२०८२ चैत्र २९
२०८२ चैत्र २९

 

धनुषा मंसिर १७/       

धनुषामा एक महिलाको शव फेला परेको छ।

मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको प्रहरीले जनाएको छ।

अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

उनका अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन्।

‘उनले रातो साडी र हातमा रातो पहेँलो रंगको लहठी लगाएकी छन्। अनुहार सुन्निएर कालो देखिएको छ। यस क्षेत्रमा अहिलेसम्म कुनै महिला हराएको हामी कहाँ जानकारी आएको छैन,’ प्रहरी निरीक्षक साहले भने।

शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो। धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।

 

 

बारा,मंसिर १७/         

बारा जिल्लाको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरिएको छ।

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्टेसनको उद्घाटन गरेका हुन्।

अब विमानस्थलमा ११ किलोलिटर (केएल) र १६ केएल गरी २७ केएलका दुइटा रिफ्युलर रहनेछन्।

रिफ्युलिङका लागि जनकपुरबाट सिमरा विमानस्थलसम्म हवाइ इन्धन बोक्ने ९ केएलको डिस्पेन्सर राखिएको छ। भण्डारण ट्यांक नहुन्जेल जनकपुरमा रहेको डिपोबाट इन्धन ल्याइनेछ।

चालु अर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार रिफ्युलिङ स्टेसन उद्घाटन गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। छिट्टै भरतपुर र जुम्लाको विमानस्थलमा रिफ्युलिङ स्टेसन राखिने उनको भनाइ छ।

यो विमानस्थलमा बुद्ध एयरलाइन्सका सात र यतिको दुई जहाजले दैनिक उडान तथा अवतरण गर्दै आएका छन्।

काठमाडौंबाट छोटो दूरीमा रहेको यो विमानस्थलमा रिफ्युलिङ सुरू भएसँगै आपतकालीन उडान तथा अवतरणमा सहज हुने उल्लेख गरिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंबाट नजिकको विमानस्थलमा रिफ्युलिङ सेवाले निकै फाइदा पुग्ने बताए। ‘यहाँ पहिल्यैदेखि रिफ्युलिङ स्टेसन खाँचो थियो। यसबाट राज्यको ठूलो रकम बचत हुनेछ,’ उनले भने।

अब काटमाडौंको तुलनामा सिमरामा ढुवानी खर्च समेत कम लाग्ने उल्लेख गरिएको छ। त्यस्तै जहाजहरू रिफ्युलिङका लागि काठमाडौं पुगिरहनु पर्ने अवस्था पनि नरहने हुँदा इन्धन बचत हुने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेम ठाकुरले बताए।

रिफ्युलिङ स्टेसनका कारण वायुसेवा कम्पनीहरू उत्साहित भएको उनको भनाइ छ। यसले राज्यलाई पनि करोडौं बचत हुने उनले उल्लेख गरे।

 

 

महोत्तरी मंसिर १७,/               

मटिहानी नगरपालिकाले आइतबार ४० जना अपांगलाई कम्बल वितरण गरेको छ।

नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा नगरका ४० जना अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको हो।

अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि नगरपालिका हरपल तयार रहेको मेयर हरिप्रसाद मण्डलले बताए।

 

 

जनकपुरधाम,मंसिर १७।

नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् ।

३५१ मत ल्याएर निर्वाचित भएका गोहिवार शेखर कोइराला समूहका छन् । उनलाई पूर्व सांसद दिनेश प्रसैलाले सभापतिका लागि उम्मेदवार बनाएका थिए ।

शेखर कोइराला समूहकै दाबी गर्ने भूपनारायण यादव ३१२ र संस्थापन पक्षका साधु गोइत मात्र १०० मत ल्याएका छन् ।

भूपनारायणलाई धनुषा २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र गोइतलाई पूर्व सांसद मुक्ता यादवले मैदानमा उतारेका थिए ।

शनिवार तामझामका साथ बिदेह नगरपालिकाका ६ तीनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा पार्टीको क्षेत्रीय सभापतिका लागि शनिवार मतदान भएको थियो ।

 

वीरगन्ज,मंसिर १६।

आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एकजनालाई पक्राउ गरेको छ ।

गैरकानुनी गतिविधि गरेको आरोपमा बाराको आदर्श कोतवाल गाउँपालिका–८, लक्ष्मीटोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।

‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा  घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै वीरगन्ज महानगरपालिका–२३, हरपतगञ्जस्थित व्यापारीसँग मासिक रूपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस

 

 

जनकपुरधाम शनिबार, १६।

मुख्यमन्त्री सरोजकुमार यादवले शान्ति सुरक्षाको मध्यनजर गर्दै प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान गर्ने बताएका छन् ।

राजधानी जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको शुक्रबार शिलान्यास गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्ष सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिए ।

बारामा दिनदहाडै एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको स्मरण गर्दै उनले भने– पुरानो सीसीटीभी क्यामराको फुटेजको आधारमा अपराधी पक्राउ परेको थियो । प्रदेशमा रहेको सुरक्षा चुनौतीको मध्यनजर गरेर सरकारले कुनै प्रकारको ढिलासुस्ती नगरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सुरक्षा निकायलाई हरसम्भव सहयोग गर्न तयार छ

