२०८३ बैशाख १३
२०८३ बैशाख १३

प्रेमचन्द्र झा,गाैर,चैत्र २५ गते
राैतहट। परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकड स्थित विष्णुमहायज्ञको तयारी अन्तिम अवस्थामा पुगेकाे छ । विश्व कल्याणका लागि हुन लागेकाे साे महायज्ञको कलस यात्रा यही चैत्र ३१ गते हुन लागेको हो । बाैधीमाई मन्दीर परिषरमा हुनलागेको सो यज्ञमा करिब ३५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। आयोजक समितिका प्रमुख रसिक रामचन्द्र दासले दिएको जानकारी अनुसार यज्ञलाई सभ्य ,भव्य एवं विधि पुर्वक सम्मन गर्न परोहा नगरपालिका र अन्य स्थानीय दानी दाताहरुले खुशी खुशी सहयोग गरि रहेको बताए । सो २३ कुण्डिय विष्णु महायज्ञका लागि आवश्यक पर्ने विशाल मण्डप स्थानीय जनताले आफै बनाएको यज्ञका प्रमुख आचार्य गाैरी शंकर तिवारीले बताए । विष्णु महायज्ञ यज्ञको २०८२ साल बेैशाख ०९ गते समापन हुने कार्यक्रम रहेको बताउदै आचार्य तिबारीले महायज्ञमा ५२ अबतारकाे मुर्ति सहित अन्य देवी देवताकाे मुर्ति तथा वृन्दावनका विद्वान कथा वाचक द्दारा भागवत कथा वाचन प्रवचन र रासलिला सहित अन्य खेलकुदकाे ब्यवस्था गरिएको भने ।

जनकपुरधाम —लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन भएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले राइनलाई प्रदेश संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् ।

ठाकुरको हस्ताक्षरसहितको पत्र पठाउँदै लोसपाले सोमबार मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई समेत त्यसबारे जानकारी गराएको छ।

यसअघि दलका नेता रहेका अभिराम शर्मा मधेश आन्दोलनमा असई थमन विक हत्या काण्डमा दोषी ठहर भएपछि प्रदेश सभाले गत बैशाख २१ गते बर्खास्त गरेको थियो। त्यसयता लोसपा दलको नेता पद रिक्त थियो। अध्यक्ष ठाकुरले प्रदेश सभामा पठाएको पत्रमा अर्को व्यवस्था नभए सम्मको लागि राइनलाई नेता मनोनयन गरिएको उल्लेख छ ।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेश प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राइनलाई अर्को व्यवस्था नहुन्जेल सम्म मनोनयन गरिएको व्यहोरा जानकारी साथ अनुरोध छ,’पत्रमा उल्लेख छ । सभार ईकान्तिपुर

बज्जिकाञ्चल संवाददाता ,राैतहट,२५ गते चैत । 
राैतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)निकट पत्रकारको संस्था लोकतान्त्रिक पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ । सर्लाहीका पत्रकार कामेन्द्र वर्माको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो।
समितिको सदस्यमा गोरखाकी कुसुम भण्डारी, सर्लाहीका चन्द्रमोहन चौधरी, बाराका अनिल वर्मा, बाराका विजेन्द्रकुमार चौधरी, सिरहाका रानी पाल, महोत्तरीका संजीवकुमार झा, मोरङका शिवम मिश्र, सप्तरीका अशोककुमार झा, सप्तरीकै सतिशकुमार चौधरी, सर्लाहीका कृष्णमुरारी मिश्र सदस्य रहेका छन्।
त्यस्तै काठमाडौँका देवानन्द झा, रौटहटका दिलिप पाण्डे, रौतहटकै राधेश्याम साह, पर्साका मुकेशकुमार साह, पर्साकै रेयाज आलम मुकेरी, धनुषाका विपेन्द्रकुमार साह, रुपन्देहीका विरु कहार, रुपन्देहीकै हृदयराम गुप्ता, सुनसरीका देवराज यादव, महोत्तरीका विजयकुमार झा सदस्य छन्।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले संघको नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। ‘देश, मधेस एवं पार्टीको हितममा यहाँको कार्यकाल उपलब्धि मुलक हुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछौं’ ठाकुरले भनेका छन् ।
पार्टीको संशोधित विधानअनुसार वर्मा संघको संयोजकमा नियुक्त भएका हुन् । यसअघि जसपाबाट विभाजन भई गठन भएको लोसपाको पत्रकारको संगठन थिएन्। पत्रकार संघको गठन गरेको लोसपाले देशैभरी संगठन निर्माणसँगै पत्रकारको हकहितमा काम गर्न निर्देशन समेत गरेको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते चैत । 

