२०८२ चैत्र २५
२०८२ चैत्र २५

 

५ पुस, काठमाडौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको मधेश प्रदेश कार्यसमितिको प्रथम सम्मेलनमा अनुपस्थित भएका छन् । वरीयतालाई लिएर मधेश प्रदेश कार्यसमितिमा संस्थापन र संस्थापन इतर समूहबीच विवाद भएपछि डा. कोइराला सम्मेलनमा अनुपस्थित भएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विवादमा तानिएको आफ्नो धार्मिक अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । उनले आफूलाई सबैको अभिभावक बताउँदै सबै अस्तित्वको समान गर्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रियसभा चुनावका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ११ माघमा हुने चुनावका लागि आज मतदानस्थल र केन्द्र तोकेको हो । प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ ।

बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेर ३९६.६२ अंकमा पुगेको छ ।

उत्तर कोरियाले यसै हप्ता आफ्नो देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । ह्वासङ–१८ क्षेप्यास्त्र सोमबार प्रक्षेपण गरिएको थियो । ठोस इन्धनको प्रयोग हुने यस क्षेप्यास्त्रले अमेरिकासम्मै पुगेर आक्रमण गर्न सक्ने उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । क्षेप्यास्त्र परीक्षणस्थल नजिकैबाट सर्वोच्च नेता किम जोङ उनले ह्वासङ–१८ को प्रक्षेपण अवलोकन गरेका थिए ।

 

जनकपुरधाम पुष ५।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् ।

 

काठमाडौं  पुष ५,     

: वीरगन्ज युनाइटेडले काठमाडौं रेजर्सलाई सनसनीपूर्ण जित निकालेको छ। दशरथ रंगशालामा बिहीबार भएको खेलमा बीरगंजले काठमाडौंलाई ४-१ ले हराएको हो।

वीरगन्जका लागि विलियम ओपोकुले ह्याट्रिक गरे। उनले ४५, ५५ र ५७ मिनेटमा गोल गरेका थिए। त्यस्तै वीरगन्जका लागि सुनिल खड्काले ४६ मिनेटमा गोल गरेका थिए। खेलमा काठमाडौंले जुनियर एन्कुन्गेको गोलमा अग्रता लिए पनि अन्त्यमा पराजित हुन पुग्यो।

यससँगै काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कस्टकर बनेको छ। प्लेअफका लागि काठमाडौंले बाँकी एक खेल जित्नैपर्ने भएको छ भने शीर्थ चारभित्र रहेका टोलीहरूको नतीजामा भर पर्ने भएको छ।

विजयी भएसँगै वीरगञ्जले ७ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने काठमाडौं ९ अंक सहित पाँचौं स्थानमा यथावत  ।

 

पुष ५ गते

नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न शहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ  ।’

यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।

पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।

‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनको भनाइ थियो ।

उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए ।

‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु,’उनले भने ।

कार्यक्रममा बोल्दै भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।

कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए ।

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन,न्युयोर्क,बोस्टन,न्युहेम्पसायर,कोलराडो,सिकागो,मिसिगन,ह्युस्टन,डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी शहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो ।

पुष ५ गते

बुढानिलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास  खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पुष ५ गते

सरकारले सञ्चारमाध्यम तथा पत्रकारहरुको नियमन र अनुगमनका लागि दुई स्वायत्त निकायको परिकल्पना गरी कानुनको मस्यौदा गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित राष्ट्रिय आमसञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।

मस्यौदामा राष्ट्रिय आमसञ्चार प्राधिकरणले सबै सञ्चार माध्यमहरुको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने उल्लेख छ । त्यस्तै नेपाल मिडिया काउन्सिललाई पत्रकारहरुको दर्ता, अभिलेख, प्रमाणपत्र दिने र आचारसंहिता अनुगमनको काम गर्ने जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

सञ्चार माध्यमहरुको दर्ता, व्यवस्थापन र नियमन गर्न हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, राष्ट्रिय प्रशारण ऐन र नेपाल प्रेस काउन्सिल ऐनलाई विस्थापित गर्ने गरी यी दुई विधेयक ल्याउन लागेको हो ।

राष्ट्रिय आमसञ्चार विधेयकमा के छ ?