मधेस प्रदेशमा कार्यरत प्रहरीका लागि प्रदेश सरकारले यसै वर्ष आवश्यक मेट्रेस (ओछ्याउने सामग्री) को व्यवस्था मिलाउँछ, मुख्यमन्त्री यादवले भने–प्रहरी चौकीहरूमा सवारीसाधनको लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको छु । यसले प्रदेशको सुरक्षा व्यवस्था सुदृढ पार्न सहयोग पुग्नुका साथै सुरक्षा निकाय उच्च मनोबलका साथ अघि बढ्ने विश्वास लिएको छु ।

प्रहरी समायोजन नहुँदा समस्या भएको जिकिर गर्दै मुख्यमन्त्री यादवले प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउने बताए । प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व घट्ने होइन, डेढ गुणाले बढ्ने दाबी उनले गरे ।

सो अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद ससीमले मधेसमा प्रहरीको ओछ्यान लिएर हिँड्ने प्रचलनको अन्त्य गर्ने बताए । प्रहरीको सरुवा हुँदा आफ्नो विस्तार लिएर जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ, उनले भने–यो बाध्यतालाई छिट्टै अन्त्य गरिन्छ ।

प्रदेशका चौकी र थाना निर्माण, पुनर्निर्माण, मर्मत सम्भार लगायतको कार्य गर्न १८ करोड रुपैयाँ छुट्ट्याइएको उनले जानकारी दिए ।

नेकपा एमाले मधेस प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले प्रहरीको लागि चौकी, थाना निर्माणका साथै सवारीसाधनको समेत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा मधेस प्रदेश प्रहरी कार्यालय हालको सङ्घीय प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको हो ।

१८ महिनामा निर्माण हुने सम्झौता गरिएको उक्त भवन आधुनिक रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।

 

 

१६ मंसिर, जनकपुरधाम ।

धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई  कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।

सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

 

रौतहट,१६ मंसिर,        

रौतहटको मौलापुर पिकनिक पार्क यहाँका मानिसहरूको लागि आकर्षकको केन्द्र बन्दै गएको छ । २०७७ फागुनमा पार्क सञ्चालनमा आएपछि स्थानीयहरूमा लोकप्रिय बन्दै गएको छ ।

पूर्ब मन्त्री प्रभु साहको पहलमा शहरी विकास मन्त्रालयबाट पिकनिक पार्कको निर्माण भएको हो । यसैगरी, मौलापुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा पार्कमा अन्य आवश्यक कार्यहरू भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनुभयो ।

हाल सो पार्क विवाह, व्रतबन्ध, पिकनिक, सभा, समारोह र मानिसहरूको लागि घुमफिर गर्ने थलो बनेको छ । पार्कमा दैनिक दुई सय बढी मानिसले अवलोकन गर्ने गरेका छन् भने पार्कमा पाँचजनाले रोजगार पाएका छन् ।

गौर, गरुडा, चन्द्रपुर, समनपुर, भारतको बैरगनिया, घोडासहन, चैनपुरलगायतबाट मानिसहरू पार्क हेर्न आउने र पार्कमा रमाएर जाने गरेको मौलापुर पिकनिक पार्कका सञ्चालकको भनाइ छ ।

सुरुआती केही दिनसम्म सुनसान रहेको यो पार्कमा अहिले बिहानदेखि बेलुकासम्म मानिसहरूको चहलपहल देख्न सकिन्छ । शनिवार र अन्य चाडपर्वहरूमा पार्कमा मानिसहरूको सङ्ख्या बढ्ने र पिकनिक गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।

 

 

बार,१४ मङ्सि।

बारा जिल्लाका दुई वटा इलाका प्रशासन कार्यालयले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई पछिल्लो समय सेवा दिन सकेका छैनन् । इलाका प्रशासन कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय कोल्हवीका कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह प्रभावित भएको हो ।

इलाका प्रशासन कार्यालय सिम्रौनगढमा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा स्थानीयहरु नागरिकता बनाउन सदरमुकाम कलैया धाउन बाध्य भएका छन् ।

यसअघि गाउँ–ठाउँबाटै एक दिनमै नागरिकता पाएका सिम्रौनगढका स्थानीयले पछिल्लो समय सदरमुकाम धाउनु परेको गुनासो गरेका छन् । सिम्रौनगढ, जानकीनगरका पशु रामले नागरिकता बनाउन कलैया धाउनुपर्दा धेरै पैसा खर्च हुने र धेरै दिन धाउनुपरेको गुनासो गरे ।

सिम्रौनगढस्थित इलाका प्रशासन कार्यालयका प्रमुख दसैँलगत्तै सरुवा भएर अन्यत्र गएपछि नागरिकता जारी गर्ने कार्य रोकिएको हो ।

