बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् ।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको प्रवेश भएको हो । अहिलेकी व्यस्त र डिमान्डेड नायिका अञ्जनाको प्रवेशसँगै सिनेमाको लाइनअप थप बलियो भएको छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्नेछ । यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ ।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ । चलचित्रको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । इरानको संसद्ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ । इरानको मेहर समाचार संस्थाका अनुसार होर्मुज हुँदै जान अनुमति पाउने देशका जहाजबाट समुद्री सेवा, सुरक्षा र बिमालगायत सुविधाबापत शुल्क लिइनेछ ।
शुल्कबापत वातावरणीय सेवा तथा विशेष परिस्थितिमा इन्धनसमेत उपलब्ध गराइने जनाइएको छ । शुल्क इरानी मुद्रा वा इरानले तोकेको अन्य मुद्रामा तिर्न सकिनेछ ।
यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानविरुद्ध आर्थिक दबाब बढाउने अभियान निर्णायक चरणमा पुगेको बताएका छन् । अमेरिकाले इरानको आम्दानीका प्रमुख स्रोत बन्द गर्ने उद्देश्यले आफ्ना सबै सरकारी निकाय र अधिकार प्रयोग गर्ने उनको भनाइ छ ।
इरानले अमेरिकाको आर्थिक प्रतिबन्धमा साथ दिने खाडी देशहरूलाई पनि चेतावनी दिएको छ । इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई सहयोग गर्ने देशलाई शत्रुका रूपमा व्यवहार गरिने बताएका छन् ।
यसैबीच इरानलाई मक्का रक्षा सम्झौतामा सहभागी हुन निमन्त्रणा आएको दाबी गरिएको छ । इरानी संसद्सँग सम्बन्धित मेहदी रहिमीले इरानले निमन्त्रणा पाएको र त्यसबारे विचार भइरहेको बताएका छन्। तर इरानको विदेश मन्त्रालय तथा सम्झौताका संस्थापक देश साउदी अरब, टर्की र पाकिस्तानले यसको आधिकारिक पुष्टि गरेका छैनन् ।
साउदी अरब, टर्की र पाकिस्तानले गत अगस्ट ७ गते मक्कामा पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा चित्रित गर्दै आएका छन् । अमेरिका र इरानबीच तनाव बढेपछि जलडमरूमध्यमा जहाज आवतजावतका लागि इरानतर्फको उत्तरी मार्ग र ओमानतर्फको दक्षिणी मार्गबारे विवाद बढेको छ ।
होर्मुज विश्वको महत्वपूर्ण तेल तथा समुद्री व्यापार मार्गमध्ये एक हो । यसको सुरक्षालाई लिएर अमेरिका र इरानबीच बढिरहेको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटन, हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
मुख्यमन्त्री मगरको नियुक्ति प्रक्रिया संविधान विपरीत रहेको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले भदौ ५ गते छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा भने आगामी भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले राप्रपाको समर्थन लिएको विश्व विवादित बनेको छ । राप्रपाको संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्देशन विपरित थापालाई समर्थन गरेपछि विवाद बढेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कहि स्थानमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
जसअनुसार, बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, विहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीको विषयमा लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, दिउसो २ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०८ गते