विधेयकमा स्वायत्त प्रकृतिको राष्ट्रिय आमसञ्चार प्राधिकरणको परिकल्पना गरिएको छ । जसले आमसञ्चार संस्थाको दर्ता, इजाजत, अनुगमन र नियमनको काम गर्ने प्रस्ताव गरिएको छ । विधेयकमा सबै सञ्चारमाध्यमहरु स्थानीय तहमा दर्ता गर्नुपर्ने प्रस्ताव छ । प्राधिकरणले भने सबै स्थानीय तहको एकीकृत अभिलेख राख्नेछ ।

प्राधिकरणलाई प्रशारण माध्यम र केबुल टेलिभिजनको दर्ता र अनुमतिपत्र वितरणको अधिकार दिने प्रस्ताव विधेयकमा गरिएको छ ।

विधेयकमा एउटै परिवार वा समूहले छापा, विद्युतीय वा प्रशारण प्रकृतिका प्रकाशन वा प्रशारण गर्न निरुत्साहित गरेको छ । एउटा प्रकृतिको सञ्चारमाध्यममा लगानी भए अर्कोमा बहुमत हिस्सा नहुने गरी व्यवस्थापन गर्नुपर्ने प्रस्ताव छ ।

सञ्चारक्षेत्रमा लगानी गर्नेहरुले व्यवसायिक योजना, जनशक्ति, सम्पादकीय नीति तथा लगानीको स्रोत समेत खुलाउनुपर्ने भनी विधेयकमा व्यवस्था गरिएको छ । अबदेखि विदेशी सञ्चार माध्यमले नेपालभित्र प्रतिनिधि राख्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था विधेयकको मस्यौदामा छ ।

विधेयकमा सञ्चारमाध्यमले संघीय इकाइबीच खलल हुने विषय, साम्प्रदायिक विषय, गाली बेइज्जती हुने विषय प्रकाशन तथा प्रशारण गर्न नपाइने उल्लेख छ । उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यहोरा समावेश छ ।

सार्वजनिक भएको समाचार वा सूचनाले कसैलाई क्षति पुगेको भए क्षतिपूर्ति भराउनसक्ने व्यवस्था विधेयकमा राखिएको छ । तर जरिवाना र क्षतिपूर्तिको फैसला गर्ने अधिकार जिल्ला अदालतलाई हुने प्रस्ताव गरिएको छ ।

आमसञ्चार विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन र राष्ट्रिय प्रशारण ऐन विस्थापित गर्नेछ ।

पत्रकारिता वा आमसञ्चार क्षेत्रमा २० वर्ष काम गरेको र ३५ वर्ष पूरा भएको व्यक्ति प्राधिकरणको अध्यक्ष हुनेछ ।

प्राधिकरणमा चार सदस्य हुनेछन्, जहाँ प्रशासन वा कानून वा व्यवस्थापन, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स इञ्जिनियर र मन्त्रालयको एकजना सहसचिव सदस्य हुने प्रस्ताव छ । मन्त्रालयको प्रतिनिधिबाहेक सबैको अनुभव १५ वर्षको हुनुपर्नेछ । सबैको कार्यकाल चार वर्ष हुने प्रस्ताव छ ।

मिडिया काउन्सिल विधेयकमा के छ ?

पत्रकारहरुको दर्ता, अभिलेखीकरण र आचारसंहिताको अनुगमन गर्ने एकत्रित अधिकार सहित मन्त्रालयले मिडिया काउन्सिल विधेयकको मस्यौदा पनि बिहीबार नै सार्वजनिक गरेको छ ।

पत्रकारहरुको आचारसंहिता अनुगमन गरिरहेको प्रेस काउन्सिल नेपाललाई विस्थापित गर्ने गरी मिडिया काउन्सिल स्थापनाको प्रस्ताव विधेयकमा छ ।

अहिले सूचना विभागले पत्रकारहरुको दर्ता, अभिलेखीकरण र परिचपयत्र दिने काम गरिरहेको छ भने प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता पालना गरेको वा नगरेको अनुगमन गरिरहेको छ । विधेयकमा यी दुवैथरी काम गर्ने गरी मिडिया काउन्सिलको प्रस्ताव गरिएको हो ।

सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको वरिष्ठ अधिवक्ता वा पत्रकारितामा विशिष्ट योगदान पु¥याएको व्यक्ति मिडिया काउन्सिलको अध्यक्ष हुनेछन् । अध्यक्षका लागि २० वर्षको अनुभव र न्यूनतम ४५ वर्षको उमेर तोकिएको छ । अरु सदस्यहरुका लागि १५ वर्षको अनुभव र न्यूनतम ३५ वर्षको उमेर तोकिएको छ ।

काउन्सिलमा मन्त्रालयले तोकेको सहसचिव, पत्रकार महासंघको अध्यक्ष सदस्य हुनेछन् । विभिन्न सञ्चारमाध्यमका प्रकाशक, सम्पादक, पत्रकार समेतको प्रतिनिधित्व हुने सबै प्रदेशबाट गरी थप ७ जना सदस्य हुनेछन् ।

एक जना साहित्यिक पत्रकार र थप एक जना विज्ञ हुनेछन् । पाठक, दर्शक, स्रोताको प्रतिनिधित्व हुने गरी एक जना सदस्य थपियो । काउन्सिलमा अध्यक्ष बाहेक १२ जना सदस्य हुनेछन् ।

काउन्सिललाई आचारसंहिताको पालना, उजुरी जाचबुझको प्रमुख जिम्मेवारी तोकिएको छ । त्यसबाहेक पत्रकारिता क्षेत्रको अध्ययन, सरकार र सञ्चारमाध्यमहरुको समन्वय लगायतका जिम्मेवारी पनि प्रस्ताव गरिएको छ ।

कुनैपनि सञ्चारमाध्यममा प्रकाशित समाचार वा सूचनाबाट अर्को पक्षलाई गम्भीर असर परेको लागेमा जिल्ला अदालतमा उजुरी दिन सक्ने प्रस्ताव विधेयकमा छ ।

अदालतले मनासिव क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिनसक्ने व्यवस्था गरेपनि क्षतिपूर्तिको रकम खुलाइएको छैन । यो विवादमा न्यायाधीशलाई असीमित तजविजी अधिकार प्रस्ताव गरेको देखिन्छ ।

सञ्चार मन्त्रालयले विज्ञ समेतको संलग्नतामा मस्यौदा तयार पारिएको भन्दै १५ दिनभित्र त्यसवारेमा सुझाव दिन आह्वान गरेको छ ।

पुष ५ गते 

नेपाली कांग्रेस मधेश प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएको छ। बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षको विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएको हो।

सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरे पनि असन्तुष्ट पक्षले असहमति राखेका छन्। सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका थिए भने पदाधिकारीहरूलाई मञ्चमा राखिएको थियो। तर, पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा सहभागी भए पनि मञ्चमा बस्न मानेनन्। निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्। मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्।

प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएनन्।

यसैबीच नेता शेखर कोइराला पनि मधेश सम्मेलनमा गएका छैनन्। सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरीको कार्यकर्ता भेटघाटमा छन्। सभार नेपाल लाइभ

पुष ५ गते

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा सिर्जना गरिएको नयाँ दरबन्दीमा ‘आफ्ना मान्छे’ नियुक्त गरेको पाइएको छ।

गत असोजको अन्तिम साता  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ‘आकस्मिक सिनेट बैठक’ उनले नै बोलाएर सिर्जना गरेको ६३ दरबन्दी सिर्जना गरेका थिए। अहिले त्यही दरबन्दीमा  कानुनविपरीत करारमा वीर अस्पतालमा आफ्नै जिल्लाका मानिसलाई कर्मचारीको रूपमा भर्ना गरिएको पाइएको हो।

वीर अस्पताल स्रोतबाट थाहाखबरलाई प्राप्त विवरणमा स्वास्थ्यमन्त्री बस्नेतको दबाबमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका मात्रै १० जना र अन्य तीनजनालाई वीर अस्पतालको कर्मचारीको रूपमा भर्ना गरिएको छ।

बस्नेतले गत असोज २८ गते घटस्थापनाको बिदाको दिन पारेर न्याम्सको आकस्मिक  सभा (सिनेट) बैठक बसाएर ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेका थिए त्यसपछि गत कात्तिकमा करारको कर्मचारी राख्ने विज्ञापन न्याम्सलाई खुलाउन निर्देशन दिएका थिए।

कात्तिक १० गतेको मिति राखेर कात्तिक १७ गते विज्ञापन म्याद सकिन केही घन्टा मात्रै बाँकी हुँदा उक्त विज्ञापन सार्वजनिक गरिएको थियो। अहिले सोही विज्ञापनको आधारमा मन्त्री बस्नेतले आफ्ना मान्छेहरूलाई एकैपटक वीर अस्पतालमा भर्ना गरेका हुन्।

यसरी मन्त्रीले अस्पतालमा भर्ना गरेका कर्मचारीहरूमा रुचिमा चौथो तहको लिफ्ट असिस्टेन्टमा बाह्रबिसे सिन्धुपाल्चोकका दिपेन्द्र बस्नेत, सन्तोष बस्नेत, पाँचपोखरी थाङपाल सिन्धुपाल्चोककी विमला अधिकारी, लिसंखु पाखर सिन्धुपाल्चोककी अन्जली तामाङलाई छनोट गरिएको छ।

यसैगरी, चौथो तह इलेक्ट्रीसियनमा मेलम्ची सिन्धुपाल्चोकका अरुण सापकोटा र सन्तोष दाहाल, पाँचौँ तहको ल्याब टेक्निसियनमा मेलम्ची सिन्धुपाल्चोकका रस्मीता मिश्र, रुद्रमती सिन्धुपाल्चोकका प्रमिला आचार्य, बाह्रबिसे सिन्धुपाल्चोकका सन्तोष राउत छानिएका छन्। यसैगरी, सातौँ तहको मेडिकल ल्याब टेक्नीसियनमा बाह्रबिसे सिन्धुपाल्चोककै स्मिता थापालाई कर्मचारीको रूपमा छनोट गरिएको छ।

१३ जना जनशक्तिमध्ये तीनजना मात्रै सिन्धुपाल्चोक बाहिरकालाई करार सेवामा अवसर दिइएको छ। जसमा पाँचौँ तह ल्याब टेक्निसियनमा दुधौली सिन्धुलीकी प्रमिला श्रेष्ठ, पाँचौँ तहकै ल्याब टेक्निसियनमा कालिका रसुवाकी स्मृति देवकोटा र पाँचौँ तह प्लम्बर पदमा बनेपा काभ्रेका सुरेन्द्र दंगाल करार सेवामा  नियुक्त भएका छन।

सिन्धुपाल्चोक बाहिरका यी तीनजना पनि मन्त्री बस्नेतकै नजिककै मान्छे भएको वीर अस्पतालका प्रशासन शाखाका एक कर्मचारीले बताए। उनले भने, ‘सुरुमा करार दरबन्दी सिर्जना गरे र विज्ञापन खुलाउँदादेखि नै मन्त्रीले आफ्ना मान्छे मात्रै करार सेवामा छिराउन चाहे जस्तो देखिन्थ्यो सोहीअनुसार अहिले एकैपटक १३ जनालाई नियुक्त गर्नुभयो’।

अर्को रोचक कुरा के छ भने चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७६’ प्रतिकूल हुने गरी उक्त १३ जनालाई करारका कर्मचारी भर्ना गरिएको  समेत पाइएको छ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधी, २०७६’ मा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आव्हान गर्नुपर्ने व्यवस्था  भए पनि यसअघि करार सेवामा लिने गरी गत कात्तिक १७ गते शुक्रबार  कात्तिक १० गतेको मितिमा रहेको  विज्ञापन निकालेका थिए। उक्त सूचना ७ दिने बनाई गत कात्तिक १७ गते शुक्रबार कार्यालय समय सकिने बेला दिउँसो ३ बजे न्याम्सको नयाँ भवनको भित्तामा टाँसिएको थियो। सोही सूचनाको आधारमा अहिले करार कर्मचारीको रूपमा उनीहरूलाई नियुक्ति दिइएको हो।

उक्त विज्ञापनमा न्याम्सले मेडिकल ल्याब टेक्निसियन सातौँ १ जना, ल्याब टेक्निसियन पाँचौँ ५ जना, इलेक्ट्रिसियन चौथो २ जना, प्लम्बर चौथो एकजना, लिफ्ट असिस्टेन्ट चौथो ४ जनाको विज्ञापन गरेको थियो।

स्वास्थ्यमन्त्रीको दबाबमा आफ्ना मान्छे नियुक्त गर्न नियमविपरीत विज्ञापन गरिएको भन्दै अस्पतालका कर्मचारीहरूले अन्तर्वार्ता रोकी कारबाहीको माग गर्दै अख्तियारलगायत निकायमा उजुरी गरेका थिए। तर, सो उजुरीलाई पनि बेवास्ता गरी हाल यी कर्मचारी नियुक्त गरिएको हो।

यस विषयम न्याम्सका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतलाई बुझ्‍न खोज्दा उनीसँग सम्पर्क हुन सकेन। वीर अस्पतालमा मूलतः सरकार र प्रतिष्ठान गरी दुई तरिकाले स्वास्थ्यकर्मी राख्ने गरिन्छ। विशेष गरी प्रतिष्ठानका तर्फबाट स्वास्थ्यकर्मी तथा कर्मचारी राख्दा आफ्नो मान्छेलाई अवसर दिइँदै आइएको छ।

वीरमा प्रतिष्ठानतर्फकf स्थायी तथा अस्थायी गरी ५३५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। उनीहरूको तलबभत्ता वीरको आन्तरिक आम्दानीबाट भुक्तानी गर्नुपर्छ।

सरकार र प्रतिष्ठान दुवै थरिका गरी करिब १६ सयदेखि १७ सयजना स्वास्थ्यकर्मी र कर्मचारी छन्। उनीहरूको सेवा विस्तार भत्ता ५० प्रतिशत पनि वीरको आन्तरिक स्रोतबाटै दिने व्यवस्था छ।

पुष ५ गते

पर्साको वीरगंजमा आजदेखि सुरु भएको प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा घरेलु टोली पर्सा ११ ले विजयी सुरुवात गरेको छ ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा खेल पर्सा ११ ले भारतको युपी ११ माथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

युपी ११ लेदिएको ६६ रनको लक्ष्य पर्सा ११ ले १६.३ ओभर खेल्दै पूरा गरेको हो । त्यसका लागि पर्साले ९ विकेट गुमायो । पर्साका लगि अनिल शहाले सर्वाधिक १८ रन बनाए । यस्तै कप्तानी सन्दीप लामिछानेले १२ रन जोडे ।

युपी ११ का भिम शर्मा, तरुण ठाकुर र वाशी अन्सारीले समान २ विकेट लिए । शुभम चौधरीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली युपी ११ ले १६ ओभरमा सबै विकेट गुमाएर ६६ रनमै अलआउट भएको थियो ।

युपीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका समिर अन्सारीले सर्वाधिक २४ रन बनाए । २२ बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे । तरुण ठाकुर र जयदिप सिंहले समान १२ रन बनाए ।

पर्सा ११ का कप्तान सन्दीपले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै २९ रन खर्चिए । यस्तै रुपेश सिंहले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । रन्जित कुमारले ४ ओभरमा १ मेडन राख्दै ४ रन मात्र खर्चेर २ विकेट लिए । पवन सर्रफले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