सो कार्यालयमा अहिले एक जना नायव सुब्बा, २ जना कार्यालय सहयोगी छन् । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र प्रमाणित कागजपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कलैया पठाउने गरेको कार्यालय सहयोगी रामविश्वास कुशवाहाले जनाए ।

उनले इप्रका सिम्रौनगढबाट अभिलेख राख्ने र नागरिकता लिन आउनेलाई सबै कागजातहरु चुस्तदुरुस्त गरेर पठाउने गरेको बताए । इलाका प्रशासन कार्यालय सिम्रौनगढमा यसअघि दैनिक २५ देखि ३० वटा नयाँ नागरिकता र ८ देखि १० वटा प्रतिलिपि जारी हुने गर्दथ्यो ।

जिल्लाको दक्षिणतर्फ रहेको सिम्रौनगढ सँगसँगै उत्तरतर्फ रहेको इलाका प्रशासन कार्यालय कोल्हवीमा समेत पछिल्लो समय प्रमुख नहुँदा नागरिकता जारी हुने कार्य रोकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

कोल्हवीका स्थानीयहरु पनि नागरिकता बनाउन कलैया धाउने गरेका छन् । जसले गर्दा जिल्ला प्रशासन कार्यालयमा कामको चाप बढेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

नियमित रुपमा जारी गरिने नागरिकता, प्रतिलिपि नागरिकता लिन आउने सेवाग्राहीको चाप बढेपछि गृह मन्त्रालयमा अधिकृत पठाइदिन पटक पटक अनुरोध गरे पनि सुनवाइ नभएको प्रजिअ सापकोटाले जनाए ।

 

रौतहट,मंसिर ११, २०८० :

विभिन्न पालिकाको चौकमा जडान भएका (हाइ मास लाइट)टावर लाइट तथा सडक बत्तीको विद्युत महसुल नतिरेपछि विद्युत प्राधिकरणले लाइन काट्ने अभियान थालेको छ।

चन्द्रपुर र बृन्दाबन , गुजरा नगरपालिकाको चौक चौकमा जडान गरेको ६० भन्दा बढी टावर लाइटको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ।

चन्द्रपुर नगरपालिकाको वडा नं ४,५,६ का टावरलाइटको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरका वितरण केन्द्र प्रमुख धिरेन्द्र यादवले जानकारी दिए।

शनिबारसम्म चन्द्रपुरको २१ वटा टावर लाइटको लाइन काटिएको छ भने वृन्दावन नपाको १७ वटा टावर लाइटको लाइन काटिएको छ। पछिल्लो दिनमा नगरपालिकाहरुले उज्यालो अभियान भन्दै अनुमतीबिना, मिटर नराखी सिधै टावर लाइट जडान गर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका विभिन्न वितरण केन्द्रले लाइन काट्न थालेको हो।

पुन जडान गरी बत्ती बालेको पाइए लाइटसहित सामान जफत गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले जिल्लाका १८ वटै पालिकालाई पटक-पटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न आग्रह गर्दा अटेर गरेपछि लाइन काटने अभियान थालेको हो।

नेपाल विद्युत प्राधिकरणले कार्तिक मसान्तभित्र सडक बत्ती र टावर लाइटबाट उठेको महसुल बुझाउन हरेक पालिकालाई सुचना जारी गरेको थियो। दोस्रोपटक मंसिर ६ गतेसम्म एक साताको समय दिए पनि अवैधरुपमा जडान गरिएको बत्ती नहटाएको तथा मिटर जडान नगरेपछि लाइन काटन थालिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले बताए।

नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम लाइन काटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। चन्द्रपुर नगरक्षेत्रमा मात्र करीव ५० भन्दा बढी टावर लाइट जडान गरिएको छ।

करीव ११ मिटर अग्लो टावर लाइटको ४ वटा प्यानलसहितको लाइट लगाउँदा बढीमा ७०/८० हजार लागत भए पनि पालिकाले भुक्तानी भने बढी रकम गर्दै आएको गुनासो छ। रौतहटको १८ वटै पालिकालाई विद्युतशक्ति उपयोग गरे बापतको बक्यौता रकम ४५ दिनभित्र बुझाउन नेपाल विद्युत प्राधिकरणले समय दिएको थियो।
गत आर्थिक वर्षसम्मको बक्यौता रकम तिर्न नेपाल विद्युत प्राधिकरणले समय सीमा दिएको थियो।

प्राधिकरणले असोज २१ गते सुचना जारी गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महसुल नबुझाउने रौतहटसहित देशभरका ६ वटै महानगर पालिकासहित तीन सय ३२ स्थानीय तहलाई ४५ दिनभित्र महसुल बुझाउन समय दिएको थियो।
रौतहटको १८ पालिकाले गौर, चन्द्रनिगाहपुर,मौलापुर वितरण केन्द्रमार्फत करोडौं विद्युत महशुल अशुल गर्न बाँकी रहेक‍ो छ।

रौतहटको चन्द्रपुर ४ मा मिटर जडान नगरी राखिएको (हाइ मास लाइट )टावर लाइट। तस्विर : फणि महत। अनपुरना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।