२०८३ श्रावण २
२०८३ श्रावण २

राजेश निर्माणी,राैतहट,२०८२ जेठ २१ गते

रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुुषहामा मदरसा नेदाय मिल्लत भुषहाको मदरसा भवनको बुधबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

वृन्दावन–९ स्थित मदरसा कम्पाउन्ड भित्रै रहेको मदरसाको जमिनमा सो भवनको शिलान्यास गरिएको हो । मदरसा भवनको शिलान्यास वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले गर्नुभएको थियो । २० लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी दुईकोठे एक तल्ले मदरसा भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख कुर्मीले स्थानीय समुदायको चौतर्फी विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । वृन्दावन नगरपालिका वडा नं.-९ का वडा अध्यक्ष प्रवेज आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकांश वक्ताले मदरसामा आश्रित तथा पढ्न आउने मुस्लिम समुदायका विद्यार्थीलाई विद्यालय भवन बनेपछि पठनपाठनमा सहज हुने बताए ।

विद्यालय भवन निर्माणका लागि नगर प्रमुख कुर्मीको नगर स्तरीय योजनाबाट रु.२० लाख निर्माण हुन लागिएको मदरसामा अहिले कक्षा १ देखि १० सम्मका मुस्लिम समुदायका सात सय विद्यार्थी अध्ययनरत छन् ।

शिलान्यास कार्यक्रममा उपप्रमुख संगिता कुमारी राम,सोही वडाका वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नं.-३ का वडा अध्यक्ष हरिनरायण साह,वडा नं.५का वडा अध्यक्ष फेकु दास,वडा नं.८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह,वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल र शिक्षा संयोजक उपेन्द्र महतो लगायत विधालयका शिक्षक एवम् स्थानीय हरुको समेत उपस्थिति रहेको थियोे।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २० गते । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका महासचिव नेता मनिष कुमार मिश्रलाई थप जिम्मेवारी दिँदै प्रवक्ताको पदमा मनोनीत गर्नु भएको छ ।

पार्टीको संशोधित विधानअनुसार मिश्रलाई उक्त जिम्मेवारी दिइएको हो । अध्यक्ष ठाकुरद्वारा जारी गरिएको मनोनयन पत्रमा मिश्रलाई नयाँ भूमिकामा सफल कार्यकालको शुभकामना दिइएको छ । साथै, देश, मधेश र पार्टीको हितमा मिश्रको योगदान उल्लेखनीय हुने विश्वास व्यक्त गरिएको छ ।

मनिष कुमार मिश्रले यसअघि पनि पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । नयाँ जिम्मेवारीसँगै उनी अब पार्टीको आधिकारिक धारणा सञ्चार माध्यममार्फत प्रवाह गर्ने जिम्मेवारीमा रहनेछन् ।

पार्टीका कार्यकर्ताहरुले पनि मिश्रलाई दिएको जिम्मेवारीको स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,१९ गते जेठ ।
रौतहटको मौलापुर नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा पछिल्लो समय उल्लेखनीय प्रगति भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवको नेतृत्वमा विद्यालयले एकपछि अर्को सुधार र विकासका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै गएको छ ।

विगत तीन वर्षदेखि स्थगित रहेको विद्यालयको नाममा रहेको ८ बिगाहा १५ कठ्ठा क्षेत्रफलको महाकार पोखरीलाई ८७ लाख रुपैयाँमा ५ वर्षको लागि ठेक्का पट्टामा लगाइएको छ, जसले विद्यालयको आन्तरिक आम्दानी सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

शैक्षिक पक्षमा समेत महत्वपूर्ण सुधार देखिएको छ । नयाँ शैक्षिक सत्रमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान अन्तर्गत ३ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा पाठ्यपुस्तक वितरण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थीको सङ्ख्या बढेसँगै कक्षा ८, ९ र १० मा सेक्सन प्रणाली लागू गरिएको छ, जसले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको छ ।