सइफुल्लाह अन्सारीले १ विकेट लिए । आजै दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो प्रतिस्पर्धा हुनेछ ।

जोरा इन्टरनेशनलले पर्सा जिल्ला क्रिकेट संघसँगको सहकार्यमा आयोजना गरेको प्रो क्लब च्याम्पियनसिपमा नेपालमा ४ र भारतका दुई गरी ६ टोलीको सहभागि छ ।

सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सभार अनलाइनखबर

पुष ५ गते

‘इण्डिया’ गठबन्धनले आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार कसैलाई पनि घोषणा गरेको छैन । तर नयाँ दिल्लीमा बसेको बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कांग्रेस अध्यक्ष मालिकार्जुन खड्गेको नाम प्रस्ताव गरिन्, जसलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समर्थन गरेको आम आदमी पार्टीका सांसद राघव चड्ढाले जानकारी दिए ।

गठबन्धनका दुई नेताले खड्गेको नाम आएपछि केही प्रश्न उठेको छ, के गठबन्धनले उनको नाममा सहमति जनाउने छ ? जनायो भने उनले नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् ?

८२ वर्षका खड्गे एक दलित नेता हुन् र पछिल्लो ५५ वर्षदेखि भारतको राजनीतिमा सक्रिय छन् ।

गठबन्धनको दलित कार्ड ?

भारतीय लोकतन्त्रमा अहिलेसम्म कुनै दलित नेता प्रधानमन्त्री बनेका छैनन् । त्यसैले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुलाई विपक्षीको दलित कार्ड पनि मानिएको छ ।

भारतको जनसंख्याको जातीय तथ्यांक छैन । तर अनुमानअनुसार भारतमा करिव २५ प्रतिशत दलित छन् । ‘इण्डिया’ गठबन्धनमा खड्गेको नाम प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव हुनुको कारणबारे वरिष्ठ पत्रकार विजय त्रिवेदी भन्छन्, ‘मालिकार्जुन खड्गे दलित नेता हुन् । अहिलेको राजनीतिमा मोदी एनडीएफको तर्फबाट एक ओबीसी अनुहार हुन् ।’

उनका अनुसार ‘इण्डिया’ गठबन्धनबाट बिहारका मुख्यमन्त्री नितिशकुमार पनि ओबीसी अनुहार हुनसक्थे । तर गठबन्धनलाई लाग्यो कि नितिशकुमारका लागि ओबीसी अनुहारका रुपमा मोदीसँग प्रतिस्पर्धा गर्न सहज छैन । ‘त्यसैले अब एक नयाँ दलित कार्ड खेलिएको छ किनकी भारतमा अहिलेसम्म कोही दलित प्रधानमन्त्री छैनन्’ उनले भने, ‘इण्डिया गठबन्धनले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव रोचक बनाउन सक्छ ।’

यो अवस्थामा ‘इण्डिया’ गठबन्धनले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै दलित भोट पाउँछ त ?

विजय त्रिवेदी भन्छन्, ‘बीजेपीले यसअघि रामनाथ कोविन्दलाई राष्ट्रपति बनाएर दलित कार्ड खेलिसकेको छ र यसको निकै फाइदा पनि उठायो । ओबीसीपछि दलित भोटर पनि बीजेपीसँग छ ।’ उनका अनुसार अहिले कांग्रेस निकै कमजोर छ । विधानसभा चुनावमा कांग्रेसले दलित भोट पाएको छ, तर बीजेपीको तुलनामा यो समीकरणमा अझै निकै कमजोर छ ।

‘मालिकार्जुन खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मात्र मोदीसँग प्रतिस्पर्धा गर्न सकिन्न । यो कुनै तुरुपको एक्का होइन’ विजय त्रिवेदीले भने, ‘तर प्रतिस्पर्धा रोचक हुनेछ ।’

– बीबीसी हिन्दीको सहयोगमा।  सभार अनलाइनखबर

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।