काठमाडौँ । भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् ।
उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए । विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो ।
बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्- ‘मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ-आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ । यो निर्णय आपसी सम्मानका साथ लिइएको हो । यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गर्दछौँ ।’
उनले आफूहरूको सम्बन्धबारे थप अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । साथै, यस विषयमा यही नै उनीहरूको अन्तिम भनाइ हुने बताएका छन् ।
बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए । उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन् । दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो ।
बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको थियो । त्यसपछि उनीहरूबीच नजिकिँदै गएर प्रेम सम्बन्ध सुरु भएको थियो । दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । सन् २०२३ मा उनीहरूको विवाहको हल्ला चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए ।
बादशाह बलिवुडसहितको संगीत क्षेत्रमा चर्चित छन् भने ईशा रिखी मोडल तथा अभिनेत्री हुन् । चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९८७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९८७ जनाको शव फेला परेको हो । जसमा रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा ३२१, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ ।
प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ३ हजार ९१६ जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यसैगरी, ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।एभरेष्ट न्यूज एजेन्सी
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले भोटेकोशी बाढीबाट पिडित परिवारलाई धादिङ र नुवाकोट पुगेर राहत वितरण गरेको छ ।
कपिलवस्तुमा संकलन गरिएको राहत विदुर, तुप्चे, भैरुम माविमा रहेको होल्डिङ सेन्टरसहित आसपासमा रहेका पिडितलाई वितरण गरेको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी दिएका छन् ।
राहत सामग्रीमा चामल, बेडसहित दैनिक उपभोग्य अत्यावश्यक सामाग्री वितरण गरेको गिरीले बताए । कपिलवस्तुका स्थानीय व्यापारी र सहयोगी मनहरुले दिएको सहयोग आफुहरुले पिडितसमक्ष पुर्याएको उनले बताए । उनले आफुहरुले करिब २० लाख बराबरको राहत वितरण गरेको जानकारी दिएका छन् ।
ग्यालेक्सी युथ क्लबले कपिलवस्तु जिल्लामा विभिन्न अभियान संचालन गर्दै सामाजिक कार्य गर्दै आएको छ । क्लबले सरसफाई अभियान ‘सफा कपिलवस्तु अभियान’, ‘सपना बोक्ने झोला’ अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।
ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।
जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गरेको छ ।
त्यस्तै भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले ३९ लाख ५२ हजार कमाइ गरेको छ । यस चलचित्रले ११ हजार ९९६ टिकट बिक्री गरेको छ ।
त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ११ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ४६३ टिकट विक्री गरेको छ ।
त्यसैगरी साउन २९ गतेदेखि रिलिज भएको चलचित्र लज्जावतीले ७ लाख ७५ हजार कमाई गरेको छ भने २७३५ टिकट बिक्रि भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
भ्रमणका क्रममा सिंहले भारत सरकार र जनताका तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उनले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति भारतको ऐक्यबद्धता दोहोर्याएका छन् ।
सिंहले विपत्तिको यस घडीमा भारत नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताउँदै खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा राहत तथा उद्धार मूल समिति गठन गर्दै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन तथा राष्ट्रिय समन्वय परिषद् परिचालनका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरिएको छ ।
प्रभावित क्षेत्रमा चिकित्सकीय टोली र स्वयंसेवक तत्काल परिचालन गर्ने तथा राष्ट्रिय समन्वय परिषद्मार्फत पनि उद्धार र राहतका लागि सहयोग जुटाउने संघले जनाएको छ ।
सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै संघले आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत कार्यमा सहभागी हुन आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा-नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएका अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
महाशाखाका अनुसार पछिल्लो समय रसुवा-नुवाकोट क्षेत्रबाट निरन्तर रूपमा थप ठूलो बाढी आउन लागेको भन्दै जानकारी तथा फोन सम्पर्कहरू प्राप्त भइरहेको उल्लेख गर्दै हालसम्म प्राप्त सूचना र गरिएको प्रारम्भिक विश्लेषणअनुसार त्यस क्षेत्रमा वर्षा भइरहे पनि थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको जनाएको छ ।
महाशाखाले रसुवा–नुवाकोट क्षेत्रमा वर्षा भइरहेकाले नदी तथा खोलाको बहाव केही बढ्न सक्ने र हालको अवस्थाले आज बिहान बाढी प्रभावित क्षेत्रमा देखिएको जस्तो थप ठूलो बाढी आउने सम्भावना नरहेको स्पष्ट पारेको छ ।