आजको राशिफल बिस २०८३ भाद्र ८ गते सोमबार ईस २०२६ अगस्त २४ नेपाल सम्बत ११४६ गुलाथ्व द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष द्वादशी, चन्द्रमा धनु राशिमा, पुर्वाषाढा नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज नयाँ जिम्मेवारी सम्हाल्ने र आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतले राम्रो परिणाम दिनेछ। लामो समयदेखि रोकिएको काम अघि बढ्ने सम्भावना छ। व्यापार–व्यवसायमा नयाँ कारोबारको बाटो खुल्न सक्छ। आर्थिक रूपमा आम्दानी राम्रो रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु उचित हुनेछ। परिवारका सदस्यबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रियजनसँगको सम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वासका साथ अघि बढ्दा आजको दिन उपलब्धिमूलक बन्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज शान्त भएर सोचेर चालिएका कदमले राम्रो परिणाम दिनेछन्। कार्यक्षेत्रमा अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। वरिष्ठ तथा अनुभवी व्यक्तिको सुझाव तपाईंका लागि उपयोगी बन्न सक्छ। व्यापारमा पुराना ग्राहक तथा सम्पर्कबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत बढाउने मौका मिल्नेछ। परिवारमा आपसी समझदारी कायम रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। महत्त्वपूर्ण निर्णयमा हतार नगर्नुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाईंको बोली, विचार र सिर्जनशीलताले विशेष प्रभाव पार्नेछ। अध्ययन तथा ज्ञानसँग सम्बन्धित काममा राम्रो प्रगति हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्ने मौका मिल्नेछ। नयाँ योजना अघि बढाउन सहकर्मीको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक वा कारोबार थपिन सक्छ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना छ। साथीभाइसँगको भेटघाट उपयोगी र रमाइलो दुवै बन्न सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ अवसरलाई बेवास्ता नगर्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारको वातावरण आज तपाईंका लागि विशेष महत्त्वपूर्ण रहनेछ। परिवारका सदस्यबीचको पुरानो असमझदारी हटेर आपसी विश्वास बढ्न सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न केही बढी मेहनत गर्नुपर्नेछ, तर परिणाम सन्तोषजनक हुनेछ। आर्थिक रूपमा घरायसी खर्च व्यवस्थापन गर्न सकिनेछ। घर वा सम्पत्तिसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुन सक्छ। आफन्तबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। नजिकका व्यक्तिसँगको आत्मीय कुराकानीले मनमा शान्ति दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मविश्वास र नेतृत्व क्षमताका कारण आज तपाईंको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ र त्यसमा सफलता हासिल गर्नुहुनेछ। तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ। व्यापार–व्यवसायमा लाभदायक अवसर देखा पर्नेछन्। आर्थिक अवस्थामा सुधार आउनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। परिवारका सदस्यबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो क्षमता सही दिशामा प्रयोग गर्दा उल्लेखनीय उपलब्धि हात पार्न सक्नुहुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज व्यवस्थित योजना बनाएर अघि बढ्दा धेरै काम सहजै पूरा हुनेछन्। कार्यक्षेत्रमा तपाईंको सूक्ष्म ध्यान र मेहनतको प्रशंसा हुनेछ। पुरानो काम सम्पन्न गरेर नयाँ योजनामा लाग्ने अवसर मिल्नेछ। व्यापारमा सोचविचार गरेर गरिएको निर्णय लाभदायक बन्न सक्छ। आर्थिक रूपमा खर्च नियन्त्रणमा रहनेछ। परिवारमा आवश्यक विषयमा सकारात्मक छलफल हुनेछ। छोटो यात्रा वा भेटघाटबाट उपयोगी जानकारी प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। कामको चापबीच पर्याप्त आराम गर्न नबिर्सनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज सहकार्य र सम्बन्धका माध्यमबाट नयाँ अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी तथा साझेदारसँग राम्रो तालमेल कायम हुनेछ। नयाँ योजनामा अरूको सहयोग जुट्नेछ। व्यापार–व्यवसायमा कारोबार विस्तार हुने सम्भावना छ। आर्थिक रूपमा लाभदायक अवसर हात पर्न सक्छ। परिवारमा खुसी र आत्मीयता बढ्नेछ। सामाजिक भेटघाटबाट उपयोगी नयाँ परिचय बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। अरूको