२०८३ आश्विन २०
२०८३ आश्विन २०

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान गल्छीतर्फबाट काठमाडौँ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गल्छी गाउँपालिका–५ सागिनेका ३३ वर्षीय मंगले भनिने हरि तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।

उनले भने- ‘जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो । संस्कार परिवर्तनको निमित्ति थियो । सरकारको शैली परिवर्तन गर्नका लागि थियो । सुशासनको निम्ति थियो । विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो ।’

नेता केसीले देशमा अहिले मलको हाहाकार र ग्यासको हाहाकार भएकै बेला प्रकृति प्रकोपले सबैलाई एकाकार बनाएको बताउदै यस विपद्लाई  एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्दै नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । अमेरिकी सरकारले नेपालका लागि कार्यवाहक राजदूतमा मेगन बोल्डिनलाई पठाएको छ । बोल्डिनले आगामी केही महिना नेपालका लागि  रूपमा जिम्मेवारी सम्हाल्ने अमेरिकी दुताबासले जनाएको छ ।

बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै बाढीपछिको प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ ।

बोल्डिन यसअघि सन् २०२४ को अगस्टदेखि बङ्गलादेशस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् । वरिष्ठ परराष्ट्र सेवाकी सदस्य बोल्डिनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ ।

उनले युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयको सञ्चालन केन्द्रलगायत स्थानमा काम गरेकी छन् ।

राहत तथा पुनर्लाभका काम जारी रहेका बेला बोल्डिनको नेपाल आगमनले नेपाल सरकार र साझेदारसँग सहकार्य गर्ने अमेरिकाको निरन्तर प्रतिबद्धता देखाएको दूतावासले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । फ्रान्सका प्रसिद्ध चित्रकार पियरे अगस्ट रेनोआरलाई समर्पित संग्रहालयबाट चारवटा कलाकृति चोरी भएका छन् । चोरीमा संलग्न दुई जनामध्ये एक जनाले भाग्ने क्रममा एउटा कलाकृति बाटोमै छाडेका थिए ।

दक्षिण फ्रान्सको काग्नेस सुर मेरस्थित रेनोआर संग्रहालयमा बिहान दुई जना व्यक्ति प्रवेश गरी चारवटा कलाकृति चोरी गरेको नगरप्रमुख ब्रायन मासोनले बताएका थिए । उनका अनुसार चोरी भएका कलाकृतिको अनुमानित मूल्य करिब ९० लाख युरो रहेको छ ।

संग्रहालयको सुरक्षा प्रणाली बिहान ५ बजेर ४८ मिनेटमा सक्रिय भएको थियो । त्यसको पाँच मिनेटपछि नै, बिहान ५ बजेर ५३ मिनेटमा नगर प्रहरी घटनास्थलमा पुगेका थिए ।

नगरका निगरानी क्यामेरामा चोरीमा संलग्न व्यक्तिहरू देखिएपछि प्रहरीले उनीहरूको पहिचान गर्ने प्रयास गरेको थियो । प्रहरी पछ्याउन थालेपछि उनीहरूले चोरी गरेका चारमध्ये एउटा कलाकृति छाडेर भागेका थिए ।

घटनापछि नगर प्रहरी र राष्ट्रिय प्रहरी दुवै परिचालन गरिएको छ । चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको नगरप्रमुख मासोनले बताएका थिए ।

उनले रेनोआर संग्रहालयमा भएको चोरीलाई काग्नेस-सुर-मेरको इतिहास र सांस्कृतिक सम्पदामाथिको आक्रमणका रूपमा व्याख्या गरेका थिए । संग्रहालय र कलाकृतिको सुरक्षा तत्काल बलियो बनाउनुपर्ने आवश्यकता यस घटनाले थप स्पष्ट पारेको उनको भनाइ थियो ।

नगरप्रमुख मासोनले संग्रहालयहरूको सुरक्षा मजबुत बनाउने र कलाकृतिको संरक्षण गर्ने व्यापक योजना कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले आगामी दिनमा सबै आवश्यक स्रोत परिचालन गरी काग्नेस-सुर-मेरका बासिन्दाको साझा सम्पदाको सुरक्षा गरिने बताएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

 

जनकपुरधाम । गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरका रजौलवासी आन्दोलित भएका छन् ।

गुठी संस्थानले को विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका हुन् । संविधानले नागरिकको मौलिक हकका रूपमा खाद्य तथा आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको भए पनि सरकार पक्षबाटै ती अधिकारको उल्लंघन हुन थालेको आरोप आन्दोलनकारीको छ।

आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासलगायतका आधारभूत अधिकारको संरक्षणको माग गर्दै स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका थिए ।

आन्दोलनकारीहरूले नागरिकका मौलिक अधिकारको सम्मान गर्न तथा आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ ।

मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो ।

हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण केसीले २१ रन बनाएका थिए ।

त्यस्तै हङकङ चाइनाका बलर एजाज खानले ४ विकेट लिएका थिए भने यसिम मुर्तजाले २ विकेट लिएका थिए ।

यसअघि हङकङ चाइनाले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको थियो । हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए । उनले अविजित रहदै ११७ रन बनाएका थिए । त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए । त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए ।

यो जितपछि हङकङ चाइना समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल समुह विजेता हुदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने छ भने हङकङ चाइना भने युएईसँग खेल्ने छ । सेमिफाइनलका खेल विहिबार हुने छन् । एसीसी प्रिमियर कपको फाइनल खेल आगामी शनिबार हुदैछ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए ।

विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला कर्मचारीसँग कम सम्पर्कमा रहने माग आएको स्वीकार गर्दै त्यस्तो सर्त स्वीकार गर्न नहुने बताएको छ । कर्मचारीहरूले व्यवस्थापनसँग माफी माग्दै घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् । कर्मचारीको बैठकका कारण सोमबार आइफिल टावर सर्वसाधारणका लागि खुल्न केही ढिलाइ भएको थियो ।

प्रतिनिधिमण्डलसँग सम्बन्धित बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस)ले भने आफ्नो भ्रमणका क्रममा कसैलाई पनि आइफिल टावर प्रवेश गर्न नरोकेको स्पष्ट पारेको छ । ठूलो प्रतिनिधिमण्डल भएकाले अन्य पर्यटकलाई कम असुविधा होस् भनेर आइफिल टावरको टोलीसँग समन्वय गरी बिहानको समयमा भ्रमण तय गरिएको र घटनाबाट कसैलाई दुःख पुगेको भए हृदयदेखि माफी माग्ने संस्थाले जनाएको छ ।

यसैबीच, पेरिसका मेयर इम्यानुएल ग्रेगोयरले घटनाका सबै तथ्य सार्वजनिक गर्न छानबिनको आदेश दिएका छन् । यो विवाद पेरिसनजिकै बीएपीएसको हिन्दू मन्दिर उद्घाटन भएको केही दिनपछि आएको हो । उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । बीएपीएसले आपसी सम्मान र सेवा भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेश र  काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने कोशीमा १३ जना, काठमाडौँ उपत्यकामा २ जना, सुदूरपश्चिममा २ जना, बागमतीमा १७ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, कर्णालीमा १ जना र गण्डकीमा ४ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।

रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ । बिहिबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटका १९८१ र विदेशी पर्यटक ५८७ जना रहेका छन् ।

त्यस्तै, प्राधिकरणले अहिलेसम्म १३५७ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३  र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।

प्राधिकरणले अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको जानकारी दिएको छ ।

प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।