रौतहटको कटहरिया बजारमा प्रत्येक वर्ष लाग्दै आएको चैती नव दुर्गा पुजा यस वर्ष पनि लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दुर्गा पुजा यसवर्ष पनि गरिएको छ ।

कटहरियामा आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरि भव्य रूपमा पूजापाठ गर्ने गरिन्छ । यहाँ आश्विन र चैत गरि वर्षमा दुईचाेटी दुर्गा पूजा हुँदै आएको छ ।

 

आईतवार राति साे दुर्गा मेलामा भएको सांस्कृतिक कार्यक्रमलाई निर्माण व्यवसायी संघ राैतहटका जिल्ला सचिव एवम् कटहरिया नगरपालिकाका भावी मेयर उम्मेदवार श्रीकान्त यादवले समुदघाटन गर्नु भएको छ ।

 

यादव पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुन थालेका छन् । आफ्नो नगर लगायत जिल्लाकाे विभिन्न ठाउँमा हुने धार्मिक कार्यक्रमहरूमा सहयोगीकाे भूमिका निर्वाह गर्दै आएका छन् । उनकाे याे कदमलाई धेरैले सराहना गर्दै आएका छन् ।

दुर्गा पुजा समितिका अध्यक्ष प्रकाश श्रेष्ठकाे अगुवाइमा भएको उदघाटन कार्यक्रममा यज्ञकर्ता छाेटेलाल मिश्रा, स्थानीय भद्वभलादमी बुद्धिजीवी संचारकर्मी लगायत स्थानीयहरुकाे बाक्लो उपस्थिति रहेको सञ्चारकर्मी सागर संगम ठाकुरले बताएका छन् ।

काठमाडौं, २४ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने चेतावनी दिएका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने उनको उद्घोष छ ।

सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरुको व्यवहारलाई कडा प्रश्न गरे । उनले भने,‘यी चोर नेताहरुलाई म सोध्न चाहन्छु–के तिमीहरुलाई राजा बनाउनको लागि नेपाली जनताले लडेका थिए ? तिमीहरुको छोराछोरीलाई विदेशमा मोजमस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौं ? के तिमीहरुलाई र तिमीहरुको खानदान, दर खानदानसम्मलाई पुग्ने अकुत सम्पत्तिको मालिक बनाउनको लागि लडेका थियौं ?’

साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरुले बेचेर खाएको गम्भीर आरोप लगाए । ‘देशलाई बन्धकी राखेर तिमीहरुको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौं नि, नेपाली युवाहरुलाई विदेशमा मार्न तिमीहरुलाई नेता बनाएका हौं ? तिमीहरुको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौं र ?’ साहले आज देशमा नेताहरुको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे । उनले भने,‘हामी हेर्न सक्छौं, लुट र भ्रष्टाचार बढेको छ, जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने बाध्यता सुनाए । जनताको करबाट बनेको बजेट आज टाउके नेताहरुले निजी सम्पत्तिजस्तो अंशबण्डाझैं भागबण्डा लगाएर खाईरहेको उनको गम्भीर आरोप छ । उनले भने,‘जल बेचे, जमिन बेचे, जंगल बेचे, यी चोर नेताले आज हुँदाहुँदै जनतासमेत बेचिरहेका छन् । लुटेराहरुले देशको सम्पत्ति खुलेआम विदेशमा थुपारिरहेका छन् ।’ कहिल्यै कसैको गुलाम नभएको देशलाई अहिलेका चोर नेताहरुले विदेशीको गुलाम र दलाली गर्दा आज नेपाल र नेपालीहरुको इज्जत तारतार भएको उनको आरोप छ ।