कुरा ध्यानपूर्वक सुनेर निर्णय गर्दा अझ राम्रो परिणाम प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज दृढ इच्छाशक्ति र आत्मविश्वासका साथ अघि बढ्न सक्नुहुनेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी पूरा गरेर प्रशंसा प्राप्त गर्ने अवसर मिल्नेछ। तपाईंको अनुभव र निर्णय क्षमताको सम्मान हुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। आर्थिक अवस्था बलियो बन्नेछ। परिवारमा प्रेम र विश्वासको वातावरण कायम रहनेछ। प्रियजनसँग भविष्यका योजनाबारे सकारात्मक कुराकानी हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो लक्ष्यमा निरन्तर ध्यान दिन सके आजको दिन महत्त्वपूर्ण उपलब्धिको आधार बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ अवसरको खोजीमा रहेका व्यक्तिका लागि आजको दिन उत्साहजनक रहनेछ। अध्ययन, यात्रा, व्यापार तथा नयाँ योजनासँग सम्बन्धित काममा सफलता प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतको राम्रो मूल्यांकन हुनेछ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना छ। नयाँ स्रोतबाट लाभ मिल्न सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। भविष्यका योजनालाई व्यवहारमा उतार्ने आत्मविश्वास बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी र अनुशासनलाई प्राथमिकता दिनुपर्नेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सुझावले महत्त्वपूर्ण काममा सहयोग पुर्याउनेछ। पुरानो काम पूरा गरेर नयाँ योजनातर्फ अघि बढ्ने अवसर मिल्न सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। अनावश्यक खर्च घटाउन सके बचत बढाउन सकिनेछ। परिवारमा तपाईंको सहयोग आवश्यक पर्न सक्छ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। पर्याप्त आराम र सन्तुलित खानपानमा ध्यान दिनुहोस्। साँझतिर प्राप्त हुने सुखद समाचारले मन प्रसन्न बनाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ सोच र नयाँ प्रयासका लागि आजको दिन अनुकूल रहनेछ। कार्यक्षेत्रमा फरक तरिकाले काम गर्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारी वा सहकार्यको अवसर आउन सक्छ। व्यापार–व्यवसाय विस्तार गर्ने योजना अघि बढाउन सकिनेछ। आर्थिक अवस्थामा क्रमशः सुधार आउनेछ। परिवारमा पुराना असमझदारी हट्दै जानेछन्। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम पूरा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ लक्ष्य तय गरेर निरन्तर मेहनत गर्दा आगामी दिनमा राम्रो सफलता प्राप्त गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज मनमा रहेको अन्योल कम हुँदै जानेछ र सही निर्णय लिन सहज हुनेछ। कार्यक्षेत्रमा अधुरा काम पूरा हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सफलतापूर्वक सम्हाल्न सक्नुहुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारका सदस्यबाट सुखद समाचार सुन्न पाइनेछ। प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाट भविष्यका लागि उपयोगी हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। दिनको अन्त्यमा आफूले गरेको कामको समीक्षा गर्दा आगामी योजनाका लागि नयाँ उत्साह प्राप्त हुनेछ ।
काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गरेकी छन् ।
करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा प्रशिक्षणका लागि प्रयोग गरिनेछ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ ।
कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले मौलिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताउँदै पुनःनिर्माण भएका सम्पदाको संरक्षणको जिम्मेवारी समुदायले लिनुपर्ने बताइन् ।
वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले स्थानीयको सहयोग र प्रत्यक्ष निगरानीमा मन्दिर पुनःनिर्माण गरिएकाले यसको मौलिकता कायम गरिएको बताए । मन्दिर पुनःनिर्माणसँगै स्थानीय परम्परागत बाजागाजा प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