नव निर्माण भएको चार कोठे प्रशासनिक भवनको हालै उद्घाटन गरिएको छ र अहिले सञ्चालनमा आएको छ । यसका साथै विद्यालयमा बालमैत्री बालविकास कक्षा स्थापना गरिएको छ भने सबै कक्षा कोठामा सिसीटिभी क्यामेरा जडान गरिएको छ, जसले पठनपाठन वातावरण सुरक्षित र अनुशासित बनाएको छ ।

बिधालयको नाउँमा रहेको पोखरिमा पानीको अभाव नहोस् भनेर डिप ट्युबवेल जडान गरिएको छ, जसले पोखरिमा सधैंभरि पानी बरकरार राख्नमा मद्दत पुर्‍याइरहेको छ ।

विद्यालयको समग्र प्रगतिले स्थानीय बासिन्दा र अभिभावकमाझ उत्साह थपेको छ । अध्यक्ष यादवले आगामी दिनहरूमा अझै बढी शैक्षिक तथा भौतिक सुधार गर्दै विद्यालयलाई जिल्लामै नमूना बनाउने लक्ष्य लिएको बताएका छन् । यसमा प्रधानाध्यापक राजेश सिंहको पनि उतिकै महत्त्वपूर्ण योगदान रहेको छ ।

आरके श्रीवास्तव,रौतहट,१९ गते जेठ ।

रौतहटको कटहरिया नगरपालिका–८ को बलुवा टोलस्थित ऐतिहासिक श्रीराम जानकी मन्दिरको सौन्दर्यकरण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५१ लाख भन्दा बढी रुपैयाँको बजेटबाट मन्दिरको संरचनात्मक विकास तथा सौन्दर्यकरण भइरहेको हो ।

वडा अध्यक्ष समिश विक्रम शाहको पहल र वडा सदस्य अनिल यादवको समन्वयमा अगाडि बढाइएको यस परियोजनाअन्तर्गत दुई कोठे भवन निर्माण, कम्पाउण्ड वाल ९चारकिल्ला०, टायलस र मार्बल जडान लगायतका कार्यहरू सम्पन्न हुँदैछन् ।

वडा अध्यक्ष शाहले मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने उद्देश्यका साथ बजेटको व्यवस्थापन र योजनाको सुरुआत भएको जानकारी दिए । उनले स्थानीय धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकता रहेको बताए ।

 

यस्तै, वडा सदस्य यादवले योजनाको समन्वयात्मक पक्ष सम्हाल्दै निर्माण कार्यमा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगरिने बताए । उनका अनुसार स्थानीय बासिन्दा तथा भक्तजनको सहजता र आस्थालाई मध्यनजर गर्दै मन्दिर क्षेत्रको आधुनिक रूपान्तरणको प्रयास भइरहेको छ ।

स्थानीयवासीहरूले समेत मन्दिरमा भइरहेको सुधारात्मक कार्यप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् र यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं १९ गते जेठ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा शान्तिपुर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज आजपा अध्यक्ष साहले सरकारद्धारा विरोध कार्यक्रम गर्न निषेध गरिएकोमा उनले विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका कार्यक्रम गर्न दुई महिनासम्मका लागि निषेध गरेको छ । सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखी दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु क्षेत्रमा विरोधका कार्यक्रम गर्न भनेको छ । आजपा अध्यक्ष साहले अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा सरकारले लिएको निषेधात्मक अग्रसरता गम्भीर चिन्ताको विषय भएको भन्दै सरकारको विरोध सरकारसँग सोधेर गर्नुपर्ने सरकारको अपेक्षा दुई तिहाईको दम्भ बाहेक अरु केही पनि नभएको जनाएका छन् ।

सरकारको अलोकतान्त्रिक निर्णय तुरुन्त सच्याई नेपाली जनताको संवैधानिक हकको रक्षाको ग्यारेण्टी गर्न उनले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आजपा अध्यक्ष साहले लेखेका छन् ः काठमाण्डौंमा शान्तिपुर्ण प्रदर्शनमा अघोषित रोक लगाउनु लोकतन्त्रको उपहास हो ।

अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा सरकारले लिएको निषेधात्मक अग्रसरता गम्भीर चिन्ताको विषय हो । सरकारको विरोध सरकारसँग सोधेर गर्नुपर्ने सरकारको अपेक्षा दुई तिहाईको दम्भ बाहेक अरु केही पनि होईन । यस्तो अलोकतान्त्रिक निर्णयलाई तुरुन्त सच्याई नेपाली जनताको संवैधानिक हकको रक्षाको ग्यारेण्टी गर्न गम्भिर ध्यानाकर्षण गराउदछु ।

सागर संगम ठाकुर रौतहट जेठ १८ गते

रौतहटकाे देवाही गाेनाही नगरपालिकामा विपद् प्रतिकार्य सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली अन्तर्गत (icimod ) को आर्थिक तथा प्राविधिक सहयोग र माण्डवी नेपालको आयोजना र देवाही गाेनाही नगरपालिकाकाे सहकार्यमा जय किसान बहुप्राबिधिक शिक्षालयकाे सभा हलमा यो तालिम सम्पन्न गरिएको हो।

तालिममा दैवी प्रकोप—विशेषतः बाढी—बाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा प्रशिक्षक घनश्याम श्रेष्ठ र दिपक मराठाले सहभागीहरूलाई प्रशिक्षण दिएको थिए। पालिकाकाे प्रत्येक वडाबाट तीन-तीन जना सहभागी भएका पुरुष र महिलाहरुलाई तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी र तत्कालीन प्रतिक्रिया क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजक संस्थाका प्रमुख रामअज्ञा साहले जानकारी दिनु भयो ।

वर्षायामकाे बेला बाढीबाट मानवीय धनजनको क्षति वा नाेक्सानी हुने गरेकाले त्यस्ता मानवीय क्षतिलाई न्युनीकरण गर्न स्थानीय समुदायकाे कम्तीमा २०,३० जना महिला तथा पुरुषकाे समुहलाई मनसुन पुर्व एक दिने ( water simulation) तालिम प्रदान गरि Rescue गर्न सक्षम प्राबिधिक स्थानीय स्तरमा तयार गरिएको साहले बताउनु भयो ।

जिल्लाको लालबकैया खाेलामा आएको बाढी र त्यसबाट बाट हुने गरेका क्षति र तालिममा देवाही गाेनाही नगरपालिकाका विपत व्यवस्थापन शखाका प्रमुख ललन साह ,वडा-५ वडा अध्यक्ष उपेन्द्र साह र स्थानीय संचारकर्मीहरुकाे समेत उपस्थिति रहेको थियो ।

 

आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ ।
राैतहट निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित मधेस प्रदेश सांसद एवम् एकीकृत समाजवादी पार्टीका मधेस प्रदेशका प्रमुख सचेतक कनिश पटेलकाे निरन्तर पहल र सक्रियतामा गरिब, विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माणको कार्यले गति लिएको छ । फुस (खर) को छानाबाट पक्की घरसम्मको यात्रालाई सार्थक बनाउने उद्देश्यले सांसद पटेलले मदन भण्डारी आवास कार्यक्रम र जनता आवास कार्यक्रममार्फत थुप्रै घरबिहिन परिवारलाई राहत पुर्याउँदै आएका छन् ।

सांसद पटेलले बताएअनुसार, “सुरक्षित आवास सबै नागरिकको आधारभूत आवश्यकता हो । यो कार्यक्रमबाट थोरै मात्रै गर्न सकिएको छ, तर भविष्यमा अझ धेरै लाभान्वित गर्न सकियोस् भन्ने हाम्रो दृढ इच्छाशक्ति छ ।”

मधेस प्रदेश सरकारअन्तर्गतको भाैतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालनमा रहेका यी कार्यक्रमहरू अहिले जिल्लाको विभिन्न ठाउँमा कार्यान्वयनमा छन् ।
मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत: बौधिमाइ नगरपालिका–४, इनरवारीमा २ वटा घर निर्माण,परोहा नगरपालिका–४, लौकाहा–पोखरियामा ३ वटा घर निर्माण
,परोहा नगरपालिका–१, जिंगड्वामा १ वटा घर निर्माण भइरहेको छ ।