महाशाखाले बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकलाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ ।
नेपालतर्फ आगामी समयमा कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी तत्काल पूर्वसूचना जारी गरिने महाशाखाले जनाएको छ । त्यसका लागि मोबाइल सन्देशलगायत उपलब्ध विभिन्न सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना प्रवाह गरिने महाशाखाको भनाइ छ ।
महाशाखाले बाढीसम्बन्धी जानकारी प्राप्त गर्दा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिएका अपुष्ट सूचनाभन्दा आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ ।
साथै, बाढीको जोखिम पूर्ण रूपमा टरिनसकेको अवस्थामा आवश्यक सावधानी अपनाउन र सुरक्षित रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।
त्रिशूली नदी बेसिनमा सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् ।
१२ वटा विद्युत् आयोजना बन्द
बाढीबाट प्रभावित विद्युत् आयोजनामा रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुङ्गी (साञ्जेन) ७८ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट, साञ्जेन ४२ दशमलव ५ मेगावाट, चिलिमे ५२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, माथिल्लो मैलुङ १४ दशमलव ८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन् ।
यसैगरी, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ ।
१९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन
बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
सम्पर्कविहीन भएकामध्ये त्रिशूली–३ ‘बी’ आयोजनाको निर्माणस्थलमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृह क्षेत्रमा ६ जना, आवास क्षेत्रमा १ जना, त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना र रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना रहेका छन्।
त्यस्तै, त्रिशूली–३ ‘ए’ को विद्युत्गृह मर्मतमा संलग्न ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना, रसुवा वितरण केन्द्रका २ जना तथा धादिङको त्रिशूली २२० केभी उपकेन्द्रमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
रसुवामा पूर्ण रूपमा विद्युत् अवरुद्ध
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
धादिङको जहरेस्थित ३३ केभी उपकेन्द्रमा करिब ५ फिट लेदो जमेको छ। अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका विद्युत् पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
त्रिशूलीस्थित २२० केभी मुख्य उपकेन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी मुख्य टावरमा समस्या आएपछि प्रसारण सेवा अवरुद्ध भएको छ।
चार प्रमुख प्रसारण लाइनमा क्षति
बाढीबाट विभिन्न प्रसारण लाइनमा समेत क्षति पुगेको छ। क्षति पुगेर अवरुद्ध भएका प्रमुख प्रसारण लाइनमा समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे मुख्य–त्रिशूली–३ ‘बी’ मुख्य–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन रहेका छन् । विभिन्न स्थानमा प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ ।
उद्धारसँगै विद्युत् पुनःस्थापनाको प्रयास
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको र सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको उर्जा मन्त्रालयले जनाएको छ ।
वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी प्रभावित क्षेत्रमा आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्ने तयारी
सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन गरी चौघोडा उपकेन्द्र चालु गर्ने तयारी भइरहेको छ भने गजुरीदेखि गल्छीसम्म धादिङबेँसी उपकेन्द्रमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
सम्भव भएका स्थानमा विद्युत् लाइनको निरीक्षण, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको काम भइरहेको र विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई विद्युत् प्रणाली यथाशीघ्र सुचारु गर्न आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
रामअधार यादब,रौतहट, भादौ १० गते
रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइल प्रयोगकर्ता लामो समयदेखि नेटवर्क समस्याबाट प्रभावित भएका छन्। नेटवर्क कमजोर हुँदा स्थानीयवासीलाई फोनमा कुराकानी गर्न तथा मोबाइल सेवा प्रयोग गर्न कठिनाइ भइरहेको छ।
कटहरिया नगरपालिका अन्तर्गत छेदीचोक र कटहरिया बजार क्षेत्रमा एनसेलका टावर रहे पनि झौवा गाउँलगायत आसपासका क्षेत्रमा वर्षौंदेखि नेटवर्क समस्या कायम रहेको स्थानीय समाजसेवी गणिलाल यादवले जानकारी दिनुभएको छ।
नेटवर्क कमजोर भएका कारण आवश्यक समयमा फोन सम्पर्क गर्न नसकिने, कुराकानी गर्दा आवाज स्पष्ट नआउने तथा पटक–पटक फोन काटिने समस्या रहेको स्थानीयवासीको गुनासो छ।
स्थानीय समाजसेवी यादवले एनसेल कम्पनी तथा सम्बन्धित निकायलाई यस समस्याप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै यथाशीघ्र प्राविधिक टोली पठाई नेटवर्क समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ।
स्थानीयवासीले सञ्चारजस्तो अत्यावश्यक सेवामा लामो समयदेखि समस्या भइरहेकाले सम्बन्धित निकायले तत्काल पहल गरी भरपर्दो र गुणस्तरीय नेटवर्क सेवा उपलब्ध गराउन माग गरेका छन्।