काठमाडौं, वैशाख ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनु भएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गर्नुभयो । उहाँले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताउनु भयो । उहाँले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्व राजा शाहले दिनुभएको शुभकामनाप्रति असन्तुष्टि जनाउनु भयो । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बदमासी गर्न खोजिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष ठाकुरले भन्नुभयो, ‘‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ । माइतीघर मण्डला कहिल्यै खालि हुँदैन । त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ । चैत्र १५ गतेको घटना त देखेका नै छौँ । जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन् । इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन । घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो । तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ । यो सबै मिलाएर इतिहास हुन्छ । राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन् । राजा त गइसकेका हुन् । उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन । तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँमा ठाउँमा उपस्थित भएका छन् । अघि बढ फागुन ७ गतेको उनको वक्तव्य । त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधीनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बदमासी यहाँ पनि स्पष्ट देखिन्छ ।’
अध्यक्ष ठाकुरले आफूहरु अझै पनि संघर्षमै रहेको जिकिर गर्नुभयो । सभार गाेरखापत्र
काठमाडौं,०३ गते वैशाख ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई धन्यवाद ब्यक्त गरेको छ ।
बुधबार मन्त्रालय पुगेर जेटियुसिसी टोलीले योगदानमा आधारित सरकारी करारका कर्मचारीलाई समाजिक सुरक्षा कोषमा आबद्ध गराउने नितिगत ब्यबस्था गराउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई मन्त्रालयमा भेटेर धन्यवाद ज्ञापन गरेका हुन ।
उक्त अबसरमा मन्त्री भण्डारीले राज्यस्तरबाट स्वदेश तथा बिदेशमा कार्यरत नेपाली श्रमिकको उचित सम्मान हुनु पर्ने पक्षमा दत्तचित्त भएर काम गरि रहेको बताए ।
जेटियुसिसीका अध्यक्ष जगत बहादुर सिम्खडाले नया वर्ष २०८२ साल बैशाख १ गते देखि राजपत्र प्रकाशित गरि देशभरी नै स्थानिय, प्रदेश र संघिय कार्यालयहरुमा करारमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा समेटिएको अबसरमा मन्त्रीद्वारा श्रमिकको पक्षमा नितिगत निर्णय गराउन अहम भुमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गर्न आएको बताए ।
उनले श्रममन्त्री भण्डारी पछिल्लो समय एकपछि अर्को स्वदेश तथा बिदेशमा कार्यरत श्रमिकको हितमा काम गरि रहेको अनुभूत भएको भन्दै खुसी ब्यक्त गरे । सभार न्यूज काराेबार
काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा –एमाले)का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताए ।
‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेताकार्यकर्ताहरुले यि नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् । नेताहरुको लुट, भ्रष्टाचार तपाईकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’ आजपा अध्यक्ष साहले भने, ‘अत्याचार बिरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको बिचार प्रवाहित भईरहेको छ । त्यो पार्टीले नेताहरुको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’
सिंहदरवारबाट भ्रष्ट नेताहरुले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने बताउदै उनले भने, ‘हामीले पटक पटक भनेका छौं, तपाईहरुले कुर्सी छोड्नु । सिंहदरबार खाली गर्नुस् । नेताहरु मालामाल भए, जनता लचार भए । यदी तपाईहरुले कुर्सी छोड्नु भएनन भने जनताले लतारेर निकाल्छन् । तपाईहरुको पार्टीमा हजारौं कार्यकर्ताहरु पनि छन्, जसले तपाईहरुको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन् । उनीहरुले पनि तपाईलाई छोड्नेवाला छैनन् ।’
अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको बताउदै उनले नेताहरुले जतिछिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने बताए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते वैशाख ।
किशोरीहरुलाई लक्षित गर्दै गौरमा १० दिने मानसिक स्वास्थ्य तथा रूपान्तरण तालिम सम्पन्न भएको छ l
SAFE Girls परियोजना अन्तर्गत रौतहट जिल्लाको गौरमा स्थित होटल सिया प्यालेसमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सफलतापूर्वक सम्पन्न भएको हो । उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सहभागीता रहेको थियो l
सेफ गर्ल्स (SAFE Girls) परियोजनाको आयोजना तथा KOCIA , UNFPA र Good Neighbor’s International को सहयोग र आर.डी.सी नेपालको सहकार्यमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सम्पन्न भएको छ।
परियोजनाको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा फैलिएको छ। रौतहटमा गौर, यमुनामाई, देवाही गोनाही, राजपुर र परोहा नगरपालिका/गाउँपालिका रहेका छन् भने सर्लाहीमा हरिपुर्वा, बसबरिया र कौडेना नगरपालिका/गाउँपालिका रहेका छन्।
दुई समूहमा सञ्चालन गरिएको तालिममा प्रत्येक समूहमा २५ जना सहभागी थिए। तालिमको अवधि १० दिनको रह्यो जसमा २.५ दिन मानसिक स्वास्थ्य सम्बन्धी तालिम, आधा दिन PSEA (Protection from Sexual Exploitation and Abuse) तालिम र बाँकी ७ दिन रुपान्तरण तालिम सञ्चालन गरिएको थियो। रुपान्तरण तालिममा पहिलो देखि १0औँ मोड्युल सम्मको प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको उद्घाटन RDC नेपालका अध्यक्ष डा. पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयो। उदघाटन सत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी श्री विनोद कुमार खड्का, UNFPA का प्रतिनिधि रोशन अधिकारी तथा Good Neighbor’s International का प्रतिनिधि शक्ति लामा उपस्थित भएका थिए l कार्यक्रम SAFE Girls परियोजनाको परियोजना संयोजक प्रिया चौरसियाले सञ्चालन गरेकी थिइन्। साथै, कार्यक्रममा परियोजनाको कार्यक्षेत्रभित्रका सबै पालिकाका लैंगिक फोकल पर्सनहरूको उपस्थिति रहेको थियो।
SAFE Girls परियोजनाको उद्देश्य किशोरी र युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा तथा हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो। यस परियोजनाले किशोरीहरूलाई आत्मविश्वासी, सुरक्षित र सम्मानित बनाउने परिकल्पना बोकेको छ।
मानसिक स्वास्थ्य तालिमबाट सहभागीहरूले आत्म-चिनारी, तनाव व्यवस्थापन, सहानुभूतिपूर्ण संप्रेषण, र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न सिकेका छन्। यस तालिममार्फत सहभागीहरू समुदायमा परिवर्तनकर्ता बन्ने तयारीमा छन्।
तालिमका प्रशिक्षकहरूमा मानसिक स्वास्थ्यका लागि चाँदनी घिमिरे र बिपिन थापा थिए भने रुपान्तरण तालिममा रुपा जोशी, पुष्पा कुमार पोखरेल, बिन्जु बराल र सशिष थापा रहेका थिए।
सेफ गर्ल्स परियोजना किशोरी तथा युवा महिलाहरूलाई जीवन उपयोगी सीप, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसाविरुद्धको सचेतना र सशक्तिकरणमार्फत सुरक्षित, आत्मविश्वासी र सम्मानित जीवन निर्माणतर्फ प्रेरित गर्ने एक सशक्त पहल हो।
अब यी ५० मेंटर्सहरू (रुपान्तरण सहजकर्ता) आफ्नो समुदायमा ज्ञान फैलाउने, परिवर्तन ल्याउने र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने दूतका रूपमा सक्रिय हुनेछन्।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
रौतहट प्रिमियर लिग (आरपिएल) मा आज भएको खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेको छ । प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको छ ।
टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय २८ रन बनाएको थियो । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।

यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको छ । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।
जारी लिगमा गुजरा राइडर्सले तीन खेल खेलेकाे छ । जेमा दुईमा जित र एकमा हार बेहाेरेकाे छ ।
जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
राैतहट । राैतहटको फतवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरकाे छठ घाटसँगै हनुमान मन्दिरको आज एक कार्यक्रम गरी शिलान्यास गरीएको छ ।
साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे प्रमुख अतिथ्यतामा हनुमान मन्दिरको शिलान्यास गरीएको हाे ।

आम जनता पार्टीका वडा कमिटि उपाध्यक्ष चन्दन प्रसाद यादवले वडा अध्यक्ष यादवकाे राेहबरमा शिलान्यास गर्नु भएको हाे । वडा स्तरीय याेजनाबाट मन्दिरको निर्माण गर्न जमर्को गरीएको वडा अध्यक्ष यादवले बताएका छन् ।
गाउँमा धेरै मानिसहरूले हनुमानजीकाे पूजा गर्ने गर्छन् वहाँहरूकै माग अनुसार मन्दिर निर्माण हुन लागेकाे उनकाे भनाइ छ । यसबाट हनुमान भक्तहरूलाई पुजापाठ गर्न सहज हुने बताए ।

मन्दिर र धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहदै आएकाे आफ्नो वडामा यस्ता मन्दिर निर्माण हुनुले बाहिरी धार्मिक पर्यटन भित्र्याउन मदत पुग्ने उनले बताएका छन् ।
वर्षाैं पुरानाे महादेव मन्दिर पनि शितलपुरमा नै रहेको छ । यहाँ सयौंको संख्यामा मानिसहरू पुजापाठ गर्न आउने गरेका छन् ।
मंगलबार शिलान्यास गरिएको साे मन्दिरकाे निर्माण कार्य यसै चालू आर्थिक वर्षमा सम्पन्न गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडाकाे विकास र समृद्धिका लागि आफू दिनरात लागि परेको उनकाे भनाइ छ । उनले आफनाे वडाकाे विकासका लागि कृषि बाटाेघाटाे निर्माण देखि लिएर धेरै कामहरू गरेका छन् ।
मन्दिर शिलान्यासकाे अवसरमा स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियोे ।
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ।
घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। नेपाल लाइभ
आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख ।
रौतहटको देवाहीगोनाहीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको मेयर क्रिकेट प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।

श्री जय किसान माध्यमिक विधालयको मैदानमा आयोजित प्रतियोगिताको देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख प्रमुख (मेयर) प्रेमलाल साहले उद्घाटन गरेका हुन् । आज एक उदघाटन समारोहको आयोजन गरि प्रतियोगिताको सुभारम्भ गरिएको हो ।

उदघाटन समारोहलाइ सम्बोधन गर्दै नगरप्रमुख साहले मेयर कप खेलबाट राष्ट्रिय स्तरको नयाँ खेलाडीको उत्पादन हुने विश्वास व्यक्त गरेका छन् । खेलमा कुनै किसिमको पक्षपात नहुने भरोशा दिलाएका छन् । निष्पक्ष ढंगले खेल हुने बताए । खेलमा राम्रो प्रर्दशन गर्ने खेलाडीलाइ नगरपालिकाले सम्मान गर्ने बताए ।

त्यस्तै उपप्रमुख परनिया देवी पटेलले नगरपालिकाको खेलाडीहरुलाइ हौसला बढाउने उदेश्यले प्रतियोगिता आयोजन गरिएको बताएकी हुन् । यसमा राम्रो तवरले खेल खेल्न आग्रह गरेकी हुन् । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर उपप्रमुख पटेलले जानकारी दिएका हुन् ।



त्यसैगरी स्वागत मन्तव्य राख्दै जय किसान मावी धरहरीका प्रधानाध्यापक संजय प्रसादले खोलाडीहरुलाइ अफनो प्रतिभा देखाउने राम्रो अवसर रहेको बताए । यस प्रतियोगिताले आउने दिनमा खेलाडीहरुमा उत्साह थपी उर्जा प्रदान गर्ने बताएका हुन् । नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने उनले बताएका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार दोस्रो हुनेलाइ १० हजार पुरस्कार रहेको आयोजकले जानकारी गराएको हो ।

आज भएको उदघाटन खेलमा वडा नम्बर ७ को टिम विजयी सुरुवात गरेको छ । आयोजक देवाहीगोनाही नगरपालिका र वडा नम्बर ७ प्रेमपुर गोनाही बिच खेल हँुदा आयोजक टिम पराजित भएको हो । २० ओभरको खेलमा आयोजक टिमले मात्र १३ ओभर खेली १० विकेटको क्षतिमा ५९ रन बनाएको थियो ।
जवाफि बैटिङमा उतरेको वडा नम्बर सातको टिमले ७ ओभरमा पाँच विकेटको क्षतिमा ६५ रन बनाएको थियोे । उदघाटन खेलमा बिजेता टिमबाट १६ बलमा तिनवटा छक्का र चारवटा चौक्का प्रहार गरि बिनोध राम बेष्ट ब्याटसमैन घोषित भएका थिए । त्यस्तै तीन ओभरमा २० रन दिएर दुई बिकेट र दुईजनालाई रन आउट गर्ने संतोष यादव बेष्ट बौलर घोषित भएका थिए ।
टि २० मेयर कप नकआउट टुर्नामेन्टमा बुधबार दुईवटा खेल हुने छ । पहिलो खेल वडा नम्बर ९ र वडा नम्बर ४ बिच हुनेछ भने दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर ६ बिच हुने आयोजक टिमका संचालक विवेकानन्द साहले जानकारी गराएका हुन् ।
उदघाटन समाराेहमा देवाहीगाेनाही नगरपालिका वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू, जनप्रतिनिधि एवम् खेलप्रेमीहरूकाे भव्य उपस्थिति रहेको थियोे ।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
राैतहट प्रिमियर लिगमा कटहरिया बाेल्टसका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । लगातार दुई खेलमा हार बेहाेरेकाे कटहरिया बाेल्टसले आज राजदेवी सुपर किंगस विरूद्व १० विकेटले धमाकेदार जित हात पारेको छ ।