त्यसैगरी, दलित जनता आवास कार्यक्रम अन्तर्गत:बौधिमाइ नगरपालिका–१, अजगैबीमा ५ वटा दलित समुदायका घर निर्माण कार्य जारी छ ।

स्थानीयबासीहरूले प्रदेश सांसद पटेलको सक्रियता र सामाजिक सरोकारप्रतिको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूका अनुसार, “पहिले खरको छानो मुनि बस्न बाध्य थियौं, अब आफ्नै पक्की घर बन्ने आशाले भविष्य सुरक्षित भएको महसुस भइरहेको छ ।”

प्रदेश सांसद पटेलले आवास निर्माण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारसँग निरन्तर समन्वय गरिरहनुभएको छ भने आगामी दिनमा अन्य वडाहरूमा पनि यो कार्यक्रम विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।

स्थानीय पोष्ट साप्ताहिक पत्रिकामा प्रकाशन भएको सामाचार ।

आरएन पटेल,राैतहट,१८ गते जेठ ।
राैतहटकाे गरुडा नगरपालिका–४ स्थित श्री नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा संघिय सरकारकाे अनुदानमा नगरपालिका मार्फत ९१ लाख रुपैयाँको लागतमा बन्ने प्रशासकीय भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

शिक्षा विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउँदै आएको गरुडा नगरपालिकाले विद्यालयमा गुणस्तरीय, सुरक्षित र सुव्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको नगर प्रमुख कन्थमनी जयसवालले जानकारी दिए । “विद्यालयहरू केवल शिक्षाको मन्दिर होइनन्, यिनले समृद्ध भविष्यको जग बसाल्छन्,” उनले भने।

विद्यालयका प्रधानाध्यापक प्रभु राउतले प्रशासकीय भवन निर्माणले शैक्षिक तथा प्रशासनिक कार्यहरू अझ प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “नयाँ भवनले विद्यालयमा कक्षाकोठाको चाप कम गर्नुका साथै शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय पनि सहज बनाउनेछ। यसले सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्नेछ ।”

गरुडा नगरपालिकाले शिक्षा क्षेत्रको सुदृढीकरण, संरचनागत सुधार र गुणस्तरीय सिकाइ प्रवर्द्धनका लागि निरन्तर प्रयास गरिरहेको पनि प्रमुख जयसवालले स्पष्ट पारेका छन् ।

स्थानीय पोष्ट साप्ताहिक पत्रिकामा प्रकाशन भएको सामाचार ।

आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ ।
राैतहटकाे राजपुर नगरपालिकाले आफ्ना किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउने लक्ष्यसहित सम्पूर्ण वडाहरूमा विधुतीकरण कार्य तीव्र गतिमा अघि बढाएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नगरपालिका नेतृत्वले तीन वर्षभित्र सबै वडामा विधुतीकरण सम्पन्न गर्ने लक्ष्य अनुसार काम गरिरहेकाे छ ।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार नगरपालिकाकाे वडा नम्बर १ देखि ९ सम्मका क्षेत्रमा चालू आर्थिक वर्ष २०८१/०८२ मा मात्र ९५ लाख रुपैयाँ बजेट विनियोजन गरि विधुतीकरण कार्य सम्पन्न गर्न लागिएको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा ५५ लाख र २०८०/८१ मा ४० लाख बजेट छुट्याइएको थियो । तीन वर्षको अवधिमा कुल १ करोड ९० लाख रुपैयाँ लगानी गरी किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउन विधुतीकरण गरिएको हो ।

राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलमले भने, “हामीले कृषकहरूको सशक्तिकरण र उत्पादन वृद्धि हाम्रो प्रमुख लक्ष्य बनाएका छौँ । विधुतीकरणमार्फत सिचाइ सुविधा पु-याउँदा किसानहरूले वर्षभरि उत्पादन गर्न सक्नेछन्, जसले नगरको समग्र आर्थिक वृद्धिमा ठूलो टेवा पुग्नेछ ।”

