२०८२ चैत्र २७
२०८२ चैत्र २७

 

बारा ४ पुस ।

बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । घटनामा २७ जना घाइते भएका छन्।

काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

जनकपुरधाम पुष ४,/          

: पछिल्लो समय मधेसका गाउँहरूमा चोरी, डकैतीसहित आपराधिक गतिविधि बढेपछि स्थानीय आतंकित बनेका छन्। अधिकांश घटनाहरूमा डाका र चोरहरूको समूहले घरेलु हतियारका साथै पेस्तोल समेत बोकेर आउने र घरमा पसेर बन्धक बनाएरै डकैती गर्ने गरे पनि प्रहरी प्रशासन बेखबर बनेको छ।

शुक्रबार अबेर राति महोत्तरीको जलेश्वर—९ फूलहट्टाका अमरप्रसाद सिंहको घरमा एक्कासी कोलाहल भयो। घरको मुख्य ढोका खोलेर व्यक्तिहरू भित्र पसे। आफ्नो कोठामा सुतिरहेका सिंहले घरभित्र हलचल सुनेर ब्युझिदैं ढोकातिर हानिए तर, उनले बुद्धि पुर्‍याएर आफ्नो कोठाको ढोका नखोली भित्रै बसे। त्यक्तिकैमा झ्यालमा जोर जोरले हान्दै, ‘कोठा खोल’ भन्ने आवाज आयो।

सिंह चूपचाप झ्यालको छेऊमा उभिए। झ्यालबाट एक युवकले पेस्तोल छिराउँदै फेरी धम्क्याए। तर, सिंहले हिम्मत गर्दै झ्याल बन्द गरिदिए। तीनचार जनाको संख्यामा रहेका हतियारधारीहरू सिंहको बुहारी सुतेकी कोठातिर हानिए र कोठा ढकढक्याउँदै खोल नत्र ज्यानले मार्छौं भन्ने धम्की पनि दिइरहेका थिए। सिंह हिम्मत गरी जोरजोरले हल्ला गर्न थाले। घरका सबै सदस्यहरू सहयोगको लागि हल्ला गर्न थालेपछि छरछिमेकी पनि उठे। जाग्राम भयो र गाउँलेहरू जुट्ने थाहा पाएपछि हतियारधारीहरू फरार भए।

त्यो भन्दा एकदिन अगाडि मात्रै सोही ठाउँका सुजित सिंहलाई हतियारधारी डाँकाहरूको समूहले बन्दुक देखाई बन्धक बनाएर घरबाट सरसामानहरू लुटेर लग्यो। प्रहरी प्रशासनलाई यस विषयमा खबर गर्दा पनि कतैबाट कुनै सुनवाई वा अनुसन्धान भएन।

सोमबार राति महोत्तरीकै जलेश्वर नगरपालिका —७, बखरी भाटमा डाँकाहरूले स्थानीय ललन प्रसाद शर्माको घरमा कोठाको ताल्चा फुटाई सरसामान लुटे। घरमा कोही नभएको मौका छोपी घटना घटाइएको थियो। गाउँघरका अधिकांश युवाहरू पढाइलेखाइ र रोजगारीका लागि सहरमा बस्न थालेपछि गाउँहरूमा वृद्ध र महिलाहरूनै बढी बस्ने गरेका छन्। यस्तोमा डाँकाहरूलाई प्रतिकार गर्ने वा सुरक्षाको लागि बोल्नेहरू समेत घरमा नहुँदा आपराधिक गतिविधि सहजै हुने गरेको नेपाली कांग्रेस मधेस प्रदेश सदस्य कृष्णा सिंह बताउँछन्।

‘हतियारसहित नै आउने चोरडाँकाहरूको प्रतिकार गर्न युवाहरूको समूह पनि गाउँघरमा छैन, प्रहरी प्रशासनलाई शान्ति सुरक्षाबाट मतलबनै नभएको जस्तोदेखिन्छ। गाउँघरमा प्रतिदिन आपराधिक गतिवीधि भईराखेको छ र हामीले पटक–पटक प्रहरीलाई सुरक्षा गस्ती बढाउन आग्रह गरे पनि आश्वासन बाहेक केही पाएका छैनौं,’ कृष्णाले बताए।

भारतीय सीमाक्षेत्रसँग जोडिएका गाउँहरूमा आपराधिक गतिविधि गरेपछि अपराधीहरू भारततर्फ भाग्ने गरेको स्थानीयहरू बताउँछन्। यता, सीमा सुरक्षाको जिम्मेवारी बोकेर सीमा क्षेत्रमा तैनात सशस्त्र प्रहरी बलले पनि यस्ता घटनाहरू नियन्त्रण गर्न खासै पहल गरेको देखिँदैन। मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी दिपेन्द्र साह आफूहरूलाई यस्ता घटनाहरूको विषयमा वा गाउँघरमा हुने गरेको शंकास्पद गतिविधिका सन्दर्भमा सहि समयमा सूचना नै नआउने हुनाले शान्ति सूरक्षाको सवालमा सकेजति योगदान पुर्‍याउन नसकेको स्वीकार गर्छन्।

उनी भन्छन्, ‘हाम्रा बोर्डर आउट पोस्टहरू सीमामै अवस्थित भए पनि हामी जनतासँग धेरै घुलमिल हुन सकेका छैनौं। हाम्रो काम गर्ने प्रवृत्ति पनि अलि फरक भएर होला जनताले हामीसँग समन्वय खासै गर्दैनन्। जनता र सशस्त्र प्रहरी बीचको दूरी कम गर्न भर्खरै हामीले सीमावासीसँग कार्यक्रम पनि गर्‍यौं यदि हामीलाई सही समयमा सूचना प्राप्त भयो भने यस्ता आपराधिक गतिविधिहरूलाई सकेसम्म नियन्त्रण गर्न सकिन्छ।’

 

सर्लाही, पुस ४ गते । 

नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मङ्गलबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमार दनुवारको मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका कुँवरलाई सडकमा साइकलसहित लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनिट्रकले ठक्कर थियो ।

दुर्घटना लगत्तै कुँवरलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दनुवार सासपुरको डाबरीस्थित इँटा भट्टामा मजदुरी गरेर घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो ।

साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोज्दै जाँदा उक्त मिनिट्रक दुर्घटना भएको करिब चार घण्टापछि जुट पानी पानी फ्याक्ट्रीको रहेको खुलेको र राति नै फ्याक्ट्रीभित्रै राखिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

रौतहट  पुष ३,/        

जिल्लाको वृन्दावन नगरपालिका-१ स्थित बागमती नदी उकास जमिन अतिक्रमण हुँदै आएको छ। केही वर्ष अघिदेखि त्यस क्षेत्रको सयौ विगाहा जमिन अतिक्रमण हुँदै आएको छ। मधेस प्रदेशको सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमती नदीको उकास जमिन  अतिक्रमण भएको हो।

यसको एकातर्फ रामलाल वृन्दावन साझेदारी वन व्यवस्थापन समूह र अर्कोतर्फ बागमती नदीको पानी बग्ने क्षेत्र छ। बयरघारी क्षेत्रमा भूमिहीन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल-झांडी,खरघारी फाँडेर धमाधम खेत बनाइरहेका छन्।

सरकारी जमिन तीव्र रूपमा अतिक्रमण भइरहँदा समेत कुनै निकायले ध्यान नदिएको सरोकारवाला बताउँछन्। उक्त क्षेत्रमा वृन्दावन नगरपालिका-१,२,३ र ४ वडाका वासिन्दाने बढी जमिन अतिक्रमण गरेका छन्। त्यसबाहेक अन्य ठाउँबाट आएकाहरूले अतिक्रमण गरेका छन्।

अतिक्रमित क्षेत्रभन्दा करिब २ किलोमिटर टाढा सब डिभिजन वन कार्यालय भए पनि  वन कर्मचारीले संरक्षणप्रति चासो देखाएका छैन। जनशक्ति अभावका कारण त्यस क्षेत्रमा जान नसकेको सब डिभिजन प्रमुख अनिलकुमार महतोले बताए। कार्यालयबाट अतिक्रमणको  प्रतिवेदन माग भएको र  प्रतिवेदन बनाउने क्रममा रहेको महतोले जानकारी दिए।

संरक्षण गर्नुपर्ने ठाउँमा अतिक्रमण बढ्‌दै जानु दुःखद भएको वृन्दावन नगरपालिका-२ का वडाध्यक्ष सिकेन्द्र पटेलले बताए। उनले‍ डिभिजन वन कार्यालय रौतहटले  ठोस कदम चाल्नुपर्ने वडाध्यक्ष पटेलको भनाइ छ।

कार्यालयका डीएफओ शैलेन्द्र मिश्रले अतिक्रमण हटाउन सक्रिय रहेको दावी गरेका छन्। सो क्षेत्रको अतिक्रमण हटाउन सबैको साथ आवश्यक रहेको डीएफओ मिश्रले बताए। उक्त क्षेत्रमा वडा सदस्य रामगणेश प्रसाद पटेल (बच्चु)ले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा अख्तियारमा उजुरी परेको छ। वृन्दावन नगरपालिका-१ बलेरी क्षेत्रमा पर्ने सरकारी वन क्षेत्रको जमिन अतिक्रमण गरी पर्खाल समेत निर्माण र गुम्बा बनाउन लगाएर आर्थिक अनियमितता गरेको भन्दै  उजुरी परेको हो।

गत साउन २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर २२९ रहेको उजुरीका आधारमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वडा सदस्य पटेललाई डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको थियो। पटेलले वनको सरकारी जमिनमा गुम्वा बनाउने नाममा अतिक्रमण गर्नुका साथै नगरपालिकाबाट निकासा भएको बजेटमा समेत आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ।

अतिक्रमित क्षेत्रमा केहीले पशुपालन समेत गरेका छन्। अतिक्रमित क्षेत्रमा किसानले मकै, गहुँ, मुसुरो, तोरी लगायतको बाली लगाउँदै आएका छन्।

 

महोत्तरी पुस ३,/  

— भएको सम्पत्ति धितो राखेर छोरीको विवाह गर्न ऋण लिएकी महोत्तरी रामगोपालपुरकी हिरादेवी मण्डल अहिले ऋणको भारले थिचिएकी छिन् ।  ३ वर्षअघि जनपुरको राजश्री फाइनान्सबाट उनले लिएको १५ लाख ऋणले दुई छोरीको विवाह त गरिन् । तर छोरीको विवाहपछि ऋण तिर्न नसक्दा उनले धितो राखेको २ कठ्ठा १६ धुर जग्गा लिलाम भएको पत्र संस्थाले उनलाई पठाएको छ ।

त्यतिमै उनलाई ऋणले छाडेको छैन । मिटरब्याजमा ४ लाख रुपैयाँ ऋण लिएर उनका जेठा छोरा वैदेशिक रोजगारीका लागि कुबेत गए । कान्छो छोरा पनि थप २ लाख रुपैँया ऋण लिएर ५ महिनाअघि मलेसिया गएको उनले बताईन् । तर वैदेशिक रोजगारिमा गएका दुवै छोराले समस्यामा फसेको सुनाउने गरेको उनले बताइन् ।

‘दुवै छोराले काम पाएका छैनन्, पैसा पठाएका छैनन्’ उनले भनिन्,’साहुले यता बस्न दिएको छैन’ । घरमा खाने उपाय समेत नभएपछि ऋण थपिँदै गएको र अहिले ऋण १७ लाख पुगेको उनले सुनाईन् । ‘घरमा बस्न नसकेर आन्दोलनमा हिंडेको हुँ,’ उनले भनिन्,‘घरमा बस्नै हुँदैन साहु र संस्था आएर हप्काउँछन् धम्काउँछन्’ । लघुवित्त संस्था विरोध संघर्ष समितिले गरेको जिल्ला भेलामा उपस्थित उनीजस्तै अधिकांसको समस्या उनको जस्तै छ ।

महोत्तरीकै सम्सी-५ का दिनेशप्रसाद यादव पनि ऋण लिएर छोरीको विवाह गरेपछि ऋणले आफुलाई नछाडेको बताउँछन् । ‘तिलक नदिए छोरीको विवाह नै हुँदैन,’ उनले भने,‘ऋण नै लिएर दुई छोरीको विवाहमा २५ लाख खर्च गरेको छु’ । जेठी छोरीको विवाहमा १५ लाख खर्च भएकोमा ५ लाख नगद,मोटरसाईकल,दराज,फ्रिज लगायत सबै घरमा चाहिने सामाग्री केटापक्षलाई दिएको उनले बताए । ‘कान्छी छोरी अलि राम्री थिईन्,’उनले भने, ‘केटी मन परेकाले जे दिनुहुन्छ भैहाल्छ भनेपछि १० लाखमै विवाह भयो ।’

साढे ४ कठ्ठा जग्गा बेचिसकेको उनले सुनाए । तर अहिले पनि ३३ लाख ऋण तिर्न बाँकी भएकाले आए उपायको खोजीमा आफू रहेको यादवले बताए । ऋण तिर्न कुनै उपाय नै नभएकाले तिर्न नसकेको तर संस्थाहरुले आफूले लिएको भन्दा डब्बल तिर्नपर्ने भएको भन्दै तिर्न दबाब दिईरहेको उनले बताए ।

बर्दिवास-८ कर्मटोकी घर भएकी सरु चौधरी ६० वर्षकी भइन् । १ सालदेखि उनले कुनैपनि संस्थाको किस्ता तिर्न नसकेको बताईन् । उनको कूल ऋण २५ लाख बढी छ । तर उनलाई अहिले घरमा के खाउ के लाउको अवस्था भएको उनी बताउँछिन् । विभिन्न लघुवित्त संस्थाबाट लिएको ऋणबाट ऋण बढ्दै गएको उनले बताईन् । स्वाबलम्बन बैंक लिएको ३ लाख ऋण पटक पटक तिर्दा पनि अहिले ५ लाख पुगेको भन्दै तिर्न दबाब दिएको उनले बताईन् । छोरीको विवाह गर्न ६ लाख र छोरालाई विदेश पठाउन ३ लाख विभिन्न संस्थाबाट ऋण लिएको उनले सुनाईन् ।

गएको ६ महिनामै मलेसियाबाट श्रीमान फर्किएपछि कर्मटोकी महोत्तरीकी इन्द्रकुमारी कलवारलाई ऋणले सास्ती दिएको छ । ससुराको मृत्युपछि घर फर्किएका श्रीमानको खुट्टा भाँचिएको र आफू बिरामी परेकाले ऋणमाथि ऋण बढ्दै गएको उनले बताईन् । ‘के खाने कसरी बाँच्ने पनि थाहा छैन,’ उनले भनिन्, ‘अब सरकारले हेर्ला की भनेर आन्दोलनमा आएको’ । २० लाख बढी ऋणको भारीले आफूलाई थिचेको उनले सुनाईन् ।

गरिबलाई उठाउनै नसक्ने गरि ऋणको बोझ बोकाएर लगातार दबाब र धम्की दिने साहु र संस्थाविरुद्ध आफूहरुको संघर्ष जारी रहेको लघुवित्त संस्था विरोध संघर्ष समितिकी महोत्तरी अध्यक्ष शिलम यादव बताउँछिन् । अशिक्षा र गरिबीकै कारणपछि परेका समुदायलाई लघुवित्तीय संस्थाहरुले समेत मनोमानी नियम लगाएर अवैध कारोबार गरेको उनले आरोप लगाईन् । आफ्नो हिसाबले नियम लगायर गरिबहरुको शोषण संस्था र महाजनहरुले गरिरहेकाले त्यसको विरुद्धमा जिल्ला भेला गरेको उनले बताईन् । भेलामा महोत्तरीबाट १ सय ३५ जना पीडितहरुको उपस्थिति भएको उनले जानकारी दिईन् ।

लघुवित्त संस्थाहरुको मनोमानीमा राज्यले नै संरक्षण गरेका कारण गरिबहरु दिन दिनै उठाउनै नसक्ने ऋणको भूमरीमा परिरहेका पीडित संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष युवराज रसाईली बताउँछन् । नेपाल राष्ट्रबैंकको नीति विपरीत एक अर्कामा हानाथाप गर्दै हिजो ऋण लगाउने संस्थाहरुले अहिले पीडितलाई विभिन्न दबाब र धम्की दिन नमिल्ने उनको भनाई छ । आवश्यकता र क्षमता हेरेर प्रतिव्यक्ति ७ लाखसम्म मात्र ऋण दिन पाउने राष्ट्र बैंकको नीति विपरीत लगानी लगाएका लघुवित्तहरुको ऋण र लाखौं रकम चुक्ता गर्दापनि धितो लिलाम भएकाहरुको सम्पत्ति फिर्ता हुनुपर्ने र ऋण मिनाहा हुनुपर्ने मुख्य माग आफूहरुको भएको उनले बताए ।

आन्दोलन र पटक पटकको सरकारसँग वार्तापछि पीडितलाई धम्क्याउने र अवैध कारोबार गर्ने कार्यमा केही सुधार आएको भएपनि यतिमै आफूहरुको आन्दोलन नसकिने उनले बताए । पीडितहरुलाई एकजुट भएर बस्न,घर छाडेर नहिँड्न र आफ्नो जीवनलाई क्षति पुर्‍याउने गतिविधि नगर्न भेलाबाट प्रोत्साहन गरिरहेको उनले बताए ।

 

 

 

काठमाडौँ  ३ पुस।

जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै पार्टी निकटका पत्रकारले संघीयता सम्बन्धी समाचार नलेखेको गुनासो गरेका छन् ।

जसपा निकट प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले आयोजना गरेको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री यादवले आफू संघीय सरकारसँग संघीयताका लागि लडी रहेपनि आफ्नै पत्रकारले त्यसबारेमा समाचार नलेखेको गुनासो गरेका हुन् ।

उनले भने, ‘तपाईहरुसँग मेरो एउटा मात्र आग्रह छ कि यतिका सञ्चारकर्मी हामीसँग हुँदा हुँदै पनि संघीयताको विषयमा कहिल्यै कुनै न्युज लेखेको छैन । जो समाचार आउँछ प्रदेश सरकारकै विरुद्धमा आउँछन् । योभन्दा पहिले पनि यस्तै थियो, अहिले पनि त्यस्तै छ ।’

यसअघिका सरकारले पनि अरू प्रदेशभन्दा राम्रा काम गरेको भन्दै उनले कुनै पनि पत्रकारले प्रचार नगरेको गुनासो गरे ।

मुख्यमन्त्री यादवले एनसिएल काण्डमा जति पैसा खाएका छन् त्यति प्रदेश सरकारको बजेट पनि नरहेको बताए । उनले यसबारेमा पनि कसैले समाचार नलेखेको गुनासो गरे । मधेस सरकारलाई गाली गरिरहेको गुनासो गर्दै उनले यसमा दुःख लागेको बताए ।

मुख्यमन्त्री यादवले अहिलेको सबैभन्दा आवश्यक संघीयता बचाउनु रहेको भन्दै जसपाले मात्र बचाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग संघीताको पक्षमा कोही नरहेको बताएको जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्डले आफूसँग मिडिया एक्टिभ गरेमात्रै संघीयता बाँच्ने बताएको जानकारी दिए । उनले पुस १३ गते सात वटै प्रदेशका मुख्यमन्त्रीको बैठकपछि पुनः प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटसहितको ज्ञापनपत्र बुझाउने बताए ।

 

 राैतहट,०३ गते पुस ।

जिल्लाको वृन्दावन नगरपालिका वडा नं.१ बलेरीको ब्रहम स्थान देखि चाँदी खोला सम्मको,बिश्रामपुर जाने बाटोमा आज  कालोपत्रको शिलान्यास गरिएको छ। मंगलबार वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मीले अबको १५ दिन भित्रमै सम्पन्न हुने गरि सो कची बाटोमा कालोपत्र को शिलान्यास गरेका हुन् ।

विगत लामो समय देखि कची बाटो रहेको र विगतका दिनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले सो बाटोमा केही नगरेको जनगुनासो सुने पश्चात् चुनावमा जनताहरुसँग गरेको प्रतिबद्धता अनुसार आफुले नगर स्तरीय योजनाबाट छुट्याइएको जम्मा रकम ५८ लाख ७६ हजार ६७५.५० को लागतमा सो कालोपत्र भइरहेको नगर प्रमुख कुर्मीले बताए । कालोपत्रको शिलान्यास गर्दै नगर प्रमुख कुर्मीले नगरको चौतर्फी विकासको लागि आफू कमर कसेर लागेता पनि विपक्षीहरुले जालझेल गरि आफुलाई असफल बनाउन लागिपरेको बताए।

उहाँले विपक्षीहरु विगतका दिनमा निर्वाचित भएर पनि केही न गरेको र भ्रष्टाचारमा लिप्त भएर आफ्नो कार्यकाल बिताएको र हाल आफु निर्वाचित भएपश्चात सो नगरपालिकामा चौतर्फी विकास गर्न खोजेपछि आफुलाई असफल बनाउन विपक्षीहरु विभिन्न जालझेल गरिरहेता पनि ती सारा जालझेलहरुलाई चिरेर आफू नगरको विकासको लागि अगाडि बढीरहेको बताउनुभयो।

त्यसैगरी सो वडाका वडा अध्यक्ष रामनाथ सहनीले पनि विपक्षीको रवैया हेरेर आफू साह्रै चिन्तित रहेको बताउनुभयो। विगतका मेयर  तथा वडा अध्यक्षले विगत पाँच वर्ष मा गरणन न सकेको काम हाल विभिन्न बाधा र अबरोधको बावजुद पनि आफुहरु एक वर्षमै गरेर देखाएको र अझै धेरै काम गर्न खोजिरहेकोले नगर प्रमुख कुर्मी र आफुलाई असफल बनाउन विपक्षीहरु कमर कसेर लागेको बताए।

विगत लामो समयदेखि कची बाटो रहेको सो सडक बलेरी गाउँबाट नगरपालिकाको कार्यालय हुँदै हर्षाहा चौकमा आउने मुल बाटो रहेकोले सो सडकमा कालो पिच भएपछि त्यहाँका बासिन्दाहरु प्रत्यक्ष लाभ लिन पाउने छन्। उक्त शिलान्यास कार्यक्रममा वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मी,नि.प्रमुख प्रसासकिय अधिकृत रासनारायण पटेल,वडा नं.१ का वडा अध्यक्ष रामनाथ साहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी)सो नगर पालिका का ईन्जिनियर दिलिप यादव,कमलेश कुश्वाहा र धिरज पटेल लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थियो।

 

काठमाडौँ मंसिर २०,/   

– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्ने बताएका छन्।

केपी ओलीकप टि २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई बधाई दिँदै उनले आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताए।

उनले प्रदेशका विजयी टिमलाई पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरे। उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए।

पोखरामा मंसिर १५ गते भएको रोमाञ्चक फाइनलमा मधेश प्रदेशले दश जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लवलाई ११ रनले पराजित गरेको थियो। यसअघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताए।

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए।

 

 

महोत्तरी १९ मंसिर                   

– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रूपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्। 

 महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रूपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए ।

‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो’, प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, ‘यसको स्थायित्व र सवलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।’ स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिएका छन् ।

‘हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यही सच्चिन, रूपान्तरित हुनु अभियानको अभिष्ट हो ।’ अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल छ । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उनले बताएका छन् ।

मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यलगायत सहभागी थिए । 

 

वीरगञ्ज मंसिर १८,/         

– पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध गरेका छन्। नगरपालिकाले कम्प्युटर अपरेटर, सुपरभाइजर, अनमी, अहेब, हेल्थ असिसटेन्ट, कविराज, स्टाफ नर्स, स्वयं शिक्षक/शिक्षिकालगायत पदमा ४२ जना कर्मचारी भर्ना गर्ने जनाएको छ।

नगरपालिकाले प्रकाशन गरेको सूचनामा परीक्षाका लागि मौखिक र अन्तर्वार्ता मात्रै दिनुपर्ने उल्लेख गरेको छ। यसरी बिना मापदण्डका आधारमा नगरपालिकाले एक हप्ताको समय दिनु तथा भएका कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था रहेका बेला आफ्ना आसेपासेलाई कर्मचारीको रुपमा भर्ना गर्न विज्ञापन गरिएको कांग्रेसका क्षेत्रीय सचिव सुरेन्दप्रसाद सिंहले बताए।

यसैगरी, नगरपालिकाको कर्मचारी भर्ना गर्ने मापदण्डसमेत नपुगेको तथा आफ्नो कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्न नगरपालिकाले मौखिक र अन्तर्वार्ता मात्रै लिएर भर्ना गर्न लागेकाले त्यसलाई रोक्नुपर्ने नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नलाल कुर्मीको भनाइ छ।

पोखरिया नगरपालिकामा कर्मचारी चाहिने भए नियमअनुसार भर्ना प्रक्रियामा जानुपर्ने रास्वपाका पर्सा जिल्ला संयोजक दिलीप कुर्मीले बताए।

पोखरिया नगरपालिकाले बितेको ७ र १० गते दुई वटा बिज्ञापन गरेर करारमा कर्मचारी भर्ना गर्न लागेको छ। यता नगरपालिकाले कर्मचारी भर्ना प्रक्रिया नरोकेपछि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता भएकोमा अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितलाई बिपक्षी बनाएर दर्ता भएको रिटको सुनुवाइ गर्दै न्यायाधीश राजेशकुमार काफलेको इजलासले सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

यसैबीच, अदालतको डण्डा चलेपछि नगरपालिकाको निम्ति प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले कर्मचारी भर्ना प्रक्रिया हालका लागि स्थगन गरेका छन्।

श्रविास्तवले सोमबार सूचना निकालेर करार सेवा तत्कालका लागि अर्को निर्णय वा सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराएका छन्।

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।