कटहरिया बोल्टसले राजदेवी सुपर किंग्स विरूद्व आफनो पहिलो जित हात पारेको हाे । टस जितेर पहिला बैटिंग गरेको राजदेवी सुपर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियोे । १ सय २७ रनको विजयी लक्ष्य पाएको कटहरिया बोल्टसले १२ ओभर २ बलमा विना कुनै विकेट गुमाइ विजयी लक्ष्य पुरा गरेको थियो ।

अन्ततः कटहरिया बोल्टसले १० विकेटकाे सनसनीपूर्ण जित हात पारेको छ । खेलमा र प्रतियोगिता भरिमा नै बढी रन सर्वाधिक ९३ रन बनाउने इमरान शेषलाई प्लेयर अफ द मैच घोषणा गरिएको थियोे ।

याे खेलमा कटहरिया बाेल्टसले आफ्नो रनरेटमा राम्रो सुधार गरेको छ । कटहरिया बाेल्टसका मालिक महाशक्ति निरालाले जित र हार भनेको एक रथका दुई पाङ्ग्रा हुन् भन्दै यसअघि हार बेहोरेकाे आफनाे टिमलाई हाैसला बढाएका थिए ।

उनले भनेका थिए- कहिलेकाहीँ मान्छेले जित्छन् र कहिले हार्छन् । जित र हार निरन्तर चलिरहन्छ । हामी यसबाट डराउनु हुँदैन र आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ । अर्को खेलको लागि शुभकामना दिन चाहन्छु ।
मालिककाे नै यस्तो प्रतिक्रिया आएपछि खेलाडीहरू एकदम हाैसिएका थिए । फलस्वरूप आज प्रतियोगितामा रेकर्ड बिट प्रदर्शन गरेका छन् । मंगलबारकाे खेलमा राम्रो प्रदर्शन गरेकाे भन्दै कटहरिया बाेल्टसका अर्का मालिक चन्दन कुशवाहाले प्रत्येक खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । र यसैगरी राम्रो प्रदर्शन गर्न हाैसला बढाएका छन् ।
राेहीत साेनलले कप्तानी गरिरहेकाे कटहरिया बाेल्टसमा निकै अनुभवी खेलाडीहरू सामिल छन् । टिममा काेच भूमिका संजिव अधिकारीले निर्वाह गरिरहेका छन् भने टिम मैनेजरकाे रूपमा राकेश गिरीले भूमिका निर्वाह गरिरहेका छन् । जबकि स्पाेन्सरकाे भूमिका प्रदिप यादव लगायतले गरिरहेका छन् ।
क्रिकेट खेलमा कटहरियाकाे एउटा बेग्लै नाम पहिचान भएकोले कटहरिया बाेल्टसकाे लगातार हारले निराश भएका यस नगरपालिकाका क्रिकेट प्रेमीहरू याे जित सँगै खुशी भएका छन् ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०२ गते बैशाख ।
नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो ।
कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो ।
‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने विषयमा वहस, छलफलहरु हुने बताइएको छ ।
‘नेक अल्मुनाई मिट’ आयोजनाका लागि कलेजले आर्किटेक्चर पोषण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा इ. अङ्गलाल रोकाया, आ. विश्व शाक्य, इ. उमेश के.सी., इ. प्रेम के.सी., इ. नारायण प्रसाद आचार्य, विष्णु प्रसाद भण्डारी रहेका छन् ।
नेक सभाहलमा हुने कार्यक्रममा सयौंको संख्यामा पूर्वविद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । कलेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेकोले ‘नेक अल्मुनाई मिट’मा उल्लेखनीय विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।
सन् १९९४ मा स्थापना भएको कलेजमा इन्जियिरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर मापन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ ।