस्यबाट सुखद समाचार सुन्न पाइनेछ। प्रियजनसँगको सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। साँझको समय शान्त वातावरणमा बिताउँदा मानसिक सन्तुलन कायम हुनेछ र आगामी दिनका लागि नयाँ उत्साह प्राप्त हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता,०४ गते ।

हेटौडा । बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयमा राप्रपाभित्र विवाद चर्किरहेका बेला तिन सांसद मन्त्री बन्ने तयारी गरेका छन् ।

केन्द्रको निर्देशन विपरित संसदीय दलले नमानेर एमालेलाई समर्थन गरेपछि संसदीय दलको नेता उद्धव थापालाई कारवाहीको तयारी गरिएको छ ।

यसैबीच राप्रपाका गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी हुने भएका छन् । राप्रपाको संसदीय दलले संविधान, पार्टी विधान र संसदीय अधिकारअनुसार सरकारमा जाने निर्णय गरेको बताएको छ । त्यस्तै प्रदेशमा एमाले र नेकपाका २-२ मन्त्री बन्ने बताइएको छ ।

बुधबार मुख्यमन्त्रीको दाबि गरेका एमाले नेता किरण थापा मगरलाई आज ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गर्ने र आजै ४ बजेर २० मिनेट जादा शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

बज्जिकाञ्चल संवाददाता,०४ गते ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठुला पूर्बाधारमा लगानी हुदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् ।

नेपाललाई ठुलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्ववैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुदै गएको बताएका हुन् ।

उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए ।

सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फतनै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।