उनले शहीदहरुको रगतको व्यापार भैरहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले शहिदरुको रगतको व्यापार भैरहेको छ, बदलावको बहाव बरालिएको छ, आन्दोलनका वीर योद्धाहरु विक्षिप्त छन् । नेताहरुको कुकर्म र अत्याचारले देश अँध्यारो सुरूङमार्गमा फसेको छ ।’ साहले आफूहरुले थालेको आन्दोलनको वेगलाई अहिलेका चोर नेताले रोक्न नसक्ने चेतावनी दिए । ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन, हावाको बहावलाई कसैले रोक्न सकेको छैन, त्यसैले याद राख–तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौं । हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ ।’

साहले छोटे राजाहरुले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको ज्यादतीको पनि भण्डाफोर गरेका थिए । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे । काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए ।

उनले भने,‘युद्ध लड्दापनि दुश्मनलाई पानी रोकिँदैन्, तर यहाँ संघीय राजधानी काठमाडौंमा त सुकुम्वासीहरुलाई राज्यले पिउने पानी रोकेर मानवताविरोधी अपराध गरेको छ, यो अपराध अक्षम्य छ, म सरकारलाई चेतावनी दिन्छु–यो हदसम्मको अपराध गर्न मिल्छ ? तपाईंहरु मानवता हराएको मान्छे हो भन्ने थाहा छ, तर यो तहको मानवताविरोधी अपराध गर्न मिल्छ ?’ उनले सरकारमा बसेर निमुखा जनतामाथि राज्य बर्बरता र मानवताविरोधी अपराध गर्ने जो÷कोहीलाई पनि जनताले अब नछोड्ने चेतावनी दिए ।

उनले जनतामाथि दुनियाँमा नभएको कर आतंक मच्चाईएको भन्दै तत्काल त्यो कर आतंक रोक्नपनि माग गरे । नेपालमा दुनियाँमा नभएको तीन तहको ७६१ वटा सरकारले मनोमानी ढंगले कर आतंक सिर्जना गरेको र तर त्यसको बदलामा केहीपनि सुविधा नदिएको भन्दै अब जनता करको सास्ती खेपेर बस्ने अवस्थामा नभएको भन्दै उनले कर बहिष्कारको लागि आम जनतासामू अपिल गरे । उनले नेपालमा बैंक, लघुवित्त र सहकारीको समस्यापनि चरम सिमामा पुगेको भन्दै जताततै ठगिनेमा जनता नै परेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नेपालमा बैंकरहरु नै मालिक र ऋणी बनेको भन्दै यो अपराधपनि अब स्विकार्य नहुने चेतावनी दिए । उनले दलित आवासको नाममा पनि निमुखा दलितहरुमाथि अत्याचार गरेको भन्दै कडा आपत्ति जनाए । उनले आजको युगमा ७५ हजारमा आवास बन्छ ? भन्दै सरकारमा बसेकाहरुलाई प्रश्न गरे । उनले भने,‘तिमीहरु लाखौंको वस्त्रधारण गर्ने अनि दलित आवास चाहीा ७५ हजारमा बनाउने भनेर ठग्ने काम गर्छौं, अब यो स्विकार्य हुँदैन् ।’

सिंगो देश र जनताले गौरव गर्नुपर्ने किसान आज पिल्सिनुपरेको र गरिबीमा बाँच्नुपर्ने अवस्थामा पुर्याउने नेताहरुलाई कुनैपनि हालतमा अब जनताले नछोड्ने अर्को चेतावनी दिए । उनले तत्काल किसानलाई पेन्सन दिनपनि सरकारलाई आग्रह गरे । श्रेणिविही कर्मचारीलाई तत्काल लोकसेवा खुलाएर स्थायी गर्नपनि साहको माग छ । उनले सरकारले प्राकृतिक स्रोत र सम्पदाको दोहन गरेको भन्दै त्यसमा पनि विरोध जनाए ।

