२०८३ भाद्र ४
२०८३ भाद्र ४

इनरुवा । सुनसरीको देवानगञ्ज क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गरेको आदेशअनुसार सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको हो ।

कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् ।

कर्फ्युको क्षेत्र पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सीमा अन्तर्गत महेन्द्र राजमार्गको घोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट २०० मिटर क्षेत्रसम्म निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सोमबार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि विभिन्न विषयमा सहमति जुटेसँगै उनको सत्याग्रह अन्त्य भएको हो ।

सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शैयाको शिक्षण अस्पतालसहित सञ्चालनमा ल्याइनेछ । चालु आर्थिक वर्षदेखि नै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

त्यस्तै, विश्वविद्यालयसम्बन्धी कानुन संशोधनका क्रममा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटिने भएको छ । पदाधिकारीहरूको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न चालु संसद् अधिवेशनमै तीन महिनाभित्र संशोधन प्रस्ताव पेश गरिने सहमतिमा उल्लेख छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीअनुसार चिकित्सा शिक्षाको सिट निर्धारण गरिने तथा निजी शिक्षण संस्थामा सिट वृद्धि नगरी सार्वजनिक शिक्षण संस्थाको सिट विस्तारमा अवरोध नपर्ने व्यवस्था गरिने भएको छ । साथै, चिकित्सासम्बन्धी शिक्षण संस्थालाई गैरनाफामूलक तथा सेवामूलक प्रणालीमा रूपान्तरण गर्ने विषयमा सुझाव दिन छ महिनाभित्र उच्चस्तरीय कार्यदल गठन गरिने सहमति भएको छ ।

यसैगरी विगतमा भएका जघन्य हत्या, आगजनी तथा लुटपाटका घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ व्यक्तिहरूबाट भएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गर्ने विषयमा पनि सरकार र डा. केसीबीच सहमति भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६० कम्पनिका एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने गरिमा समृद्धि योजनाको शेयर ४.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्म निर्भर लघुवित्तको शेयर १३.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३३ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको २८ करोड १३ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन भएपछि सेना परिचालन गरिएको छ ।

प्रशासनले सेना सडकमा गस्तीमा निस्किएपछि अवस्था नियन्त्रणमा आइरहेको बताएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै प्रदर्शन शुरु भएपचिउ सेनालाई सडकमा उतारिएको छ ।

कर्फ्युकै बीचमा ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएपछि अवस्था असहज बनेको थियो ।

कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् र उनीहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री–वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ ।

विभागले आइतबार सूचना जारी गर्दै भौतिक पसल तथा डिजिटल माध्यमबाट समेत प्रतिबन्धित वस्तु बिक्री भइरहेको भन्ने उजुरी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत केही वस्तुको आयात तथा निर्यातमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाएको विभागले स्मरण गराएको छ। ती वस्तुहरूको अनधिकृत आयात, भण्डारण तथा बिक्री–वितरण कानुनबमोजिम दण्डनीय हुने विभागको भनाइ छ।

विभागले सबै आयातकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई कानुनले तोकेका दायित्व, सर्त र बन्देजको पूर्ण पालना गर्दै व्यापार सञ्चालन गर्न आग्रह गरेको छ।

विभागले प्रतिबन्धित वस्तुको आयात, भण्डारण वा बिक्री–वितरण गरेको पाइएमा निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ ।  सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।

गत असार ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो भने साउन ४ गते यसको राजपत्रमा सूचना समेत प्रकाशन भएको थियो । सर्वोच्चले विपक्षीको नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ४ जना, गण्डकीमा १ जना र कर्णालीमा ५ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ ।

हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।  बागमती,  गण्डकी ,लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ ।   मधेश तथा कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  देशका हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।  बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका पनि  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन ११ गते सोमबार ईस २०२६ जुलाई २७ नेपाल सम्बत ११४६ दिल्लाथ्व त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वैधृत योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा बजे हुनेछ ।

आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ ऊर्जा र सकारात्मक सोचका साथ सुरु हुनेछ। बिहानदेखि नै मनमा केही नयाँ गर्ने उत्साह जाग्नेछ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता, समय व्यवस्थापन र नेतृत्व क्षमताको राम्रो मूल्यांकन हुनेछ। विगतदेखि रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा नयाँ अवसर देखा पर्नेछन् र आर्थिक रूपमा लाभ बढ्ने संकेत देखिएको छ। पुरानो लगानीबाट पनि सन्तोषजनक प्रतिफल प्राप्त हुन सक्छ। परिवारका सदस्यहरूसँग आत्मीय सम्बन्ध अझ प्रगाढ बन्नेछ। प्रियजनसँगको संवादले मनलाई खुसी बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर कामको चाप बढ्न सक्ने भएकाले विश्रामलाई पनि महत्त्व दिनु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, विवेक र संयमले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। सहकर्मीहरूसँगको समन्वय राम्रो रहनेछ र टोलीगत कार्यमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नियमित लाभ कायम रहनेछ। आर्थिक रूपमा आम्दानी र खर्चबीच सन्तुलन कायम हुनेछ। बचत गर्ने योजनाले भविष्यका लागि बलियो आधार तयार गर्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। आफन्तसँगको भेटघाटले मन हल्का र प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ। मानसिक शान्ति र आत्मविश्वास बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशीलता, स्पष्ट अभिव्यक्ति र चतुर व्यवहारले धेरैको ध्यान आकर्षित गर्नेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा विशेष उपलब्धि हासिल हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पनि मिल्नेछ। आर्थिक रूपमा सुधार आउनेछ। नयाँ कामबाट अतिरिक्त आम्दानी हुने सम्भावना देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग खुसीका क्षण बित्नेछन्। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह तथा ऊर्जा कायम रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँग सम्बन्धित विषयले विशेष खुसी प्रदान गर्नेछ। घरमा मेलमिलाप, आत्मीयता र आपसी समझदारी बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र मेहनतको प्रशंसा हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिएको छ। घर वा परिवारसँग सम्बन्धित कुनै महत्त्वपूर्ण निर्णय लिन उपयुक्त समय रहनेछ। प्रियजनसँगको सम्बन्ध थप सुदृढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा पनि शान्ति, सन्तुलन र सन्तुष्टि कायम रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास, साहस र नेतृत्व क्षमताका कारण तपाईंले विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ अवसर पनि प्राप्त हुनेछ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिएको छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ र नयाँ लगानीका विषयमा सकारात्मक संकेत प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल अझ बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर स्फूर्ति कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने कार्यमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। अनावश्यक खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। परिवारमा खुसी र आपसी समझदारी कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट फलदायी बन्न सक्छ। नयाँ अनुभवले भविष्यका लागि राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले शरीरमा थप ऊर्जा प्रदान गर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा उत्साहजनक सुधार देखिनेछ। रोकिएको रकम प्राप्त हुने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने संकेत देखिन्छ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ, जसले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र सकारात्मक सोच बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले तपाईंलाई राम्रो उपलब्धि दिलाउनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना पनि बलियो छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्नेछ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ र आर्थिक रूपमा उल्लेखनीय सुधार आउने संकेत देखिन्छ। परिवारमा विश्वास, प्रेम र आत्मीयता बढ्नेछ। प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह तथा आत्मविश्वास कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र दृढ इच्छाशक्तिले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न तथा भविष्यका लक्ष्य निर्धारण गर्न दिन निकै शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा काम गर्दा सबै कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। दीर्घकालीन आर्थिक योजना बनाउने समय पनि अनुकूल रहनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास र सन्तुष्टि दुवै बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन्। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। परिवारमा प्रेम, मेलमिलाप र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह, स्फूर्ति तथा सकारात्मक ऊर्जा कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई सफल र उपलब्धिमूलक बनाउनेछ। सुरुवातमा केही चुनौती देखिए पनि तपाईंको आत्मविश्वास र अनुभवका कारण सबै काम क्रमशः सहज बन्दै जानेछन्। कार्यक्षेत्रमा आफ्नो सीप र मेहनतको राम्रो उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु उपयुक्त हुनेछ भने बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ। अधुरा रहेका काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा शान्ति, सन्तुलन तथा सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बंगलादेशले आगामी अगस्टमा अष्ट्रेलियासँग हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीको कप्तानी नजमुल हुसेन शान्तोले गर्नेछन् । बंगलादेशले सन् २००३ पछि पहिलो पटक अष्ट्रेलियाको भूमिमा टेस्ट क्रिकेट खेल्न लागेको हो । यो सिरिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ अन्तर्गत हुनेछ ।

सन् २०२१ पछि पहिलो पटक टेस्ट टोलीमा फर्किएका सौम्य सरकार पनि टोलीमा समावेश भएका छन् । ब्याटिङतर्फ शान्तो, सौम्य सरकार, मुश्फिकुर रहिम, मोमिनुल हक र शादमान इस्लामजस्ता अनुभवी खेलाडी रहेका छन् ।

चोटका कारण प्रभावित भएको तीव्र गतिका बलर विभागको जिम्मेवारी तास्किन अहमद, हसन महमुद, खालिद अहमद र एबादोत हुसेनले सम्हाल्नेछन्। पहिलो पटक मुस्फिक हसनलाई पनि टोलीमा स्थान दिइएको छ । स्पिन आक्रमणको नेतृत्व मेहदी हसन मिराज र ताइजुल इस्लामले गर्नेछन् ।

बंगलादेशका टिम:  नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, शादमान इस्लाम, तन्जिद हसन, मोमिनुल हक, मुश्फिकुर रहिम, अमित हसन, जाकेर अली अनिक, मेहदी हसन मिराज (उपकप्तान), ताइजुल इस्लाम, तास्किन अहमद, हसन महमुद, सैयद खालिद अहमद, एबादोत हुसेन चौधरी र मुस्फिक हसन।

हाल विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अष्ट्रेलिया ८७.५० प्रतिशत अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ५८.३३ प्रतिशत अंकसहित चौथो स्थानमा रहेको छ ।

दुई टोलीबीचको पहिलो टेस्ट अगस्ट १३ देखि १७ सम्म डार्विनमा तथा दोस्रो टेस्ट अगस्ट २२ देखि २६ सम्म म्याकेमा खेलिनेछ ।

अर्कोतर्फ अष्ट्रेलियाले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई खेलको सिरिजका लागि १३ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी प्याट कमिन्सले गर्नेछन्। टोलीमा स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्ग्लिस, मार्नस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क, जेक वेदराल्ड र बो वेब्स्टर समावेश छन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।