२०८१ माघ ८ गते विहीबार मन्दिर पुनःनिर्माणको जग पूजा गरिएको थियो । ०८२ माघ १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यसै बिच २०८२ मंसिर ५ गते नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरियो । यसअघि मूर्तिको सट्टा प्रति आकृति मात्र पूजा गर्ने गरिएको थियो । त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब ३ फिट अग्लो निराकार प्रस्तर मूर्तिलाई पूजाआजा गरी आसनमा पुनःस्थापना गरिएको छ । नित्यनाथको पूजाआजा र आराधनाका लागि विहीबार विशेष दिन मानिन्छ । ९० सालको भूकम्प अघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्व. सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो ।
नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ आयात करलाई ‘ठूलो गलत आकलन’ भएको बताएका छन् । उनले नयाँ करको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् ।
अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता असफल भएपछि शुक्रबार राति उनको यस्तो प्रतिक्रिया आएको हो ।
क्यानडाका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले अमेरिकाले अत्यधिक माग राखेको तर त्यसको बदलामा निकै कम दिन प्रस्ताव गरेको बताए । उनले अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा ठूलो परिमाणमा नयाँ कर लगाएपछि क्यानडा व्यापार युद्धको अवस्थामा पुगेको बताए ।
कार्नीले क्यानडाले पनि आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाएको करको बराबर रकममा जवाफी कर लगाउने घोषणा गरेका छन् । त्यसमा इस्पात, दुग्धजन्य वस्तु, घरेलु उपकरण तथा विद्युतीय सामग्रीमा लगाइएको करसमेत समावेश हुने उनले बताए ।
व्यापार वार्ता असफल भएपछि लामो समयदेखि नजिकका सहयोगी रहेका अमेरिका र क्यानडाबीचको बलियो व्यापारिक सम्बन्धमा ठूलो धक्का पुगेको छ । अहिले विवाद समाधानको स्पष्ट बाटो देखिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यसै साता सुरुमा दुवै देशले व्यापार सम्झौता हुने अपेक्षा गरेका थिए । तर वार्ताका क्रममा अन्तिम समयमा एकअर्काले सर्त परिवर्तन गरेको आरोप लगाएपछि सहमतिको प्रयास विफल भएको हो ।
वार्ता असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाएको छ। यो क्यानडाबाट आयात हुने इस्पात, आल्मुनियम, मोटरगाडी र काठका सामग्रीमा यसअघि नै लगाइएको अमेरिकी करभन्दा अतिरिक्त हो ।
यद्यपि, नयाँ करको दायरा सीमित रहेको बताइएको छ। यो क्यानडाबाट अमेरिका जाने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुनेछ, जुन क्यानडाबाट अमेरिकामा हुने कुल आयातको करिब पाँच प्रतिशत हो ।
नयाँ करअन्तर्गत मदिरा, दुग्धजन्य वस्तु, सिमेन्ट, कपडा र हक्की खेलका सामग्रीलगायत वस्तु पर्नेछन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने, कमजोर पूर्वाधार राख्ने तथा सरसफाइमा ध्यान नदिने गुनासो बारम्बार प्राप्त हुँदै आएको छ । खाना र पानीको स्वच्छता, पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै सुरक्षा, शौचालय, स्नानघर र सुत्ने कोठाको पर्याप्त व्यवस्था नभएको पनि पाइएको कार्यालयले जनाएको छ । त्यस्तै, केही छात्रावासमा लागुऔषधको दुरुपयोग हुने, विद्यार्थीबीच झडप हुँदा ज्यान जानेसम्मका घटना हुने तथा अध्ययन कक्ष, मनोरञ्जन कक्ष र पुस्तकालयजस्ता आवश्यक सुविधा पर्याप्त नभएको गुनासो आउने गरेको छ । यस्ता गुनासोका आधारमा कार्यालयले निजी छात्रावासको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको जनाएको छ। अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावास सञ्चालकलाई तोकिएका २१ मापदण्डअनुसार आवश्यक व्यवस्था एक महिनाभित्र पूरा गर्न सूचित गरेको छ ।
प्रशासनले तोकेका २१ मापदण्ड:
१- छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने ।
२- छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रुपमा रहने वातावरण तयार गर्ने ।
३- छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने ।
४- तोकिएको निकायहरुमा छात्रावास अनिवार्य रुपमा दर्ता एवं नवीकरण गर्नुपर्ने ।
५- छात्रावासको लागि उचित भौतिक पूर्वाधार (जस्तैः प्रत्येक कोठाहरु फराकिलो खुला पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको) हुनुपर्ने ।
६- व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने ।
७- छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने ।
८- छात्रावासमा स्वच्छ पिउने एवम् अन्य प्रयोजनको पानीको पर्याप्तता, विद्युत तथा ईन्टरनेटको उपलब्धता एवम् बैकल्पिक व्यवस्था समेत गरेको हुनुपर्ने ।
९- छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्ने ।
१०- कोठा र शौचालय जस्ता संवेदनशील स्थान बाहेक अन्य स्थानको निगरानीको लागि CCTV जडान गर्नुपर्ने ।
११- छात्रावास सञ्चालक तथा छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने ।
१२- छात्रावासमा बस्ने विद्यार्थी एवम् अन्य व्यक्तिहरुले समेत मर्यादित र अनुशाससित व्यवहार गर्नुपर्ने ।
१३- छात्रावास रहेको स्थान वरपरका छरछिमेकीहरुलाई छात्रावासको कारणबाट कुनै प्रकारको वाधा, व्यवधान एवम् होहल्ला गर्न नदिने व्यवस्था मिलाउनुपर्ने ।
१४- छात्रावासमा चौविसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने ।
१५- छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको बीचमा अनिवार्य सम्झौता हुनुपर्ने ।
१६- अन्य व्यक्तिको घर भाडामा लिई सञ्चालन गरेको भएमा छात्रावास सञ्चालकहरुले घरधनीसँग अनिवार्य रुपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने ।
१७- छात्रावासको सञ्चालक र वार्डेनको व्यक्तिगत विवरण अनिवार्य रुपमा यस कार्यालय र नजिकको प्रहरी ईकाईलाई उपलब्ध गराउनुपर्ने ।
१८- छात्रावासमा Fire Extinguisher, First Aid लगायतका अत्यावश्यकीय सामग्रीहरु अनिवार्य रुपमा राखुपर्ने ।
१९- महिला तथा पुरुष दुवैको लागि सञ्चालनमा रहेको छात्रावास भए अलग्गै कार्यालय र आवास भवनको व्यवस्था अनिवार्य गर्नुपर्ने ।
२०- छात्रावासमा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नं. हरु सबैले देखिने गरी राखेको हुनुपर्ने ।
२१- छात्रावासमा रहने विद्यार्थी एवम् अन्य व्यक्तिहरुलाई समय समयमा मनोरञ्जन एवम् छात्रावासको मर्यादा र अनुशासन कायम राख्न तद् अनुरुपको प्रशिक्षण कक्ष हुनुपर्ने र सो बमोजिम हप्तामा कम्तिमा एकपटक प्रशिक्षण समेत गर्ने/गराउने । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ । म्याकायमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो ।
पहिलो इनिङ्समा बंगलादेश केवल ६४ रनमा समेटिएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २१० रन बनाएको थियो । अस्ट्रेलियाका क्यामरन ग्रिनले ६७ रनको महत्वपूर्ण योगदान दिए । बंगलादेशका शोरिफुल इस्लामले ४८ रन खर्चेर ७ विकेट लिएर उत्कृष्ट बलिङ गरे ।
तर दोस्रो इनिङ्समा पनि बंगलादेशको ब्याटिङ टिक्न सकेन । टोली ९५ रनमै अलआउट भएपछि अस्ट्रेलियाले एक इनिङ्स र ५१ रनको जित हात पारेको हो । बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए ।
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क जितका मुख्य नायक बने । उनले खेलमा कुल १० विकेट लिए । पहिलो इनिङ्समा ६ विकेट लिएका स्टार्कले दोस्रो इनिङ्समा पनि महत्वपूर्ण ४ विकेट लिएर बंगलादेशको ब्याटिङ ध्वस्त पारे ।
यसअघि डार्विनमा भएको पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हराउँदै अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट जित निकालेको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियाले त्यसको जवाफ दिँदै सिरिज बराबरी गरेको हो । एभरेष्ट न्यूज एजेन्सी