वैदेशिक रोजगारीमा भैरहेको ठगीमा सरकार नै साझेदार बनेको र उल्टै आफ्ना नागरिकलाई लुट्ने काम गरेको साहको गम्भीर आरोप छ । उनले भने,‘नेपाली युवाहरु ठगिएको बारेमा मैले संसद्मा आवाज उठाएँ, प्रधानमन्त्रीले म मेनपावर हुँ भन्नुभयो, तपाईं मेनपावर नभएको भए कसरी जनता विदेश गैरहेका छन्, श्रम स्विकृति कसले दिएको छ ? डिमाण्ड लेटर कसले बनाउँछ ? म भन्छु वैदेशिक रोजगारीको सवालमा सरकार नै एक नम्बरको र ठूलो मेनपावर हो । यस क्षेत्रमा हुने ठगीको जिम्मा सरकार र प्रधानमन्त्रीले लिनुपर्छ ।’

जनआन्दोलन दिवसको अवसरमा दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको बिरोध प्रदर्शन समेत भएको छ ।

प्रदर्शन भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, रत्नपार्क, जमल, घणटघर हुँदै पुन भृकुटीमण्डपमै पुगेर सभामा परिणत भयो ।

आजपाकाे आन्दोलनमा देखिएको दृश्य फाेटाे फिचर:

हनुमत यादव,गाैर,२४ गते च‌ैत । 

रौतहट । रौतहटको सदरमुकाम गौर नगर सहीत जिल्ला भरीका जन युवाहरु द्वारा आज श्रीराम नवमीको पावन अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यता साथ नगर परिक्रमा गरी मनाएका छन् । वेद र धार्मिक मानयता अनुसार आजको दिन भगवान श्री रामको जन्म भएको दिनलाई उत्सवको रुपमा मनाईदै आइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य श्रीरामको आदर्श र त्यागलाई समर्पित गर्दै समाजमा धार्मिक र सांस्कृतिक महत्वको प्रचार गर्नु रहेको थियो ।

यस अवसरमा विभिन्न धार्मिक क्रियाकलापहरू जस्तै श्रीराम कथा, भजन, पूजा, र रामायण का अंशहरूको पाठ गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण भनेको गौर नगरका युवाहरूको सामूहिक प्रस्तुतिहरू थिए, जसमा रामलीला नृत्य र गायकहरूको भजन प्रस्तुतिमा सहभागीहरूले धार्मिक र सांस्कृतिक सांगीतिक रचनाहरू प्रस्तुत गरे ।

सांस्कृतिक कार्यक्रमका क्रममा सहभागीहरूले रामायणका महत्वपूर्ण प्रसंगहरूलाई नाटकको रूपमा प्रस्तुत गरे, जसले दर्शकहरूलाई धार्मिक शिक्षामा आधारित जीवन र मूल्यहरूको महत्त्वलाई पुनः स्मरण गरायो । यस अवसरमा नगरका विभिन्न सामाजिक संघसंस्थाहरू र धर्मप्रेमीहरूको सहभागीता रहेको थियो ।

युवाहरूका अनुसार, यस प्रकारका कार्यक्रमहरूले न केवल धार्मिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा मद्दत पुर्याउँछ, बरु नयाँ पुस्तामा रामायण जस्तै सत्यको बाटो रोजने पाठ सिकाउँछ र श्रीरामका जीवनदृष्टिका बारेमा सन्देश पुर्याउनमा पनि ठूलो भूमिका खेल्छ ।

कार्यक्रमको समापनमा आयोजकहरूले समर्पण र भक्तिपूर्ण भावनासाथ एक सन्देश जारी गरे कि धर्म र संस्कृतिको महत्वलाई बुझ्न र पालन गर्नका लागि यस्ता कार्यक्रमहरूको आयोजना अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते चैत । 