प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले पनि योजना कार्यान्वयनमा जनप्रतिनिधि र प्रशासनबीचको सहकार्य महत्वपूर्ण भएको उल्लेख गर्दै भने, “स्रोतको अधिकतम उपयोग गर्दै किसानहरूको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ । कृषिमा आत्मनिर्भर नगर बनाउने हाम्रो दीर्घकालीन दृष्टिकोण हो ।”

राजपुर नगरपालिकाले यस कार्यक्रमअन्तर्गत कृषकहरूलाई आवश्यक पर्ने स्थानहरूमा डेढ दर्जनभन्दा बढी ट्रान्सफर्मर जडान, विद्युत पोल र लाइन विस्तार तथा आवश्यक मर्मत सम्भारका कामहरू सम्पन्न गर्दै आएको छ । यसले सिँचाइ सुविधा नपाएर वर्षौँ बाँझै राखिएको जमिनमा अब उत्पादन सम्भव हुने विश्वास लिइएको छ ।

स्थानीय पोष्ट साप्ताहिक पत्रिकामा प्रकाशन भएको सामाचार ।

आरएन पटेल,राैतहट,१४ गते जेठ ।
रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले अन्ततः न्याय पाएका छन् । वीरगंजस्थित उच्च अदालतको इजलासले चर्चित राजपुर घटनामा आलमलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । यस फैसलाले न केवल आलमको राजनीतिक जीवनमा पुनः उर्जा भरेको छ, तर रौतहटको समग्र राजनीतिक माहोलमा समेत नयाँ उत्साह ल्याएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको घटनालाई लिएर आलममाथि गम्भीर आरोप लगाइएको थियो । तर १६ वर्षपछि प्रमाण, साक्ष्य र कानुनी प्रक्रियाको आधारमा अदालतले आलम दोषी नभएको ठहर गरेको छ । यसअघि जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो, जुन फैसलालाई उच्च अदालतले उल्ट्याएको हो ।

प्रारम्भिक अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, र पुनरावेदन सरकारी वकिल कार्यालयले समेत मुद्दा नचल्ने राय दिएका थिए । पूर्वमहान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले पनि ती प्रमाणहरूलाई अध्ययन गरेर मुद्दा नचल्ने निर्णय गरेका थिए । तर पछि राजनीतिक दवाव र पीडित पक्षको निरन्तर प्रयासका कारण मुद्दा दर्ता गरिएको थियो ।

नेता आलमविरुद्ध तीन वटा मुद्दा – कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर लगाइएको थियो । तर अदालतमा प्रस्तुत भएका प्रमाणहरूले ती आरोपहरू पुष्टि गर्न नसक्दा उहाँलाई सफाइ दिइएको हो ।

राजनीतिक जीवनमा नयाँ उर्जा

नेता आलमले लामो समय थुनामा बिताउनु परेको पीडा सहे पनि उनले न्यायमाथि विश्वास गुमाएनन् । अदालतको यो फैसला उनका लागि मात्र होइन, देशभर कानुनी प्रक्रियाप्रति आस्था राख्ने सबैका लागि सुखद सन्देश हो ।

उनका समर्थक, पार्टी कार्यकर्ता र आम नागरिकबीच यो फैसलाले आशा र उत्साहको भावना भरिदिएको छ । नेपाली कांग्रेस रौतहटका नेताहरूले यो निर्णयलाई न्यायको जित भनेका छन् ।

सामाजिक सञ्जालमा समर्थनको लहर

अलमलाई सफाइ दिएपछि सामाजिक सञ्जालमा उनको पक्षमा जनमतको लहर देखिएको छ। धेरैले यो निर्णयलाई “न्यायको पुनःस्थापना” भनी स्वागत गरेका छन् ।

मस्तिष्कघात पछि अस्पतालमा भर्ना
रिहाइ लगत्तै आलमलाई मस्तिष्कघात भएको चिकित्सकहरूले पुष्टि गरेका छन् । अहिले उनकाे काठमाडौंमा उपचार भईरहेकाे र हाल उनी खतरामुक्त रहेको बुझिएको छ । उनका समर्थकहरू आलम निकाे भएर राैतहट फर्किने आशमाछन् ।

स्थानीय पोष्ट साप्ताहिक पत्रिकामा प्रकाशन भएको सामाचार ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।