विरगंजमा आयोजित मधेश साहित्य महोत्सवमा शनिबार सुरज श्रीवास्तवद्वारा लिखित फाइल नं ८ किताबको बिमोचन भएको छ ।

रौतहट जिल्लाको गौर नपा वडा नं ३ निवासी सुरज कुमार श्रीवास्तवले नेपालको गाउँघर र शहरका विविध चरित्रहरुका मानवीय एवं प्रेमिल भावनाहरुलाई व्यापक रुपमा प्रतिफलित गर्ने फाईल नं. ८ को लेखिएको कथा मधेश साहित्य महोत्सवको मंचबाट अब पाठकसामु आएको हो ।

लेखक श्रीवास्तव द्वारा लिखित यो पुस्तकमा समाजको रुपरेखा, संस्कार, माया, आशंका र नैतिकताको महत्व सम्बोधन गरीएको जनाईएको छ । बीरगंजमा पहिलो पटक आयोजित मधेश साहित्य महोत्सवको मंचबाट पहिलोपटक आफ्नो किताब बिमोचन हुँदा गर्व महसुस भएको लेखक श्रीवास्तवले बताएका छन् ।

लेखक श्रीवास्तव एक अनुभवी ईन्भेष्टमेण्ट बैंकर एवं कन्सल्टेण्ट लेक्चर् पनि हुन् । उनले अर्थशास्त्र र ग्रामिण विकास विषयहरुमा स्नातकोत्तर गरेका छन् ।

यसअघि विविध आर्थिक एवं साहित्यिक पृष्ठभुमिमा लेख, कविता र कथाहरु पत्रपत्रिका एवं अनलाइनहरुमा प्रकाशित गर्दै आएका लेखक श्रीवास्तव यसपटक उनले आफ्ना कथाहरुलाई पुस्तकको रुपमा ल्याएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२४ गते चैत । 

लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल(लाेसपा) निकट लाेकतान्त्रिक यूवा संघ सर्लाहीकाे संयाेजक ताेकिएकाे छ । लाेकतान्त्रिक यूवा संघकाे संशाेधित विधान अनुसार मुकेश कुमार यदुवंशीलाई मनाेनयन गरिएको हाे ।

लाेकतान्त्रिक यूवा संघका केन्द्रीय अध्यक्ष सुजन यादव द्वारा हस्ताक्षरित मनाेनयन पत्रमा यदुवंशीलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ ।

यसैगरी सिरहा निवासी प्रविन कुमार साहलाई संघकाे केन्द्रीय सदस्यमा मनाेनय गरिएको हाे । देश, मधेश, यूवा एवं पार्टीको हितमा वहाँहरूकाे कार्यकाल उल्लेखनीय रहने छ भन्ने विश्वासका साथ संघले हार्दिक बधाई तथा शुभकामना समेत  व्यक्त गरेको छ ।

 पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ ।

राकेश यादव यादव, गौर ,२३ गते चैत । 
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ बाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको नेपाली रुपैया सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश बस्नेतको कमाण्डमा खटी गएको टोलीले भारतबाट ल्याउदै गरेको ५ लाख नेपाली रुपैया सहित भारत बिहार जिल्ला सीतामढी बैरगनिया वडा नम्बर १४ पटेल चौक निबासी १८ वर्षीय मोहित कुमार पटेललाइ पक्राउ गरेको हो।
भारतबाट BR05j १३२७ नम्बरको मोटर साइकल शंका लागी रोकेर चेकजाच गर्दा पक्राउ परेका पटेलले प्वाइन्टको गोजीमा लुकाई छिपाई राखेको उक्त स्रोत नखुलेको ५ लाख रुपैया बारामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमिनियाले जनाएको छ। अबैध रकम सहित पक्राउ परेका पटेललाई मोटर साइकल सहित कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ।
नेपाल भारत सिमाबाट पटक पटक स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ पर्दै आएकोले सिमा क्षेत्रमा हुण्डीको कारोवार हुने गरेको पुस्टि भै रहेको छ।

काठमाडौं- चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन्।

“जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उनले भने।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ। यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ।

यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।- नेपाल समय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।